Presidential

ठाकुरलाई संयोजक बनाउँदा दुई नेताको फरक मत


ठाकुरलाई संयोजक बनाउँदा दुई नेताको फरक मत

काठमाडौं,३ बैशाख ।  राष्ट्रिय जनता पार्टीको महाधिवेशन मूल आयोजक समिति गठनबारे नेताहरूले फरक मत राखेका छन् । गत बिहीबारको अध्यक्ष मण्डलको बैठकमा संयोजक शरतसिंह भण्डारीले महन्थ ठाकुरलाई मूल आयोजक समितिको संयोजक तोक्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सदस्यद्वय राजेन्द्र महतो र अनिलकुमार झाले समर्थन जनाए । तर, राजकिशोर यादव र महेन्द्र राय यादवले भने ठाकुरलाई अधिकारसमेत दिएर संयोजक बनाइनुपर्ने धारणा राखे ।

नेता यादवले आफूहरूले अधिकारसम्पन्न बनाएर मात्रै ठाकुरलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउनुपर्ने धारणा राखेको जानकारी दिए । ‘महाधिवेशन आयोजक समितिको संयोजकमा ठाकुरजीको विकल्प छैन । तर, उहाँलाई संयोजक बनाउँदा बैठकले अधिकार के–के दिने हो, त्योसमेत तोकेर जाउँ भन्ने मेरो धारणा थियो,’ यादवले नयाँ पत्रिकासँग भने, ‘टिओआर नदिई संयोजक मात्रै बनाउँदा ठाकुरजीजस्तो व्यक्तित्व भएको व्यक्तिले अध्यक्ष मण्डलको बैठकलाई सोधिरहने कुरा आउँदैन ।’

नेतृत्वमा विवाद कायमै, महाधिवेशन अन्योलमा
राजपाले आगामी बैठकबाट एकल नेतृत्वमा जाने निर्णय गरिसकेको छ । ७ वैशाख २०७४ मा मधेस केन्द्रित पाँच पार्टी मिलेर बनेको राजपामा अध्यक्षको दाबी गर्ने धेरै छन् । धेरैमध्येबाट एउटा अध्यक्ष बनाउनुपर्ने र अन्य नेतालाई के पद दिने भन्ने व्यवस्थापन भइनसक्दा तोकिएको मितिमा महाधिवेशन नभएको निकटस्थ स्रोत बताउँछ । राजपामा महन्थ ठाकुर र राजेन्द्र महतोले अध्यक्ष दाबी गरिरहेका छन् । दुई नेताबीच पदीय मर्यादाक्रम नमिलेकाले महाधिवेशन सारिएको एक नेताले बताए । ‘तयारी नपुगेकाले मिति सारिएको भनिए पनि मुख्य विषय पदमा भागबन्डा नमिलेकाले महाधिवेशन सारिएको हो,’ ती नेताले भने । स्रोतका अनुसार ठाकुरलाई अध्यक्ष र महतोलाई सहअध्यक्ष बनाउने गरी छलफल चलिरहेको छ ।

पूर्ण महाधिवेशन हुनुपर्ने माग
नेता राजकिशोर यादवले आफूले पूर्ण महाधिवेशनको पक्षमा धारणा राखेको बताए । ‘विशेष अधिवेशनले नयाँ नेता उत्पादन हुँदैन तसर्थ पूर्ण अधिवेशन गर्नुपर्छ । नेता निर्वाचित हुँदै आएपछि व्यक्तित्व विकास हुँदै आउँछ भन्ने मेरो भनाइ थियो,’ उनले भने । संयोजक भण्डारीले महाधिवेशनका तीन विकल्प बैठकमा पेस गरेका थिए ।

बैठकमा अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले आन्तरिक तयारी नगरी महाधिवेशन आयोजक समितिको संयोजक मात्रै तोक्न नहुने बताएका थिए । ‘महाधिवेशनको आन्तरिक तयारी गरेर मात्रै मूल आयोजक समितिको संयोजकको नाम प्रस्ताव गरौँ,’ यादवले भनेका थिए, ‘संयोजक बनाएर मात्रै महाधिवेशन हुने होइन । पहिला आन्तरिक रूपमा पूर्ण तयारी गरेर गएपछि मात्रै उपयुक्त हुन्छ ।’बैठकको बहुमतले ठाकुरलाई कुनै अधिकार नदिई संयोजक मात्रै तोकिएको छ ।

राजपा अध्यक्ष मण्डलमा ६ सदस्य छन् । राजपाको महाधिवेशन ७–९ वैशाखमा तोकिएको थियो । सो मितिमा हुन नसक्ने भएपछि महाधिवेशनको अर्को मिति तोक्न ८ वैशाखमा पदाधिकारी बैठक बोलाइएको छ ।  ‘महाधिवेशनको मिति तोक्न पदाधिकारी बैठक बोलाउनुपर्ने भएपछि त्यही बैठकले महाधिवेशन मूल आयोजक समितिको संयोजक पनि तोकौँ भन्ने प्रस्ताव उहाँहरूको थियो,’ स्रोतले भन्यो, ‘तर, बहुमत सदस्य अहिले नै तोक्ने पक्षमा देखिएपछि निर्णय भयो ।’नयाँपत्रिकाबाट

 

 

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

अन्य अखबारबाट

    
        Loading...     
    

अन्तरवार्ता

समाचार