Presidential

खण्डीकरणले घट्दैछ भक्तपुरको खेतीयोग्य जमिन


खण्डीकरणले घट्दैछ भक्तपुरको खेतीयोग्य जमिन

काठमाडौं,१० जेठ । भक्तपुरमा जमिनको खण्डीकरण बढेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ । जग्गा प्लटिङ गरी खरिद बिक्री र आवास निर्माण गर्ने क्रमले खेतीयोग्य जमिन मासिएको हो । खेतीयोग्य जमिनमा कंक्रिट ठड्याउने र आवास क्षेत्र बनाउने क्रम बढेकाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये कसैले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएका छैनन् । भएको कृषिभूमिको उपयोग र व्यावसायिक कृषि प्रवर्द्धनका लागिसमेत स्थानीय सरकार केन्द्रित नभएको किसानको गुनासो छ ।

मानव अधिकार सञ्चार प्रतिष्ठानले दूधपाटीमा बिहीबार गरेको ‘अग्र्यानिक कृषि र स्थानीय सरकारको नीति’ विषयक अन्तक्र्रियामा सहभागी गैर–सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम बजगाईंले भने, ‘यहाँ पर्याप्त खेतीयोग्य जमिन छ, तर हाम्रै बजारमा स्थानीय उत्पादन पर्याप्त छैन, कृषि क्षेत्र बर्सेनि निरुत्साहित बन्दैछ ।’

कृषि क्षेत्रमा स्थानीय सरकार र जनप्रतिनिधिको चासो कम भएको चाँगुनारायण नगरपालिकास्थित सुडालका किसान सञ्जिव दुलालले बताए । ‘बजेट थोरै राखेका छन्, त्यो पनि किसानमुखी हैन, कार्यकर्तामुखी छ,’ उनी भन्छन् । स्थानीय सरकारले वितरण गर्ने अनुदानका कार्यक्रमसमेत लक्षित किसानसम्म नपुगेको उनी बताउँछन् । आलुको पकेट क्षेत्र रहेको सुडालमा असिनाले क्षति गरेपछि सिजनको उत्पादन कुहिएर नष्ट भएको उनले बताए । ‘सुडाल र ताथलीमा लगाएको करिब ८० हेक्टर क्षेत्रको आलु खेती असिनाले नष्ट ग-यो, हामीलाई क्षतिपूर्ति कसले दिने ?,’ उनले भने ।

वरिपरिका खेतीयोग्य जमिन प्लटिङ गर्नेक्रम बढेकाले गाउँमा खेतबारीमा दुःख गर्नेभन्दा प्लटिङ गर्ने र एकैपटक बढी कमाउने लोभ बढेको श्रीकृष्ण केसीले बताए । ‘किसानले उत्पादन गर्न धेरै दुःख गर्नुपर्छ, तर लगानी कहिल्यै सुरक्षित छैन,’ केसी भन्छन्, ‘स्थानीय सरकारले जमिन खण्डीकरण रोकेर व्यावसायिक कृषिमा जोड दिने नीति बनाउनुपर्छ ।’

सहभागीले विषादी प्रयोगलाई नियन्त्रण गर्नसमेत स्थानीय सरकारले ध्यान दिनुपर्ने सुझाब दिएका छन् । किसानले तरकारीको उत्पादन बढ्दो रहेको र त्यसको बजारीकरणका लागि उत्पादन हुने क्षेत्रमा तरकारी संकलन केन्द्र स्थापना, मल, बिऊ र रोग कीरा नियन्त्रणमा प्राविधिक सहयोग गर्नुपर्ने माग गरे ।

खेतीयोग्य जमिन एक लाख कित्तामा विभाजित
भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा खेतीयोग्य जमिन अब धेरै बाँकी छैन । भएको जमिनमा पनि प्लटिङ र आवास क्षेत्र विस्तार भइरहेको छ । ग्रामीण बस्ती रहेका सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा भने पर्याप्त खाली जमिन छ । तर, खण्डीकरण भने दिनानुदिन बढिरहेको छ । कृषिसँग सम्बन्धित जिल्लाको संरचना संघीयताले भत्किएपछि अहिले तथ्यांकसमेत व्यवस्थित छैन । नगरपालिकाहरूले आफ्नै पाश्र्वचित्रसमेत व्यवस्थित गरिसकेका छैनन् ।

पछिल्लो तथ्यांकअनुसार जिल्लाको खेतीयोग्य जमिन एक लाखभन्दा बढी कित्तामा विभाजित भइसकेको छ । कृषिगणना–०६८ ले जिल्लामा ३० हजार ६ सय ३२ परिवार कृषिमा संलग्न भएको देखाउँछ । कुल खेतीयोग्य पाँच हजार ९ सय ६० हेक्टर जमिन एक लाख एक हजार दुई सय ८८ कित्तामा विभाजित छ । यसआधारमा प्रतिकृषक परिवार ०.१८ हेक्टर जमिन पर्छ । ०५८ मा खेतीयोग्य जमिन ८६ हजार सात सय ७३ कित्तामा मात्रै विभाजित थियो । हाल जिल्लाका दधिकोट, नगरकोट, चाँगुनारायण, झौखेल, दुवाकोट, छालिङ, चित्तपोल, ताथली, सुडाल, वागेश्वरी, गुन्डुलगायत गाउँमा अधिक जमिनमा खेती भइरहेको छ । नयाँपत्रिकाबाट

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

अन्य अखबारबाट

    
        Loading...     
    

अन्तरवार्ता

समाचार