Presidential

कसैले शंका नगरे हुन्छ, २ नम्बरमा एमाले पहिलो हुन्छः वरिष्ठ नेता माधवकुमार नेपाल


कसैले शंका नगरे हुन्छ, २ नम्बरमा एमाले पहिलो हुन्छः वरिष्ठ नेता माधवकुमार नेपाल

– तपाईं प्रदेश नम्बर २ को चुनावी अभियानमा निकै व्यस्त रहनुभयो । कस्तो रह्यो चुनावी अनुभव ?

निकै व्यस्त भएँ । चुनावी अभियानले तिव्रता लिइरहेको छ । २ नम्बर प्रदेशमा नेकपा एमालेको शक्ति परिचालित गर्ने सन्दर्भमा मैले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गरेको हुँ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेको पक्षमा राम्रो परिणाम आयो, तेस्रो चरणको योे निर्वाचनमा एमाले अलि कमजोर छ भनिन्छ, स्थिति कस्तो होला ?

यो सिङ्गै चुनावलाई एकैचोटी गर्ने भनेर वैशाख ३१ गते सरकारले मिति घोषणा गरेको थियो । तर, समग्र आँकलन गर्दाखेरी एमालले देशभरि नै चुनावी परिणाम राम्रो ल्याउने भयो भनेर डराएर, तर्सेर सबैभन्दा कमजोर कहाँ हुन सक्दछ भन्ने ठानी प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरणमा निर्वाचन गरियो । परिणाम उल्टो आयो । निकै ठूलो अन्तरबाट एमालेले जित्यो । फेरि अर्को चरणमा सम्पन्न गर्ने भनेर दुई चरणको कुरा ल्याइयो । फेरि असारको पहिलो हप्ता तय गरियो, त्यसलाई पनि सारियो । कुनैबेला इदको समयमा प¥यो । त्यसपछि फेरि २–३ महिना पछि सारेर २ नम्बर प्रदेशको चुनाव तय गरियो ।

दोेस्रो चरणको निर्वाचन हुने बेलामा पहिलोमा त्यस्तो भयो, यो पटक एमालेको पत्तासाफ हुन्छ भन्ने अनुमान गरियो । परिणाम के भयो भने एमालेको पहिलो चरणको चुनावमा भन्दा अझै राम्रो परिणाममा आयो । एमालेको सफलताको उचाइँ अझ माथि गयो । तेस्रो चरणको सन्दर्भमा २ नम्बर प्रदेशमा एमालेको कुनै पहिचान नै रहने छैन भन्ने उनीहरुको अनुमान छ । तर, मनोनयनको दिन एमालेको पक्षमा जनसागर उत्रिएको हेर्नुस् । सबै ठाउँमा एमाले पहिलो भएपछि दोस्रोमा एमाले पत्तासाफ हुन्छ भनियो तर फराकिलो अग्रताले एमाले पहिलो भयो । अहिले दुई नम्बरमा एमाले तराई विरोधी पार्टी भनिँदैछ तर एमालेको पक्षमा त्यहाँ जनलहर देखिएको छ । गाउँ–गाउँ, नगर–नगरमा सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ । दुई नम्बरको चुनावमा एमाले पहिलो शक्ति हुन्छ । यसमा कसैले शंका नगरे हुन्छ । एमाले पहिलो पार्टी मात्रै हुँदैन, नयाँ रेकर्ड बनाउँछ ।

टिकट वितरणमा पनि विवाद देखियो, यस्तो विवादबीच पनि कसरी पहिलो हुन्छ ?

टिकट वितरणमा भएका कमजोरीबारे समय आएपछि समीक्षा हुन्छ । तर, अहिले मैदानमा आएका उम्मेदवारलाई जिताउन सबैले शक्तिका साथ लाग्नुपर्छ । अहिले एमालेलाई जिताउन सबै लाग्नुपर्छ । पार्टीको उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ ।

स्थानीय निर्वाचपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हामी जाँदैछौ । त्यसका लागि तपाईँहरुको तयारी कस्तो छ ?

संसदीय र प्रदेश निर्वाचनमा के हुन्छ भन्ने पूर्वाभ्यास स्थानीय निर्वाचनले देखाइसकेको छ । एमालेले अधिकांश प्रदेशमा जित्छ र केन्द्रमा पनि जित्छ । यस पटकको माहोल एमालेको पक्षमा छ । एमाले र अन्य पार्टीको भूमिकालाई जनताले मूल्याङ्कन गरेका छन् । अन्य दलहरु लम्पसारवादको नीतिमा चुर्लुम्म डुबेका छन् । राष्ट्रिय स्वाभिमान विपरीत काम गरेका छन् । कांग्रेसले लोकतन्त्रको खिलाफ काम गरिरहेको छ । यतिखेर सरुवा बढुवा गरिरहेको छ । एउटै गतिलो काम गरेको छैन । एक मात्र महिला प्रधानन्यायाधीशमाथि बिनाकारण महाअभियोग लगाएर बदनामी कमाए । यो मामिलामा कांग्रेस–माओवादी एउटै सिक्काका दुई पाटा हुन् ।

कांग्रेस अगतिलो पार्टी हो । अगतिलो पार्टीले अर्को अगतिलो माओवादीलाई खोज्यो । चितवनमा गरेको भाँडभैलो देखिहाल्नुभयो । अहिले हाम्रा उम्मेदवारहरुलाई मार्ने धम्की आइरहेको छ । माओवादीको कुरै छाडौँ । काटमारको राजनीतिबाट आएको उसले कांग्रेससँग सहकार्य गर्दैछ । दुई नम्बर प्रदेशका तालमेल पनि उनीहरुको स्वार्थ नमिलेकाले सम्भव भएन । सबै कुरा हेर्दा लोकतन्त्र र जनताको हिसाबले हेर्दा पनि यी दुवै पार्टी गतिला छैनन् । एमाले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न, परिवर्तनको एजेन्डा बोक्न र विकास निर्माणका काममा अघि बढिरहेको छ ।

एमालेभित्र गुट, उपगुट, पक्ष र प्रतिपक्ष देखिँदैछ । एमालेमा प्रतिपक्ष कमजोर भएको बताइन्छ । के भन्नुहुन्छ ?

पार्टी कमिटी प्रणालीमा चल्छ । मूल्यांकनका आधारमा व्यक्तिलाई हेर्नुपर्छ । राम्रो गरे नगरेको कुरा हेर्न सकियो भने पार्टीको लोकप्रियता बढ्छ, जनतामा साख पनि बढ्छ । यी नहुँदा दीर्घकालसम्म पार्टीलाई क्षति हुन्छ । एमालेले आफूलाई जिम्मेवार दलका रुपमा उभ्याउन सक्नुपर्छ । कुनै पार्टीसँग तुलना गर्नुभयो, एमाले ‘बेटर’ तर एमाले आफैँमा ‘पर्फेक्ट’ छैन । एमालेले आफ्ना कमजोरी सुधारेन भने जनताका सपना पूरा हुँदैनन्, मुलुकको विकास पनि हुन सक्दैन । जनताले एमालेबाट आशा गरेका छन् । एमालेले राजतन्त्र र पाटीविहिन पद्धतिविरुद्ध पनि लड्दै आयो । २०४६ को आन्दोलन र गणतन्त्रका लागि पनि एमालेले अग्रणी मोर्चामा भूमिका खेलेको छ ।

पार्टी एकजुट हुनुपर्छ भन्नुहुन्छ तर पार्टी कार्यकर्ताहरु एउटा समूहको मात्रै पकड भयो भन्छन्, एउटा समूहलाई पाखा लगाउन खोजियो भन्छन् । तपाईँ के भन्नुहुन्छ ?

पार्टी सिस्टमबाट चल्यो भने र कार्यकर्तालाई काममा आधारमा मूल्याङ्कन गरियो भने यो किसिमको समस्या आउँदैन । जनतामा लोकप्रिय कार्यकर्तालाई जिम्मेवारी दिने परिपाटी भयो भने यस्तो समस्या देखिँदैनन् । पार्टीलाई जोगाउने हो भने असल व्यक्तिलाई जोगाउनुपर्छ । अहिले हामी चुनावमा केन्द्रित छौँ । चुनावी वातावरणमा हामीले पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिनु हुँदैन । चुनावका बेला काखा पाखा गरियो भने कार्यकर्ताले नै तिरस्कार गर्छन् । कहीँ भएको छ भने त्यस्ता कुरालाई सुधार्न जरुरी छ । मूल्यांकन पद्धति ठीक हुनुपर्छ, कसरी हुन्छ पार्टीलाई नम्बर एक पार्टी बनाउन र बहुमत दिलाउन लाग्नुपर्छ । एउटै किसिमको राय र विचारसहित हामी अगाडि बढ्नुपर्छ ।

अहिले एमालेले उठाइरहेको राष्ट्रवाद कस्तो हो ?

नेपाल एउटा स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र हो कि होइन ? नेपालले आफ्ना समस्या आफैँ समाधान गर्न पाउने कि नपाउने ? नेपालमा कसैले हस्तक्षेप ग¥यो भने नेपाली जनताको मनमा चोट पर्छ । घरको मामिलामा हस्तक्षेप गर्दा त स्वीकारिँदैन । नेपालको संविधानमा यो मिलाऊ, त्यो मिलाऊ भन्ने कुरा हामी स्वीकार्न सक्दैनौँ ।

भारतको विरोध गर्दा मात्र राष्ट्रवादी भइने मनोविज्ञान छ, यो सही हो र ?

नेपालमा यो अवस्था आउनु भारतका गतिविधि जिम्मेवार छैनन् भन्ने खोजिनुपर्छ । सन् १९५० को सन्धि बेठीक भएको हो । नेपालले चीनसँग बाटो बनाउँदा भारतले हस्तक्षेप गर्दा बेठीक भएको हो । नेपालले काठमाडौँबाट धनकुटा जाने बाटो बनाउँदा बेठीक नहुने तर चीनसँग बाटो खोल्दा बेठीक हुने यो ठीक होइन ।

कुनै सम्झौता भारतसँग गर्दा राष्ट्रघात हुने तर चीनसँग गर्दा राष्ट्रवाद नहुने भन्ने हुन्छ र?

भारतले नेपाललाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्छ । भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालीको मनोविज्ञानमा कति चोट पुगेको होला? नाकाबन्दीले तराई, पहाडका छोराछोरीले पढ्न पाएनन् । सबै कुरा अवरुद्ध भयो, नेपालीको जनजीवन अस्तव्यस्त भयो । यस्तो नराम्रो कुरालाई कुनचारै विश्व समुदायले स्वीकार्छ ? नेपालको संविधानमा समस्या भएमा नेपालले संशोधन गर्छ, भारतले किन टाउको दुखाउने ? भारतले नेपाललाई सानो भनेर नहेपोस, हामी भारतलाई ठुलो भनेर पनि धारेहात लाउँदैनौँ ।

(जनता टेलिभिजनका लागि अरुणदेव जोशीले गरेको संवादका सम्पादित अंशहरु)

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार