Presidential

ट्रम्पको ह्वाइट हाउस प्रवेश र नेपालको सन्दर्भ

विकास ज्ञवाली

जनमानसमा अमेरिकाको चुनावको सन्दर्भलाई लिएर दुइवटा भनाइहरु रोचक बनेका छन् । एउटाले भन्छ अमेरिकाको चुनावमा राष्ट्रपति  चुनिदैनन्, उनी छानिन्छन् । र अर्कोे भनाई छ, अमेरिकामा राष्ट्रपतिसँगै परिवर्तन हुने केवल ह्वाइट हाउसका केही हतियार व्यापारी, तेल व्यापारी र चर्चका पादरी मात्र हुन् ।

अमेरिकी राष्ट्रपतिमा भएको ट्रम्पको विजयले अव के–के परिवर्तन गर्ने हो त्यो त समयसँगै देखा पर्दै जानेछ । तर, यसले नेपाललाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने कुरामा दुइमत नहोला ।

ट्रम्पको विजयसँगै अमेरिकामा गैरकानुनी रुपमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्नेछ । उनीहरुले अमेरिकामा कानुनी, सामाजिक र आर्थिक उत्पिडन सहनु पर्ने देखिन्छ । ट्रम्प विश्वविद्यालयका विदेशिलाई दिइने छात्रवृत्तिप्रति अनुदार रहँदै आएका छन् । यसले अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा केही कमी आउने सम्भावना हुनसक्छ ।

अमेरिकाले अब स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति अंगीकार गर्ने सम्भावना पनि बढ्ने छ । जसका कारण भारतको ‘आउट सार्र्सिङ्ग’ व्यापारमा ठूलो धक्का लाग्ने देखिन्छ । यसले भारतका ‘आउट सार्र्सिङ्ग’ सर्भिसमा कार्यरत नेपाली युवालाई प्रत्यक्ष प्रभाव पार्नेछ । भारतको आर्थिक अवस्था खस्कदा त्यसको प्रभावहरु नेपाली बजारमा देखिन सक्नेछ ।

चाइनिज सामानका घोर विरोधीका रुपमा ट्रम्प देखा परेका छन् । उनको शासनमा चाइनिज सामानमाथि कुनै न कुनै प्रकारको नियन्त्रण सुरु हुने देखिन्छ । यसले चीनलाई आफ्ना सामान विक्री गर्न नयॉ बजार खोज्ने तथा प्रोत्साहन गर्नुपर्ने हुन्छ । त्यस्तै, भारतीय सामानले पनि अमेरिकामा सहज बजार पाउँने छैनन् । जसको कारण भारतले पनि नेपाललाई आफ्नो बजारको रुपमा नियन्त्रणमा राख्न प्रयत्न गर्नेछ । यसरी नेपाल–चीन र भारतको प्रतिस्प्रर्धाको केन्द्र बन्दै जान सक्ने देखिन्छ ।

अमेरिककाको राष्ट्रियता र बजारको सुरक्षा ट्रम्पको पहिलो प्राथमिकता देखिन्छ । राष्ट्रियता र बजारको दृष्टिकोणले अमेरिकको प्रमुख प्रतिस्पर्धी  चीन हो । चीनको जानकारी लिन अमेरिकालाई नेपाल सबै भन्दा प्रभावकारी केन्द्र हो । यसको कारण नेपाललाई अमेरिकाले प्राथमिकतामा राखेर यहाँ आफ्नो नियन्त्रण कायम गर्न प्रयत्नशील रहने छ । विश्वमा अब अमेरिकाको नेतृत्वमा रहने घोर अनुदारवादी पुँजिवाद र चीनको नेतृत्वमा रहेको कम्युनिष्ट शासनबीचको अर्को शीतयुद्धको सुरुवात हुने सम्भावना देखिन्छ । यसले नेपालमा उनीहरुको प्रभाव विस्तार हँुदै जानेछ । नेपाल, भारत, चीन र अमेरिककाको नियन्त्रणको प्रतिस्पर्धाको केन्द्र बन्न थाल्नेछ ।

ट्रम्पको विजयसँगै विश्व राजनीतिमा अनुदारवादी, नश्लवादी र कठोर राष्ट्रवादी धारको सान्दर्भिकता बढेको विचार प्रभाव हुँदैजानेछ । यसले नेपालमा पनि त्यस्तै धारको राजनीति मूलप्रवाहमा बढ्दै जानेछ । हाल चलिरहेका भाषिक, धार्मिक, जातीय, क्षेत्रिय र लैङ्गिक असमानता विरोधका अभियानहरु कमजोर बन्नसक्ने देखिन्छ ।

ट्रम्पले अफगानिस्थानमा अमेरिकाको उपस्थितिको विरोध गरिरहेका छन् । उनको कार्यकालमा अफगानिस्थानबाट अमेरिका हदैसम्म पछाडि हट्ने सम्भावना देखिन्छ । अफगानिस्थानबाट अमेरिका गएपछि त्यहाँ भारतको सक्रिय सहभागिताको आवश्यकता देखिनेछ । अहिलेसम्म अमेरिका र नेटोको आडमा तालिवानसँग लडिरहेको भारतलाई एक्लै तालिवानको सामना गर्नु पर्नेछ । यसले भारतलाई नकारात्मक रुपमा प्रभाव पार्दा नेपालमा पनि त्यसका असरहरु देखिने छन् ।

अव नेपाल विश्व राजनीतिको रणनीतिक भूमिकाको रुपमा विकसित हुँदै जानेछ । यसले नेपालका अवसर र चुनौतीहरुको सृजना गर्नेछ । यदि नेपालको राज्य संयन्त्र सुदृढ हुने हो भने विविध पक्षबीचको प्रतिस्पर्धामा नेपालले आफ्ना स्वार्थहरु पूरा गर्न सक्नेछ । अन्यथा, नेपाल एउटा कुटनीतिक रणभूमिको रुपमा परिणत हुनेछ जसले नेपालको राजनिति, बजार र राज्य संयन्त्रलाई थप अस्थिर बनाउँदै जानेछ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार