Presidential

आजको सन्दर्भमा मार्क्सः कम्युनिस्ट आचरण र सिद्धान्तको विकास

माधवकुमार नेपाल

सन् १८१८ मा जन्मिनुभएका महान् चिन्तक एवम् सिद्धान्तवेत्ता कार्ल मार्क्सको दुई सयौँ जन्मजयन्ती मनाइरहँदा हामीले आजसम्मको समग्र आन्दोलनको समीक्षा गर्दै अघि बढ्नुपर्छ । विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्स पहिलो, लेनिन दोस्रो र माओत्सेतुङ तेस्रो पुस्ताका नेता हुनुहुन्छ । त्यसलाई नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा जोड्दा पुष्पलालको चौथौ, हामी पाँचौँ र अहिलेको पुस्ता छैठौँ हो । यसरी मार्क्सवादको कडी जोडिएको छ ।

मार्क्सका बारेमा चर्चा गर्दा उहाँका सबै पाटोका बारेमा चर्चा हुनुपर्छ । उहाँको दर्शन, राजनीति, अर्थशास्त्र सबै क्षेत्रमा उत्तिकै योगदान थियो । उहाँको यी सबै कुराको चर्चा हुने गरेको पाइएको छ । तर, विश्वको मानव–चित्रलाई नै परिवर्तन गर्ने उहाँको महत्वपूर्ण एउटा पाटोका बारेमा त्यति चर्चा भएको पाइँदैन ।

मार्क्सको अर्को महत्वपूर्ण पाटो छ, संघर्षमय जीवन । बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले उहाँको जीवनलाई सधैँभरि घेरिरह्यो । कैयौँ रातहरु उहाँले पाउरोटी मात्रै खाएर बिताउनुभएको थियो । उहाँका छोरोछोरी पनि कोही जन्मिने बित्तिकै त कोही ११–१२ वर्षकै उमेरमा बिते । तर, उहाँसँग आफ्ना छोराछोरीलाई कात्रो ओढाउनसमेत पैसा हुँदैनथ्यो । तिनीहरुको उपचार गर्ने पैसाको त कुरै छाडौँ । उहाँहरुसँग पकाएर खाने भाँडाकुँडा थिएनन् । घरबेटीले भाडा नतिरेको भन्दै पटक–पटक घरबाट निकालेका थिए । श्रीमती जेनी मार्क्स बिरामी थिइन् ।

यस्ता यावत पारिवारिक समस्याहरु झेलेर पनि उहाँ सिंगो मानव जातिको मुक्तिका लागि लडिरहनुभयो । साम्यवाद कसरी ल्याउन सकिन्छ भनेर उहाँ निरन्तर त्यही चिन्तामा मात्र बाँचिरहनुभयो, त्यसैको अध्ययनमा लागिरहनुभयो । सोही विषयमा उहाँले विद्यावारिधिसमेत गर्नुभयो । उहाँले कहिल्यै पनि अध्ययनलाई कम आँक्नु भएन ।

मानव इतिहासमा मार्क्स अत्यन्तै प्रभावशाली व्यक्तिका रुपमा स्थापित रहनुभएको कुरा इन्साइक्लोपिडियाले समेत उल्लेख गरेको छ । मलाई लाग्छ, अहिलेसम्मको मानव जातिको इतिहासमा विश्वलाई नै प्रभाव पार्नसक्ने कुनै व्यक्ति छ भने मार्क्स नै हुनुहुन्छ ।

मार्क्सले, उहाँले आफ्नो जीवनकालमा धेरै कृतिहरु प्रकाशित गर्नुभयो । तीमध्ये उहाँका दुई कृति निकै चर्चित रहेः दास क्यापिटल र कम्युनिस्ट घोषणापत्र । उहाँले आफ्नो अधिकांश जीवन लन्डनको पुस्तकालयमा अध्ययन गरेर बिताउनुभयो । उहाँले जुनसुकै विचारधाराको राजनीति गर्नेहरुका विचारलाई अध्ययन गर्नुभयो । साथै, ती विचारलाई अध्ययन गर्ने, समृद्ध तुल्याउने र आफूलाई विकास गर्ने काम गर्नुभयो । पुँजीवादका पुस्तकहरु पनि अध्ययन गर्नुभयो, समाजवादका पुस्तकहरु पनि अध्ययन गर्नुभयो । उहाँले सकेसम्म विश्वमा प्राप्त नवीनतम् ज्ञानहरुका पुस्तक खोजी–खोजी अध्ययन गर्नुभयो ।

