Presidential

युगान्तकारी परिवर्तनको श्रेय पुष्पलाललाई

विष्णुभक्त सिग्देल

आफ्नो क्रान्तिकारी जीवनमा पुष्पलालले कहिल्यै पनि स्वार्थका काला वादलहरुको छायाँ पर्न दिनुभएन, अरु धेरै नेताहरुमा जस्तो उहाँमा घामछायाँ पाइदैन पुष्पलाल कम्युनिष्ट आन्दोलनको साझा सम्पती हो एउटा सर्वोच्च व्यक्तित्व हो ।”– मदन भण्डारी

पुष्पलाल नेपालको कम्युनिष्ट पार्टीका पिता हुन् इमानदारीताका साथ भन्दछु, उनले गरेको दुःख कष्ट देख्दा अहिले पनि मुटु काम्छ ।”– गणेशमान सिंह

इतिहासवाट स्मरण गरौं । पुष्पलालका दाजु एक प्रगतिशिल, देशभक्त र प्रजातन्त्रका द्योतक गंगालाल श्रेष्ठलाई, २१ वर्षको भरभराउँदो उमेरमा तानाशाही राणाहरुले फाँसी दिए । फाँसीमा मृत्युबरण गर्नु भएका आफ्ना दाजुलाई काखमा लिंदै, १५ वर्षको एक साहसी युवक जसको हात आफ्नो दाजुको रगतले लत्पतिएको थियो । वर्वर निरंकुश तानाशाहीको कठोर दमनको विरुद्धमा गंगालालको रगतले तत्पतिएको हात मुठी पारेर प्रतिज्ञा गर्दै भन्नु भयो “जवसम्म जनतालाई जनवादी अधिकार प्राप्त हुने छैन, तवसम्म देशवाट राणाशाही हुकुमी शासनका साथै सामन्ती शोषणको अन्त्य हुने छैन र जवसम्म दलित, शोषित, पीडित, मजदुर, किसान जनताले आफ्नो अधिकार प्राप्त गर्ने छैनन्, तवसम्म हमेशा क्रान्तीको अग्रिम पंक्तिमा रहनेछु र आफ्नो जीवन देश र जनताका लागी समर्पित गर्नेछु ।” भन्ने कसम खाई “लाखौं लाख झुपडीहरुको एकता नेपालको राष्ट्रियता हो । तिनको हकहित र सुरक्षाको ग्यारेण्टी गर्ने राज्य व्यवस्था जनवाद हो ।” भन्ने दृढ संकल्पका साथ अगाडी वढ्ने नेपालको कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन् पुष्पलाल ।

बि.सं १९८१ असार १५ गते पुर्वी नेपालको जनकपुर अञ्चल रामेछाप जिल्लाको भंगेरीमा भक्तलाल श्रेष्ठ र उनकी जीवनसंगिनी तुलसिमाया श्रेष्ठको कोखवाट भएको थियो । नेपालका किसान, मजदुर, शोषित,पीडित, देशभक्त, प्रगतिशिल,जनवादी जनताहरुलाई मुक्तिको पाठ सिकाउनु हुने, नेपाली क्रान्तीका स्रष्टा, नेपाली जनताका परम् मित्र, शहिद गंगालालका माइला भाई पुष्पलाल बाल्यकालदेखी नै मानिसहरुको विभिन्न प्रकारका जीवन भोगाई र मुल्यवान प्राकृतिक सम्पतिहरुमा रहेको सामन्तहरुको स्वामित्वले बाल मस्तिष्कमा गढेका स्मृतीहरुले उहाँको जीवन पर्यन्त काम गरिरह्यो । यीनै पेचिला प्रभाव र अनुभवले भावी जीवनलाई निदृष्ट गरिरहयो ।

bishnu b sigdel

विष्णुभक्त सिग्देल

पुष्पलालले ऐतिहासिक महाविर स्कुलवाट पढाइको प्रारम्भ गरि पाटन हाइस्कुलवाट प्रवेशिका परिक्षा प्रथम श्रेणीमा उतिर्ण गर्नुभएको थियो । पुष्पलाल आफ्नो पिताको जागिरको सिलसिलामा विभिन्न ठाउँहरुमा जाँदा, देशका कुना काप्चाहरुमा रहेका, एक छाक खान पनि नपाएका, एकसरो कपडा पनि लगाउन नपाएका, छोराछोरीहरु पढाउन त परै जाओस्, औषधी उपचार समेत गर्न नपाएका जनताको दयनिय अवस्थाको प्रत्यक्ष रुपमा अवलोकन समेत गर्नु भएको थियो । साथै राणाहरुको भव्य महलहरु र ऐेश आराम गरेकाहरुको जीवन स्तर विच यति ठुलो अन्तर हुनुको कारण के रहेछ ? यसको खोजीमा लाग्नुभयो र उहाँलाई यस्तै धेरै अनुभव र भोगाइवाट स्पष्ट भएछ की, त्यसवेलाको आफुले देखेको नेपाल, एउटा ठुलो जेल र नेपाली जनताहरु त्यही ठुलो जेलभित्रका कैदीहरु हुन् । यसको खास कारण तत्कालिन सामन्त तथा जहानियाँ राणा शासन नै थियो उहाँले निकर्ष निकाल्नु भयो ।

राजनीतिज्ञ रामहरी शर्माका अनुुसार “पुष्पलाल सानो उमेरमै बडो तेजिलो र आकर्षक व्यक्तित्वका धनि, सानैमा पनि बेजोड प्रतिभाको हुनुहुनथ्यो । उहाँको तर्क ज्यादै वास्तविक र गहन हुन्थ्यो ।” शहिद गंगालालले केन्द्रिय कारागारको बाहिर हत्कडीको साथ अन्तिम भेटमा आफ्नो पिताजीलाई हेर्दै भन्नुभएको थियो, “मानिस भएर जन्मेपछि मृत्यु निश्चित छ । नासवान शरिरको एक दिन नास हुन्छ नै… अमर त आत्मा हो ।” भाई पुष्पलाल तर्फ फर्केर भन्नुभयो,“माइला यस जन्मभुमिमा प्रजातन्त्रको स्थापनाको लागी हामीले बालेको दियोलाई तिमीले जाजवल्यमान पार्न नेपालको कुना कुनामा पुर्याउनु । म त जानै लागेको छु । अधुरो कामलाई तिमीले जसरी पनि पुरा गर्नु ।” आफ्ना अनुभव, प्रतिज्ञा र दाई गंगालालको अर्ति उपदेश अनुसार वि.स ं२००६ साल वैसाख १२ गते तदनुसार, १९४९ अप्रिल २४ मा नेपाल कम्युनिष्ट पार्टीको नामवाट पुष्पलालले एक हस्तलिखित पर्चा वितरण गर्नुभएको थियो । जुन पर्चाले नेपालमा पहिलो पटक राणाशाही हुकुमी शासनको विरुद्धमा सम्झौताहिन संघर्ष चलाउने, देशिय सामन्तवादलाई चकनाचुर पार्ने, भारतिय एकाधिकार एवम् बिस्तारवाद र साम्राज्यवादवाट देशलाई मुक्त गराउने र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन एबम् राष्ट्रिय मुक्ति आन्दोलनसँग नेपाली कम्युनिष्ट आन्दोलनलाई एकाकार गराउँदै नेपालमा नयाँ जनवादी गणतन्त्रात्मक राज्य स्थापना गराउने कुराको शंखघोष गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम् नेपाली बाम तथा प्रजातान्त्रीक आन्दोलनका शिर्ष व्यक्तित्व पुष्पलाल, संयुक्त आन्दोलनको प्रणेता समेत हुनुहुन्थ्यो । पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनका एक सशक्त, संघर्षसिल र सिद्धान्तनिष्ट व्यक्तिको नाम हो । उहाँको समयमा निरंकुश राणाहरुले जनतामाथी सामन्ती शोषण लादेका र साम्राज्यवाद एवं एकाधिकार पुंजिवादका अगाडी घुंडा टेकेर देशलाई दासताको जंजिरमा बाँधेका थिए । केही सचेत युवाहरु, वुद्धिजीवीहरु र समाज सुधारकहरु यो अवस्थावाट नेपाल र नेपालीहरुलाई मुक्ति दिलाउन राजनीतिक संघर्ष होस् वा धार्मिक सुधारका नाममा होस,् राणाहरुको विरुद्धमा लागेका थिए । राणाहरुले यो चाल पाएर उनिहरुलाई सर्वस्वहरण,आजीवन कारावासदेखी फाँसीसम्म दिन थाले । पुष्पलालका सहोदर दाजु गंगालाल र उहाँका साथीहरुलाई फाँसी दिएको घटनावाट उहाँको मनमा उब्जेको प्रतिशोधको भावनाले उहाँलाई एउटा क्रान्तीकारी कम्युनिष्ट योद्धामा परिणत गर्यो ।

मानिसहरुको खाने, वस्ने र लगाउने आवश्यकताको पुर्ती हुन अनिवार्य छ । यसका निम्ती उसले काम गर्नैपर्ने हुन्छ । तर केही मानिसहरु आफ्नो आवश्यकताको पुर्तिको निम्ती अरुको परिश्रममा भर पर्ने । केही मानिसहरु रातदिन कठोर परिश्रम गर्ने तर आवश्यकता परिपुर्ती नहुने हुँदा यी दुई वर्गको विचमा संघर्ष हुन्छ र बिजय सर्वहारा मजदुर श्रमजीवि वर्गको हुन्छ । यसरी श्रमजीवि वर्गको बिजय पश्चात स्थापित राज्यमा सवै व्यक्तिहरुलाई उत्पादनमा लगाइने र वितरण र उपभोगमा समानता हुनेछ भन्ने कुरालाई व्यवहारमा उतार्न संघर्षको स्वरुप तयार गर्न लाग्नु भयो । अर्कोतर्फ, “समाजवादी राज्यव्यवस्थामा योग्यता अनुसारको काम र काम अनुसारको दाम”, साम्यवादी व्यवस्थामा योग्यता र क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दाम भन्ने कम्युनिष्ट नारामा आधारित आर्थिक व्यवस्था र समाजको सांस्कृतिक क्षेत्रमा आमुल परिवर्तन गर्न धार्मिक, सांस्कृतिक र सामाजिक शोषणवाट सवैलाई मुक्त गर्ने र मानिसले मानिसलाई गर्ने सवै प्रकारको शोषणलाई अन्त्य गरिने भन्ने मान्यतालाई नेपाली भुमिका अघि सार्नुभयो ।

उत्पादनका साधनहरुमाथी सामुदायिक नियन्त्रण रहन्छ । वस्तुको वितरण र उपभोग सामुदायिक जीवनशैली अनुरुप हुनेछ । यस व्यवस्थामा सवै प्रकारका राजनीतिक दमन र शोषणको अन्त्य हुने भएकोले वर्ग र राज्य दुवै लोप भएर जानेछन्, भन्ने कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गर्दै विश्ववाट सवै प्रकारका शोषण र उत्पिडनको अन्त्य भएपछी मानव जाती अन्तराष्ट्रिय जाती बन्नेछ भन्ने विषयलाई पुष्पलालले आत्मसाथ गर्नुभयो । खास गरि पुष्पलालले नेपाली जनतालाई साम्राज्यवाद र सामन्तवादको शोषणवाट कसरी मुक्त गर्न सकिन्छ? कसरी नेपाली जनतालाई अन्तराष्ट्रिय मजदुर तथा श्रमिक जनताको सहयोग मिल्न सक्छ भन्ने थियो । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालको परिस्थीतीको समग्र विश्लेषण गरि कलकत्ता श्यामवजारका एकजना बगांलीको घरमा पुष्पलाल, नरवहादुर कर्माचार्य, निरञ्जन गोविन्द बैद्य र नारायणविलास जोशीको उपस्थिीतमा वि.सं २००६ साल वैसाख १० मा नेपाल कम्युनिष्ट पार्टीको विधिवत स्थापना भयो । यो नै नेपालको कम्युनिष्ट आन्दोलनको औपचारिक घोषणाको यात्रा थियो । यसै यात्राका मुख्य नेता एंव नेकपाका संस्थापक नेता पुष्पलाल नेपालको ऐतिहासिक व्यक्तित्व, कुशल, दुरदर्शी, साहसिक राजनेता हुनुहुन्थ्यो । जसको कारण र प्रभावले आज यो देशमा सामन्तवादको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ र यस देशलाई समाजवादी देश नेपाल निर्माणमा ऐतिहासिक आधार तयार हुँदैछ ।

नेपाल प्रजातन्त्र संघ, नेपाल प्रज्ञा परिषद हुँदै नेपाली राष्ट्रिय कांग्रेसमा पुग्दा पनि पुष्पलालले वास्तविक नेपाली जनताको मुक्ति र भविष्य देख्नुभएन र यसका लागी आफ्नै पहलमा नेकपाको स्थापना गर्नुभयो । पहिलो पटक नेपाली जनतालाई नागरिक अधिकार लिन जनताको संगठित बिद्रोह र क्रान्तीको आव्हान गर्नुभयो साथै आँफैले पार्टीको नीतिगत एवम् संरचनागत व्यवस्थापन र नेतृत्व गर्नुभयो । पुष्पलालले नेपाली क्रान्तिको न्यूनतम् कार्यक्रमका रूपमा नयाँ जनवादी क्रान्ति र अधिकतम् लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद र साम्यवाद हो भनेर सैद्धान्तीकरण गर्नुभयो । राणा शासनको निरंकुशतावाट देशलाई कसरी मुक्त गर्न सकिन्छ भनेर छटपटिइरहेका नेपालीहरु समक्ष माक्र्स र एङ्गेल्स द्धारा लिखित बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद तथा प्रकाशन गरि नयाँ बिकल्पको बाटो देखाउनु भयो । नेपालको यथार्य अवस्थाको बिश्लेषण गर्दै नेपाललाई अर्धसामन्ती, अर्धऔपनिवेसिक चरित्रको मुलुकको रुपमा चित्रण गर्नुभयो र साम्राज्यवाद, नोकरशाही पुँजीवाद र यिनीहरुको संरक्षणमा वाँचेका सामन्ती जहानिया राणा शासन नै नेपाल र नेपाली जनताको अग्रगमनका बाधक हुन् भनी क्रान्तीका लागी सैद्धान्तीक आधार प्रस्तुत गर्नुभएको थियो ।

२०१७ सालमा राजा महेन्द्रको शाही काण्डलाई समर्थन गरि कम्युनिष्ट पार्टीलाई दरवारको चौघेराभित्र सिमित गर्ने षडयन्त्रको बिरुद्धमा वक्तव्य जारी गरि नेकपालाई एउटा क्रान्तीकारी पार्टीको रुपमा अघि वढाउन सफल हुनुभयो । साथै कम्युनिष्ट पार्टीभित्रको संवैधानिक राजतन्त्र की गणतन्त्र, भन्ने बहसमा उहाँ सदा निरंकुश राजतन्त्रको विरुद्धमा गणतन्त्रवादी भएर उभिनुभयो । उहाँ विचारमा एकदमै प्रष्ट र कार्यनीतिमा लचक र नेपाली जनताको खास भावनालाई प्रतिनिधित्व गर्ने नेता हुनुहुन्थ्यो । एउटा सच्चा गणतन्त्रवादी र निर्दलिय पंचायति व्यवस्थालाई अन्त्य गर्ने अचुक अस्त्र संयुक्त जनआन्दोलनको सुत्रधार हुनाको कारण उहाँमाथी धेरै ठुला प्रहारहरु भए तर उहाँ अविचलित रुपमा आफ्नो वाटोमा अगाडी बढिरहनुभयो ।

उग्रबामपन्थी दुस्साहसवाद, दक्षिणपन्थी अवसरवाद र सुधारवादवाट वचाउन आफ्ना समर्थकहरुलाई साथमा लिएर तेस्रो ऐतिहासिक सम्मेलन गर्दै माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको आलोकमा एउटा क्रान्तीकारी पार्टीका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई पुर्नगठन गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलालले नेकपाको स्थापना र बिकासमा दिनुभएको योगदान चीरकालसम्म स्मरणिय रहनेछ । समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राखेका नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य योजनाकार, संस्थापक, प्रवद्र्धक र नेतृत्वलाई हामी संधै सम्मान व्यक्त गर्दछौं । नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्ने नेता पुष्पलालप्रति हार्दिक श्रद्धासुमन ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार