Presidential

स्वास्थ्यमन्त्री गगन थापालाई खुलापत्र


१५ भदौ । माननीय स्वास्थ्यमन्त्री श्री गगनकुमार थापाज्यूले स्वास्थ्यमन्त्री बहाल भएकै दिन आफू जनताले केही देख्न सक्ने गरि केही काम गर्न चाहेको भनेपछि खुशी लागेको छ ।

भन्न त सबै त्यसै भन्दै आउँछन तर जानेबेला केही नभनी लुसुक्क जान्छन । त्यही परम्परा चलिआएको छ । तपाईंको पनि त्यही निरन्तरता हुने हो भने त केही भन्नु छैन । जनताले अरु नेतासँग भन्दा तपाईंसँग अलि बढी नै आशा राखेका छन् । स्वास्थ्य क्षेत्रमा सुधार गर्ने तपाईंका आफ्नै योजना छ वा होलान् । त्यो तपाईंको कुरो भयो ।

यहाँ मैले जनताको तर्फबाट केही सुधारका प्रस्तावहरु राख्ने प्रयास गरेको छु । हुन त तपाईं अहिले मन्त्रीको कुर्सीमा हुनुहुन्छ । निश्चय पनि तपाईंको दौडधूप अहिले निकै बढेकै छ । हामी जस्ता जनताका यी गनथन सुन्ने र हेर्ने फुर्सद तपाईंलाई नहुन पनि सक्छ । अथवा यस्ता सुझाव के सुन्नु वा पढ्नु र हेर्नु भन्ने पनि लाग्न सक्छ । जनताको तर्फबाट मेरो आग्रह छ । यो हेर्ने वा सकैबाट सुन्न र आफैँले पढ्नेसम्मको कष्ट गर्नुभयो भने पनि म आभारी हुनेछु । मेलै केही बुँदागत सुधारका सुझावहरु दिएको छु ।

१ अहिले सम्म उच्च नेता तथा पदाधिकारीहरुको स्वास्थ्य उपचारको नाममा देशको ठूलो धनराशी विदेशिने गरेको तपाईंलाई पनि जानकारी भएको कुरा हो । त्यति मात्र होइन देशका नागरिक स्वास्थ्य उपचार नपाएर मर्नु परेको वा घरखेत नै लिलाम हुने गरी उपचार गर्नु परेको बाध्यतालाई पनि तपाईंले देख्नु र सुन्नु भएको छ । मन्त्रीज्यु, त्यसैले अबदेखि उच्च पदमा बसेका नेता तथा हाकिमहरुको पातलो दिशा लागेपनि देशको ढुकुटीबाट देशलाई व्ययभार हुनेगरी विदेशिने परम्पराको अन्त्य चाहेका छन् । तपाईंको पहिलो ध्यान त्यहाँ जान सकोस् । त्यसरी खर्च हुने धनराशीलाई बचाएर नेपालकै अस्पतालहरुको सुधारमा लगाईयोस् ।

अर्बुदरोग (क्यान्सर) मृगौला रोग र मुटुरोग जस्ता ठूला रोगहरुको उपचारमा बिगतका सरकारले दिई आएको रु १ लाख बराबरको सहयोग निकै कम भएको छ । केपी ओली नेतृत्वको सरकारले बजेटमार्फत घोषणा गरेको त्यस्ता रोगहरुको उपचार निशुल्क गर्ने कार्यलाई कार्यान्वयन गरियोस । त्यो सम्भव भएन भने १ लाखको सहयोग रकम बृद्धि गरेर कम्तिमा ३ लाखसम्म बनाइयोस् ।

डाक्टर बिषयको अध्ययन शुल्क निकै महङ्गो भएका कारण स्वास्थ्य क्षेत्र पनि महङ्गो हुन गएको कुरा ध्रुव शत्य हो । ठूलो लगानी गरी पढेका डाक्टरले आफ्नो लगानी अशुल उपर गरी थप आर्जन गर्न चाहने हुँदा सबै शहरमुखी हुन जाने र दुर्गम क्षेत्रमा डक्टर बस्न नचाहने कुरा सबैलाई थाहा भएकै हो । त्यसैले डाक्टर अध्ययन नेपालीको हकमा निकै सरल बनाई गरिबका छोराछोरी जो डाक्टर बन्नसक्ने क्षमताका छन् तिनको पहुाचमा हुनुपर्छ र दुर्गममा सेवा गर्ने अबधी तोकेर करार गराई पढाइनु पर्छ । यो विषयमा पनि मन्त्रीज्युको ध्यान जानसकोस् ।

डाक्टर गोबिन्द केसीले उठाएका मागहरु छलछाम नगरी संभव भएसम्म सम्बोधन गरियोस र उनलाई बारम्बार जीवन जोखिममा राखेर अनशन बस्नुनपर्ने परिस्थितिको अन्त्य होस्।

स्वास्थ्य क्षेत्रमा भएको व्यापक ब्यापारिकरणलाई सेवामुलक पेसामा रुपान्तरण गरियोस जसले गर्दा नागरिकको बाँच्न पाउने हक सुरक्षित होस ।

देशका नेता तथा हाकिमहरु सानो भन्दा साना रोगको उपचारमा बिदेशिने परम्पराले देशको शोधनान्तर स्थिति नकारातमक त भएको छ नै । अझ हाम्रा अस्पताल र डाक्टरहरुको मनोबल तथा बिश्वसनियताको पनि धज्जी उढाउने काम भएको छ । यस्तो संस्कारको अन्त्य होस् ।

माथि उल्लेखित सुधार गर्नुभएमा जनताको स्वास्थ क्षेत्रमा अल्पकालिन तथा दीर्घकालिन सुधार हुनेछन र तपाईं पनि जनताको मनमा रहनु हुनेछ । नभए अरु जस्तै आउने जाने र गफ गर्ने मन्त्री भन्दा तपाईंको फरकपन केही हुनेछैन ।

उही तपाईँको नागरिक

डिल्लीराम बास्तोला

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार