Presidential

कम्युनिस्ट आन्दोलनमा पुष्पलालका २१ योगदान

झलनाथ खनाल

कमरेड पुष्पलाल नेपालको कम्युनिस्ट आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । उहाँले नेपाली कम्युनिस्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा पुर्‍याउनु भएका योगदानहरु बहुआयामिक छन् । ती बहुआयामिक योगदानहरुको समग्र विश्लेषण गरेर मात्र कमरेड पुष्पलालका योगदानहरुको सही मूल्याङ्कन हुनसक्छ । उहाँले पुर्‍याउनुभएका योगदानका केही पक्षहरुलाई हामी निम्न बुँदामा विश्लेषण गर्नसक्छौं ।

प्रथमत, उहाँले विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्रको नेपालीमा पहिलोपटक उल्था गर्नु भयो । र माक्र्स र एङ्गेल्सले गर्नुभएको साम्यवादको परिकल्पना र साम्यवादमा पुग्ने रणनीति र कार्यनीतिहरुका बारेमा नेपाली जनतालाई जानकारी गराउनुभयो । त्यो कुराले नेपालमा कम्युनिस्ट आन्लोलनलाई अगाडि बढाउने अत्यन्त महत्वपूर्ण सैद्धान्तिक आधार तयार भयो । यो उहाँको अन्यन्त महत्वपूर्ण योगदान हो ।

दोस्रो, त्यसरी नै उहाँले माक्र्सवाद–लेलिनवादका सिद्धान्तलाई नेपाली जनता समक्ष पुर्‍याउनका निम्ति नेपालका त्यसबेलाका अग्रणी बुद्धिजिबीहरूलाई लिएर माक्र्सवादी अध्ययन मण्डल वा प्रगतिशील अध्ययन मण्डल जस्ता संस्थाहरुको निर्माण गर्नु भयो । जुन संस्थाहरू मार्फत नेपाली बुद्धिजिवीहरूले माक्र्सवाद–लेनिनवादलाई अध्ययन गर्ने, नेपाली जनताबीचमा पुर्‍र्याउने, नेपाली श्रमजिवी जनता बीचमा पुर्‍र्याउने, श्रमजीबि वर्गलाई जगाउने र आफ्ना वर्गीय सङ्घर्षहरुलाई विकास गर्ने काममा सघाउने काम गरे । कमरेड पुष्पलालले पुर्‍याउनु भएको यो अर्को महत्वपूर्ण योगदान हो ।

तेस्रो, निरङ्कुश राणाशासनका विरुद्ध जतिवेला नेपाली जनता विभिन्न ढङ्गले सङ्घर्ष गर्दै थिए । त्यो सङ्घर्ष क्रमिकरुपले लोकतान्त्रिक आन्दोलनका रुपमा विकशित हुदै थियो । तर त्यो लोकतान्त्रिक आन्दोलनका सामु एउटा सुनिश्चित लक्ष अझै पनि प्रष्ट बनिसकेको थिएन । कुन लक्षतर्फ अगाडि बढ्नका निम्ति राणासाशनका विरुद्धको लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने भन्ने कुरा अझै निश्चित भैसकेको थिएन । कमरेड पुष्पलालले माक्र्सवाद–लेनिनवादका सहि विचारहरुलाई नेपाली जनतासम्म पुर्‍याउने र समाजवाद र साम्यवादतर्फ जाने लक्षहरुलाई समेत प्रष्ट पार्ने काम गर्दै नेपालमा त्यो राणासाशनका विरुद्ध चलिरहेको नेपाली जनताको लोकतान्त्रिक आन्दोलनको सुनिश्चित लक्षलाई अगाडि सार्नुभयो । त्यसरी यो लक्ष प्रष्ट पार्ने क्रममा नेपाली जनताको जनवादी आन्दोलनले नयाँ जनवादी आन्दोलनको स्वरुप ग्रहण गर्नथाल्यो । यो उहाँले गर्नुभएको अर्को महत्वपूर्ण योगदान हो ।

चौथो, यिनै सैद्धान्तिक र वैचारिक आधारहरु तयार पार्दै जाने क्रममा उहाँले नेपालमा नेपाली सर्वहारा श्रमिक वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना नगरीकन नेपाली जनताको आन्दोलनलाई क्रान्तिकारी ध्येय उद्देश्यतर्फ अगाडि बढाउन सकिन्न भन्ने कुरा उहाँले बुझ्नु भयो । त्यो बुझाइका आधारमा नै उहाँले देशमा जुन प्रकारका अन्य राजनीतिक पार्टीहरू थिए उनीहरूभित्र भएका आत्मासमर्पणवादी दक्षिणपन्थी चिन्तनहरूलाई समेत विश्लेषण गर्दै उहाँले नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता र औचित्यलाई अघि सार्नु भयो र ऐतिहासिकरुपमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नु भयो । यसरी पार्टीका संस्थापक नेताको रुपमा उहाँले पुर्‍याउनुभएको यो योगदान अन्यन्त दूरगामी महत्वको रहेको छ ।

पाँचौ, नेपाली समाजलाई उहाँले कसरी अध्ययन गर्ने त्यसबेला सम्म पनि वास्तवमा नेपाली समाजमा एउटा अन्योल विद्यमान थियो । त्यो अन्योललाई उहाँले सबैभन्दा पहिला तोड्नुभयो र ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा नेपाली समाजलाई अध्ययन गर्ने, बुझ्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने कुराको थालनी गराउनुभयो । त्यही कुराको आधारमा उहाँले नेपाली समाजको जन्म कसरी भयो, यसको विकासक्रम कसरी अगाडि बढ्दै आयो, अहिले नेपाली समाज कुन अवस्थामा आइपुगेको छ, कस्तो अवस्थामा छ र यो नेपाली समाजको विकासको भविष्य के हो भन्ने कुरालाई पत्ता लगाउनुभयो । यसरी उहाँ नै नेपाली समाजलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणले हेर्न नेपाली जनतालाई अभिप्रेरित गर्ने पहिलो नेता हुनुहुन्थ्यो ।

kn

झलनाथ खनाल

छैठौं, त्यही अध्ययनको क्रममा कमरेड पुष्पलालले नेपाली समाज विगतमा आदिम साम्यवादी समाज, दास समाज, सामन्ती समाज हँदै आयो र अहिलेको अवस्थामा अर्धसामन्ती र अर्धऔपनिवेसिक अवस्थामा आइपुगेको छ भन्ने कुरालाई किटानीका साथ अगाडि सार्नुभयो । यसरी नेपाली समाजको स्वरुपलाई चिनाउने नेता कमरेड पुष्पलाल नै हो । उहाँले जुन अर्धसामन्ती र अर्धऔपनिवेसिक अवस्थाको चित्रण गर्नुभयो, अहिले पनि नेपाली समाज त्यही अवस्थामा छ । त्यसलाई हामीले पूर्ण रुपमा तोडिसकेका छैनौं । त्यसलाई नतोडेसम्म नेपाली समाज वास्तवमा एउटा स्वतन्त्र र मुक्त समाज बन्न सक्दैन । नेपाली क्रान्तिले यो स्वरुपलाई तोड्नुपर्ने आवश्यकता छ र तोड्नका निम्ति हामी एकजुट भएर अगाडि बढिरहेका छौं ।

सातौं, त्यसैगरी नेपाली समाजको यो अवस्थालाई तोड्नका लागि जुन क्रान्तिको आवश्यकता छ त्यो क्रान्तिको स्वरुप के हो ? वास्तवमा यो पुँजीवादी जनवादी क्रान्ति हो कि सामन्तवादी क्रान्ति हो कि अथवा समाजवादी क्रान्ति हो कि, जनवादी क्रान्ति हो कि, त्यही जनवादी क्रान्ति हो कि, यो क्रान्तिको स्वरुप के हुन्छ भन्ने बारेमा पनि कमरेड पुष्पलालले आफ्ना सुस्पष्ट विचार अगाडि ल्याउनुभयो र नेपाली समाज अहिले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा भएको हुनाले यो समाजलाई रुपान्तरण गर्नका लागि हामीले नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्ने कुरालाई अगाडि सार्नुभयो । अहिले पनि नेपाली समाज नयाँ जनवादी क्रान्तिकै प्रक्रियाबाट अगाडि बढिरहेको छ । यो क्रान्ति सम्पन्न नभईकन हामी जनताको बहुदलीय जनवाद स्थापना गर्न सक्दैनौं । समाजवाद र साम्यवादतर्फ अगाडि बढ्न पनि सक्दैनौं ।

आठौं, नेपाली समाज जुन क्रान्तिको प्रक्रियाबाट अगाडि बढिरहेको छ, यो क्रान्तिको प्रक्रियाबाट अगाडि बढ्नेक्रममा नेपाली समाज अनेकन सामाजिक अन्तरविरोधमा जेलिएको छ । नेपाली समाजमा सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादसँग नेपाली जनता र राष्ट्रका आधारभूत अन्तरविरोधहरू विद्यमान छन् । तर, ती आधारभूत अन्तरविरोधहरूमध्ये आन्तरिक अन्तरविरोध नै प्रधान अन्तरविरोधको रुपमा रहेको छ भन्ने निष्कर्ष पार्टी स्थापनाकालमा नै उहाँले अगाडि सार्नुभयो र राजनीतिक रुपमा त्यो अन्तरविरोध राजतन्त्र र व्यापक जनतका बीचमा अभिव्यक्त भइरहेको छ भन्ने कुरालाई पनि अगाडि सार्नुभयो । उहाँले सम्पूर्ण जनताका आन्दोलनलाई राजतन्त्रका विरुद्ध केन्द्रित गर्ने कुराहरूमा अगुवाइ गर्नुभयो । यो धारणामा उहाँ निरन्तर कायम रहनुभयो । नेपाली कम्युनिस्ट आन्दोलनमा अनेक वेलामा उतारचढावहरू आए, काङ्ग्रेसपरस्त वा भारतपरस्त चिन्तनहरू पनि प्रकट भए तर उहाँले सधैंभरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई राजतन्त्रका विरुद्ध केन्द्रित गर्नुपर्ने कुरालाई दृढतापूर्वक अगाडि सारिरहनुभयो । त्यसैकारणले नेपाली क्रान्ति ठीक दिशामा अगाडि बढ्दै आयो र अन्तत: हामीले राजतन्त्रलाई उन्मूलन गरेका छौं । अहिले देश लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएको छ । यो कमरेड पुष्पलालले देखाउनुभएको सही बाटोको परिणति हो भन्न हिच्किचाउनु पर्दैन ।

नवौं, उहाँले नेपाली जनवादी क्रान्ति अथवा जनताको जनवादी क्रान्तिलाई अगाडि बढाउने शिलशिलामा नेपाली समाजको सही ढङ्गले वर्ग विश्लेषण पनि अघि सार्नुभयो र हाम्रो देशका जमिनदार अथवा दलाल नोकरशाही पुँजीपति वर्गहरु नेपाली क्रान्तिका शत्रुपंक्तिमा पर्दछन् र त्यसबाहेक सम्पूर्ण श्रमजीवी वर्ग, किसान जनसमुदायहरू, निम्न पुँजीपति वर्गका व्यापक जनसमुदायहरू, राष्ट्रिय पुँजीपति वर्गका व्यापक जनसमुदायहरू र तमाम देशभक्तहरू तथा लोकतान्त्रिक शक्तिहरू नेपाली क्रान्तिका मित्रशक्तिहरू हुन् भन्ने कुरालाई पनि उहाँले सुस्पष्ट रुपले अगाडि सार्नुभयो । यसरी नेपाली समाजलाई वर्गीय दृष्टिकोणले हेर्ने, वर्गहरूको भूमिकालाई देख्ने दृष्टिकोणलाई उहाँले पहिलोपटक अगाडि सार्नुभयो र नेपाली समाजलाई हेर्ने सही द्वन्द्ववादी दृष्टिकोण पनि विकसित गर्नुभयो । त्यही विश्लेषणका आधारमा अहिले पनि हामीहरू नेपाली समाजको वर्गीय चरित्रलाई हेरिरहेका छौं । त्यही वर्ग विश्लेषणका आधारमा हाम्रा वर्ग नीतिहरू निर्धारण गर्दै नेपाली क्रान्तिलाई अगाडि बढाउनका लागि प्रयत्नशील रहेका छौं ।

दशौं, कमरेड पुष्पलालले नेपाली जनवादी क्रान्तिलाई अगाडि बढाउने शिलशिलामा यसका आम रणनीति र सामान्य कार्यदिशाहरू निर्धारण गर्नुभयो । यो क्रान्ति जहिलेसुकै पनि प्रतिक्रियावादी सत्तालाई समाप्त गर्ने र नेपाली जनताको जनवादी सत्ता स्थापना गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढाउनुपर्छ भन्ने कुरामा उहाँ अत्यन्त स्पष्ट हुनुहुन्थ्यो । यसै गरेर पार्टीको जुन सामान्य कार्यदिशा हो प्रतिक्रियावादी शक्तिहरूमाथि प्रहारलाई केन्द्रित गर्ने, जनताका आधारभूत शक्तिहरूलाई दृढतापूर्वक एकताबद्ध पार्ने र मध्यवर्ती शक्तिहरूलाई पनि गोलबन्द गर्दै अगाडि बढ्ने सामान्य कार्यदिशा अगाडि सार्नुभयो । त्यही सामान्य कार्यदिशाका आधारमा नेपाली क्रान्ति अहिले पनि अगाडि बढिरहेको छ । यो विजयसम्म पुग्ने कुरा पक्का छ । यसरी कमरेड पुष्पलालले अगाडि सार्नुभएको सामान्य कार्यदिशाका आधारमा नै नेपाली क्रान्ति अहिले पनि अगाडि बढिरहेको छ । यद्यपि, हामीले बिचबिचका विकासक्रमअनुरुप विशिष्ट कार्यनीतिक कार्यदिशाहरू शुत्रबद्ध गर्दै नेपाली क्रान्तिलाई अगाडि ल्याइरहेका छौं । तर सामान्य कार्य दिशाको रुपमा कमरेड पुष्पलालले अगाडि सार्नुभएको जुन कार्यदिशा हो त्यसका आधारमा नै हामी अगाडि बढ्दै आइरहेका छौं ।

एघारौं, त्यसैगरी नेपाली क्रान्तिको कार्यक्रमका सन्दर्भमा कमरेड पुष्पलालले नयाँ जनवादी कार्यक्रमलाई अगाडि सार्नुभयो । यो कार्यक्रम आफैंमा एउटा सामन्तवाद र साम्राज्यवादविरोधी कार्यक्रम थियो । त्यसका कतिपय अवधारणाहरू अझै अधुरा र अपूर्ण थिए जसलाई हाम्रो पार्टीको पाचौं महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज) को रुपमा विकसित गरियो र जबज वास्तवमा नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । यो मौलिक कार्यक्रम त्यही नयाँ जनवादी कार्यक्रमको परिष्कृत रुप हो भन्ने कुरा स्पष्ट छ । जननेता कमरेड मदनकुमार भण्डारीको अगुवाइमा हामीले जबजलाई विकसित गर्‍यौं र नयाँ जनवादी कार्यक्रमलाई अझ समुन्नत बनाएर अगाडि बढायौं । त्यही दिशामा नेपाली क्रान्ति अहिले पनि अगाडि बढिरहेको छ । हामी जबजको दिशामा अगाडि बढिरहेका छौं ।

वाह्रौं, त्यसरी नै कमरेड पुष्पलालले शुरु कालमै यो नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउने शिलशिलामा सबै क्रान्तिकारी वर्गको एकता तथा सबै वर्गीय शक्तिहरूको एकतालाई निर्माण गर्नका लागि र प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध सम्पूर्ण शक्तिहरूलाई एकताबद्ध बनाउनका निम्ति राष्ट्रिय जनवादी संयुक्त मोर्चाको समेत गठन गर्नुभएको थियो । पछिल्ला कालखण्डमा त्यो अवधारणाले भिन्न–भिन्न परिस्थितिमा भिन्न–भिन्न किसिमका मोर्चाहरू निर्माण गर्दै अगाडि बढ्ने शिलशिला विकसित भयो र अहिले पनि हामी व्यापक संयुक्त मोर्चा र व्यापक राजनीतिक संयुक्त मोर्चा निर्माण गर्दै प्रतिक्रियावादी शक्तिका विरुद्ध तथा सामन्तवाद र साम्राज्यवादका विरुद्धको सङ्घर्षलाई निरन्तर अगाडि बढाइरहेका छौं । यसरी कमरेड पुष्पलालले संयुक्त मोर्चा निर्माण गर्ने काममा महत्वपूर्ण योगदान पुर्‍याउनुभयो ।

तेह्रौं, त्यसरी नै कमरेड पुष्पलालले नेपालमा सङ्गठितरुपमा कम्युनिस्ट पार्टी स्थापना गर्ने काममात्र गर्नुभएन उहाँले पार्टीका सङ्गठनात्मक सिद्धान्तहरूको पनि विकास गर्नुभयो । उहाँले पार्टीको सङ्गठनात्मक संजाल विकसित गर्नुभयो । त्यसको परिणाम स्वरुप नेपाल कम्युनिस्ट पार्टी क्रमिकरुपले माथि केन्द्रिय कमिटीबाट विस्तार हुदै प्रान्तीय कमिटीहरू, जिल्ला कमिटीहरू, प्रारम्भिक कमिटीहरूको क्रमिकतामा विकसित हुँदै गयो र सयौंबाट हजारौं हुदैं लाखौंको संख्यामा कम्युनिस्ट पार्टीका सदस्यहरूको विकास हुने अवस्थाको निर्माण भयो । आज हामीले जुन पार्टी सङ्गठनको सञ्जाल विकसित गरिरहेका छौं, यसको आधारशीला कमरेड पुष्पलालले नै खडा गर्नुभएको हो । त्यो आधारशीलालाई बदलिदो परिस्थितिअनुरुप हामीले विकसित गर्दै अगाडि बढाइरहेका छौं । यो कमरेड पुष्पलालले दिनुभएको अर्को महत्वपूर्ण
योगदान हो ।

चौधौं, कमरेड पुष्पलालले पार्टीका यी सङ्गठनात्मक संरचनाहरूको विकास गर्नुका साथसाथै पार्टीभित्र जनवादी केन्द्रीयताको सिद्धान्तलाई पनि विकास गर्नुभयो जसले गर्दा पार्टी केन्द्रदेखि तल्लो तहसम्मका सम्पूर्ण संरचनालाई कसरी अनुशासित रुप सञ्चालन गर्ने भन्ने कुराको आधार तयार भयो । जनवादी केन्द्रीयताका सिद्धान्तहरू विकसित गर्ने कुरामा पनि कमरेड पुष्पलालका महत्वपूर्ण योगदानहरू रहेका छन् ।

पन्ध्रौं, कमरेड पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने शिलशिलामा नेपाली जनतालाई सङ्गठित गर्नका निम्ति पार्टीको प्रत्यक्ष वा अप्रत्यक्ष नेतृत्वमा अनेकौं जनवर्गीय सङ्गठनको निर्माण गर्ने प्रक्रियाको थालनी गर्नुभयो । ती जनवर्गीय सङ्गठनहरू सुरुसुरुमा थोरैथोरै रहेका भए पनि अहिले अनेकन जनवर्गका सङ्गठनहरु एमालेका वरिपरि व्यापकरुपले सङ्गठित छन् । र, ती जनसङ्गठनहरूको एउटा व्यापक राष्ट्रव्यापी संजालको विकास भएको छ । यो नेपाली कम्युनिस्ट आन्दोलनको एउटा विशेषता नै रहिआएको छ । व्यापक जनसङ्गठनहरूको संजाल जुन संजालमार्फत लाखौंलाख जनसमुदाय सङ्गठित छन् पार्टीका वरिपरि र पार्टीलाई अगाडि बढाउने महत्वपूर्ण काम उनीहरू गरिरहेका छन् । यस्तो संजालको थालनी गर्ने काम पनि कमरेड पुष्पलालले नै गर्नुभएको थियो ।

सोह्रौं, त्यसरी नै नेपाली क्रान्तिलाई अगाडि बढाउने शिलशिलामा किसानहरूको समस्यालाई सर्वप्रमुख प्राथमिकता दिनुपर्छ भन्ने विचार अगाडि सार्नुभएको थियो । त्यसआधारमा देशका अनेकन ठाउँहरूमा उहाँको नेतृत्वकालमा ठूलठूला किसान आन्दोलनहरू सङ्गठित गरिए र किसान आन्दोलनको एउटा महत्वपूर्ण लहर सिर्जना भयो जसले नेपाली समाजमा वर्ग सङ्घर्षलाई अगाघि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्यो । अहिले पनि हामी जुन वर्गसङ्घर्ष विकास गरिरहेका छौं त्यसको मूल कडी भनेको किसानहरूको आन्दोलन नै हो । त्यसलाई हामीले व्यवस्थित र सङ्गठित रुपले अगाडि बढाउन सक्नुपर्दछ । अनि मात्रै हामीले समग्रतामा जनवादी आन्दोलनलाई अगाडि बढाउन सक्छौं । त्यस अर्थमा जनवादी आन्दोलनको धुरी भनेको नै किसान आन्दोलन हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । कमरेड पुष्पलालले अगाडि सार्नु भएका यी अवधारणाहरूले अहिले पनि हामीलाई मार्गदर्शन गरिरहेका छन् ।

सत्रौं, उहाँले आफ्नो जीवनकालभरि नै राजतन्त्रका विरुद्ध संयुक्त जनआन्दोलनको वकालत गरिरहनुभयो । त्यो एउटा सही कार्यनीति थियो । उहाँको त्यो सही विचारलाई जबसम्म अनुशरण गर्न सकिएन, तबसम्म आन्दोलन अघि बढ्न सकेन । जब संयुक्त जनआन्दोलनको कार्यनीति अपनाइयो, मुलुकमा अभूतपूर्व परिवर्तनहरु सिर्जना भएका छन् । यो उहाँको अर्को चहकिलो योगदान हो ।

अठारौंं, कमरेड पुष्पलालले नेपाली क्रान्तिलाई सही मार्गदर्शन गर्नुका साथै उहाँले नेपाली सांस्कृतिक आन्दोलनको दिशा निर्धारण गर्ने काममा पनि ठूलो योगदान गर्नु भएको छ । ती योगदानहरुको मार्गदर्शनबिना हामी नेपाली सांस्कृतिक आन्दोलनलाई सही रुपमा मार्गदर्शन गर्न र अघि बढाउन सक्तैनौं ।

उन्नाईसौं, उहाँले नेपाली क्रान्तिका कार्यदिशा, नीतिहरु तय गर्ने काममा अत्यन्त महत्वपूर्ण रचनाहरु तयार गर्नुभएको छ । ती रचनाहरु बडो मूल्यवान छन् । सायद त्यति महत्वपूर्ण र गहन रचनाहरु नेपाली कम्युनिस्ट आन्दोलनका अन्य कुनै नेताले पनि तयार गर्नुभएको छैन । ती कुराहरु उहाँका योगदान पनि हुन र हाम्रा निधि पनि हुन् । हामीले ती रचनाहरुलाई सम्पूर्ण कम्युनिस्टहरुसमक्ष पुर्‍याउन सक्नुपर्छ ।

बीसौं, कमरेड पुष्पलालले १९६० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको महावादविवादमा पनि अपेक्षाकृत रुपले सन्तुलित अडान लिनुभएको थियो । उहाँले दक्षिणपन्थी र उग्रवामपन्थी रुझानहरुका विरुद्ध ठिकै ढङ्गले सङ्घर्ष गर्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई दिशा दिनुभएको थियो ।

एक्काईसौं, यसरी नेपाली क्रान्तिलाई अगाडि बढाउदै जाने शिलशिलामा कमरेड पुष्पलालले जब हामी जनताको जनवादी क्रान्तिलाई सम्पन्न गर्छौं त्यो सम्पन्न गरिसकेपछि नेपाली क्रान्ति समाजवाद र साम्यवादतिर संक्रमण गर्छ भन्ने कुरा पनि अघि सार्नुभएको छ । नेपाली क्रान्ति भनेको न्यूनतम् रुपमा जनवादी क्रान्ति हो भने अधिकतमरुपमा समाजवादी क्रान्ति हो । क्रान्तिका यी दुवै चरणहरू पार गरेर मात्रै नेपाली क्रान्ति पूर्ण हुन्छ । त्यसपछि मात्र नेपाली समाज क्रमस: समाजवाद र साम्यवादतर्फ अगाडि बढ्छ भन्ने कुरा पनि उहाँले मार्गदर्शन गर्नुभयो । यी कुराहरु कमरेड पुष्पलालले गर्नुभएका योगदानका केही पक्षहरु हुन् । उहाँले अरु पनि कैयौं पक्षमा योगदान दिनुभएको छ । ती सबै कुराहरुको आधारमा समग्रतामा उहाँको मूल्याङ्कन हुन जरुरी छ । आधिकारिक मूल्याङ्कन गरेपछि मात्र उहाँका वारेमा एकरुप धारणाको विकास गर्न सम्भव हुन्छ ।

यसरी हेर्दा कमरेड पुष्पलाल हाम्रो आन्दोलनका अर्थात् हाम्रो कम्युनिस्ट आन्दोलन, जनवादी आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनका प्रणेता हुनुहुन्थ्यो, संस्थापक नेता हुनुहुन्थ्यो र यो आन्दोलनका शिखरपुरुष हुनुहुन्थ्यो भन्ने कुरा सुस्पष्ट छ । हामीले यी जम्मै कुराहरूलाई ध्यानमा राखेरसमेत उहाँको अत्यन्त गहिरो र विस्तृत मुल्याङ्कन गर्नु आजको आवश्यकता भएको छ । आजको पिंढीले कमरेड पुष्पलालले दिनुभएका योगदानहरू र अन्य नेताहरूले पनि दिनुभएका योगदानहरूलाई यथोचित रुपले मूल्याङ्कन गर्दै अगाडि बढ्नुपर्छ । तब मात्रै हामीहरू विगतका अनुभवहरूबाट सिक्दै नेपाली क्रान्तिलाई विजयको दिशामा अघि बढाउन सक्छौं । कमरेड पुष्पलालका यी योगदानहरु र कमरेड मदन भण्डारीले जबजलाई अघि सारेर पुर्‍याउनुभएका योगदानहरुले नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरुको शृङ्खला विकसित हुँदै आएको छ । त्यसलाई हाम्रो पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले अझ परिस्कृत रुपमा अघि सारेको छ । हामीले उग्रवामपन्थी र दक्षिणपन्थी दुबै भड्काउबाट जोगिंदै र आन्दोलनलाई जोगाउँदै नेपाली क्रान्तिलाई विजयको चुलीतिर दृढतापूर्वक अघि बढाउनुपर्दछ ।

– नवयुग, साउन २०६७

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार