Presidential

डुबान समस्यालाई उठाउन नसक्दा प्रधानमन्त्री देउवा नराम्ररी चुकेः कार्की, पूर्वराजदुत


डुबान समस्यालाई उठाउन नसक्दा प्रधानमन्त्री देउवा नराम्ररी चुकेः कार्की, पूर्वराजदुत

० प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?

– वास्तवमा यो परम्परामा एउटा बिँडो थामिएको मात्र हो । सामान्यतया म के ठान्छु भने कुनै पनि देशको यस्ता उच्चस्तरीय भ्रमण भनेको दुई देशबीचका आफ्नो पक्षबाट आवश्यकताको प्राथमिकताले निर्धारण गर्ने हो । जेसुकै होस्, यसले दुई देशबीचको सम्बन्धहरुलाई नवीकरण गर्नका लागि यस्ता भ्रमणहरु हुने गर्छन् । यो दुइ देशबीचको सम्बन्धलाई नवीकरण गर्ने क्रममात्र हो भन्ने ठान्छु ।

० यो भ्रमण फलदायी भयो कि भएन ?

–भारतले दर्जनौ बाँध बाँधेर तराइमा जुन डुबानको समस्या देखिएको छ, त्यो समस्यालाई प्राथमिकताका साथ राख्नुपथ्र्यो । प्रधानमन्त्री यहाँ चुकेका छन् जस्तो लाग्छ । त्यसले प्राथमिकता पाएन । अरु कतिपय कुराकानीहरु त पहिलेदेखि नै थाती रहेका कतिपय विषयहरुलाई, उल्टिरहेका विषयहरुलाई सुल्ट्याउने काम भएको छ, त्यो राम्रो पक्ष हो ।

प्रधानमन्त्रीले संविधान संशोधनको विषयमा भारतीय नेताहरुलाई आश्वस्त बनाइराख्नु जरुरी थिएन । यो हाम्रो आन्तरिक मामला थियो । भारतलाई आश्वस्त बनाउने ढंगले हामी संशोधन नै गर्छौं भनेर जानुपर्ने स्थिति थियो जस्तो लाग्दैन । केही–केही पुराना थाती रहेका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने कुराकानीहरु उच्च स्तरबाट सहमति बनाउनु राम्रै कुरा हो । सबै नकारात्मक म ठान्दिनँ । तर, जुन प्राथमिकताका साथ यसले एजेन्डाहरु उठाउनुपर्ने थियो, त्यो भएन । यो उच्च स्तरको, प्रधानमन्त्री तहको भ्रमण हो । त्यो भ्रमणमा नेपाली पक्षका प्राथमिक एजेन्डामा राखेर जुन ढंगको प्रतिफल दिनुपथ्र्यो, त्यो निस्किएन ।

० भ्रमणका सबल पक्ष केही छैन त ?

–नेपालमाथि चीनको आक्रमण भयो भने हामी सहयोग गर्न आउँछौं, भारत चुप लागेर बस्दैनौं भन्ने अभिव्यक्ति भारतीय नेताहरुबाट जुन ढंगले आयो, त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले चीनसँग हाम्रो सुमधुर सम्बन्ध छ, चीनले हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गरेको छ भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यो नेपाली राष्ट्रिय भावनाको अभिव्यक्ति हो । यो कुरो उनले राम्रो ढंगले राख्न सके, त्यो चाहिँ उनको राम्रो पक्ष ठान्छु । यहाँ उनी चिप्लिएनन् ।

खास गरेर दोक्लाम विवादमा पनि नेपाललाई तान्न वा घिसार्न भारतीय प्रयास भए पनि शेरबहादुर देउवा यसमा तानिएनन् । नेपालको भावनालाई उनले प्रतिनिधित्व गरे । तटस्थकै नीतिमा रहे । यो राम्रो पक्ष हो ।

० कोसी बाँधकै असरका कारण नेपालको भूमि डुबानमा परेको सन्दर्भमा पनि त्यसबारे भारतीय पक्षसँग केही कुरा भएनन्, यसलाई कुन रुपमा लिनुभएको छ ?

–कोसी बाँधकै बारेमा पनि पहिले राष्ट्रिय सहमति भएर मात्रै त्यसमा कसरी जाने, के गर्ने भन्ने कुरा नेपालले आफ्नो विचार बनाइसकेपछि मात्र त्यहाँ जानुपथ्र्यो । त्यो भन्दा पनि मुख्य कुरो अहिले भारतले नेपाल–भारत सिमानामा बाँधेका दर्जनौं बाँधका कारण तराईमा डुबानको समस्या देखिएको छ । डुबानको समस्यालाई आइन्दा फेरि उत्पन्न नहोस् भन्नका निम्ति के प्रावधान गर्ने, के कस्तो प्रबन्ध गर्ने, त्यसको बारेमा प्राथमिकताका साथ जुन स्तरमा छलफल र त्यसले प्राथमिकता पाउनुपथ्र्यो, त्यसबारे कुरा राख्न सक्नुभएन ।

दोस्रो कुरा संविधानको बारेमा संसदले फैसला गरिसकेपछि त्यसलाई उठान गर्नु जरुरी थिएन । अझ उनले दुई तिहाई बहुमत ल्याएर हामी संशोधन गर्छौं भन्नु नेपालभित्रका राजनीतिक शक्तिहरुको एजेन्डा बन्न सक्छ, तर भारतीय नेताहरुलाई त्यो आश्वस्त बनाइराख्नु आवश्यक थिएन । किनकि यो विशुद्ध नेपालको एजेन्डा हो । यसमा भारतलाई खुशामद गर्नुपर्ने स्थिति छैन ।

० प्रधानमन्त्रीले आफू दिल्लीको एक सच्चा पहरेदार हो भन्ने विश्वासमा लिन गरिएको कोसिस त होइन ?

– उहाँको बेहोसियारी मात्र होइन कि, नेपालको आन्तरिक मामलामाथि भारतको नाजायज चासोलाई उहाँले नाजायज भनेर महसुस गर्न सक्नुभएन । उहाँले त उनीहरुलाई नै आश्वस्त गर्न खोज्नुभयो । यो त एक सार्वभौम राष्ट्रको कुरा हो । हामीले भारतका कुनै पनि आन्तरिक मामलामा चाहे त्यो काश्मिरको होस्, चाहे अन्य कुनै ठाउँको होस्, ती विषयहरुमा हामीले कहिल्यै पनि केही भनेका छौं र ?

हामीले भन्ने कुरा होइन । भारतका ती आन्तरिक मामला हुन् । उसले त्यसलाई आन्तरिक रुपले नै हल गरोस् । हामी बोल्दैनौं । त्यसै गरेर नेपालका आन्तरिक मामलामा पनि नेपालले आफैं समाधान गर्न सक्छ भन्ने ढंगले त्यो मान्यतामा टिकिदिनु राम्रो हो । नेपाललाई के गर्नुपर्छ, के गर्नुहुन्न भनेर भारतले डिक्टेशन गर्नु राम्रो हुन्न । नेपाल आफ्नो समस्याहरुलाई आफैं समाधान गर्ने क्षमता राख्छ ।

० प्रधानमन्त्री हुनासाथ भारतकै भ्रमण गर्नुपर्ने के बाध्यता हो त्यस्तो ?

– स्वयम् भारतका एसडी मुनीजस्ता मान्छेहरुले के भनिरहेका छन् भने यो परम्परा तोडिनुपर्छ । यसले नेपाली जनता दबाबको महसुस गर्छन् भनेर एसडी मुनी आफैंले ट्वीट गरेका छन् । भारतीय बौद्धिक वृत्तका मानिसहरुले भारतले नेपाल–भारत सम्बन्धमा सुधार गर्नका लागि केके गर्नुपर्छ भनेर बहस थालेका छन् । भारतीय एक स्वराज्य भन्ने साइटमा नेपाल भारतबीच चिसिएको अहिलेको सम्बन्ध सुधार गर्न भारतले केके गर्नुपर्छ भन्ने सुत्रबद्ध रुपमा उल्लेख गरिएको छ । नेपालीहरु त स्वाभाविक रुपमा उनीहरुको दबाबमा परेको हुनाले हाम्रा भनाइहरु कतिपय एकतर्फी हुन् कि भन्ने हो । स्वयम् भारतीयहरु के भनिरहेका छन्, त्यो आवाजलाई सुनुवाई मात्र गरिदिए पुग्छ । नेपाली भनेका कमलो दिल भएका मान्छे हुन् । पूर्वाग्रह राखिराख्ने होइन । यदि दुवै पक्षले एक अर्काका आपसी संवेदनशिलता र चासोलाई पारस्परिक हितका पक्षमा दुवै मुलुक लाग्नासाथ सबै समस्या समाधान भइहाल्छ ।

० प्रदेश नम्बर दुईको चुनावको सम्मुखमा प्रधानमन्त्रीले भारतमा गएर संविधन संशोधनको कुरा उठाउनुले हाम्रो आउँदै गरेको चुनाव प्रभावित पार्ने खेल त होइन ?

– नेपाली जनता भनेको २००७ सालका होइनन् । ०१५ सालका पनि होइनन् । नेपाली जनताका जागृति र चेतनाको स्तर कहाँ पुगेको छ भने अघिल्ला स्थानीय तहका निर्वाचनहरुले नै त्यो अभिमत प्रकट भइसकेको छ । नेपालीहरु आफ्नो राष्ट्रिय स्वार्थप्रतिको संवेदनशिलतामा कति गम्भीर र जिम्मेवार छन् भन्ने कुरा स्पष्ट छ । स्वयम् भारतीयहरु पनि भारतका कतिपय दबाबका कारणले नेपाल–भारत सम्बन्ध चिसिएको हो भन्ने कुरा उनीहरु आफैं महसुस गरिरहेका छन् । त्यसले गर्दा उनीहरु जतिजति दबाब दिन्छन्, त्यतित्यति नेपाली जनमत राष्ट्रिय भावना अझ बलियो, खँदिलो भएर आइराखेको यथार्थलाई पनि हामीले भुल्नुहुन्न ।

० कोसी बाँधसँगै कालान्तरमा अर्को ड्याम बनाउनेगरी सहमति भएको भनिएको छ नि ?

– हाम्रो स्रोत साधनको उपयोग गर्ने कुरामा राष्ट्रिय सहमतिका साथ हुने सहमति र सम्झौता गर्न सकिने कुरा स्वाभाविक हो । तर, यो मामिलामा त्यसका सम्भावना र लाभ हानीका बारेमा राम्रो लेखाजोखा गरेर नेपालले पहिले आफैंभित्र गम्भीर गृहकार्य गरेर मात्र त्यसपछाडि त्यो मुद्दामा कसरी सहकार्य गरेर जान सकिन्छ भनेर छलफल गर्न सकिन्छ ।

कोसी डाइभर्सनकै कुरा आएको छ । कोसी डाइभर्सन गर्न सकिन्छ कि सकिँदैन ? डुबानका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ ? त्यसमा धेरै प्राविधिक गृहकार्य गरेर मात्र एउटा निष्कर्षमा पुग्न सकिन्छ । यसो गरेमा कोसी हाइड्याम पनि बनाउन सकिन्छ या सकिँदैन भन्ने निष्कर्ष तबमात्र हुन्छ, जुन भारतसँग कुराकानी गरे टुङ्ग्याउन सकिन्छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार