Presidential

मदनसँगका सात सन्दर्भ

शंकर पोखरेल

मदनसँगको पहिलो भेट

मदन भण्डारीसँग मेरो भेट मदन भण्डारी भन्ने चिनेरै बहुदल आइसकेपछि मात्रै भएको हो । ०४७ सालको सुरुतिर उहाँले विद्यार्थीहरूलाई पहलोपटक पुल्चोक इन्जिनियरिङ क्याम्पसको भेलामा प्रशिक्षण दिनुभएको थियो । त्यतिबेला उहाँ मदन भण्डारीका रूपमा चिनिइसक्नुभएको थिएन ।

मैले मदन भण्डारीलाई त्यसभन्दा पहिला पनि देखेको रहेछु । कलकत्तामा उहाँसँग समूहमा भेटघाट भएको रहेछ । ०३८-३९ सालतिरको कुरा हो, कलकत्तामा प्रवासी नेपाली संघको अधिवेशन भएको थियो । त्यसबेला हामी सँगै गोरखपुरसम्म आएका रहेछौं । तर, पहिलो पटक उहाँलाई प्रत्यक्ष वक्ताका रूपमा सुनेको चाहिँ पुल्चोक इन्जिनियरिङ क्याम्पसको भेलामा नै हो ।

त्यसबेला खासगरी जनआन्दोलनपछि वामपन्थीहरूको कार्यभार कसरी अगाडि बढ्छ भन्ने कुरामा एकखालको अन्योल थियो । त्यही अन्योलका बीचमा उहाँले जुन खालको विचार प्रस्तुत गर्नुभयो, त्यसले स्वभाविक रूपमा हामीलाई प्रभावित ग¥यो । त्यसपछि खुला राजनीतिमा आइसकेपछि त उहाँ क्रमशः कुशल वक्ताका रूपमा चर्चामा रहनुभयो ।
अपिल लेख्ने जिम्मा मलाई नै

मदनसँग जोडिएका सन्दर्भका निस्किँदा मलाई एउटा घटना विशेष सम्झना आउँछ । म पाँचौं राष्ट्रिय महाधिवेशनको प्रचार समितिको सचिव थिएँ, भरतमोहन अधिकारी संयोजक हुनुहुन्थ्यो । मलाई महाधिवेशनको अपिल अत्यन्तै प्रभावकारी ढंगले आउनुपर्छ भन्ने लाग्यो र भरतमोहन कमरेडलाई भनें– ‘होइन, यो महाधिवेशनको अपिलचाहिँ महासचिव कमरेडलाई नै लेख्न लगाउनुपर्छ ।’ उहाँले ‘हुन्छ’ भन्नुभयो । भरतमोहन कमरेडले त्यो कामको जिम्मा पनि मलाई लगाउनुभयो ।

कुन पंक्तिभित्र विचारलाई छिटो स्थापित गर्न सकिन्छ भन्ने कुराको मूल्यांकन गर्ने क्षमता त्यहाँ देखियो । उहाँले ‘नयाँ विचारलाई नयाँ पुस्ताले छिटो ग्रहण गर्छ’ भन्नुभयो, मैले प्रयोग गरेर देखाएँ ।

shankar po

शंकर पोखरेल

म मदन कमरेडलाई अनुरोध गर्न गएँ र ‘महाधिवेशनको अपिलचाहिँ तपाईंले तयार गरिदिनुप-यो’ भनें । उहाँले ‘तपाईंहरू जत्तिको साथीले जिम्मा लिएको काम पनि मैले गर्नुपर्छ ? तपाईंहरू आफैं गर्नुस्’ भन्नुभयो ।

त्यसपछि म आफैंले महाधिवेशनको अपिल तयार गरें । पछि मान्छेहरूले त्यो अपिल मन पराए । सायद उहाँले त्यसो नभनेको भए अपिल तयार गर्न सक्छु भन्ने मेरो मानसिकता हुन्थ्यो जस्तो लाग्दैन । त्यस अर्थमा नेतृत्वले कार्यकर्तालाई विश्वास पैदा गर्ने र जिम्मा लगाउने कुरा महत्वपूर्ण रहेछ भन्ने लाग्छ ।

विद्यार्थीमा मदनको विचार स्थापित गर्दा

पार्टी खुला भएपछि बहुदलीय जनवादबारे बहस र छलफल सुरु भयो । त्यो बहस र छलफलबारे पार्टीभित्र मत विभाजित थियो । एकपटक त मदन झन्डै–झन्डै अल्पमतमा पर्ने अवस्थासमेत थियो । यो बहसमा हामी जसरी सामेल भयौं, त्यस कुराले उहाँलाई प्रेरित गरेछ । उहाँले ‘तपाईंहरू नलाग्ने हो भने यो विचार स्थापित हुन सक्दैन, पुरानो पुस्ताका मान्छेले नयाँ विचारलाई ग्रहण गर्न गाह्रो हुन्छ, नयाँ पुस्ताले नै नयाँ विचारलाई ग्रहण गर्न सक्छ, युवा–विद्यार्थीहरूले नै यो विचारलाई सही ढंगले ग्रहण र आत्मसात् गर्न सक्छन्’ भन्नुभयो ।

मैले त्यो विचारलाई विद्यार्थीका बीचमा कसरी स्थापित गर्न सकिन्छ भनेर पहल गरें । अत्यन्त छिटो, पार्टीमा भन्दा पहिले विद्यार्थीका बीचमा हामीले बहुदलीय जनवादसम्बन्धी विचार स्थापित गर्ने कुरामा सफलता पायौं । अर्थात्, कुन पंक्तिभित्र विचारलाई छिटो स्थापित गर्न सकिन्छ भन्ने कुराको मूल्यांकन गर्ने क्षमता त्यहाँ देखियो । उहाँले ‘नयाँ विचारलाई नयाँ पुस्ताले छिटो ग्रहण गर्छ’ भन्नुभयो, मैले प्रयोग गरेर देखाएँ ।

यो म अखिलको अध्यक्ष हुँदाको सन्दर्भ हो । माले–माक्र्सवादी एकतालगत्तै विद्यार्थीमा पनि नेप्रवियु र अनेरास्ववियुबीच एकता भयो । एकतापछि ०४७ मंसिरमा म अखिल अध्यक्ष भएँ । त्यससँगै उहाँले बहुदलीय जनवादबारे पुस्तिका तयार पार्नुभएको थियो । त्यो पुस्तिकालाई स्थापित गर्ने सन्दर्भको कुरा हो त्यो ।

मेरो तर्क मदनले मान्नुभयो

पाचौं महाधिवेशनको दस्तावेज तयार गरिरहँदा क्रान्तिसम्बन्धी अवधारणाबारे परम्परागत कम्युनिस्ट आन्दोलनभित्र चाहिँ सशस्त्र संघर्ष एक मात्र बाटो हो भन्ने धारणा थियो । उहाँचाहिँ क्रान्तिको बाटो अब बदलिन्छ भन्ने निष्कर्षमा पुग्नुभएको थियो । मैले उहाँसँग एउटा विषयमा तर्क गरें– ‘जसरी सशस्त्र संघर्ष नै एक मात्र बाटो हो भन्ने मान्यता गलत हो, त्यसरी नै शान्तिपूर्ण बाटो मात्र एक मात्र बाटो हो भन्ने मान्यता पनि गलत हो । एउटा गल्तीबाट निस्कने क्रममा हामीले अर्को गल्ती गर्नुहुँदैन । समाजको वर्ग चरित्रका आधारमा क्रान्तिका तरिकाहरू प्रभावित हुन्छन् भन्ने मान्यतामा विश्वास गर्नुपर्छ । क्रान्तिका सबै विकल्प समाजले आवश्यकताअनुसार ग्रहण गर्छ भन्ने सिद्धान्तलाई प्रयोग गर्नुपर्छ ।’

उहाँले त्यसलाई सहजै ग्रहण गर्नुभयो ।

क्रान्तिको बाटो, संघर्षका रूप र तरिका भन्ने कुरामा तीनवटा कुराले प्रभावित हुन्छन् । ती भनेका वर्ग संघर्षको अवस्था, राज्यको चरित्र र जनताको चेतना हो भन्ने खालको कुरालाई सूत्रीकरण गर्न त्यो बहसले काम गरेको थियो भन्ने लाग्छ । यस अर्थमा कसैले केही जायज कुरा गरिहाल्यो भने सहज ढंगले पनि स्वीकार गर्न सक्ने गुण उहाँमा थियो ।

उल्टै ‘कन्भिन्स’ गर्ने क्षमता

०४८ सालपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको दमन र धरपकडविरुद्ध आन्दोलन चलिरहेको थियो । आन्दोलन चलिरहँदा आन्दोलनबाट पछाडि हट्नुपर्ने स्थिति उत्पन्न भयो । उहाँ त्यो निष्कर्षमा पुग्नुभयो । आमहडताल घोषणा गरिएको थियो, त्यसबाट पछाडि हट्दा पार्टी आन्दोलनबाट विमुख भयो भन्ने खालको आरोप–प्रत्यारोप चलिरहेको थियो ।

हामी त आन्दोलनमा ज्यादा रुचि राख्थ्यौं । त्यसैले, आन्दोलनबाट पछि हट्नुहुँदैन, यसले पार्टीलाई नोक्सान गर्छ भनेर बहस–पैरवी गर्न गयौं । तर, उहाँले यसरी तर्क गर्नुभयो कि हामी सबै ‘कन्भिन्स’ भएर फर्कियौं । हामी उहाँलाई ‘कन्भिन्स’ गर्न गएका तर उहाँले हामीलाई ‘कन्भिन्स’ गरेर फर्काउनुभयो । भावनात्मक ढंगले प्रतिवादमा उत्रनेहरूको सामना गर्ने क्षमता उहाँमा थियो । हामीकहाँ अहिले भीडले जे भन्यो, त्यही मान्ने चलन छ । तर, उहाँमा भीडलाई ‘कन्भिन्स’ गर्न सक्ने खुबी अर्थात् कार्यकर्ताका गुनासाहरूलाई आफ्ना तर्कद्वारा कन्भिन्स गर्न सक्ने खुबी भएको नेता भएको अनुभव मैले गरें ।

आन्दोलनमा लागिरहेको सिंगो पंक्ति सफलतामा नपुगी विश्राम लिनुहुन्न भन्ने अवस्थामा पुगेको तर नेतृत्वचाहिँ अब अगाडि बढ्दा नोक्सान हुन्छ भन्ने निष्कर्षमा पहिल्यै पुगिसकेको थियो । त्यसका बीचमा रहेको खाडलमा भड्किएको असन्तुष्टिलाई सम्बोधन गर्ने सामथ्र्य नेतृत्वमा छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुँदो रहेछ । त्यो बेला मैले उहाँमा एक खालको असाधारण क्षमता रहेछ भन्ने अनुभूति गर्ने मौका पाएको थिएँ ।

मदनकै बलमा जीवराजसँग टक्कर

पाचौं महाधिवेशनको बहस चल्दै थियो । उहाँकै सहयोद्धाहरू पनि सबै चिजमा ‘कन्भिन्स’ हुनुहुन्थेन । पूर्वबाट बहस चल्दै चितवनसम्म आइपुग्दा पनि कसैको नामका सन्दर्भमा, कसैको क्षतिपूर्तिका सन्दर्भमा त कसैका अन्य कतिपय कुरामा ‘रिजर्भेसन’ थियो । हामी तिनीहरूलाई सम्झाएर साथमा लिनुप¥यो भन्थ्यौं । भोलि अप्ठ्यारो पर्न सक्छ भन्ने अर्थमा सबैलाई सम्झाएर साथमा लिनुपर्छ भन्नेमा हाम्रो जोड हुन्थ्यो । तर, उहाँको मान्यता फरक थियो । उहाँ भन्नुहुन्थ्यो– ‘म पराजित भएर केही फरक पर्दैन । कसैलाई लागेको कुराबाट ऊ ‘कन्भिन्स’ नभईकन मेरो पक्षमा आउनुपर्छ भन्ने कुरामा मेरो कुनै आग्रह छैन । म मेरो मान्यता राखेर त्यसमा उहाँहरू ‘कन्भिन्स’ भइदिए हुन्थ्यो भन्ने अपेक्षा त गर्छु तर उहाँहरू ‘कन्भिन्स’ नभईकन मलाई साथ दिनुस् भन्ने कुरा गर्नु मैले उचित हुँदैन ।’

पाँचौं महाधिवेशनको समूह बनाउँदा एउटा समूहको नेता म थिएँ । त्यो समूहको एक सदस्य जीवराज आश्रित हुनुहुन्थ्यो । बहस चल्यो । उहाँको मत क्षतिपूर्ति दिने कुरा गलत हो भन्ने थियो ।

हामीलाई नेताविरुद्ध कसरी उभिने भन्ने लाग्थ्यो । तर, त्यो कुराले मलाई प्रेरित ग-यो । पाँचौं महाधिवेशनको समूह बनाउँदा एउटा समूहको नेता म थिएँ । त्यो समूहको एक सदस्य जीवराज आश्रित हुनुहुन्थ्यो । बहस चल्यो । उहाँको मत क्षतिपूर्ति दिने कुरा गलत हो भन्ने थियो । मैले बहस गरेर उहाँको मतलाई पराजित गरें । मदन भण्डारीले त्यसो नभनेको भए मलाई सायद अलिकति संकोच पनि हुन्थ्यो होला । आफैंले आदर र सम्मान गरेको नेतासँग वैचारिक हिसाबले किन बहस गर्नु भन्ने लाग्थ्यो होला ।

कार्यकर्तालाई बोल्न प्रोत्साहन

सामान्यतया आन्दोलनभित्र वक्ताहरूमा छिटो बोल्ने हतारो हुन्छ । ढिलो बोल्यो भने मान्छे हिँड्लान् भन्ने मनोविज्ञानले काम गरेको हुन्छ । अहिले हाम्रै नेताहरू पनि ‘म अगाडि बोल्छु अथवा तिमीहरू छोटो गर, मलाई बोल्न देऊ’ भन्नुहुन्छ । तर, उहाँ कार्यकर्तालाई बोल्न प्रोत्साहित गर्नुहुन्थ्यो । बोल्दा विषयवस्तु टिपोट र बुँदाहरू उल्लेख गर्दा प्रभावकारी हुन्छ भन्ने र मान्छेलाई बोल्न प्रोत्साहित गर्ने स्वभाव उहाँमा थियो । ‘मलाई सुन्न मान्छे बसेका छन्, म उभिएँ भने उनीहरूलाई सुनाउन सक्छु’ भन्ने आत्मविश्वास उहाँमा थियो । उहाँ उपस्थित भएको कार्यक्रम छोटो पार्नुपर्छ भन्ने हुँदैनथ्यो । मान्छेलाई बाँधेर राख्न सक्ने खुबीले उहाँलाई त्यस प्रकारको धैर्यवान् बनाएको थियो होला । अरू नेतामा चाहिँ कार्यकर्ता बोल्दा अत्यत्न छटपटी र मैले बोल्ने कुरा उसैले खोसेर बोलिदिने हो कि भन्ने मनोविज्ञान देखिन्छ । तर, उहाँ उपस्थित कार्यक्रममा हामीले बोल्दा ‘मेरो विषय यसले खोसिदियो’ भन्ने उहाँलाई अनुभूति नै हुँदैनथ्यो । अरूले बोलेका कुराभन्दा फरक सन्दर्भबाट विषयवस्तुलाई प्रस्तुत गरेर ‘मोटिभेट’ गर्न सक्ने खुबी उहाँमा देखिन्थ्यो ।

पाँचौं महाधिवेशनमा सबैलाई समेट्दा

पाँचौं महाधिवेशनकै अन्तिम संघारमा जब हलबाट कार्यक्रम पारित भयो, त्यसपछि निर्वाचनमा जाने सन्दर्भ आयो । उहाँ निर्वाचनकै प्रक्रियामा जानुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो । उहाँले त्यसका लागि पहल पनि गर्नुभयो, जसले आफ्नो विचारलाई समर्थन गरेका छन्, उनीहरूलाई मात्र होइन, महत्वपूर्ण नेताहरूलाई जिताउनुपर्छ भन्ने मान्यता पनि थियो । एकथरी साथीहरू विचारका पक्षधरहरूको सूची बनाएर अघि बढ्ने कोसिस गरिरहनुभएको थियो । उहाँले त्यस कुरालाई अस्वीकार गर्नुहुन्थ्यो । अर्कोतर्फ, जब समस्या उत्पन्न भयो, उहाँ सहमति कायम गर्न आफ्नो मान्यतासँग सम्झौता गर्न पनि तयार हुनुभयो । ‘कसरी मिलाउनुपर्छ, मिलाउनू’ भनेर कमिटी बनाउने जिम्मा अरूलाई नै दिनुभयो ।

त्यही रूपमा प्रदीप र अष्ट कमरेडले विश्वास गर्न सक्नुभएन । तर, उहाँले त्यो कुरा व्यवहारमा लागू गरेरै देखाउनुभयो । कार्यकर्ताको गुनासो व्यवस्थापन गर्ने र आश्वासन दिने तर त्यसलाई बिर्सिदिने चलन हुन्छ । त्यसबाट उहाँ मुक्त हुनुहुन्थ्यो जस्तो लाग्छ ।

त्यसबेला केन्द्रीय कमिटीमा रहन आवश्यक प्रदीप नेपाल र अष्टलक्ष्मी शाक्य हुनुहुन्थ्यो । प्रदीप नेपाल स्वयंसेवक परिचालन प्रमुख भएको हुनाले पनि उहाँ युवाहरूका बीचमा अनिवार्य नै हो भन्ने थियो । पछि परिणाम आइसकेपछि उहाँले ‘एकताका लागि गरेको त्याग हो, पछि पार्टीले जिम्मा दिइहाल्छ नि, किन चिन्ता गर्नुहुन्छ ? अहिले पर्नुभएन भन्दैमा चिन्ता गर्नुपर्दैन’ भन्नुभयो । पछि लगत्तै केन्द्रीय कमिटीबाट उहाँहरूलाई मनोनीत गर्नुभयो ।

यद्यपि, प्रदीप कमरेडको एक प्रकारको हतारो वा चिन्ता ज्यादा प्रकट भयो । उहाँले सार्वजानिक रूपमा नेतृत्वप्रति आलोचना गर्नुभयो । बरु, मदन कमरेडले ‘पार्टीलाई एकता गर्न यसखालको परिणाम निस्कियो, यो मेरो छनोट होइन तर पनि एकताका लागि कहिलेकाहीँ सम्झौता पनि गर्नुपर्छ र काम गर्ने नेतालाई जिम्मेवारी दिने भन्ने कुरा पार्टीले गरिहाल्छ, आत्तिनुपर्दैन’ भन्ने कुरा गर्नुभयो । त्यही रूपमा प्रदीप र अष्ट कमरेडले विश्वास गर्न सक्नुभएन । तर, उहाँले त्यो कुरा व्यवहारमा लागू गरेरै देखाउनुभयो । कार्यकर्ताको गुनासो व्यवस्थापन गर्ने र आश्वासन दिने तर त्यसलाई बिर्सिदिने चलन हुन्छ । त्यसबाट उहाँ मुक्त हुनुहुन्थ्यो जस्तो लाग्छ । कुनै कुराको जिम्मा लिएपछि त्यसलाई आफैंले पूरा गर्ने कुराले पनि उहाँलाई सबैको स्वीकार्य नेता बनायो भन्ने लाग्छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार