Presidential

म मन्त्री हुँदा ‘यति रकम दिन्छु, यो काम गरिदिनु पर्‍यो’ भन्न कोही आएनन्

चित्रबहादुर केसी, निवर्तमान उपप्रधानमन्त्री

सोमबार बिहान राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको मैतीदेवीस्थित डेरामा पुग्दा उनकी पत्नी हतारमा थिइन् । मन्त्री हुनुअघि तीनवटा कोठामा बस्दै आएका चित्रबहादुर केसी मन्त्री भएपछि एक कोठा घरवेटीले नै प्रयोगमा ल्याएका रहेछन् । मन्त्री निवासबाट फर्केर तीन कोठाका सामान दुई कोठामा मिलाउनु पर्दा केसी पत्नीलाई हैरानी परेको रहेछ । पहिलो न्युजका प्रतिनिधि पुग्ने वित्तिकै केसी पत्नीले त्यही कुरा फुत्काइन् । ‘बाबु पल्लो कोठामा बस्दै गर्नु है, यी कोठामा थुक अट्ने ठाउँ पनि छैन, मिलाउँदै छु,’ उनले केसीकै शैलीमा भनिन्, ‘नौ महिना रंगिचंगीमा वसियो, अहिले सामान मिलाउँदा हैरान छ ।’

चित्रबहादुर कसीले पनि पत्नीकै कुरामा सही थाप्दै भने– ‘पहिला तीनवटा कोठा थिए, एउटा घरवेटीले प्रयोग गर्ने भनेपछि नाइँ भन्ने कुरा भएन, दुई कोठामा सामान मिलाउँदा हैरान भएको छ ।’

चित्रबहादुर केसीको परिवारले त्यही डेरामा १६ वर्ष विताएको छ । ‘सुरुमा एक हजारमा बसेको एउटा मात्र कोठा थियो । पछि तीनवटा लिएँ । अहिले ६ हजार तिर्दै आएको छु ।’ कहिले फर्किने हो ठेगान थिएन । त्यही भएर उनले मन्त्री भएर सरकारी निवासमा सर्दा पनि यो डेरा चाहिँ छोडेनन् । बरु उनका तीन जना घरवेटी बदलिइसके तर उनले त्यो घर छोडेका छैनन् । त्यही भएर पछि घर किनेर आउने घरबेटीले उल्टै आफूलाई घरबेटी भन्ने गरेको सुनाए । केसीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नौ महिना वस्दाका अनुभव पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बाँस्तोलासँग यसरी सुनाएः

मन्त्री क्वाटरमा बस्दा पनि डेरा भाडा तिरेँ

देशको राष्ट्रियता, अखण्डता, सार्वभौमिकताको सौदावाजी नगर्ने भएकाले मलाई छिट्टै लखेट्छन भनेर नै मैले नबस्ने डेराको पनि भाडा तिर्दै आएको थिएँ । फर्किएर फेरि यही डेरामा आउनुपर्छ भन्ने मलाई थाहा थियो । दुई दिनको रंगीचङ्गी भए पनि फर्किने डेरामै हो भनेर मैले नौ महिनाको ५४ हजार डेरा भाडा घरवेटीलाई तिरेँ । म मात्र होइन, मेरो सचिव र सल्लाहकारहरुले पनि केही फाइदा लिन पाएनन् । देश र जनतालाई सुख–सुविधा दिन मन्त्री हुनेले आफू मात्र सुख–सुविधान लिने जनतालाई मागीखाने बनाउने कुरा ठीक छैन भनेर मैले जनता र देशलाई समस्या हुने काम गरिनँ । यही डेरा गुम्ला भनेर नबस्दा पनि नौ महिनाको भाडा तिर्ने म चित्रबहादुरले विचरा कहाँ घर बनाउनु ?

डेरा स्थायी, क्वाटर अस्थायी

मन्त्री भएपछि म १६ वर्षदेखि निरन्तर बस्दै आएको डेरा छाडेर क्वाटरमा जाँदै गर्दा मलाई त्यसैबेला मन्त्री क्वाटर अस्थायी हो, डेरा स्थायी हो भन्ने लागेको थियो । म मन्त्री हुँदा नै यो दुई दिनको रामछाँया हो भन्ने लागेको थियो । कोठाबाट पोका–पन्तरा बोकेर मन्त्री क्वाटर जाँदै गर्दा नै यस्तो लागेको थियो । म अलिक अघि नै मन्त्री क्वाटरमा गएको थिएँ । परिवारले डेराको सबै भाँडा–कुँडा उठाएर ल्याएछन् । मैले त्यतिबेला ‘हामी यहाँका केही महिनामा मात्र पाहुना हौँ किन सबै सामान ल्याएको ?’ भनेर हप्काएको थिएँ । त्यसैले मलाई त्यहाँ बसाइँ सर्दा छुट्टै खालको कुनै महसुस भएन । मन्त्री क्वाटर छाड्दा कुनै विस्मात् पनि भएन । म त्यहाँ जाँदा नै अस्थायी पाहुना हुँ भन्ने भएर गएकाले जाँदा हर्ष र फर्किदाँ विस्मात् भएन ।

भारतले षड्यन्त्र गरेपछि सरकारमा गएका हौँ

हाम्रो पार्टीभित्र विभिन्न चरणमा छलफल गरेर संविधान कार्यान्वयन गर्ने शर्तमा केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको हुँ । ओलीजीको नेतृत्वमा सरकार गठन हुनुअघि पनि हाम्रो पार्टीलाई सरकारमा जानका लागि प्रस्ताव आएको थियो । तर, हामीले त्यसलाई आवश्यकता ठानेका थिएनौँ । तर, हामीले स्थापना कालदेखि नै उठाउँदै आएको जनताका प्रतिनिधिले नै संविधान लेख्ने र जारी गर्ने मुद्धालाई पूरा हुन नदिने विभिन्न खालका षडयन्त्रहरु भएपछि हामी संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने एजेण्डाका साथ ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै सहभागी भएका हौँ ।

संविधान कार्यान्वयन नगरुन्जेलसम्म तीन ठूला पार्टी नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले कम्तीमा पनि दुई वर्षसम्म एक ठाउँमा बस्ने भन्दै सहमति गरेका थिए । तर, संविधान जारी भएलगत्तै भारत ती तीन ठूला दल फुटाउन सफल भयो । तीन दलबीच राष्ट्रपति नेपाली कांग्रेसलाई, प्रधानमन्त्री एमालेलाई र सभामुख माओवादीलाई दिने सहमति भएको सबैलाई थाहा भएकै कुरा हो । तर, अन्तिममा मालिकहरुले के–के फुकेपछि लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्ने नेपाली कांग्रेसले सबै ठूला दल सरकारमा जानु हुँदैन भन्दै नयाँ नाटक रच्न थाल्यो र प्रधानमन्त्रीको उम्मेदवार उठायो । त्यो सबै छिमेकीको दवावमा भएको थियो । त्यस्तो स्थितिमा संविधान जारी गर्नका लागि पनि केपी ओलीजीको सरकारलाई समर्थन गर्नुपर्छ भन्ने पार्टीको निर्णय अनुसार नै म सरकारमा गएको हुँ । देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई बचाई राख्न पनि राष्ट्रिय जनमोर्चा नेपालले सरकारमा जाने निर्णय गरेको हो । लाज–घीन केही नमानी नाङ्गो हस्तक्षेप भइरहेको बेला देशका लागि केही गर्न सकिन्छ कि भनेर जनमोर्चाले सरकारमा जाने निर्णय गरेको हो ।

कतिपय साथीहरुलाई पचेन

कतिपय साथीहरुलाई म सरकारमा गएको पचेन । हाम्रै पार्टीका साथीहरुलाई पनि पचेन । कतिले अहिलेसम्म सरकारमा नगएर बचाएको इज्जत पनि सबै वर्वाद हुने भयो भनेर चिन्ता व्यक्त गरे । कतिपयले त राष्ट्रिय जनमोर्चाले संघीयताको मुद्दालाई सत्तासँग साट्यो भन्ने आरोप पनि लगाए । तर, जनमोर्चा संघीयतालाई सत्तासँग साटेर गएको होइन । संसद् वा सरकारमा जहाँ बसे पनि भिन्न मत राखेर हामी जाने हो । मैले उपप्रधानमन्त्री भएपछि पनि संघीयतासँग उपप्रधानमन्त्रीको पद साटेको होइन भनेको थिएँ । हाम्रो अहिले पनि संविधानका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता कुरामा सहमति छ । यसलाई कार्यान्वयन गर्ने कुरामा हामी कटिवद्ध छौँ । संघीयतासँग हाम्रो सरकारमा बस्दा वा नबस्दा पनि विरोध नै हो । राष्ट्रिय जनमोर्चाले आठेभक्ति कहिल्यै देखाउँदैन । संघीयताका ठेकेदारहरुसँग समेत हामीले सम्झौता नगरी सरकारमा गएका हौँ । कतिले संघीयताका नाममा दुनो सोझ्याउने काम गरेका होलान् । हाम्रो त्यस्तो होइन । संविधानलाई जलाउनुपर्छ भन्नेहरु तलब भत्ता खाँदै हिड्ने ? संविधानका सकारात्मक पक्षलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हामीहरु चाँहि सरकारमा जानु किन नहुने ? हामी त्यही भनेर गएका हौँ । पद, प्रतिष्ठा बेचेर सम्पत्ति आर्जन गर्ने ध्येय मेरो कहिल्यै भएन र मेरो पार्टीको पनि ध्येय त्यतातिर गएन । देशको राष्ट्रियतालाई महत्वपूर्ण मानेर म सरकारमा गएको हुँ ।

सिंगै घर र तातो–चिसो पानी ठूलो होइन

नेपालमा राजनीति गर्ने भनेको आफूलाई भौतिक सुविधा कति हुन्छ ? आफूलाई आर्थिक लाभ कति हुन्छ ? आफ्ना मान्छे वा नातापातालाई कति फाइदा पु¥याउन सकिन्छ ? आफ्नो चुनाव क्षेत्रलाई कति फाइदा गर्न सकिन्छ र फेरि अर्को चुनावमा जितेर मन्त्री पड्काउन सकिन्छ ? अधिकांशको सोचाइँ यही हुन्छ । यही सोचाइका कारण नेपालको राजनीति काम नलाग्ने भएको हो ।

हो, निश्चितै रुपमा मन्त्री क्वाटरमा बस्दा भौतिक सुख–सुविधा हुन्छ । मैले पनि त्यो अनुभव गरेँ । नुहाउन तातो–चिसो पानी, बस्न सग्लै घर, टेलिफोनदेखि लिएर कर्मचारीसम्मको सुविधा, हिडडुल गर्न झण्डावाल गाडी, लुगा धोएर सुकाउने खुला ठाँउ म मन्त्री हुँदा पनि ती सबै भौतिक सुविधा थिएँ । यस्तो सामान्य कोठामा बसेको व्यक्ति ती भौतिक सुविधामै अलमलिरहने हो भने सक्थेँ पनि होला । मैले त्यो भौतिक सुख–सुविधामा आफूलाई र परिवारलाई कामय राख्ने प्रयास गरिनँ ।

जनतालाई विचल्नीमा पारेर म मात्र भौतिक सुविधामा लिप्त हुँदा म कसरी जनताको नेता बन्न सक्छु ? म कसरी जनताले आशा–भरोसा गर्ने आदर्श व्यक्ति बन्न सक्छु ? हाम्रा नेताहरुले भौतिक सुविधालाई मात्र केन्द्रमा राखेकाले देश अधोगतिमा लागेको हो र विदेशीले हामीलाई हेप्ने मौका पाएका हुन् । यो सबै आफ्नो भौतिक सुख–सुविधालाई महत्वपूर्ण र देशको राष्ट्रियतालाई कमजोर ठानेकाले भएको हो । भौतिक सुख–सुविधालाई आत्मसमर्पण गर्ने भएकाले विदेशीले हामीलाई हेपेका हुन् ।

भौतिक खुख–सुविधाले मलाई खासै फरक पारेन

म नौ महिना सरकारमा बसेँ । मैले अहिले पनि देखेको छु, जनताको रगत–पसिनामा रजाइँ गर्नेहरु धेरै छन् । तर, मैले ती कुराहरुलाई सरकारमा बस्दा पनि गौण ठानेँ । झण्डावाल गाडीमा झण्डा हल्लाउँदै हिड्दा कतिपय सर्वसाधारणले ‘ओहो, यो त बन्यो, ठूलो भयो’ भन्ने पनि ठाने होलान् । तर, त्यो भौतिक खुख–सुविधाले मलाई खासै फरक पारेन ।

साधारण किसानहरुका बीचमा हलो, कुटो–कोदालो गरेको व्यक्ति हुँ म । भारी बोकर खाने, विदेशमा चौकीदारी गर्ने, भीर–पाखा गर्नेहरुसँग खाएर खेलेर हुर्केको मान्छे हुँ म । दुःख भोगेको, सुख देखेको मान्छे हुँ म । त्यसैले मन्त्री रहुन्जेल त्यहाँको भौतिक सुविधाको उपयोग गरेँ तर ठूलो ठानिनँ ।

यति दिन्छु, यसो गर भन्ने कोही आएनन्

मेरो चरित्रसँग धेरै जानकार छन् । त्यसैले पनि होला, म मन्त्री हुँदा ‘यति रकम दिन्छु, यो काम गरिदिनु प¥यो’ भन्न कोही आएनन् । म मन्त्री नहुँदा पनि मलाई यसो गरिदिनु प¥यो, उसो गरिदिनु प¥यो, यति दिन्छु, उति दिन्छु भन्नेहरु आउँथे । तर, म हपारेर पठाउथेँ । मैले पहिला नै मेरो छवि देखाइसकेकाले पनि होला, म मन्त्री हुँदा त्यस्ता ‘अफर’ खासै आएनन् ।

केपी ओली राष्ट्रियताका पक्षमा अडान भएको नेता

केपीजीका कमीकमजोरी धेरै छन् । म उहाँका कमजोरीका बारेमा धेरै भन्न चाहन्न । मैले उहाँसँग नौ महिना एउटै ‘क्याविनेट’मा बसेर काम गर्ने अवसर पाएँ । उहाँको राष्ट्रियता, देशको अखण्डता र सार्वभौमिकताप्रतिको अडानको म प्रशंसा गर्छु । उहाँलाई मैले बुझेको सरल कुरा के हो भने उहाँ नकस्सिएको भए संविधान जारी गर्न निकै मुस्किल पर्ने थियो । आफ्नो देशको संविधान आफैँ बनाउने कुरामा केपीजीले लिएको अडान निकै महत्वपूर्ण छ ।

राजदूत बनाइदिनु प-यो भन्दै प्रमाणपत्र लिएर आए

सुरुसुरुमा अलिअलि दवाव आयो । म राजदूत बन्न लागेको मलाई बनाउनु प-यो भन्दै पनि कोही आए । प्रमाणपत्र मेरो अघि ल्याएर देखाए पनि । तर, मैले ‘तपाईँको प्रमाणपत्र हेरेर तपाईँलाई राजदूत बनाउने मेरो हैसियत छैन’ भनेर पठाइदिएँ । कतिपय मेरो जागिर थामिदिनु प¥यो भन्दै पनि आए । तर, मैले नियम मिचेर कसैको काम गरिनँ । मेरो पहिलादेखि नै राम्रो मान्छेलाई समर्थन गर्ने र हाम्रो मान्छेलाई समर्थन नगर्ने भएकाले पनि ती दवावहरु विस्तारै सेलाउँदै गए । म अहिले पनि दावाका साथ भन्न सक्छु, नौ महिना मन्त्री हुँदा अन्जानमा केही गल्ती भए भने बेग्लै कुरा, जानेर केही पनि गल्ती गरिनँ । मसँग माग्न आएकाहरुलाई लौ हुन्छ, म गरिहाल्छु भनेर कसैलाई पनि झुट्टा आश्वासन दिइनँ । गर्दा हुने जायज काम छ भने मैले कसैको पनि रोकिनँ । तर, नाजायज काम छ भने कसैको पनि गरिनँ । मेरा आफन्तै आए पनि नाजायज काम छन् भने गर्र्दै गरिनँ । मैले मेरा सचिव, सल्लाहकारलाई पनि राम्रा मान्छे छाडेर हाम्रा मान्छे बनाउनुपर्छ भनेर कहिल्यै भनिनँ ।

मलाई उपयोग गर्न नपाउने गलत तत्वहरु मसँग रिसाएका पनि छन् । उनीहरु रिसाउँदा मलाई खुशी लागेको छ । त्यस्तामा कतिपय कर्मचारी पनि पर्छन् । उनीहरु रिसाएकोमा मलाई खुशी छ । राम्रा कर्मचारीसँग मन्त्री हुँदा पनि राम्रो सम्बन्ध भयो । नराम्रा कर्मचारीसँग मेरो रहनसहन पनि भएन ।

बैंकमा छोरा–बुहारीले पठाएको रकम मात्र

हिजो सम्पत्ति विवरण बुझाएँ । बैंकमा भएको अलिअलि रकम छोराबुहारीले पठाएको हो । मन्त्री बन्ने आफूलाई बनाउनका लागि रहेछ । नौ महिना मन्त्री हुँदा मैले अनेक दुर्गति देख्न पाएँ । मानिसहरुले आफ्नो र आफ्ना नजिकका मान्छेको स्वार्थ पूरा गर्न कति मरिहत्ते गर्दा रहेछन् भन्ने पनि देखेँ । त्यो भएन भने कति रुदैँ–चिच्याउँदै हिँड्दा रहेछन् भन्ने पनि देखेँ । जिन्दगीभरी गरेको अनुभव भन्दा नौ महिनाको अनुभव मलाई विश्वविद्यालयको अनुभव भयो ।

10 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार