Presidential

षडानन्दमा एमाले जितको नजिक पुगेको छःसुरेन्द्र उदास (मेयर उम्मेदवार)


षडानन्दमा एमाले जितको नजिक पुगेको छःसुरेन्द्र उदास (मेयर उम्मेदवार)

भोजपुरको षडानन्द नगरपालिकामा अहिले चुनावी माहोल बेस्सरी तात्तिएको छ । सो नगरपालिकामा एमालेले मेयर पदमा सुरेन्द्र उदासलाई अघि सारेपछि अहिले स्थानीय रुपमा चुनावी माहोल नै बेग्लै बनेको छ । विगत ३३ वर्षदेखि राजनीतिमा सक्रिय उदासको उम्मेदवारीसँगै अहिले उक्त नगरपालिकामा एमालेले विजयको झण्डा फहराउने निश्चितजस्तै भएको छ । वि.सं. २०४० सालमा भोजपुरको शारदा मावि, झ्याउँपोखरी देउरालीमा कक्षा ८ मा अध्यनरत रहँदादेखि नै राजनीतिमा होमिएका उदाससँग गरेको छोटो कुराकानीः

अहिले तपाईको नगरपालिकामा चुनावी माहोल कस्तो छ ?

स्वाभाविक रुपमा २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा स्थानीय जनता भोट हाल्न आतुर देखिएका छन् । सबै जनताका घरदैलोमा पुग्दा कहिले असार १४ आउला भनेर जनता प्रतिक्षामा बसेको पाएँ । स्थानीय तह पुनर्संरचना हुँदा मुलपानी, केउरेनीपानी, तुंगेछा, किमालुङ, देउराली, खार्तम्छा गाविस मिलेर यो नगरपालिका बनेको हो । स्थानीय जनताले धेरैभन्दा धेरै यो ठाउँको विकास विकास चाहेका छन् । उनीहरुले विकास बुझेको नेता चाहेका छन् ।

तपाईँ त स्थानीय जनतासँग राम्ररी भिजेको व्यक्ति हुनुहुन्छ, जित त निश्चित होला नि ?

निश्चय पनि मैले आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक उकाली–ओरालीलाई बुझेको छु । जनताको भावनासँग प्रत्यक्ष नाता गाँस्ने अवसर पाएको छु । मैले मेरो जीवनको ऊर्जाशील समय स्थानीय क्षेत्रको विकासमा खर्चेको छु । स्थानीय राजनीतिमै भिजेको छु । र, स्थानीय जनताले पनि मैले गरेको योगदानको उच्च मूल्याङ्कन गर्नेछन् भन्ने आशा लिएको छु ।
हरेक जनताका सुख–दुःखमा सकेसम्म हातेमालो गर्ने प्रयास मैले गरेको छु । मैले शैक्षिक क्षेत्रको माध्यमबाट पनि स्थानीय जनतासँग नजिक हुने अवसर प्राप्त गरेको छु । यी सबै कुराले गर्दा मलाई आफ्नो क्षेत्रका जनताले पत्याउनु हुन्छ भन्ने ठानेको छु । अझ मैले चुनाव जित्ने गतिलो आधार भनेको एमालेको बलियो संगठन पनि हो । हाम्रो क्षेत्रमा एमाले तलतलसम्म संगठन बनाएर पुगेको छ । तसर्थ, मैले होइन यो क्षेत्रबाट एमालेले जित्ने आशा गरेको छु ।

पार्टीमा तपाईँको योगदान रहेको छ भनेर जनताले भन्ने आधार के छ नि ?

म आफैँले यसो गरेँ उसो गरेँ भन्नु त्यति सान्दर्भिक नहोला, त्यो त जनताले बुझ्ने कुरा हो । तर, म जहिलेदेखि राजनीतिमा होमिएँ, त्यसैबेलादेखि निरन्तर लागिपरेको छु । मैले राजनीतिक यात्राका क्रममा अनेक संकटहरु भोग्नु पर्यो तर कहिल्यै समस्यासँग डराएर भागिनँ । अनेकौं आक्रमण र धम्कीलाई पनि सामना गरेर अहिलेको विन्दुसम्म आएको हुँ । मैले भोजपुरमै बसेर पञ्चायती दमनविरुद्ध लडेको छु । माओवादी द्वन्द्वको समयमा पनि मैले धम्कीको सामना गर्नुपर्यो । तर, आफ्नो विचार र जनताप्रतिको मेरो दायित्वलाई इमान्दारपूर्वक निर्वाह गरेँ ।
मलाई पञ्चायती निरंकुशताले तर्साउन सकेन, माओवादीको अपहरण, भौतिक आक्रमण, भौतिक सफायाको धम्कीले पनि मलाई छुन सकेन । म निडर भएर राजनीतिक कर्ममा निरन्तर लागिरहेँ । म अझै पनि जनतालाई विश्वास दिलाउन चाहन्छु । मैले आफ्नो व्यक्तिगत जीवनका लागि होइन, जनताका लागि काम गरेको हुँ । म जनतासँगै रहने छु ।

जनताका बीचमा केही चुनावी एजेण्डा पनि लिएर जानुभएको होला नि ?

गएको छु । म पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको व्यक्ति हुँ । जनताको घरदैलोमा आफ्नो ठोस योजना र सपनासहित जानुपर्छ भन्ने मलाई हेक्का छ । मैले यस नगरपालिकाको सडक, शिक्षा, स्वाथ्य, खानेपानी, सिँचाइ, पर्यटन, ऊर्जा क्षेत्रजस्ता अनेकसँग जोडिएका ठोस योजना र प्रतिबद्धतापत्र बोकेर जनताको घरमा गएको छु । मैले मेरा कामको प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छु । त्यसैले षडानन्द नगरपालिकालाई म देशकै समृद्ध र सुन्दर नगरपालिका बनाउन चाहन्छु । गफले मात्रै होइन, षडानन्द नगरपालिकालाई देशकै समृद्ध नगरपालिका बनाउन सकिने आधार मसँग छ ।

सबैभन्दा पहिलो जोड मेरो सडक निर्माणमा रहने छ । सडकको विकास नभएसम्म विकासको मुलधारमा समेट्न सकिन्नँ । भोजपुर अन्य हिसाबले अघि भए पनि सडक सञ्जालको हिसाबले अन्यन्तै पछि परेको जिल्ला हो । त्यस कारण पनि म सबैभन्दा पहिला सडकमार्फत आफ्नो नगरपालिकालाई जोड्न चाहान्छु । षडानन्द नगरपालिकालाई तीनतिरको केन्द्रीय सडक सञ्जालमा जोड्ने मेरो योजना छ । पहिलो, संखुवासभाको तुम्लिङटार नजिकैको लम्सुवाघाटमा तत्काल पुल निर्माण गरेर केन्द्रीय सडक सञ्जालमा जोड्ने योजना छ । यो सडक जोडिएपछि तराईसम्मको पहुँच बढी प्रभावी हुनेछ ।

त्यस बाहेक काठमाडौंबाट सिधा र छिटो हुने पहाडी लोकमार्गमा यो नगरपालिकालाई जोड्ने योजना छ । यस बाहेक प्याउलीबाट नारदमुनि थुलुङ राजमार्गमा षडानन्दलाई जोड्ने योजना छ । यी तिनैवटा सडक सञ्जालमा जोडिएपछि यहाँ उत्पादित सबै कृषि सामग्री सहर र तराई लैजान सकिन्छ । षडानन्द नगरपालिकाभित्रका देउराली, मुलपानी, केउरेनीपानी, तुंगेछा, किमालुङ र खार्तम्छा सबै वडाहरुमा १२ महिना नै चल्ने सडक तत्काल निर्माण गर्ने मेरो योजना छ । १२ महिना नै साना तथा ठूला बसहरु सबै वडासम्म चल्ने गरी सडक निर्माण गर्ने मेरो योजनालाई निर्वाचित भएकै दिनबाट कार्यान्वयनमा लैजाने पहल थाल्ने छु ।

शिक्षाका बारेमा पनि केही योजना होलान् नि ?

यो नगरपालिका बालागुरु षडानन्दको जन्मथलो हो । षडानन्दले तत्कालीन जहानियाँ राणा शासनको विरुद्धमा उभिएरै १९३२ मा पहिलो विद्यालय खोलेर पठन–पाठन सञ्चालन गर्नुभएको थियो । षडानन्द नगरपालिका शिक्षासँग जोडिएको नगरपालिका पनि हो । यो नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्ने मेरो योजना छ । कम्तीमा तीनवटा प्राविधिक शिक्षालय खोल्ने योजना छ ।

गरिबका छोराछोरी अध्ययन गर्ने सरकारी विद्यालय र कलेजहरुको गुणस्तर सुधार्नका लागि विज्ञहरुको समूह गठन गरेर तत्काल काम थाल्ने मेरो योजना छ । जहाँ गरिब किसानका छोराछोरीहरु पढ्छन्, त्यहाँको शैक्षिक गुणस्तर एकदमै कमजोर छ । सरकारी विद्यालय र कलेजको गुणस्तरलाई माथि उकास्न विशेष योजना नै तयार पार्नेछु । एक कक्षादेखि ५ कक्षासम्म सरकारी विद्यालयहरुमा पनि अंग्रेजी शिक्षा अनिवार्य गर्ने मेरो योजना छ । दिङला, नेपाले डाँडा र देउरालीमा सिटिइभीटीको सम्बन्धनमा ३ वटा प्राविधिक शिक्षालय स्थापना गर्ने मेरो योजना छ ।

सडक र शिक्षाजस्तै स्वास्थ्यसम्बन्धी पनि कुनै योजना छ ?

मैले अघि पनि भनेँ, शिक्षा, स्वास्थ्य र सडक विकासका पूर्वाधार हुन् । मैले यी तीन वटै कुरालाई प्राथमिकतामा राखेको छु । म निर्वाचित भएपछि षडानन्द नगरपालिकामा रोगकै कारण अकालमा कसैले पनि मृत्युको मुखमा पुग्नुपर्ने अवस्था नआउने वातावरण निर्माण गर्नेछु । सबै नागरिकहरुलाई अस्पतालको पहुँचमा लैजाने मेरो योजना छ । षडानन्द नगरमा ५० बेडको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने मेरो योजना छ ।

महिला स्वयंसेविकाहरुको मासिक भत्ता २५ प्रतिशतले वृद्धि गरेर जनताको सेवामा प्रभावकारी रुपमा खटाउने मेरो योजना छ । यस बाहेक सय दिनभित्र नगरपालिकामा हेल्प डेस्कको स्थापना, नगरवासीको लगानीमा ५ मेगावाटको विद्युत उत्पादन प्रक्रिया पहिलो वर्षबाटै आरम्भ गर्ने योजना छ । योसँगै पर्यटनलगायतका विषयमा पनि मैले धेरै योजना अघि सारेको छु । म जनतासँग बसेर जनताकै सहभागितामा योजनाहरु पूरा गर्दै जानेछु ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार