Presidential

बालबालिकाको लागि दशैं खुसी र थप प्रेरणादायि बनाऔं

शुभराज पोखरेल

balbalikaदशैं नेपालीहरूको सबै भन्दा विशेष पर्व मानिन्छ । घटसथापना देखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा “विजया दशमी”का नामले पनि चिनिन्छ । दशैं घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दशैं भनिन्छ । माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । घटस्थापना(जमरा राख्ने), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्री), महानवमी, विजयादशमी र दशैंका प्रमुख दिनहरु हुन् ।
गहुँ तथा जौको नवअंकुर जमारा लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय तथा आयुर्वेदिक मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दशौं दिन विहान टीका, प्रसादका साथमा जमराको लगाउने प्रचलन रहेको छ । निधारमा दुर्गा र देवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ भन्ने मान्यता रहि आएको छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । आर्यौवेदिक औषधिको जमराको रसलाई सेवन गर्नाले विभिन्न रोगहरू निको हुने उल्लेख गरिएको छ ।
नवरात्रीमा बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका अन्न तथा वनसपतिहरू दशैं पुजा कोठामा भित्र्याएर बनस्पतिलाई सम्मानको रुपमा राखिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक, भाइरस, ब्याक्टेरिया र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् भन्ने मान्यता यसबाट प्रष्ट हुन्छ । यसै गरी दैनिक जीवनका लागि चाहिने कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई विश्वकर्माको रुपमा पूजा गरी पृथ्वीका सबै भौतिक तथा प्रकृतिक कुराको हिन्दुसंस्कारले पुज्दै आएको छ ।
जमरा राखेको दिनबाट दैनिक रुपमा देवीका विभन्न रुपहरु, धन, विद्या, माया, करुण, शक्ति आदिको रुपमा घरका मुल मान्छेले देवी भगवतीको पुजा आराधना गरी सोही प्रसाद स्वरूप अवीर र दही वा दहिमा मुछेको चामलको निधारमा टीका र टाउकोमा जमरा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको आशिर्वाद लिन जाने प्रचलन रहेको छ । यसरी दशैमा विभिन्न सांस्कृति कार्यक्रमका साथ गाउँ टोलमा नयाँ कपडामा सजिएर पिङ खेल्दै समाउने गरिन्छ । दशैलाई नेपाल लगायत भारत, भुटान, म्यानमारका हिन्दुहरुले विभिन्न तरिका बाट दुर्गा भगवतीका पुजा गरी प्रसाद ग्रहण गरेर धुमधामसँग मनाउँछन् ।
मानिसमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त हुने विश्वासका साथ देवीको पुजा आराधना र प्रसाद ग्रहण गर्ने प्रचलन रहि आएको छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीका र जमराले ले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ विश्वास गरिन्छ ।

टीका लाउँदा दिने आशिषः
आयू द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भगवान् रामको जस्तो शत्रु नाश हुन् । नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान । सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता । विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।
आस्था, धार्मिक विद्यवास र मान्यतका साथ देवीको पुजा आरधाना गरी मान्यजनहरुबाट थाप्ने टिका जमारा र आशिषले ठुलो महत्व राख्दछ । लामोसयम पछि परिवारका सबैजना एकै ठाउँमा जम्मा हुने । छरछिमेकी, आफन्त र नातागोतासँगको मिलन । मिठो परिकार, राम्रा लुगा, सफा सुघ्घर घर, सबैतिर हरियाली, रंगिचंगी फूल साँच्चीकै आनन्दित परिवेश र वातावरणमा दशैको विशेष महत्व रहेको छ ।
सबैमा उमंग, खुसी र भविश्यको राम्रो कामनाका साथ सबै रमाईरहेका हुन्छन् । झनै बालबालिकाको नयाँ कपडा, मिठो खाना, साथीसंगी र आफन्तहरुसँग स्वतन्त्रताका साथ घुम्दै रमाउँने ठुलो आवसर हो । यस्तो महत्वपूर्ण र रमणिय अवसरमा मान्यजनबाट टिका लगाउँदै दिईने माथिका चार हरफ आशिष र दक्षिण आफैमा कतिधेरै महत्वपूर्ण छन् । हरेक वर्ष आउने यो अविस्मर्णिय क्षणमा हो । यसलाई हरेक बालबालिकाले उल्लास पूर्ण र खुसीका साथ मनाउँदै उनीहरुका जीवनको राम्रो पक्षहरुको चर्चा गरी उनीहरुलाई अझ सफल बन्न प्रेरणा प्रदान गरौं । balbalika2
यस्तो खुसी र उमंगको माहोलमा मान्यजनहरुले जानेर नजानेर आशिष दिंदै गर्दा कहिले कही बालबालिकामा हिनताबोध हुने भनाईहरु पनि भन्ने गरेको हामी पाउँछौ । साना बालबालिकाको ध्यान दक्षिणामा केन्द्रित हुने र कसैले भनेको भनाईलाई छोटो समयमा विर्षने हुँदा खासै समस्या नदेखिएको हुन सक्छ । तर ८ /९ वर्ष उमेर समूह देखिका बालबालिकालाई आफन्त सबैका अगाडि आफ्नै  उमेरका काका, मामा, फूपु र छिमेकी साथीहरुका अगाडि तिम्रो यस्तो नराम्रो बानी अब बाट छोड्नु पर्छ । अब देखि उ जस्तै असल बन्नु उसले जस्तै कक्षामा प्रथम हुनु जस्ता तुलना गर्ने कार्यले टिका प्रसाद र आशिष थापीरहेको बेला लज्जित बनाउँदै गर्ने गरेको पाहिन्छ । यो हरेक व्यक्तिका लागि ठुलो पिडादायी क्षण हो । अझ किशोरावस्थाका बालबाकिलाको लागि त झनै पीडादायी हुने गर्दछ । यस्तो व्यवहार हरेक मान्यजनहरु तथा जो कोहीबाट पनि सर्वजनिक ठाउमा नगरौं ।
खुसीको अवसर तथा सर्वजनिक ठाउँमा सधैभरी बालबालिकाका राम्रा पक्षहरुको चर्चा गरौं । उसको राम्रो पक्षहरुलाई अझ बढाउन उसलाई प्रेरित गरौं । प्रोत्सहन तथा स्यावासीले सधैंभरी सकारात्मक प्रभाव विस्तार गर्दैछ । यसलाई आत्मसात गर्दै बालबालिकाको आत्मबल बढाऔं । साथै त्यहाँ उपस्थित सबैले उसको बारेमा कुनै न कुनै राम्रो सन्देश जिएर जानेछन् ।
हरेक व्यक्तिका राम्रा र नराम्रा पक्ष हुनु मानविय गुण हुन् बालबालिकामा पनि यो हुनु स्वाभाविक हो । हामीले बालबालिकाका कमजोरी पक्षको पहिचान गरी उसलाई एक्लै संझाउने वा कुरा गर्ने गर्नु पर्दछ । यसरी उसका कमजोरीहरु अभिभावक तथा मान्यजनबाट सर्वजनिक गर्दा उसका दौतरी तथा अन्य ठुला मानिसहरुले उसको बारेमा नकारात्मक पक्षको चर्चा गर्दा उसलाई समाज तथा आफन्तले हेर्ने दृष्टिकोणमा पनि नकारात्मक हुने गर्दछ । यसरी नकारात्मक चार्चा बढ्दै जाँदा उसलाई हरेकले गर्ने व्यवहार पनी नकारात्मक हुने गर्दैछ । त्यसकारण हरेकव्यक्तिको राम्रा पक्षलाई सार्वजनिक गरौ र कमजोरीलाई व्यक्तिगत छलफलबाट हटउन आझै देखि लागौं ।
दशै हरेक बालबालिकाको सकारात्मक पक्षको विकास गर्नका लागि सदुपयोग गरौं । सबैद्वारा प्रोत्सहन र उसको राम्रो पक्षको व्यापक चर्चा र प्रसंशा गरौ । सकारात्मक पक्षको बृद्धिले हुनु भनेको कमजोर पक्ष स्वतकम हुने सिद्धान्तलाई आत्मसात गरौं ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार