Presidential

यसरी दुःख दिएका थिए ज्ञानेन्द्रले

माधव नेपालको सम्झनामा माघ १९

ज्ञानेन्द्र शाह राजा भएको एक वर्ष पनि भएको थिएन, उनका क्रियाकलापमाथि दलहरूमा संशयको वातावरण सिर्जना भइसकेको थियो । त्यहीबीच ०५९ असोज १८ गते त उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव गर्न अक्षम भन्दै अपदस्थ गरे ।

ज्ञानेन्द्रको त्यो कदम निरंकुश सत्ता सञ्चालन गर्ने उद्देश्यबाट प्रेरित थियो । त्यसैले दलहरूको संयुक्त बैठकका लागि एमालेले पहल ग-यो । म एमाले महासचिव थिएँ, म स्वयंले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई फोन गरेको थिएँ । तर, बैठकमा गिरिजाबाबु आउन मान्नुभएन ।

बैठकमा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले चाहिँ कांग्रेस र एमाले ठूला दल भएकाले ‘राजाको कदम’बारे हामीबीच साझा धारणा बन्नु उपयुक्त हुने सुझाब दिनुभयो । तर, त्यो बैठकअगावै राजाको नियतमाथि शंका गर्दै हामीले राजाविरुद्ध संघर्ष गर्ने निर्णय गरिसकेको थियौँ ।

तर, उता ज्ञानेन्द्रले देउवाजीलाई नै फेरि सरकार गठनका लागि आग्रह गरेको खबर आयो । यो खबरलगत्तै पार्टीमा नयाँ शिराबाट छलफल सुरु भयो ।

मैले भनेँ– जबसम्म राजाले प्रतिनिधिसभा पुनस्र्थापनाको सर्त स्वीकार्दैनन्, तबसम्म हामी कुनै हालतमा सरकारमा सहभागी हुन सक्दैनौँ । मैले यसो भन्दाभन्दै पनि पार्टीमा चाहिँ फरक निणर्य भयो– देउवाको सरकारमा एमाले सामेल हुनुपर्छ । साथीहरूको तर्क थियो– सरकारमा भयौँ भने राजाको कदम सच्याउँदै निर्वाचनलाई अजेन्डा बनाउन सकिन्छ ।

तर, प्रधानमन्त्री भएलगत्तै देउवाजीले राजासँग मिलेर अघि बढ्ने नीति अख्तियार गर्नुभयो । उहाँ लोकतन्त्रको पक्षमा दह्रोसँग उभिनुभएन । अर्कोतिर ज्ञानेन्द्रको महत्वाकांक्षा बढ्दै गयो । खासमा उनी फेरि देउवालाई अपदस्थ गरेर आफूले नै सत्ता हातमा लिने मौका पर्खिरहेका रहेछन् । २०६१ साल माघ १९ गते उनले आफ्नो यो सपना पनि पूरा गरे, देउवालाई दोस्रोपटक अपदस्थ गरे ।

०००

त्यसो त ज्ञानेन्द्रले ‘कु’ गर्न सक्छन् भन्ने अनुमान मात्र होइन, केही दिन अघिदेखि नै हल्ला चलिसकेको थियो । हामीले पनि केही सतर्कता अपनाउन थालिसकेका थियौँ । उनले ‘टेक ओभर’ गरे भने के गर्ने भन्ने विषयमा पनि हामीबीच अनौपचारिक सरसल्लाह भइरहेको थियो । साथीहरूबीच सतर्क हौँ है भन्ने मेसेज ‘फ्लो’ हुन थालिसकेको थियो ।

कतिसम्म भने म आफैँ पनि त्यतिवेला दुईपटक झुक्किएको थिएँ । सतर्कताकै नाममा म एकदिन बालकुमारीस्थित पूर्वसांसद कृष्णलाल महर्जनको घरमा बसेँ ।

अर्को एक दिन राति अबेरसम्म कृष्णलालजीकै छिमेकीको घरमा बस्यौँ । हुन त त्रसित भइहाल्नुपर्ने अवस्था पनि थिएन, त्रसित भएकै कारण भागेका त होइनौँ, तर पनि मनमा चिसोचाहिँ पसेकै थियो । यस्तो किन पनि भने शेरबहादुरजीले हामीले दिएको सल्लाहलाई आँटेर निर्णय गर्न सक्नुभएको थिएन । हामीले चाहिँ उहाँलाई भनेका थियौँ– प्रतिनिधिसभा पुनस्र्थापनाको कदम चाल्नुस्, हामी साथ दिन तयार छौँ ।

उहाँले यसो नगर्दा पनि हामीले सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउन चाहेनौँ । बोलाएको भए झन् ज्ञानेन्द्रलाई सहज हुने हाम्रो अध्ययन थियो ।

०००

हामीले सतर्कता अपनाउँदाअपनाउँदै, सरकारलाई अझ ‘बोल्ड’ हुनू भन्दाभन्दै पनि ज्ञानेन्द्रले आफ्नो कदम चालिहाले ।

१९ माघको त्यो बिहान ज्ञानेन्द्रले केही गर्दै छन् भन्ने हल्ला चल्न थालिसकेको थियो । विशेष सूत्र र च्यानलबाट मलाई पनि यो खबर आइसकेको थियो । अब उनले केही गर्ने नै निर्णय गरेपछि हामीले गर्न सक्ने केही थिएन । बरु के होला भन्ने आशंका फैलिएको थियो ।

अत्यन्त धेरै हल्ला फैलिएपछि मैले टिभी खोलेँ । नेपाल टेलिभिजनमा उनकै प्रत्यक्ष सम्बोधन आइरहेको थियो । मैले त्यसलाई सुनेँ । मनमा लाग्यो– ज्ञानेन्द्रले साँच्चिकै जोरी खोजे ।

एकातिर म घोषणा सुनिरहेको थिएँ, अर्कोतिर मेरो घरलाई एक हुल प्रहरीले घेरिसकेका रहेछन् । अब म निर्धक्क भएँ– मलाई गिरफ्तार गर्ने भए । अर्कोतिर मनमा अरू साथीहरूलाई पनि यसै गरेको होला भन्ने खेल्यो । मनमा यस्ता कुरा खेले पनि मलाई ढुक्क भइसकेको थियो– ज्ञानेन्द्रले खोजेको यो निहुँले उनलाई नै खाँदै छ ।

अनि त्यही बिहान मैले संकल्प गरेँ– अब लडेर नै ज्ञानेन्द्रलाई फाल्नुपर्छ, अब राजतन्त्रको आयु सकियो ।

यस्तो विचार ममा किन आयो भने त्यसबीचमा दुई–चारपटक मेरो र ज्ञानेन्द्रको भेट भइसकेको थियो । हामीबीच यस्तै विषयमा विवाद तथा बहस पनि भएको थियो । उनको घमन्डलाई मैले बुझिसकेको थिएँ । र, निक्र्योल गरिसकेको थिएँ– यस्तै घमन्ड राखे भने उनको आफ्नै भलो हुँदैन । हो, त्योबीचमा कहिलेकाहीँ देशको बदलिँदो परिस्थिति र राजनीतिक अस्थिरताका कारण राजतन्त्र अझै पनि आवश्यक छ कि भन्ने भान समय–समयमा मलाई परेको पनि थियो । तर, १९ माघको बिहान जब टिभीमा ज्ञानेन्द्रको सम्बोधन मैले सुनेँ, तब मैले आफैँलाई सम्झाएँ– अब राजतन्त्र फाले मात्र देशको भलो हुन्छ ।

०००

सम्बोधन सकिएकै थिएन, प्रहरीले मलाई पुर्जी थमाए । त्यो नजरबन्दको पुर्जी थियो । पुर्जीमा लेखिएको थियो, ‘तपाईंलाई घरमै नजरबन्दमा राखिएको छ ।’

एकातिर मेरो हातमा त्यो पुर्जी थियो, अर्कोतिर मेरो मन झन्झन् आन्दोलित भइसकेको थियो । मलाई लाग्यो– अब त बाहिर जतिसक्दो छिटो र ठूलो आन्दोलन चर्काउनुपर्छ । अनि मैले बाहिर साथीहरूलाई सम्पर्क गर्न खोजेँ, केहीसँग सम्पर्क पनि भयो ।

त्यो सम्पर्क छोटो थियो, तर अत्यन्त प्रभावकारी भयो । पार्टीका कमरेडहरूले बाहिर पनि बिस्तारै त्यही सन्देश फैलाउनुभएछ । छोटो समयमा निकै छिटो आन्दोलनको सन्देश फैलियो । अनि त भूमिगत बैठक भए, थुप्रै स्थानमा विभिन्न मोर्चाको गठन गर्दै धमाधम आन्दोलन सुरु भयो ।

म घरबाहिर निस्किन नपाए पनि मोबाइलले काम गरिरहेको थियो । त्यसैले, अन्य नेताहरूसँग म धेरथोर कुरा गरिरहेको थिएँ । फोन सहज नहुँदा हामी इमेललाई सञ्चारको माध्यम बनाउँथ्यौँ । इमेलमा कहाँ भेट्ने, कहाँ आन्दोलन गर्ने, कहाँ कोको परिचालन हुनेजस्ता सन्देश आइरहेका हुन्थे । म घरमै बसेर ती आन्दोलनमा सहभागी भएको कल्पना गर्थें ।

साथीहरू मलाई भेट्न दिनहुँ घरसम्म पनि आउनुहुन्थ्यो । तर, अहँ प्रहरीले कसैलाई पनि भित्र आउनै दिएन । केही दिनसम्म पनि भेट्न नदिएपछि कमरेडहरू अधैर्य हुनुभयो । कमरेड गोपाल शाक्यको नेतृत्वमा घेराबन्दी तोडेरै मेरो घरमा छिर्ने निणर्य भएछ । उहाँ सम्पर्क मन्चको इन्चार्ज हुनुहुन्थ्यो । उहाँहरूले प्रयास पनि गर्नुभयो । म छतमा गएर उहाँहरूलाई हौसला प्रदान गरेँ । तर, अहँ ‘सशस्त्र’ प्रहरीको अगाडि उहाँहरूको केही सिप चलेन । उहाँहरू फर्किनुभयो । त्यसपछि मलाई भेट्न अन्य देशका राजदुत तथा कुटनीतिज्ञहरू पनि आउनुभयो । तर, उहाँहरूलाई पनि प्रहरीले घरको गेटबाटै फर्काइदियो ।

अनि बल्ल मैले थाहा पाएँ– मलाई जस्तै अरु नेताहरूलाई पनि नजरबन्दमा राखेको छ ।

गिरिजाबाबु, केपी कमरेडलाई पनि घरमै राखेको सुचना पाएँ । उता, इश्वर (पोखरेल) कमरेडलाई राजविराज जेलमा राखिएको रहेछ ।

नजरबन्दमा भएपनि मैले बाहिर सम्पर्क राखिरहनु पर्छ भन्ने थियो । बाहिर सन्देश पठाउन मैले श्रीमती (गायत्री) लाई प्रयोग गरे । उहाँले मैले लेखेका चिठी बाहिर लगिदिनुहुन्थ्यो । मलाई लाग्छ, त्यति बेला एउटा चिठी मैले अमृत (बोहोरा) कमरेडलाई पठाएर पार्टीका कामकारबाही नरोक्न अनुरोध गरेको थिएँ ।

बाहिर पार्टीले विरोध गरिरहेको छ, आन्दोलन भइरहेका छन् भन्ने खबर पनि म श्रीमतीमार्फत् नै पाउँथे । टिभीमा आउने समाचारमा त त्यस्ता आन्दोलनबारे उति उल्लेख गरिएको हुन्नथ्यो । अरु समय चाहिँ म अध्ययनमा खर्च गर्थेँ । तर, त्यस्तो फुर्सद किन पनि हुँदैनथ्यो भने मनमा बेचैनी अत्यन्त बढेको थियो, अब देशमा के होला र कसरी छिटो आन्दोलन सफल बनाउन सकिएला भन्ने चिन्ता भइरहन्थ्यो ।
झन्डै तीन महिना नजरबन्दमा हुँदा मैले भेटेका केही व्यक्ति मानवअधिकारवादी साथीहरूमात्र हुन् ।

चैतमा म नजरबन्दबाट मुक्त भएँ ।

०००

नजरबन्दबाट मुक्त भएपछि हामी शिर्ष दलका नेताहरूबीच औपचारिक–अनौपचारिक छलफल हुन थाल्यो । हामी कसरी ज्ञानेन्द्रबाट मुक्त हुने भन्नेमा छलफल केन्द्रित गथ्र्यौँ ।

एकातिर दलहरूसँग वार्ता भइरहेको थियो भने अर्कोतिर पार्टीमा पनि हामीले अब आन्दोलन गणतन्त्र केन्द्रित बनाउने निणर्य गरिसकेका थियौँ । त्यस्तै, सशस्त्र गरिरहेको माओवादीसँग पनि वार्ताका कुरा उठिरहेका थिए ।

यी सबबीच हामीले साउनबाट गणतन्त्रको माग गर्दै बुटवलबाट आन्दोलन सुरु ग¥यौँ । विस्तारै आन्दोलनले ठूलो स्वरूप लियो । पुष मसान्तसम्म आन्दोलन अविचलित बढ्दै गयो ।

यी सब प्रक्रियालाई ज्ञानेन्द्रले हेरिरहेका थिए । त्यसैले उनी झन्झन् अराजक बनिरहेका थिए । अनि उनले माघमा मलाई फेरि दोस्रोपटक तीन महिनाका लागि नजरबन्दमा राख्ने भन्दै गिरफ्तार गर्न प्रहरी पठाए । म त्यो दिन घरमै थिए । प्रहरी आए र मलाई त्यो पुर्जी दिए ।
मैले तत्कालै थाहा पाएँ– त्यसअघि रिहा भएका गिरिजाबाबु, केपी कमरेडलगायतलाई भने दोस्रो पटक पक्राउ गरिएको होइन ।

त्यतिबेला मलाई पक्राउ गरेर ककनीस्थित सशस्त्र क्याम्पमा लगियो । प्रहरीले मेरोमात्र होइन, त्यही कम्पाउन्ड भित्रका भाइका दुई घर पनि प्रहरीले खानतलासी गरेको रहेछ । उसले त्यहाँबाट कम्प्युटर, मोबाइलजस्ता इलेक्ट्रोनिक्स सामान सिज गरेको थियो ।

ककनी क्याम्पमा त्यतिबेला डिएसपी शम्भु उप्रेती प्रमुख हुनुहुन्थ्यो । त्यस्तो समयमा पनि उहाँ अत्यन्त विनम्र हुनुहुन्थ्यो । उहाँले क्याम्पभित्र मलाई कुनै असहज हुन दिनुभएन । श्रीमतीसँग तथा मानवअधिकारवादीहरूसँग त्यहाँ मेरो भेट भइरह्यो । तर, नेताहरूसँग भने भेट्न दिइएन ।

०००

५ वैशाखमा रिहा गर्ने भनेर मलाई त्यहाँबाट निकालियो । सशस्त्र प्रहरीको भ्यानमा म थिएँ । तर, नागार्जुन दरबारको गेट नजिकै आएपछि गाडीमा अन्योल उत्पन्न भयो । प्रहरीहरूले कानेखुसी गरेको मैले सुनेँ– फेरि फर्काउनु पर्ने भयो ।

मलाई झनक्क रिस उठ्यो । यो त सिधै ‘डिमोरलाइज’ गर्न खोजेको हो भन्ने मेरो ठहर थियो । अर्कोतिर ककनी प्रहरी क्याम्पबाट म बिदा भएर घर जान निस्केको थिएँ । फेरि त्यहाँ फर्किने वा घर नपुग्ने कुरा मैले तत्काल सोचेको कुरा थिएन । अनि झनक्क रिसाएर मैले भनेँ, ‘तिमीहरूले जे जे भन्छौ, त्यही किन मान्ने मैले ? जहाँ जहाँ जाने भन्छौ, त्यहाँ त्यहाँ किन जाने म ? म अब कुनै हालतमा काठमाडौंबाट फर्किन्नँ, जसलाई कुरा गर्नुपर्छ फोन लगाउ । ज्ञानेन्द्रसँग होस् या कमल थापासँग म सिधा कुरा गर्छु ।’ कमल थापा त्यति बेला गृहमन्त्री हुनुहुन्थ्यो ।

म झोक्किएपछि उनीहरू अलमलमा परे । अनि मैले थपेँ, ‘तिमीहरूको आइजिपीलाई फोन लगाउ, म कुरा गर्छु ।’

उनीहरूले सहवीर थापालाई फोन गरे ।

मैले उहाँलाई भनेँ– के हो यो तपाईंहरूको पारा ? मलाई के ठानेको ? जथाभावी समाएर राख्ने अनि फेरि बाटोमा ल्याएर फर्काउन खोज्ने ?’ त्यति बेला मैले उहाँसँग फोनमा कडै शब्द प्रयोग गरेको थिएँ । उहाँले कुनै जवाफ दिनु भएन ।

केही बेरमा मेरो रिस शान्त भयो । त्यो टोलीले पनि मलाई कोटेश्वर घरमा लगेर छोडिदियो ।

०००

अब म आन्दोलनलाई थप चर्काउने पक्षमा थिएँ । तर, त्यसको भोलिपल्ट विहान फेरि मेरो निवासमा प्रहरी भ्यान आयो । उनीहरूले मलाई अदालत जान अनुरोध गरे ।

सुरुमा मैले निकै आनाकानी गरेँ । तर, त्यहाँ आएका प्रहरीले अघिल्लो दिनको जस्तो नहुने भनेपछि म अदालत गएँ ।

अदालती प्रक्रिया पुरा भएपछि बल्ल मैले रिहा पत्र पाएँ । त्यहाँबाट म सिधै पार्टी कार्यालय बल्खु गएँ । बल्खुमा भारतीय विशेष दूत करण सिंहले मलाई पर्खनु भएको छ भन्ने थाहा भइसकेको थियो । अमृत कमरेड र ईश्वर कमरेड पहिले नै त्यहाँ हुनुहुन्थ्यो ।

हामी तीन र सिंहबीच कुराकानी भयो । सिंहको कुरा थियो– ज्ञानेन्द्रसँग बेबी किङको कुरा मानिदिँदा सबै मिलिहाल्छ, तपाईंहरूले मानिदिनु प-यो ।

मैले तत्काल जवाफ दिएँ– इट्स टु लेट ।

भोलिपल्ट उनै करण सिंह गिरिजाबाबु र शेरबहादुरजीकहाँ पनि पुग्नु भएको रहेछ । भेटलगत्तै गिरिजाबाबुले मलाई फोन गर्नुभयो । र, भेटमा सिंहले राखेका प्रस्वातबारे बताउनुभयो ।

उता, त्यसको पर्सिपल्ट अर्थात् ८ वैशाखमा ज्ञानेन्द्रले वक्तव्य जारी गरे ।

ज्ञानेन्द्रको वक्तव्य आएलगत्तै गिरिजाबाबुले मलाई फोन गर्नुभयो, ‘माधवजी राजाको वक्तव्य आयो, शेरबहादुरजीसँग पनि कुरा गर्नुस् न ।’

मलाई अनुमान गर्न गाह्रो भएन, गिरिजाबाबुको खुट्टा कामिसक्यो । लगत्तै फेरि शेरबहादुरजीले पनि फोनमा मलाई भन्नुभयो– राजाको वक्तव्यलाई ‘पोजेटिभ’ लिइदिनु प-यो ।

मैले जवाफ दिएँ– यस्तो कुनै हातलमा हुँदैन, जबसम्म ज्ञानेन्द्रले आफ्नो हातबाट शासन फिर्ता भएको घोषणा गर्दैनन्, तबसम्म अहिलेको आन्दोलन रोकिन्न ।

‘तपाईंको कुराले त ब्लडसिट हुने भयो,’ शेरबहादुरजीले भन्नुभयो ।

मलाई शेरबहादुरजीले यसो भन्नुहोला भन्ने पहिले नै अनुमान थियो । किनकि कांग्रेस नेता प्रदीप गिरिले केही अघि फोन गरेर भन्नुभएको थियो, ‘हाम्रा दुवै नेताले घु“डा टेकिसके, अब टिक्ने आ“ट पनि छैन, त्यसैले तपाईं जसरी पनि उभिनुपर्छ ।’ उहाँलाई मैले केही नराम्रो नहुने आश्वस्त पार्न पनि खोजे ।

उहाँको फोनले मलाई अनुमान गर्न मात्र सहज बनाएको थिएन, आत्मबल बढाउन सहयोग पनि गरेको थियो । उहाँले फोन गरेकाले मलाई थाहा भइसकेको थियो– कांग्रेसभित्र पनि गणतन्त्रको आवाज बलियो हुँदैछ ।

अनि मैले मनमनै भनेँ– अब त झन् हामी किन घुँडा टेक्ने ?

त्यसको भोलिपल्ट गिरिजाबाबुकहाँ बैठक बस्यो । त्यसमा सात दलका नेता र युरोपियन युनियनका राजदूतहरू थिए । त्यसअघि भारतीय, ब्रिटिस, अमेरिकन र नर्वेजियनसहित चार मुलुकका राजदूतहरूले फोन गरेर मलाई राजाको वक्तव्यलाई ‘पोेजेटिभ्ली’ लिइदिनुप-यो भनिसकेका थिए ।

उहाँहरूलाई मैले जवाफ दिएको थिएँ– नाउ इट्स नट पोसिबल, ब्याक हुनै सकिन्न ।

त्यसो त उता तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले मलाई यस्तै अनुरोध गर्नु भएको थियो । उहाँलाई पनि मैले अब ढिला भइसकेको उत्तर दिएको थिएँ । उहाँले यही एउटा कुरा भन्न तीन पटकसम्म फोन गर्नुभएको थियो । मैले तिनै पटक भनेँ– सरी ।
गिरिजाबाबुको निवासमा भएको त्यो बैठकमा युरोपियन राजदूतहरूसँग म, गिरिजाबाबु र शेरबहादुरजी बसेका थियौँ ।

बैठकमा उहाँहरूको कुरा फेरि त्यही थियो, ज्ञानेन्द्रको प्रस्ताव बेबी किङलाई मानिदिने ।

मैले त्यहाँ पनि भनेँ, ‘यो त सम्भव छैन ।’

भित्र बैठक चलिरहेको थियो, बाहिर कार्यकर्ताहरू दबाबका लागि नाराबाजी गरिरहेका थिए । मलाई उहाँहरूको आवाजले उत्साह भरिरहेको थियो ।

त्यो आवाजलाई कन्ट्रोल गर्न गिरिजाबाबु बाहिर आउनुभयो । तर, उहाँले भनेको पनि उनीहरूले मानेनन् । गिरिजाबाबुले मलाई बोलाउनु भयो । मैले घरको छतबाट भाषण गरेँ– तपाईंहरू नआत्तिनुस्, जबसम्म आन्दोलनको मूल उद्देश्यअनुसार ज्ञानेन्द्रले घुँडा टेक्दैनन्, तबसम्म यो आन्दोलन रोकिँदैन ।

केहीबेरमा बैठक सकियो । राजदूतहरूले सायद बाहिरको आन्दोलनको मनोभाव बुझे, चुपचाप निस्किए ।

राजदूतहरू निस्किएको केही बेरमा म पनि निस्किएँ । म त्यहाँबाट सिधै गोँगबु पुगेँ । त्यहाँ खबर पाएँ– कलंकीमा झन् ठूलो मास छ, कांग्रेस नेता भीमसेनदास प्रधानले कन्ट्रोल गर्न सक्नु भएको छैन ।

म मोटरसाइकल चढेर कलंकी पुगेँ ।

भोलिपल्ट पार्टी कार्यालय बल्खुमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनका प्रतिनिधिसँग पनि कुराकानी भयो । उहाँहरूलाई मैले जवाफ दिएको थिएँ– बल्खुबाट नारायणहिटी धेरै नजिक छ, तर यहाँबाट न्युयोर्क र न्युयोर्कबाट नारायणहिटी धेरै टाढा छ, त्यसैले नारायणहिटीले चाहँदा यो ठूलो कुरै होइन ।

त्यसको अर्को दिन राजाका मुख्यसचिव पशुपतिभक्त महर्जनसँग मेरो भरतमोहन (अधिकारी) कमरेडको निवास कलंकीमा भेट भयो । भेटमा उनले राजाले के गर्नुपर्छ भन्ने प्रश्न राखे ।

हामी राजालाई मस्यौदा पठाइदिउँला– मैले जवाफ दिएँ ।

उता, पार्टी स्थायी कमिटी बैठक चलिरहेकै थियो । हामीले राजालाई पठाउने मस्यौदामाथि छलफल ग-यौँ । साँझ भरतमोहन कमरेड, र अमृत कमरेड र म भरतमोहनजीकै घरमा बस्यौँ । त्यही साँझ दरबारबाट राति नै बस्नुप¥यो भन्ने कुरा अयो । तत्काल गिरिजाबाबुको निवासमा दरबारका प्रतिनिधिसहित त्रिपक्षीय बैठक सम्पन्न भयो । यता मस्यौदाको टुंगो लागिसकेको थियो । उता, कफ्र्युकै बीचमा दरबारले पठाएको गाडीमा भरतमोहन कमरेड र म गिरिजाबाबुकहाँ पुगेर वक्तव्यको अन्तिम टुंगो लगायौँ ।

अन्तिम मस्यौदालाई पशुपतिभक्त मर्हजनले स्विकारेपछि दुई वाक्यांश थपियो– प्यारा देशवासी र श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।

त्यही हामीले पठाएको मस्यौदा राति ११ बजे ज्ञानेन्द्रले पढे ।

यता, हामी सफल भएको निष्कर्षमा थियौँ । उता, भूमीगत अवस्थामै माओवादीले ज्ञानेन्द्रको घोषणा धोका हो भन्ने वक्तव्य जारी ग¥यो । त्यसले फेरि समस्या खडा भयो ।

एकातिर विजय जुलुस मनाउन टुँडिखेलमा लाखौँ जनताको पंक्ति जम्मा हुँदै थियो, अर्कोतिर हामीबीच अर्को संशय सुरु भयो ।

जे होस्, टुँडिखेलमा हामी सबै दलका नेता भेला भयौँ । तर, जब सुशीलजीले बोल्न थाल्नुभो, ‘मास’को एउटा पंक्तिले गिरिजाबाबु चाहियो भन्दै शेरबहादुरजीमाथि ढुंगामुढा गर्न थाल्यो । त्यो मासको आवाज सम्हाल्नै गाह्रो प¥यो । त्यसपछि म मञ्चमा गएँ । र, भनेँ– गिरिजाबाबु अस्वस्थ भएकाले आउन सक्नुभएन ।

मैले थपेको थिएँ– यो हामी सबैको उपलब्धि हो, परिवर्तन हामी सबैले चाहे अनुसार हुन्छ ।

नभन्दै, हामीले चाहेजस्तै प्रतिनिधिसभा पुनस्र्थापना भयो र लोकतान्त्रिक गणतन्त्रको विजारोपण भयो ।

‘नयाँ पत्रिका’ बाट

20 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार