Presidential

किन आवश्यक छ मार्क्सवादमाथि बहस ?

घनश्याम भुसाल

घनश्याम भुसाल

एक वर्षअघि हामी कार्ल मार्क्सको द्विशतवार्षिकीका सन्दर्भमा मार्क्सवादी समाजवाद एवं खासगरी उक्त आन्दोलनको वैचारिक र सैद्धान्तिक पक्षमा अलि गहन ढंगले विचार–विमर्श गर्ने गरी एउटा वैचारिक समूह बनाएर अघि बढेका थियौँ । अझ करिब डेढ वर्षअघि गोपी गुरु (गोपीरमण उपाध्याय) ले ‘कार्ल मार्क्सको द्विशतवार्षिकी केही नयाँ काम गरेर मनाउँदा कसो होला ?’ भन्नुभएको थियो । त्यसपछि केही तयारी गरेर नै हामी यो चरणमा आएका हौँ ।

अझ ‘नेपालको वामपन्थी आन्दोलन लोकप्रिय छ । तर, यो नारामा मात्र लोकप्रिय छ, जनमतमा लोकप्रिय छ, यसलाई केही बढी वैचारिक र सैद्धान्तिक रुपमा पनि उचाइँ दिन सकौँ, केही योगदान गर्न सकौँ’ भनेर गोपी गुरुले हामीसँग भन्नुभएको थियो । त्यसपछि हामीले यसलाई अझ मूर्त रुप दिने गरी अघि बढाएका हौँ । मुख्यतः चारवटा वामपन्थी पार्टीहरु– नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संयुक्त मार्क्सवादी र राष्ट्रिय जनमोर्चा यसमा रहेका छन् । तिनै चार पार्टीका युवा पुस्ताका व्यक्तिहरु बसी छलफल गर्दै जाँदा यसलाई राष्ट्रव्यापी रुपमा लैजाने टुंगो भएको हो । दीर्घकालीन रुपमै वर्तमान लोकतान्त्रिक राजनीतिक आन्दोलनमा सहभागी भएका वामपन्थी पार्टीहरुका बीचमा सहकार्य गरेर नयाँ एजेण्डासहित अघि बढ्न सकौँ र यी मुद्दालाई अघि बढाउन सकौँ भनेर नै हामीले यस्तो कार्यको थालनी गरेका हौँ ।

हामीले केही उद्देश्यहरु पनि अगाडि सारेका छौँ । मार्क्सवादी दर्शनसम्बन्धी विमर्शमा केही पुनर्विचार गर्न र पछिल्लो खोज र वैज्ञानिक दृष्टिकोणका आधारमा द्वन्द्वात्मक भौतिकवादको समसामयिक व्याख्या, समाज विज्ञानका पछिल्ला अध्ययनका आधारमा आजको विश्व समाज, त्यसको सम्भावना र चुनौतीका साथै ऐतिहासिक भौतिकवादको समसामयिक चुनौतीका बारेमा व्याख्या गर्नु र नेपाली समाजको अर्थराजनीतिक व्यवस्था, नेपाली समाजको आधारमा वर्ग, जात, भू–राजनीतिक समस्याका बारेमा अध्ययन गर्नु नै यसका उद्देश्यहरु रहेका छन् ।

आजको विश्व तथा नेपाली समाजमा श्रमजीवी वर्गको क्रान्तिकारी संगठनको समस्याको अध्ययन गरी वर्तमानको क्रान्तिकारी संगठनात्मक संरचना र सञ्चालन प्रक्रियाको अध्ययन गरी त्यसको निरुपण गर्नु, विभिन्न मुलुकहरुमा माक्र्सवादको प्रयोग र विकासका अनुभवसँग नेपालको सामाजिक, राजनीतिक, भौतिक अवस्थाबारे परिचित गर्न योगदान दिनु, तात्कालिक राजनीतिक मुद्दामा सीमित हुने वाम भौतिक तथा माक्र्सवादी सिद्धान्त, समाजवादी विचारधाराको विषय स्थापित गर्नुजस्ता पक्षलाई अघि बढाउन पनि हामी लागिपरेका छौं ।

‘मार्क्सवाद र नेपाल’ शीर्षकको मूल विषय चयन गरेर हामीले ६ वटा विषयमा समाजवाद, कम्युनिष्ट आन्दोलनमा एकता र विभाजन, मार्क्सवादको संस्कृति, माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादजस्ता विषयमा छलफल गरेका छौँ । ती छलफलमा आएका सुझावहरुलाई हामीले केही महिनाभित्रै विकसित गर्छौं र ती माक्र्सवादी रचनाहरुलाई देशव्यापी रुपमा अध्ययन–अध्यापनका लागि लैजाने व्यवस्था गर्ने छौँ । मूलभूत रुपमा हामीले गर्न खोजेका कुरा यिनै हुन् ।

हामीले यो काम गर्नका लागि मूर्खतापूर्ण कबुल गर्दै छौँ भन्ने पनि लागेको छ । किनभने, अहिले दलाल पुँजीवादले समाज, परिवार, समुदाय, संस्था र राष्ट्रलाई गाँजिरहेको छ । जताततै अहिले नाफा–घाटाको हिसाब–किताब मात्र चलिरहेको छ । अहिले जग्गा दलालीदेखि लिएर राजनीति पनि कमाइखाने भाँडो बनिरहेको स्थिति छ । अझ पैसा र बलबाहेक केही छैन भनेर सारा समाज लागिरहेको छ । यस्तो बेलामा माक्र्सवाद, इतिहास, समाज, मूल्य, नैतिकताजस्ता कुरा गर्नु मनुष्य जातिकै लागि चुनौतीपूर्ण देखिन्छ । अझ दलाल पुँजीवादीहरुले त हामीलाई देखेर ‘यी केटाहरु मूर्खतापूर्ण काम गरिरहेका छन्’ पनि भन्लान् ।

हामीले मार्क्सवादबारे चर्चा गर्दा गत डेढ सय वर्षअघिको सामाजिक आन्दोलन, दुनियाँका श्रमिकहरु, दुनियाँका उत्पीडितहरुका साथै विश्वको अर्थतन्त्रजस्ता विषयलाई सबैभन्दा बढी प्रभाव पारिरहेको छ र त्यो प्रभाव माक्र्सवादमा पनि पारिरहेको छ भन्ने कुरामा कुनै विवाद छैन ।

एकजना स्थापित मार्क्सवादी विद्वानले के दाबी गर्नुभएको छ भने राजनीतिक, सामाजिक–आर्थिक सिद्धान्तलाई नै प्रभावित पार्ने १७ जना महामनिषीहरुमध्ये ११ जनाले त आफूलाई मार्क्सवादी भनेर कबुल गर्ने गरेका छन् । मार्क्सवादकै कुरा गर्दा एक जना अन्तर्राष्ट्रिय स्तरका मार्क्सवादी विद्वान्ले गरेको कबुलअनुसार ती १७ जनामा पनि पाँच जना मार्क्सवादबाटै प्रभावित छन् ।

नेपालका गरिब, निमुखा र ठगिएकाहरुको सार्थक इतिहास लेख्ने कार्य मार्क्सवादी आधारमा नेपालको कम्युनिष्ट पार्टीले नै सुरु गरेको हो । राजनीतिक रुपमा कुरा गर्ने हो भने अहिलेको संविधानमा पटक–पटक समाजवाद शब्द उल्लेख हुनु चानचुने कुरा होइन । समाजवाद समाप्त भयो भनेर हल्ला गर्नेहरुका लागि पनि अहिले यो गतिलो जवाफ बनेको छ, मुद्दा बनेको छ ।

यो मुद्दा अब कम्युनिष्टहरुको मात्रै रहेन । यो कम्युनिष्ट पार्टीकै योगदान हो भन्ने कुरामा सबैले गौरव गर्नुपर्छ । यसमा समस्याका पाटाहरु पनि छन् । हामीले त्यसबारे पनि छलफल गर्न चाहेका छौँ । सन् १८४८ मा करिब १३ वटा युरोपियन मुलुकमा ठूला–ठूला क्रान्तिकारी आन्दोलनहरु भए । पाँच–सात वर्षपछि फेरि युरोपियन देशहरुमा चलेका आन्दोलनहरु शिथिल हुँदै गए र भयंकर रुपमा निराशाको शीतलहर सुरु भयो । तत्कालीन समयमा युरोपमा अब कहिल्यै पनि मजदुर आन्दोलन उठ्न सक्दैन भन्ने कुरा त्यहीँका पत्रपत्रिकाले लेखिरहेका थिए । त्यसैबेला मार्क्सले एउटा सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘सर्वहारा वर्गको विजयको राजनीति संकटमा हुन्छ । यसलाई ज्ञानले नेतृत्व गर्छ’ ।

यही कुरालाई हाम्रो देशको सन्दर्भमा भन्ने हो भने हामीकहाँ कम्युनिष्ट पार्टी लोकप्रिय छ, अझ समाजवादका लागि भन्ने हो भने नेपालमा पर्याप्त जनमत पनि छ तर संगठन भने विभाजित अवस्थामा छ । त्यही कारण ज्ञान पनि विभाजित छ । अहिले त हरेक गुटमा विभाजन हुँदै गएका छन् । जसका कारण समाजभित्र रहेका सामान्य व्यक्तिले पनि पहिला गुट त्यसपछि मात्र पार्टीमा प्रवेश गर्ने अवस्था सिर्जना भएको छ । त्यसपछि मात्रै ऊ कुन वादी बन्ने भन्ने निर्णय गर्ने स्थिति बनेको छ ।

मार्क्सवादबारे ज्ञान लिएर कुनै पनि पार्टीमा प्रवेश गर्ने त्यस्तो कुनै संरचना छैन । पार्टीभित्र र त्यसमा पनि गुटभित्रको विभाजनले गर्दा मार्क्सवाद संसारभरिबाट पातलो हुँदै गयो । त्यसैले आफैँमा मार्क्सवाद के हो भन्ने विषयमा छलफल गर्न जरुरी छ । नेताहरुका महत्वाकांक्षाले गर्दा पार्टी बिग्रिन पुगेको कुरा हामी भन्दैछौँ । तर, कुन युगमा कस्तो बेलामा कस्ता पार्टीहरु बन्छन् र ती पार्टीहरुभित्र कस्ता किसिमका गुटबन्दीहरु हुन्छन ? किन गुटबन्दी हुन्छ र ती गुटबन्दीहरुले कसरी लाखौँलाख जनताको सरोकारको मुद्दालाई ओझेलमा पार्छन् ? यो विषयमा पनि हामीले बहस चलाउन जरुरी छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार