Presidential

ईश्वर पोखरेलले औँल्याएका ‘एमालेका प्रमुख समस्या’

ईश्वर पोखरेल

जनतामाथि आधारित हुँदै र जनताकै बलमा श्रेष्ठता हासिल गरेर शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट समाज रूपान्तरणको बाटो अबलम्बन गरेको हाम्रो जस्तो पार्टीका लागि जनतासँगको सम्बन्ध प्रगाढ बनाउने कुरा निर्णायक महत्वको बिषय हो। जनतासँगको सम्बन्धको मापन खालि पाँच बर्षमा एक चोटी हुने निर्वाचनको सन्दर्भमा होइन, जनताका दैनन्दिनका समस्यासँग पार्टी जोडिएको छ कि छैन, उनीहरूका समस्याको लागि पार्टीले पहल गरिरहेको छ कि छैन, जनताले आफ्नो प्रतिनिधिका रूपमा विश्वास गरेका छन् कि छैनन् र पार्टीका नीतिहरूमा जनताका सरोकारका बिषयहरू समेटिएका छन् कि छैनन् भन्ने कुराले निर्धारण गर्छ । पार्टी निर्माण र सङ्गठनात्मक क्षेत्रका आजका मुख्य समस्यालाई निम्नानुसार प्रस्तुत गरिएको छः

राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा अगुवाइ गर्ने हिसावले निर्माण र संचालन भइरहेको पार्टीको संरचना र तदनुरूपको अभ्यासबाट दीक्षित संगठनात्मक प्रणालीलाई परिवर्तित सन्दर्भ र बदलिएको राजनीतिक कार्यभार अनुरूप सही ढङ्गले प्रशिक्षित गर्न सकिएको छैन । ‘समृद्धिको कार्यदिशा र उत्पादनसँग जोडिने’ बिषयलाई कार्यकर्ता स्वयं निजी अर्थोपार्जनमा लाग्ने भन्ने बुझ्ने स्थिति देखा परेको छ ।

पार्टी जीवनको लोकतान्त्रिकरणलाई महाधिवेशन÷अधिवेशनहरूमा समूहगत प्रतिष्पर्धा मात्रै भनेर बुझ्ने गलत चिन्तन र महाधिवेशनमा प्रकट भएको प्यानलगत मनोविज्ञानको असर मेटिन सकेको छैन । केन्द्रीय कमिटीका सबैजसो निर्णय सर्वसम्मत भए पनि यसको बुझाइ, व्याख्यामा एकरूपता देखिँदैन । कार्यकर्तामा भावनात्मक दूरी बढ्दै जानु ठूलो चुनौती बनेको छ ।

सदस्यता वितरण र नवीकरणमा समूहगत मनोविज्ञानले असर गरिरहेको छ । मन नपरेका व्यक्तिलाई सदस्यता नदिने, नवीकरण नगर्ने, एकैजनाले शुल्क बुझाएर नवीकरण गरिदिने ठेकेदारी प्रवृत्ति देखा परेको छ । सदस्यता प्रदान, नवीकरण, स्थानान्तरण, कार्बाही जस्ता कुरामा संस्थागत पद्धति मिच्ने प्रवृत्ति बढ्दै गएको छ। नियमावलीमा गरिएको व्यवस्थालाई समेत उपेक्षा गर्दा निर्वाचनलाई प्रभावित गर्ने गरी अधिवेशनको मुखमा सदस्यता वितरण या स्थानान्तरण गर्ने शैली देखा परेको छ ।

आठौं महाधिवेशनपछिको वैधानिक व्यवस्था अनुरूप क्षेत्रीय कमिटीहरूले प्रदान गरेका सदस्यताहरूको अनुमोदनको बिषयले पनि कतिपय स्थानमा विवाद देखा परेको छ । कतिपय तत्कालिन अञ्चल समन्वय कमिटीले तलबाट आएका सदस्यताहरूको अनुमोदन समयमै गर्न नसक्दा पनि समस्या देखा परेको छ ।

अवधि पुगेको लामो समय बितिसक्दा पनि कतिपय जिल्ला कमिटी, मातहत कमिटी र जनसङ्गठनहरूले अधिवेशन गरिरहेका छैनन् । यसले उनीहरूको वैधता र कार्यक्षेत्रमा प्रभाव कमजोर बनाएको छ ।

राजनीतिक नियुक्ति, विदेश भ्रमण र अन्य अवसरहरूको न्यायोचित वितरणमा समय–समयमा उत्पन्न हुने संस्थागत परिपाटीको अभावले गुनासो र असन्तुष्टि सिर्जना गरेको छ ।

स्थानीय तहका कार्यक्रममा अतिथिहरूको व्यवस्थापनले समस्या सिर्जना गरेको छ। अतिथिहरू बोलाउने र सहभागी हुने सम्बन्धमा विधिको पालना नगर्दा र उछिनापाछिनको अशोभनीय स्थितिले अनपेक्षित समस्याहरू उत्पन्न हुने गरेका छन् । पार्टी केन्द्रीय कमिटीको चौथो बैठकले दुई बर्ष अगाडि पारित गरेको स्थानीय तहका कार्यक्रममा आतिथ्यता र सहभागितासम्बन्धी कार्यविधि र आचारसंहिता– २०७१ लाई पालना गर्ने काम हुन सकेको छैन ।

राजनीतिक नियुक्ति, विदेश भ्रमण र अन्य अवसरहरूको न्यायोचित वितरणमा समय–समयमा उत्पन्न हुने संस्थागत परिपाटीको अभावले गुनासो र असन्तुष्टि सिर्जना गरेको छ ।

पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित या पार्टीले गर्ने महत्वपूर्ण छलफलका कतिपय संवेदनशील बिषयहरू जस्ताको तस्तै मिडियामा सम्प्रेषित हुने कुराले असहजता उत्पन्न गरेको छ । यसले पार्टीले बनाउनु पर्ने कतिपय रणनीतिक बिषयलाई समेत प्रभावित गर्ने गरेको छ ।

पार्टी पङ्क्तिको विचारधारात्मक स्तर माथि उठाउने काम राम्रोसँग हुन सकिरहेको छैन । आजको सन्दर्भमा माक्र्सवादी–लेनिनवादी सिद्धान्त र जबजलाई सिर्जनात्मक ढङ्गले बुझ्ने, नवौं महाधिवेशनका निष्कर्ष र निर्णयहरूका आधारमा दिशा निर्देशित हुने र यतिबेला बहसमा रहेका बिभिन्न बिषयमा सही दृष्टिकोण निर्माण गरी बुझाइमा एकरूपता स्थापित गर्ने काम राम्रोसँग गर्न सकिएको छैन ।

(केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकमा महासचिव पोखरेलद्वार।ा प्रस्तुत संगठनात्मक प्रतिवेदनबाट)

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार