Presidential

नारायणगढ-मुग्लिन २९ ठाउँमा जोखिम


नारायणगढ-मुग्लिन २९ ठाउँमा जोखिम

२ साउन ।

‘प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भन्नुभयो । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उहाँले यसरी आक्रोश पोख्नुभएको होे । नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उहाँले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गर्नुभयो । ‘बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छ’, उहाँले भन्नुभयो ‘ज्यानको माया मारेर हिँड्नुपरेको छ ।’ खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उहाँको भनाइ छ । यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन । पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उहाँले सुनाउनुभयो ।

२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ । त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षात्को समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् । कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताउनुभयो ।

विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ । ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ । खाल्डो नपुर्दा जोखिम बढेको छ । गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताउनुभयो । ‘भीर, पहिरो छ, कति खेर के हुने हो कुनै ठेगान छैन’, घिमिरेले भन्नुभयो, ‘सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन । समाधान कहिले होला माथि कुरा पुर्‍याइदिनुपर्‍यो हजुर ।’ उक्त सडकखण्डमा सवारीसाधन रोक्न नपाइने भएपछि खाना खान नपाएको गुनासो उहाँले गर्नुभयो । गाडी बिग्रेको अवस्थामा पनि आधा घन्टासम्म मात्र रोक्न पाइन्छ ।

दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन् । उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ । ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन् । सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन् । आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो । इच्छाकामना-६ कालिखोलाका गौबहादुर गुरुङले हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तै लाग्न थालेको बताउनुभयो । ‘बाटो बनाउनेले नै बिगारेका हुन्, भत्किने भए पहिल्यै भत्किन्थ्यो’, उहाँले भन्नुभयो ।

प्रहरीको टोली पहिरोको अपडेट गर्न केन्द्रित देखिएको छ । मुग्लिन प्रहरीको काम नै अहिले पहिरोकेन्द्रित छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र एसपी दीपक थापाले अनुगमन गरिरहनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा पटक-पटक सरोकारवाला पक्षसँग छलफल गरिएको छ । ‘कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरी त्यसमा सजग छन्’, चितवनका एसपी थापाले भन्नुभयो, ‘जोखिम बढेकाले अहिले सबै ध्यान त्यतै केन्द्रित गर्नुपरेको छ ।’

कहाँ पहिरो खस्छ भन्ने नै यकिन हुँदैन । सबैभन्दा बढी डर अचानक खस्ने पहिरोकै हुन्छ । पहिरो नजाने भन्ने क्षेत्रमा पनि पहिरो झरेको छ । व्यवस्थापिका- संसदन्तर्गतको विकास समितिको टोलीले स्थलगत अनुगमन गरी पहिरोको जोखिम बढी भएको र रातको समयमा सवारी चलाउन प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको थियो । यो सडकखण्डमा दैनिक ८ देखि १० हजार गाडी गुड्छन् । मालवाहक साधन बढी गुड्ने गरेका छन् ।

सडक विस्तारको काम सकिएपछि पनि पहिरोको जोखिम भने दीर्घकालीन हुने देखिएको छ । एक सय ३८ वटा ठूलो पहिरो खसिकेको छ । पहिरोमा पुरिएर चार प्रहरी र दुई सर्वसाधारणले ज्यान गुमाएका छन् । पहिरो हेर्ने क्रममा चिप्लिएर एकको मृत्यु भयो । एक जना बेपत्ता छन् । झरी पर्नासाथ पहिरो खसिहाल्छ । अन्य बेला सुख्खा पहिरो खस्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २०७१ चैतदेखि हालसम्म यो खण्डका विभिन्न स्थानमा भएको दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन् । अहिलेसम्म ७८ वटा ठूला दुर्घटना भएको तथ्यांक छ ।

सम्झौताअनुसार १५ डिग्रीमा बाटो भिरालो गरिएको आयोजनाले जनाएको छ । तर, यो पर्याप्त छैन । कम्तीमा पनि ४५ डिग्रीमा कटान गर्नुपर्ने देखियो । पहाडको बीच भागमा कटान गर्न प्रयोग गर्ने मेसिन राख्दा बनाइएको भागले पहाड कोप्रो भयो अनि यसैले गर्दा पहिरो झरिरहन्छ । पहाड कटानको कारण समस्या पनि पहिरो खसेको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । ‘सम्झौताअनुसार १५ डिग्रीको डिजाइनमा कटान गरे पनि त्यो पर्याप्त भएन । त्यसैले कटान नमिलेको चाहिँ पक्कै हो’, खनालले भन्नुभयो, ‘केही मानवीय त्रुटि पनि छ कतिपय प्राकृतिक कुरा पनि छन् ।’ पहिरोको जोखिमका कारण असार २५ देखि राति सवारी साधन चलाउन रोक लगाइएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी साधनलाई साँझ ७ बजे र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई साँझ ६ बजे दासढुंगामा रोक्ने गरिएको छ । मुग्लिनबाट बिहान ५ बजे र नारायणगढबाट ४ बजे सवारी साधन जान खुला गरिएको छ ।

अन्नपूर्णमा खबर छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

अन्य अखबारबाट

    
        Loading...     
    

अन्तरवार्ता

समाचार