उहाँ अर्थशास्त्री, राजनीतिज्ञ, दर्शनशास्त्री, पत्रकार, क्रान्तिकारी सबै हुनुहुन्थ्यो । तर, त्यति हुँदाहुँदै पनि उहाँ मानव हुनुहुन्थ्यो । उहाँले परिवारलाई गर्ने सहयोग, छोराछोरीलाई गर्ने माया विचित्रकै थियो । कतिपयले उहाँलाई क्रूर क्रान्तिकारी भन्छन् । तर, उहाँ मानव जातिलाई सबै खाले शोषण र उत्पीडनबाट मुक्ति दिनका लागि निरन्तर लड्ने व्यक्ति हुनुहुन्थ्यो ।  उहाँले सबै मानव जातिले प्राप्त गरेका ज्ञानहरुमा टेकेर त्यसलाई नयाँ उचाइँ दिनुभयो ।

madhav-nepalमार्क्सले मैले कुनै नयाँ कुरा ल्याएको छैन भन्नुहुन्थ्यो । उहाँ द्वन्द्ववादको प्रणेता हेगेल हो भन्नुहुन्थ्यो । तर, हेगेलको द्वन्द्ववादमा भौतिकवाद थिएन ।  उहाँले नै भन्नुभएको छ, ‘हेगेलको द्वन्द्ववाद टाउकाले टेकेको थियो । मैले खुट्टाले टेक्ने बनाएँ ।’ उहाँले त्यसैअनुरुप द्वन्द्वात्मक भौतिकवादको सिर्जना गर्नुभयो । उहाँले भौतिकवादलाई समृद्ध बनाउन आर्थिक, सामाजिक, राजनीतिक, इतिहास सबै क्षेत्रको अध्ययन गर्नुभयो । उहाँले तत्कालीन समयका सबै विद्वान्का पुस्तक अध्ययन गर्नुभयो ।

मार्क्सबाट हामीले अध्ययन गर्ने बानीबारे धेरै कुरा सिक्न सक्छौँ । अहिले हामीमा अध्ययनको संस्कार छैन । टेलिभिजन हेर्ने, पत्रपत्रिकाको शीर्षक हेर्ने र त्यसपछि धारणा बनाउने बानी छ । तिनै आधारमा हामी ठूला–ठूला तर्क गर्छौँ । मार्क्सले अध्ययनलाई कहिल्यै कम आँक्नुभएन । उहाँले मार्क्सवादलाई विकासशील विज्ञानका रुपमा व्याख्या गर्नुभयो । एक जना विद्वान्ले भन्नुभएको छ– ‘यदि तपाईंले मार्क्सको किताब मात्र अध्ययन गरेर तर्क गरिरहनुभएको छ भने त्यो तपाईंले गहिरो गरेर अध्ययन गर्नुभएको छैन ।’ उहाँले तर्कसहित भन्नुभएको छ– ‘किनभने त्यो त्यस समयको काल र परिस्थितिलाई अध्ययन गरेर लेखिएको कुरा हो । काल–परिस्थिति परिवर्तन हुँदै जान्छ । त्यसै अनुरुप व्याख्या गर्न सकियो भने मात्र त्यो विश्लेषण सही हुन्छ ।’

मार्क्सभन्दा पछि पनि धेरै विचारधारा आएः लेनिन, माओ, हो चि मिन्ह, जुछे आदि । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याउनुभयो । जसलाई नेकपा (एमाले) ले आत्मसात गर्दै आएको छ । तसर्थ, मार्क्सवाद जीवन्त सिद्धान्त हो । यसले आफूलाई त्यही अनुरुप विकास गर्दै लगेको छ ।

मदन भण्डारीले पनि भन्नुभएको छ, ‘सिद्धान्त सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हुनुपर्छ ।’  हामीले यही कुरा २०४९ सालको पाचौँ महाधिवेशनमा भन्यौँ–‘जडसुत्रवाद र विसर्जनवादको विरोध गरौँ, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ ।’

‘एउटा देशमा एउटा मात्रै सर्वहारा वर्गको एउटा मात्रै पार्टी हुन्छ । अरु  कम्युनिस्ट पार्टी नै होइनन्’ भन्ने मान्यता हामीमा पनि थियो । हामीले यो मान्यतालाई उहिल्यै छाड्यौँ । एक देशमा अनेक कम्युनिस्ट पार्टी छन् । ती सबैलाई कम्युनिस्ट पार्टी नै होइनन् भनेर हुन्छ ? विचलनसहित, कमजोरीसहित, भड्कावसहित त्यो कम्युनिस्ट त कम्युनिस्ट नै हुन्छ । एउटा समाजमा बुर्जुवाहरुको एकभन्दा बढी पार्टी हुन्छन् भने हामी कम्युनिस्टहरु एकभन्दा बढी हुन किन हिच्किचाउने ? हामीमा कमजोरी छ । हामी आफूबाहेक अरुको अस्तित्व नै स्वीकार गर्न सक्दैनौँ । किन ? यस्तो मान्यता हामीले पाल्नुभएन ।

हामीले वैचारिक रुपमा समृद्ध हुँदै जानुपर्छ । मार्क्सवाद भनेको कुरान वा गीताजस्तो एक शब्द पनि तल–माथि गर्न नमिल्ने सिद्धान्त होइन । हामीले सत्य के हो, यथार्थ के हो, त्यसको निष्कर्षमा पुग्नुपर्छ । हामी तथ्य र यथार्थको आधारमा सत्यमा पुग्नुपर्छ ।

समाजमा जबसम्म वर्गहरु रहन्छन्, शोषणको परिपाटी विद्यमान रहिरहन्छ,  तबसम्म वर्ग संघर्ष चलिरहन्छ । पुँजीपति वर्गभित्र पनि विभिन्न खाले वर्ग रहेका छन् ।

अर्कोतिर, दलाल पुँजीवादलाई निमिट्यान्न पार्नैपर्छ । हिजो दलाल पुँजीवादलाई निमिट्यान्न पार्न टाउको काट्नुपर्छ भन्ने मान्यता थियो । अब त्यसलाई रुपान्तरण गर्नुपर्छ । हामी राष्ट्रिय पुँजीवादको विकास गर्न चाहन्छौँ । त्यही भएर नै हामी पुँजीवादको प्रवेश चरणमा पुगेका छौँ । यसलाई अझै अघि बढाएर लैजानुपर्छ । त्यसरी अघि बढाउँदै गएर हामी समाजवादको दिशामा प्रवेश गर्छौं । हामीले विकास यस कारण चाहेका हौँ ।

हामीले अब युद्ध आवश्यक छ/छैन, सशस्त्र युद्धको आवश्यकता छ/छैन, भन्नेबारे अल्मलिनु पर्दैन । दोस्रो विश्वयुद्धपछि सशस्त्र युद्धलाई धेरै राष्ट्रहरुले शक्ति सन्तुलनका रुपमा लिए । नेपालका सन्दर्भमा, हतियारसहितको युद्ध आवश्यक थियो वा थिएन ? अहिले हामीले यसबारे चाहिँ बहस गर्नुपर्ने भएको छ ।

म अहिले पनि भन्छु– नेपालका सन्दर्भमा हतियारसहितको युद्ध आवश्यक थिएन । नेकपा (एमाले)ले जतिबेला हतियार उठाएको थियो, त्यो समय–सान्दर्भिक थियो । तर, माओवादीले जुन समय हतियार उठायो, त्योे सान्दर्भिक रहेन । ती दुई परिवेश कस्ता थिए ? त्यहाँ बोल्ने, लेख्ने, संगठन गर्ने जस्ता राजनीतिक स्वतन्त्रता थिए वा थिएनन् ? यस कुरालाई हेर्नुपर्छ ।

म अहिले पनि भन्छु– नेपालका सन्दर्भमा हतियारसहितको युद्ध आवश्यक थिएन । नेकपा (एमाले)ले जतिबेला हतियार उठाएको थियो, त्यो समय–सान्दर्भिक थियो । तर, माओवादीले जुन समय हतियार उठायो, त्योे सान्दर्भिक रहेन । ती दुई परिवेश कस्ता थिए ? त्यहाँ बोल्ने, लेख्ने, संगठन गर्ने जस्ता राजनीतिक स्वतन्त्रता थिए वा थिएनन् ? यस कुरालाई हेर्नुपर्छ ।

सशस्त्र संघर्षको कुरा गर्नु र बल प्रयोगको कुरा गर्नु फरक विषय हो । बल प्रयोग जनताको शक्तिले हुन्छ, जनताको चेतनाले हुन्छ, जनताको परिचालनले हुन्छ । कम्युनिस्ट पार्टीमा शक्ति जनतामा चेतना जगाएर नै आउँछ,  जनतालाई संगठित गरेर र उनीहरुमा आकर्षण बढाएर नै आउँछ ।  जनताको शक्ति र बुर्जुवा वर्गको शक्तिका बीचमा कसले जित्ने भन्ने कुरा हुन्छ । उनीहरुले विभिन्न खालका चालबाजी चालेका हुन्छन् । उनीहरुको त्यो चालबाजीलाई चिर्न सकेनौँ भने हामी असफल हुन्छौँ ।

हामी इन्डोनेसिया, फिलिपिन्स, म्यान्मार, थाइल्यान्ड र मलेसियाको उदाहरण लिन सक्छौँ । ती देशहरुमा कम्युनिस्टहरुले हतियार उठाए पनि कुनै उपलब्धि हासिल भएन । भारतको पनि त्यस्तै अवस्था छ ।

नेपालका कम्युनिस्टहरुले अझ गहिरो गरी बुझ्नुपर्छ, जनता नै शक्ति हो । हामीले लोकतन्त्रका मूल्य–मान्यतालाई आत्मसात गरेर अघि बढ्नुपर्छ । हामीले युद्धको बाटो नसमात्दा नै ठूलो जनशक्ति प्राप्त गर्न सक्छौँ । शान्तिपूर्ण रुपले कम्युनिस्टहरु सत्तामा पुग्न सक्छन्, त्यस्तो हैसियत राख्छन् । त्यो शक्ति उनीहरुसँग छ । उनीहरुले शान्तिपूर्ण रुपमा समाज रुपान्तरण गर्न सक्छन् भन्ने कुरा नेपालका कम्युनिस्टहरुले देखाएका छन् ।

लेनिनले चुनावमा भाग लिनु हुँदैन भन्नुभयो । फ्रान्समा कम्युनिस्ट पार्टीले बहुमत हासिल गरेको थियो । तर, कम्युनिस्ट पार्टीले कहाँ सरकार बनाउने भन्दा त्यहाँ कम्युनिस्ट पार्टी कहिल्यै उठ्न सकेन । जहाँ जनता छन्, त्यहाँ कम्युनिस्ट पार्टीले चुनावमा भाग लिनुपर्छ । भारतमा पनि त्यस्तै भयो । ज्योति बसुलाई प्रधानमन्त्री बनाउने कुरा उठेको थियो । तर, त्यहाँको कम्युनिस्ट पार्टीले कहाँ बुर्जुवाहरुसँग मिसिन जाने भनेर प्रश्न उठायो । अब कम्युनिस्टहरु कहिल्यै सत्तामा पुग्दैनन् भनेर जनताको विश्वास गुम्दै गयो । त्यसपछि कहिल्यै सत्ता प्राप्त गर्नै सकेन । जडसुत्रवादका कारणले गर्दा कम्युनिस्टहरुले अवसर गुमाए ।  फिलिपिन्समा पनि त्यस्तै भयो । जनताका बीचमा जाने कुनै पनि अवसर छाड्नु हुँदैन ।

चीन, भियतनाम, लाओस, क्युवा र उत्तर कोरियामा कम्युनिस्ट सत्ता छ । तीबाहेक वामपन्थीहरु बहुमतमा रहेको र पटक–पटक सत्तामा गएको नेपालबाहेक गौरव गर्ने देश अन्त कतै छैन । अरु देशमा वामपन्थीहरुको संख्या टिठलाग्दो छ । त्यसकारण पनि हामीले नेपालको कम्युनिस्ट आन्दोलनप्रति गौरव गर्नुपर्छ ।’

हामीले पुरानै बाटो समातेको भए हामी कांग्रेसको सहयोगी मात्र हुने थियौँ । हामीले कांग्रेससँग प्रतिस्पर्धा ग-यौँ, जनताका बीचमा गयौँ । हामीले संगठन निर्माण ग-यौँ र जनताको मन जित्न सफल भयौँ । हामीले किसान, विद्यार्थी, युवा, मजदुर, शिक्षक, किसान आन्दोलन ग-यौँ । हामीले कम्युनिस्ट पार्टीमा जनताको शक्ति छ भन्ने देखायौँ । त्यसैले हामी लोकप्रिय बन्यौँ । त्यो पनि जनताकै शक्तिबाट प्राप्त भएको हो ।

अहिले हामीमा केही कमजोरी देखिएको छ । महिला बलात्कृत हुन्छन्, महिला आन्दोलन उठ्दैन । दलित अत्याचारमा पर्छ, त्यहाँ आन्दोलन उठ्दैन । तसर्थ, हामीले हिजो ठूलो उपलब्धि हासिल गरेका थियौँ भनेर मख्ख परेर बसेर मात्र पुग्दैन । मख्ख परेर बस्ने हो भने पहिला प्राप्त गरेका उपलब्धिहरु पनि हराएर जान्छन् ।

पदको आशक्ति, जिम्मेवारी पूरा नगर्ने, भ्रष्टीकरण अहिले कम्युनिस्टको महारोग बनेको छ । सरकारमा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने, आफ्नो कर्तव्य र दायित्वलाई पूरा नगर्नेजस्ता थुप्रै खालका कमजोरी हामीमा छन् । हामीमा ठूलो साँस्कृतिक आन्दोलनको खाँचो छ, शुद्धिकरणको खाँचो छ । हामीलाई वैचारिक प्रशिक्षणको खाँचो छ ।

अहिले सबैको चित्त बुझाउन हामी संगठनमा कमिटीको आकार बढाउँछौँ । त्यो समाधान होइन । अचम्म के छ भने १० करोड पार्टी सदस्य भएको चीनमा चार सयको केन्द्रीय कमिटी छ । तर, हामीकहाँ पार्टी सदस्य पाँच लाख छैन, केन्द्रीय कमिटीको संख्या चार हजार छ । हामीले हामीलाई नै मूल्याङ्कन गरेर हेरौँ । किन यस्तो भइरहेको छ ? पद प्राप्त गर्ने संस्कृति किन हाबी भएको छ ?

हामीमाझ धेरै चुनौतीहरु छन् । अहिले समाजवादलाई असफल पार्ने प्रयासहरु भइरहेका छन् । हामीले सबै चुनौतीलाई पार गरेर अघि बढ्नुपर्ने छ । जहाँसम्म राज्यसत्ताको कुरा छ, त्यो त स्वाभाविक रुपमै अधिनायकत्व नै हो । हामीले त्यसलाई वैधानिक र कानुनी हिसाबले नै प्राप्त गर्नुपर्छ ।  हामीले हामीसँग भएको संगठनलाई राम्ररी परिचालन गर्न सक्यौ भने नेपालमा निकै ठूलो परिवर्तन ल्याउन सक्छौँ ।

अहिलेको सन्दर्भमा नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी जोगाउने भन्ने विषयमा वैचारिक बहसको आवश्यक छ । आन्दोलनलाई एकताबद्ध बनाउने र सबै कम्युनिस्ट पार्टीलाई नै एकताबद्ध बनाउने काममा हामी लाग्नुपर्छ । यसका लागि नेकपा (एमाले) ले १० वर्ष अघिदेखि नै पहल थालेको हो ।

(पूर्वप्रधानमन्त्री नेपालले कार्ल मार्क्सको द्विशतवार्षिकीका सन्दर्भमा पुस ११ गते नाचघर, जमलमा आयोजित राष्ट्रिय भेलामा गरेको सम्बोधनको सम्पादित अंश)

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार