Presidential

जुन दिन मैले चीनमा पारवहन र आवागमनसम्बन्धी सम्झौता गरें, त्यसै दिनबाट यहाँ खेल सुरु भइसकेको थियो

जुन दिन मैले चीनमा पारवहन र आवागमनसम्बन्धी सम्झौता गरें, त्यसै दिनबाट यहाँ खेल सुरु भइसकेको थियो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुगनपुग १० महिना सरकारको नेतृत्व गरी निवर्तमान प्रधानमन्त्री बनिसक्नुभएको छ। ०७२ असोज २४ गते व्यवस्थापिका–संसद्मा ३ सय ३८ मत प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका उहाँविरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव ०७३ साउन ९ गते ३ सय ६४ मतले पारित भयो । कुल ५ सय ९५ सदस्यमध्ये २ सय १० मत उहाँले नेतृत्व गरेको सरकार र गठबन्धनका पक्षमा कायम रह्यो । यद्यपि, अनुपस्थित/बिरामीसमेत गरी गठबन्धनको पक्षमा कुल २ सय २३ मत स्पष्ट थियो ।

‘केही काम नगरी लामो समय सरकारमा टिक्ने वा फटाफट काम गरेर अघि बढ्ने ? मेरा सामु दुईवटा विकल्प थिए र मचाहिँ दोस्रो विकल्प रोजेर अघि बढें,’ धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा रहेको आफ्नै कार्यकक्षमा उहाँले प्रस्ट्याउनुभयो । आफू प्रधानमन्त्री बनिरहँदा देशमा आगो बलिरहेको थियो, तर अहिले अत्यन्त सामान्य र सहज अवस्थामा बनेको बताइरहँदा उहाँले उल्लेख गर्नुभएको छ– ‘मेरो नेतृत्वको सरकार हटाइहाल्नुपर्ने कुनै कारण थिएन । राष्ट्रिय स्वाभिमानको पक्षमा सरकारले गरेको काम नै सर्वोपरि महत्वको काम हो ।’ पार्टीको तर्फबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनालपछि चौथो प्रधानमन्त्री बन्नुभएका अध्यक्ष ओली प्रधानमन्त्रीको हैसियतमा राष्ट्रिय राजनीति र आम जनताको बीचमा अत्यन्त सकारात्मक छाप छाड्न सफल हुनुभएको छ ।

अविश्वास प्रस्तावको जवाफ दिने क्रममा १ घन्टा ५४ मिनेट लामो मन्तव्यमार्फत उहाँले आफ्नो नेतृत्वको सरकारले गरेका कामको सविस्तार चर्चा गरिसक्नुभएको छ । २०७३ साउन २५ गते अपराह्न पार्टी अध्यक्षको कार्यकक्षमा अध्यक्ष केपी शर्मा ओलीसँग ‘नवयुग’का लागि एक घन्टा लामो कुराकानी गरिएको थियो । प्रस्तुत छ– ‘नवयुग’ को भदौ अङ्कमा प्रकाशित, उक्त पत्रिकाका प्रधानसम्पादक योगेश भट्टराई, सम्पादक सूर्य थापा र कार्यकारी सम्पादक विष्णु रिजालले गर्नुभएको उक्त अन्तर्वार्ताको विस्तृत अंशःkp-oli

नेकपा (एमाले)का तर्फबाट चौथोपटक मुलुकको नेतृत्व गर्नुभयो र झन्डै १० महिना प्रधानमन्त्री हुनुभयो । यस अवधिका अनुभवहरूलाई कसरी सम्झिनुहुन्छ ?

मूलतः मेरो अनुभव सुखद रह्यो । मैले संसदीय दलबाट पूराका पूरा साथ–सहयोग पाएँ, पार्टीबाट पूराका पूरा साथ–सहयोग पाएँ । आम जनसमुदाय, स्वदेश र विदेशमा रहेका नेपालीहरूको ठूलो समर्थन पाएँ । खासगरी युवा र नयाँ पिँढीबाट ठूलो समर्थन पाएँ । त्यो मेरा निम्ति सुखद अनुभूति रह्यो ।

म जस्तो अवस्थामा प्रधानमन्त्री भएँ, त्यो असाधारण र असमान्य थियो, द्वन्द्व, भीडन्त र मारामारको अवस्था थियो । सिङ्गै तराई बल्दै थियो, नाकाबन्दी थियो । साह्रै असहज र अप्ठ्यारा चुनौतीहरू थिए, खतराहरू थिए, विकराल समस्याहरू थिए । ती सबैको सामना गर्नु थियो । दक्षिणी छिमेकीसँग हाम्रा सम्बन्धहरू धेरै बिग्रिएका थिए, तनावपूर्ण अवस्था थियो । त्यसकारण, नाकाबन्दी भोग्नुपरेको थियो । नाकाबन्दीका कारण आपूर्तिमा अस्तव्यस्तता थियो । राष्ट्रिय जीवन नै अत्यन्त कष्टकर अवस्थामा थियो । प्रधानमन्त्री भएपछि म भारत गएँ । त्यहाँ उच्चस्तरका कुराकानीहरू भए र सम्बन्धलाई सामान्य अवस्थामा फर्काइयो । हामीले भारतसँग नयाँ–नयाँ सम्झौताहरू पनि ग¥यौं । त्यसबाट मुलुकलाई फाइदा भएको छ ।

भारतबाट फर्किएको तीन हप्तामै म चीन भ्रमणमा गएँ र चीनसँग ऐतिहासिक सम्झौताहरू गरें, जसबाट नेपाललाई एउटा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रको हैसियतमा वास्तविक अर्थमा उभ्याउने काम भएको छ । मैले विकास निर्माणका निम्ति केही सोच, दृष्टिकोण र अठोटहरू प्रस्तुत गरें र तिनलाई अगाडि बढाएँ । ती असाधारण महत्वका छन् र तिनले हाम्रो विकासको इतिहासमा नेपाललाई नयाँ ढङ्गले तीव्र विकासको बाटोमा लैजाने काम गरेका छन् । हामीले फोहोरमैला व्यवस्थापन र ग्यासका कुराहरू ग¥यौं, रेलवे निर्माण गर्ने र सडकहरू चौडा गर्ने कुराहरू ग¥यौं । विभिन्न जलविद्युत् आयोजनाहरूदेखि अनेक क्षेत्रमा नयाँ कामहरू सुरुआत ग¥यौं ।

तराईको विकासका लागि ध्यान दिने, तराईमा सहरी विकासका क्षेत्रमा काम गर्ने र सिँचाइका प्रबन्धहरूदेखि पूर्वाधार विकासका धेरै कुरा भए । सामाजिक कल्याणका क्षेत्रमा हामीले धेरै ठूला र दूरगामी महत्वका कामहरू ग¥यौं । ग्रामीण क्षेत्रका लागि ठूलो रकम छुट्ट्यायौं, जसले ग्रामीण क्षेत्रको विकासलाई अगाडि बढाउँछ । ग्रामीण क्षेत्रले साना–तिना घरेलु र कृषि आधारित साना–मझौला उद्योगहरू आफैंले स्थापना गर्न सक्ने गरी ती कामहरू अगाडि बढायौं । हामीले सहकारीलाई जोड दियौं । लघुवित्त (माइक्रो फाइनान्स) वा सहकारी, जसले जगैदेखि जनतालाई बलियो बनाउँछ र रोजगारीका अवसर सिर्जना गर्छ, विदेश पलायनलाई न्यून गर्छ, त्यसलाई अघि बढायौं । तराईका जिल्लाहरूमा यस आर्थिक वर्षमा २० हजार गरिबलाई आवासका निम्ति घर बनाएर दिने, जसको धनीपुर्जा छैन, त्यसका लागि पनि सरकारको तर्फबाट व्यवस्था गरिदिने कुरा ग¥यौं ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका जस्ता सामाजिक सुरक्षा भत्तादेखि दलित र लोपोन्मुख जातिका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क पढाउने कामहरू हामीले अघि बढायौं । विभिन्न क्षेत्रका बिरामी नागरिक, जस्तो– मिर्गौला प्रत्यारोपण गर्नुपर्ने वा डाइलोसिस गर्नुपर्नेहरूका मर्कालाई बुझेर राज्यका तर्फबाट दायित्व बहन ग¥यौं ।

संक्षेपमा भन्दा, छिमेकलगायत अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको हैसियत माथि उठाउने, विकास निर्माणका क्षेत्रमा पूर्वाधार निर्माणदेखि ‘कनेक्टिभिटी’सम्म र सञ्चार जगत्का कुरा गर्दा मुलुकलाई आधुनिकतातर्फ लैजान स्मार्ट–सिटीहरू निर्माण गर्दै देशलाई नै आधुनिक र विकसित मुलुकका रूपमा विकास गर्नेसम्मका योजनाहरू अघि सा¥यौं ।

समग्रतामा मेरो कार्यकाल अत्यन्त सफल रह्यो । मेरा अगाडि एउटा प्रश्न थियो– लामो समय प्रधानमन्त्रीमा रहने कि समय जतिसुकै होस्, मुलुकका निम्ति महत्वपूर्ण काम गर्ने ? त्यसमा मैले दोस्रो बाटो छानें । आफूले छानेको बाटोमा मलाई सन्तोष छ ।
० प्रधानमन्त्रीका रूपमा हेर्दा तत्कालै सुधार गर्नुपर्ने पक्षहरू चाहि के महसुस गर्नुभयो ?

 पहिलो, नेपालको राजनीति नेपालीहरू आफैंले सञ्चालन गर्ने हो । यो हाम्रो देश हो भन्ने अनुभूति हुनुपर्ने हो । तर, मैले राष्ट्रिय स्वाधीनताको अवस्थाचाहिँ दयनीयजस्तो देखें, खासगरी राजनीतिक र नेतृत्वको क्षेत्रमा । त्यो एउटाचाहिँ गम्भीर समस्याका रूपमा छ ।

दोस्रो, सञ्चारमाध्यमको विकास भएको छ । तर, त्यो जिम्मेवार तहमा विकास हुन सकिरहेको छैन । यसले गर्दा सजिलै जनतामा भ्रम–अन्योल जन्माउन–फैलाउन सक्ने र त्यही उद्देश्यका निम्ति काम गर्नेसमेत देखिन्छ । तेस्रो, कर्मचारीतन्त्र उपयुक्त ढङ्गले चलेको छैन, शिथिल छ । यद्यपि, मैले सहयोग पाइनँ भन्ने होइन, सहयोग पाउने ठाउँमा पाएँ । तर, कर्मचारीतन्त्रको बानी र व्यवहारको तरिका नै बिग्रिएको छ । त्यसलाई सच्याउनुपर्ने महसुस भएको छ ।

चौथो, आधारभूत राष्ट्रिय हित, जनहित र विकासका प्रश्नहरूमा एकताबद्ध हुनुपर्छ, तिनीहरूमा सबैको साथ हुनुपर्छ । तर, त्यस कुरामा पनि कमी रहने प्रवृत्ति नेपाललाई अगाडि बढाउने कुरामा बाधक छ भन्ने मैले ठानेको छु ।

DSC03929

० सरकारका उपलब्धिहरूको चर्चा त गर्नुभयो । तीमध्ये सबैभन्दा ठूलो उपलब्धि के रह्यो भन्ने मूल्याङ्कन गर्नुभएको छ ?

यथार्थमा मैले भन्ने गरेको छु– राष्ट्रिय स्वाभिमान, जो शिथिल अवस्थामा पु¥याइएको थियो, त्यसलाई जगाउने काम भएको छ । मूच्र्छित सपनाहरूलाई ब्युँझाउने र आत्मविश्वास गराउने काम भएको छ । त्यसमा जति सफलता प्राप्त भएको छ, सबैभन्दा महत्वपूर्ण त्यही नै हो ।

० तपाईंले विकास निर्माणका ठूला परियोजनाका परिकल्पनाहरू अगाडि सार्नुभएको छ । अब नया सरकारले तिनलाई के गर्छ भनेर संसद्मै पनि प्रश्न उठाउनुभएको छ । तिनको कार्यान्वयन गराउन पार्टीको भूमिका के रहन्छ ?

 पार्टी रचनात्मक, सिर्जनात्मक, जिम्मेवार र क्रियाशील भूमिकामा रहन्छ ।

० बीचैमा त्यस्ता परियोजनाहरू छोडियो भने… ?

कसैले चाहेर पनि छोड्न त्यति सजिलो छैन । बढीमा ढिलो गर्न सक्लान् । मैले संसद्मा बोल्दा भनेको थिएँ, ‘हामी यही देशमा छौं’ मैले त्यतिबेला सुरुचाहिँ अङ्गे्रजी वाक्यबाट गरेको थिएँ । पछि के–के भन्यो भनेर साथीहरूले दोहो¥याएपछि यादै भइसक्यो– ‘दिस मोमेन्ट इज नट द इन्ड अफ हिस्ट्री ।’ इतिहासको अन्त्य भएको होइन, यो एउटा प्रक्रिया हो र हामी यहाँ छौं (वी आर हेयर) । कुनै जिम्मेवारीबाट यसो अलग हुनेबित्तिकै हामी यहाँ छैनौं भन्ने कुरा होइन । फेरि मैले भनेको छु, प्रधानमन्त्रीबाट राजीनामा दिए पनि मेरा जिम्मेवारीहरूबाट त राजीनामा दिएको होइन । देश, जनता र लोकतन्त्रप्रतिको जिम्मेवारीबाट राजीनामा गरेको होइन । म एउटा गौरवपूर्ण इतिहास बोकेको पार्टीको अध्यक्ष हुँ, संविधान बनाउने, सरकार बनाउने सारा सकारात्मक भूमिका खेल्ने पार्टीको संसदीय दलको नेता हुँ ।

० निकै ठूला सपना र अठोटसहित धेरै गर्छु भनेर योजनाहरू अघि सार्नुभयो । प्रधानमन्त्रीले चाहेको, इच्छा गरेको, बोलेको र निर्देशन दिएको कति कुरा पूरा हुने स्थिति रहेछ ?

अलिकति ढिलो हुन्छ, तर कार्यान्वयन हुने स्थिति त भइहाल्छ । हाम्रो प्रशासन यन्त्र एकातिर नराम्ररी, दुःखलाग्दो गरी विभाजित छ भने अर्कातिर काम नगर्ने बानी परेको छ । देश बनाऔं भन्ने भावनाको कमी छ । ढिलो गर्नका निम्ति ती सफल होलान्, तर कार्यान्वयन नै नगर्नेचाहिँ हुन सक्दैन । मैले कुराहरू राख्दा मात्रै पनि जनतामा आत्मविश्वास जागेको छ, स्वाभिमान जागेको छ, जुन कुरा अहिले स्पष्ट अनुभव गर्न सकिन्छ ।

जब जनता निराश हुन्छन्, देश बर्बाद हुन्छ । जब जनतामा आशावादिता पलाउँछ, तब देश बन्छ । अहिले आशावादिता पलाएको छ, विश्वास पलाएको छ । हामी गर्न सक्छौं र गर्नुपर्छ भन्ने भावना पलाएको छ । त्यसकारण, प्रधानमन्त्रीले चाहेको काम नगर्न सम्भव छैन । जागरणको प्रभावलाई अब कसैले मेटाउन सक्दैन ।

० सरकार गठन गर्दा साना–मसिना, एक–दुई सिट भएका पार्टीलाई महत्वपूर्ण मन्त्रालय दिनुभयो । तिनीहरूसग न सरकार बचाउन सक्ने क्षमता थियो, न ढलाउन सक्ने नै । तपाईंलाई जब सङ्कट प¥यो, सबैभन्दा पहिला जहाजबाट मुसा निस्किएझैं तिनीहरूले नै साथ छाडे । आखिर त्यसो गर्न किन आवश्यक थियो ?

आवश्यकता नै त थिएन । तर, खासमा गर्ने मैले हो, दृष्टिकोण दिने मैले हो । मैले आधा शताब्दीदेखि जे सोचेर, विश्लेषण गरेर र अध्ययन गरेर आएको छु, त्यस आधारमा देशलाई कता लाने भन्ने योजना मसँग छ । एउटा मन्त्रालय पाउँदैमा अरू कसैले केही उधुम नै गरिहाल्छ भन्ने होइन । त्यसकारण, म गर्छु, मैले गर्दा त्यहाँ कसैले व्यवधान गर्न सक्दैन, व्यवधान गर्दा उसलाई प्रधानमन्त्रीले हटाउन सकिहाल्छ । मैले सकेसम्म धेरैलाई समेटेको हुँ ।

० धेरैलाई यस्तो जोडजाड गरी संयुक्त सरकार बनाएर चलाउन कत्तिको गाह्रो रहेछ ? त्यति गर्दा पनि १० महिनाभन्दा बढी टिकाउन सम्भव भएन । एकदम गाह्रो काम रहेछ, होइन ?

अरू कतै र कसैबाट अप्ठ्यारो भएन । कहिलेकाहीँ फोरम (लोकतान्त्रिक)ले अलि सहज नहुने खालका कामहरू गर्न खोज्थ्यो । समस्या माओवादीले मात्रै बनायो, माओवादीका अध्यक्षबाटै सिर्जित हुन्थ्यो र त्यहीँ ठोकिन्थ्यो । मन्त्रीहरूमा त्यस्तो खालको खासै समस्या देखिएन । एकाधमा अलि बुझ्ने सामथ्र्य थिएन । तर पनि मन्त्रीहरूमा त्यसप्रकारको केही अन्यथा देखिएन ।

० हामीले धेरै पार्टीहरूको संयुक्त सरकार चलायौं । यो पहिलो अनुभव पनि होइन । १० महिना त्यहा बस्दा र धेरै पार्टीहरूसग काम गर्दा संविधान बनाउने बेलामा छलफलमा आएका ‘थे्रस होल्ड’ र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीजस्ता मुद्दाहरूलाई फेरि एकपल्ट बहसमा लैजानुपर्छ भन्ने लाग्यो कि लागेन ?

बहसमा लगेर छाड्ने होइन, ती त कार्यान्वयन गर्नुपर्छ । खाली कहाँनेरबाट सुरु गर्ने भन्नेमा मेरो सजगता थियो र छ ।

oli9
० एमालेले ती प्रस्तावहरू फेरि संविधान संशोधनको प्रक्रियामा उठाउ“छ ? अगाडि  बढाउछ ?

 संविधान संशोधन आवश्यक नहुन पनि सक्छ, कानुनबाट पनि कार्यान्वयन हुन सक्छ । संविधानविपरीत नहुँदा कुनै कानुन बदरभागी हुँदैन, कुनै प्रबन्ध बदरभागी हुँदैन  ।
० तर प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान संविधानले नै रोक्छ । त्यसका लागि त संविधान नै संशोधन हुनुपर्छ, होइन र ?

 प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा म अझै पुगिसकेको छैन । यद्यपि, प्रत्यक्ष कार्यकारीमा जाने हो भने अहिले नेकपा (एमाले)का लागि अनुकूल वातावरण छ । तर, मुख्य कुरा त्यो मात्र होइन, त्यसका अरू पक्षहरूलाई पनि हेर्नुपर्छ ।

० विकास निर्माणसम्बन्धी ठूला परियोजनाहरू घोषणा त भए । तर, ती पर्याप्त अध्ययन र योजनाविना फ्याट्ट–फ्याट्ट घोषणा भए भन्ने आलोचना छ । प्रधानमन्त्रीले कतिपय योजनाका लागि अहिले बजेटमै छैन भन्नुभएको छ । यसलाई चाहि कुन रूपमा लिनुहुन्छ ?

दृष्टिकोण (भिजन) बजेटले ल्याउने होइन । दृष्टिकोण भएपछि तत्सम्बन्धमा अध्ययन हुन्छ, त्यसपछि कार्यक्रम बन्छ र अन्तिममा बजेट बन्छ । कुनै नयाँ दृष्टिकोण दियो, नयाँ कुरा भन्यो र त्यसो गर्नुपर्छ भन्यो भने बजेट खोइ भन्ने ? त्यो दरिद्र मानसिकता हो । आजका दिनमा बजेटका कारणले कुनै पनि आयोजना बन्न नसक्ने हालतमा हामी छैनौं । अस्ति प्रधानमन्त्रीजीले संसद्बाट मलाई सोध्नुभयो, ‘बनाउन त बनाउँछु, तर बजेट कहाँबाट आउँछ, बताउनुस्’ त्यसपछि उहाँसँग भेट भएको छैन । उहाँलाई बजेट चाहिन्छ भने प्रबन्ध गरिदिन म आफैं अग्रसर हुन्छु । पैसा भएर विकास हुने होइन, विकास भएर पैसा हुने हो । हामी विकास गर्न सक्छौं, विकासका थुप्रै बाटाहरू छन् । ठूलो लगानीका आयोजनाहरू पनि गर्न सक्ने ठाउँमा छौं । किनभने, हामी धेरै ठाउँबाट सहुलियत दरमा ऋण लिन सक्छौं । कतिपय ठाउँमा अरूलाई लगानी गर्न दिन सक्छौं । मान्छे लगानी गर्न इच्छुक छन्, सहयोग गर्न इच्छुक छन् । त्यसभन्दा बढी के चाहियो ? आम्दानी हुने ठाउँमा हामी लगानी गर्दछौं, ऋण लिएर लगानी गरे हुन्छ, कमाएर तिर्छौं । त्यसकारण, बजेट छैन भन्ने कुराको कुनै अर्थ छैन ।
० गत वैशाख तेस्रो साता तपाईंको नेतृत्वको सरकारमाथि जुन खालको आक्रमण भयो, त्यो कता–कताबाट भयो भन्ने तपाईंलाई पनि थाहा थियो । त्यसपछि त्यो गठबन्धन जोगाउन हामीले पर्याप्त मात्रामा सावधानी अपनाएनौं कि ?

त्यस्तो गठबन्धन जोगाउनुको अर्थ थिएन । गठबन्धनले के काम गर्ने भन्ने कुरा हो । कामको सर्त हुन्छ नि । त्यही काम गर्छ कि अर्थोक काम गर्छ ? अहिलेको गठबन्धनले गर्ने काम हामी सामेल भएको गठबन्धनले गरेर के मतलब ? गठबन्धन छँदै थियो, सरकार परिवर्तनको कुरा केका लागि आयो ? योचाहिँ महत्वपूर्ण कुरा हो । कहाँबाट त्यो सुरु भयो ? कहाँबाट अगाडि बढ्यो ? खासमा कुराको अर्थ त्यहाँ छ ।
त्यस गठबन्धनको निरन्तरताको अर्थ केही पनि छैन । ती काम, जुन मैले गरेको थिएँ, नगर्नें हो भने मै प्रधानमन्त्री रहिरन सक्थेँ  । मैले सुरुमा भनें नि– लामो समय प्रधानमन्त्री रहने कि प्रधानमन्त्री भएका बेला कामचाहिँ महत्वपूर्ण गर्ने ? मलाई थाहा थियो, छोड्नु पर्न सक्थ्यो । किनभने, माओवादीजस्तो पार्टी सँगै लिएर हिँडिएको थियो, जसको इतिहास सबैलाई थाहा छ, जसले विदेशीसँग बकाइदा कागज गरेर देशमा वितण्डा मच्चाएको छ र जो विगतमा अरूले गरेको सहयोगका लागि किञ्चित कृतज्ञ छैन । शान्ति प्रक्रियाका सन्दर्भमा यति धेरै काम गरियो, यसरी लागियो तर पनि शान्ति प्रक्रिया नै भएन भन्छ । कहिले मेरा नजिकका वकिलले ‘यसो भने…’ भन्याछ, कहिले के भन्याछ । कोही व्यक्ति होला, एमाले समर्थक कसैले केही बोल्यो होला । त्यो उसको स्वतन्त्र कुरा हो नि । तर, हामीले उनीहरूको जस्तो क्षुद्र भाषा कहिल्यै बोलेनौं ।
जुन दिन मैले चीनमा पारवहन र आवागमनसम्बन्धी सम्झौता गरें, त्यसै दिनबाट यहाँ खेल सुरु भइसकेको थियो । हुन त सरकार बन्नै नदिने र बन्नासाथ ढाल्न लाग्ने काम भइरहेकै थियो । अलिकति धकेल्दै त्यसलाई पर लगियो । त्यसका लागि पर्याप्तभन्दा बढ्ता गरियो ।
समीकरण जोगाउनका निम्ति पहिलो कुरा त इमानदारी हुनुप¥यो । पहिले हामीले काङ्ग्रेससँग सम्झौता ग¥यौं, संविधान बनाउँदासम्म र संविधानपछि चुनाव गराउँदासम्मका लागि । तर, काङ्ग्रेस इमानमा अड्न सकेन । त्यसपछि हामीले नयाँ ढङ्गले चल्नुप¥यो, काङ्ग्रेसविना सरकार बनाउनुप¥यो । काङ्ग्रेससँग सहमति हँुदा संविधान बनेपछि सरकार बन्दा माओवादी वा अरूलाई नलिने भन्ने थिएन । तर, पछि काङ्ग्रेस आफैं सरकारमा आएन । किनभने, उसलाई कतैबाट आश्वासन दिइयो– ‘तिम्रै नेतृत्वमा हामी सब कुरा गराउँछौं, राष्ट्रपति तिमी नै, सबै चीज तिमी नै बन्ने अवस्था बनाउँछौं ।’ त्यसपछि काङ्ग्रेस उत्ताउलियो र सबै चीज लिनका निम्ति उसले इमान त्याग्यो । अनि, बाँकी सम्भव भएसम्म अरूलाई लिएर हामीले सरकार बनायौं ।

हामीले सदैव वाम समीकरण भन्ने भ्रम पनि राख्नुहुँदैन । किनभने, वाम भनेको के ? कहाँनेर छ माओवादीमा वामपन्थ ? नाम माओवादी वा कम्युनिस्ट भएको हुनाले उसलाई वामपन्थी मान्नुपर्ने ?

हामीले सदैव वाम समीकरण भन्ने भ्रम पनि राख्नुहुँदैन । किनभने, वाम भनेको के ? कहाँनेर छ माओवादीमा वामपन्थ ? नाम माओवादी वा कम्युनिस्ट भएको हुनाले उसलाई वामपन्थी मान्नुपर्ने ? माओवादीले वामका नाममा हिजो उपद्रो मच्चाएको थियो । आज अपवित्र गठबन्धन गरेर भीषण दक्षिणपन्थी व्यवहार गरिरहेको छ । के त्यसैलाई वाम भन्ने ? वाम समीकरण भन्ने कुराको कुनै अर्थ छैन । किनभने, मैले उसलाई कहिल्यै परिवर्तनका पक्षमा भेटिनँ । नीति, कार्यक्रम र बजेट बनाउँदा माओवादीका नेताहरूको प्रतिनिधिमण्डल नै आयो र भन्यो– ‘माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा हामीलाई ८ अर्ब ६० करोडको निःशुल्क सेयर दिनुपर्छ ।’ लडाकुका नाममा लिने उनीहरूलाई दिन हो र ? लडाकुका नाम हिजो लिइएको अर्बौं रुपैयाँ ती लडाकुले पाए र ? अहिले पनि त्यसैगरी माओवादीले सेयर लिन चाहेको थियो ।

उनीहरूले ‘यसका नाममा १० लाख दिनुपर्छ, यसका नाममा २ लाख दिनुपर्छ’ भनेर पैसाको मात्रै कुरा गरे । राज्यकोषबाट अर्बौं रकम माग गरे । कुरा मिलेन । मसँग उनीहरूको जम्माजम्मी माग नै यत्ति थियो । देश र जनताका निम्ति उनीहरूले कहिल्यै छलफल गरेनन् । कृषिको आधुनिकीकरण र व्यावसायीकरण, भूकम्पबाट प्रभावितहरूको पुनर्निर्माणजस्ता एजेन्डा उनीहरूले कहिल्यै राखेनन् । ९–१० महिना काम गर्दा ‘फलानो ठाउँमा हाम्रो मान्छे हुनुपर्छ, त्यहाँ हाम्रो मान्छे नियुक्त हुनुपर्छ, हामीले यति पैसा पाउनुपर्छ’ भन्नेबाहेक उनीहरूको कुनै एजेन्डा पाइनँ । मैले कति पल्ट राजनीतिक प्रश्नहरूमा कुरा गर्दा पनि अरू कुरा कहिल्यै आएन । जहिले आयो– त्यही खाऊँ–खाऊँ र लाऊँ–लाऊँको मात्रै कुरा । त्यसकारण, उनीहरूलाई नेतृत्व दिएरै भए पनि त्यो समीकरण कायम राख्न त्यति लोभिनुपर्ने कारण नै रहेन ।
० नेकपा (संयुक्त)बाहेक सरकारमा आउन चाहने वामपन्थीहरूलाई आफूपछिका महत्वपूर्ण  दर्जा दिएर संयुक्त सरकार बनाउनुभयो । एउटा प्रश्न के गरिन्छ भने माओवादीलाई नेतृत्व दिएर त्यो गठबन्धन कायम गर्न त सकिन्थ्यो नि, त्यता कुनै पहल नै गर्नुभएन ?

त्यसो गर्दा के हुन्थ्यो ? माओवादीसँग हामीले चुनावसम्मका निम्ति सम्झौता गरेका थियौं । उसले बीचैमा अरूको उक्साहटमा नेतृत्व पाउनुपर्छ भनेर बेइमानी गरेको हो । जेसुकै भने पनि हाम्रो राष्ट्रवादी धार (एप्रोच)प्रति जजसको गम्भीर आपत्ति थियो, तिनैले उसलाई बोकेर कुदेका हुन् । त्यसकारण, त्यस्तो शक्तिसँग समीकरण कायम राख्नुको अर्थ के हुन्थ्यो र ?
अर्को कुरा– विजय गच्छदार, कमल थापासमेत भएर हामीले धेरैपल्ट त्यो समीकरण कायम राख्न भन्यौं । तर, रिमोट जहाँ थियो, त्यहाँबाट राख्न नदिने भन्ने खबर आएपछि माओवादी त्यो सहमति तोडेर गयो । अनि बीचमा एउटा हल्ला चलाइयो, तथाकथित भद्र सहमति (जेन्टलम्यान एग्रिमेन्ट)को । माओवादीमा ‘जेन्टलम्यान’ को छ र ‘जेन्टलम्यान एग्रिमेन्ट’ हुन्छ ? कुनै कुरा भए उसले त्यसलाई यसरी दुरुपयोग गर्छ, व्यापार गर्छ । उसले लगातार सरकारमाथि आक्रमण गर्ने, काम गर्न नदिने र यसको हैसियत समाप्त पार्ने योजना र षड्यन्त्र रच्यो ।
० तपाईंले चुनावसम्मका लागि हाम्रो सहमति भएको थियो भन्नुभयो । त्यसो भए कुन बिन्दुमा आएर माओवादी यसरी बिच्कियो होला त ?

 बिच्किएको होइन, प्रधानमन्त्री हुन नपाएर हामीसँग बसेको थियो । उसले दुई वर्षको सम्झौता धोकापूर्ण ढङ्गले गरेको थियो । ८१ सिट भएको माओवादीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै पाउने हो र ? के उसको त्यही हैसियत हो ? हामीले त उसलाई आवश्यकताभन्दा बढी दिएका थियौं । के कारणले प्रधानमन्त्री नभई नहुने ? फेरि उसले हामीलाई ‘यस्तो गरौं’ कहिल्यै भनेन । अचानक वैशाख २२ गते बेलुका टिमसहित आएर माओवादीका प्रमुख नेताले भन्नुभयो– ‘मलाई काङ्ग्रेसले समर्थन ग¥यो, म प्रधानमन्त्री हुने भएँ, काङ्ग्रेसले समर्थन गरेपछि तपाईंसँग किन बस्नु ? त्यसकारण म उता लागें । तपाईंहरू पनि सँगै जाने हो भने समर्थन गर्नुस् ।’ त्यसभन्दा अगाडि हामीसँग ‘यसरी अगाडि जाऔं’ भन्ने कुरै भएको थिएन । बरु, मैले नै कुरा गरेको थिएँ– ‘बेइमानी ढङ्गले नचलौं है’ हामीले जति राम्रो काम गरे पनि टाउको गिन्तीको खेल हुने प्रणालीमा माओवादी गएपछि हामी हाथ्र्यौं, हामीसँग सरकार चलाउने सङ्ख्या पुग्दैनथ्यो । त्यो त हामीलाई थाहै थियो । त्यसकारण, मैले नै भनें– ‘यो टाउको गिन्तीको खेलमा तपाईंहरू छुट्टिएपछि हाम्रो सङ्ख्या पुग्दैन । त्यस्तो अवस्थामा हामी छलफल–सल्लाह गर्न सक्छौं । तपाईंहरूलाई केही लाग्छ भने भन्नुस् है । यद्यपि, हाम्रो सम्झौता चुनावसम्मका लागि हो ।’
हामीले त्यसो किन भनेका थियौं भने हामी हाम्रा देशभक्तिपूर्ण काम, विकासका एजेन्डा र आत्मनिर्भरतातर्फको यात्रालाई अघि बढाउन चाहन्थ्यौं । तर, यो कुरा पाच्य भएन र रोक्न अहिलेको षड्यन्त्र भएको हो । त्यसका लागि प्रयोग भएका मतियारहरू र यो आपराधिक डिजाइन त पछि थाहा हुन्छ । त्यस्ता आपराधिक डिजाइनका अङ्गहरूसँग सहमति गरेर त्यो गठबन्धन कायम राख्दा हामीले अघि सारेका काम गर्न सकिन्थ्यो होला र ? प्रचण्डलाई प्रधानमन्त्री हुनका लागि मौका मिल्यो भने उहाँसँग कुनै राजनीति छैन, दर्शन छैन, विचारधारा छैन, कार्यक्रमिक अवधारणा छैन । राजनीति छ भने एउटै कुरा छ– आखिर कुर्सी नै रहेछ एक …।
० माओवादीहरूको गुनासो रहेको छ– हामीले जहिले पनि एमालेलाई सघायौं, एमालेले हामीलाई सघाउदैन । माओवादीचाँहि  समर्थक र मतदाता मात्रै हो र ?

अस्ति भाषणमा एउटा कुरा सुनियो– ‘मैले माधव नेपाललाई प्रधानमन्त्री बनाइदिएँ“, झलनाथ खनाललाई प्रधानमन्त्री बनाइदिएँ, केपी ओलीलाई पनि प्रधानमन्त्री बनाएँ ।’ के उहाँले समाजसेवा गर्नुभएको हो ? अनि, एक्लै प्रधानमन्त्री बनाउन पुग्ने बहुमत उहाँसँग कहिले थियो ? प्रचण्ड प्रधानमन्त्री भएको कसको मतले हो ? मान्छेको स्मरणशक्ति नै छैन भनेको कि क्या हो– पहिले उहाँलाई प्रधानमन्त्री एमालेले बनाएको होइन र ? कहीँ न कहीँ, कुनै पनि हिसाबले हामीले जबसम्म प्रधानमन्त्री निर्वाचनका निम्ति संविधान संशोधन गरेर व्यवस्था गरेनौं, नियमावलीमा व्यवस्था गरेनौं, त्यसबेला १७ पल्टसम्म चुनाव भएको होइनर ?

जब काङ्ग्रेससँगको टक्करमा उसलाई छेक्न झलनाथजीलाई दिएको न हो । ६ महिना धुरु–धुरु रुवाएपछि झलनाथजीले ‘यस्ताको समर्थनमा बस्नुभन्दा त नबस्नु नै ठीक’ भन्दै छाडेर हिँड्नुपरेको होइन ? अनि प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले भोट दिएको थिएन ? उहाँले कसैलाई गरेको समर्थनचाहिँ समाजसेवा भयो । महान् स्वयम्सेवी । उपराष्ट्रपति, उपप्रधानमन्त्री, सभामुख, आठवटा छानेका मन्त्रालय दिइयो । त्यसभन्दा बढी के पाउने हैसियत थियो ? उहाँहरूले केही नलिएर बाहिर बसेर गौदान मात्र ग¥या हो र ? उहाँले अहिले भेट्नुभएको छ, प्रधानमन्त्री बनाइदिने । तर, याद राखे हुन्छ, उहाँ मेरै रिसले प्रधानमन्त्री बन्नुभएको हो । उहाँलाई जसले मत दियो, जसले काँधमा बोक्यो, त्यो मलाई ढाल्नका लागि न हो, उहाँलाई के–के न गरौं भनेर बोकेको होइन । त्यति नबुझेर त्यत्रा ठूल्ठूला कुरा किन गर्नु फेरि ?
० विगतमा माओवादीलाई गृह मन्त्रालय दिनै हुन्न भनेर एमालेमा बहस पनि भयो । तपाईंको नेतृत्वमा गृह मन्त्रालयसहित उसले रोजेका आठवटा मन्त्रालय दिइयो । के माओवादीले लामो समय समर्थन गर्छ भन्ने लागेर त्यसो गरिएको हो ?

 त्यो कोसिस हो । किनभने, मलाई देश र जनताका लागि केही गर्नुु थियो । नीति–कार्यक्रम र बजेट ल्याउनु थियो, अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा नेपालको सार्वभौमसत्तालाई माथि उठाउनु थियो, स्वतन्त्र राष्ट्रको हैसियतमा एउटा मात्रै देशसँगको निर्भरता कम गर्नु र हटाउनु थियो र देशभित्र विकासका कामहरू अगाडि बढाउनु थियो । साथै, संविधानको कार्यान्वयन गर्नु थियो । ती कामहरूमा निहुँ नखोजोस्, चित्त नदुखाओस् भनेर चाहिनेभन्दा बढी र गर्नुपर्नेभन्दा बढी नै गरिएको थियो । गृह मन्त्रालय दिँदा पनि मैले माओवादी अब सप्रिएला भन्ने सोंचेको हुँ । तर, ऊ ‘आखिर कुर्सी नै रहेछ एक…’ भन्नेमै रहेछ ।
० सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आयो, तपाईंले बीचमा अनेक दबाब हुँदा पनि राजीनामा दिन मान्नुभएन । जस्तालाई तस्तै पराजित गर्न नयाँ  समीकरण बनाउनुपर्छ भन्ने ढङ्गले सोच्नुभएन ? त्यो सम्भव नभएर नसोच्नुभएको हो ?

सरकार बनाउनु वा त्यसमै अडिनु नै मेरो र मेरो पार्टीको लक्ष्य/उद्देश्य होइन । के गर्ने भन्ने कुरा मुख्य हो । सरकार बनाएर जसलाई पायो, त्यसलाई सरकारमा सामेल गराएर हामीले गरेका कामहरूलाई बदनाम गराउने ?

उल्टाउने ? खारेज गर्ने ? मेटाउने ? सरकारमा गएपछि त चुप बस्नुपर्छ, समर्थन गर्नुपर्छ । नत्र छोड्नुपर्छ । त्यस असहज अवस्थामा हामीले अर्को समीकरण किन बनाउने ? खालि समीकरणका लागि राजनीति गर्नुहँुदैन । उद्देश्य, विचार र गन्तव्यको राजनीति गर्नुपर्छ । त्यसकारण, अनुचित ढङ्गले समीकरणको राजनीति गरिएन, त्यसो गर्नु वाञ्छनीय ठानिएन ।
० प्रधानमन्त्रीका रूपमा संसद्मा दिएको अन्तिम मन्तव्य र अरू सन्दर्भहरूमा पनि तपाईंले नेपालको आन्तरिक राजनीतिमा अनावश्यक चासो नराख्न छिमेकीहरूलाई सुझाव दिइरहनुभएको छ । के कारणले पटक–पटक यस्तो भनिरहनुभएको छ ?

यति स्पष्ट कुरालाई फेरि थप भनिरहनै पर्दैन, सबैले बुझेका छन् । किन भन्नुप¥यो र थप ?
० भारतको राजकीय भ्रमण गर्दा तपाईंले निकै राम्रो सम्मान प्राप्त गर्नुभयो । फर्केर नेपाली जनतासमक्ष दुई देशबीचका असमझदारीहरू हटे भन्नुभयो । तर, व्यवहारमा त्यस्तो देखिएन । आखिर के कारणले त्यस्तो भयो ?

 भारतमा एउटै खालको सोच र दृष्टिकोण छैन । भारतमा स्वार्थका विविधता छन्, दृष्टिकोणका विविधता छन् । मैले अलिकति के महसुस गरेको छु भने भारतका केही एजेन्सी र केही मिडिया किन हो, गलत खालको, प्रभुत्ववाला चिन्तनबाट ग्रस्त छन् । उनीहरूले अनुचित र अनावश्यक प्रचारबाजी गरिरहेका छन्, जसले छिमेकीसँगको सम्बन्धलाई तिक्त बनाउँदै लैजाने, बिगार्ने र राम्रो हुन नदिने काम गरिरहेको छ । हामी त भारतका मित्र हौं । मित्र नभएर हामीले केही गर्नु नै छैन । भारतका जायज चासो, चिन्ता र सरोकारहरू हामीले बुझेका छौं र त्यसमा हामी सकारात्मक पनि छौं । तर पनि, केही–केहीले वातावरण बिगार्ने खेती गरिरहन्छन् । त्यस्तो खेती भारतको केन्द्र र राजनीतिक नेतृत्व तहबाट अस्वीकार हुनुपथ्र्यो । मलाई विचित्र लागेको छ, यस्तो कुरा अस्वीकार गरेको देखिएन । दुई वर्षका लागि कसैले एउटा खेल–तमासा देखाउँछ र आफ्नो स्वार्थअनुसार चाल चल्छ भने भारतको राष्ट्रिय नेतृत्व र राजनीतिक तहले त्यस्ता कुरा नियन्त्रण गर्नुपथ्र्यो । त्यसमा नियन्त्रण गर्न नसकेको हो वा के हो, मैले त्यस्तो पाइनँ ।
म भारत गएँ र फर्किएपछि ‘सम्बन्ध सप्रियो’ भनें । सप्रिएकै हो । विशाखापट्टनम् बन्दरगाह, बाटो, प्रसारण लाइनजस्ता धेरै कुरा भए । हामीले राम्रो गरेका थियौं । मैले भनें– ‘अब राम्रो भयो । केही असमझदारी (मिसअन्डरस्ट्यान्डिङ)हरू थिए, हटे ।’ हामी भारतका दुश्मन होइनौं, हुनै सक्दैनौं । हामी भारतका विरोधी होइनौं, हुनै सक्दैनौं । हामी भारतका मित्र हौं, मित्र भएर, मिलेर काम गर्न चाहन्छौं । तर, हाम्रा आन्तरिक मामिलाहरूमा, हरेक स–साना कुराहरूमा हात हाल्ने र समस्या खडा गर्ने काम नहोस् । हाम्रो चाहना त्यही हो, हामीले त्यही भनेका हौं ।

भारतसँग सम्बन्ध सामान्य भएको हो । नाकाबन्दी थियो, हटाइयो । म राजकीय भ्रमणमा गएँ । तर, भारतका नाममा कसैले केही यताउता गर्छ र त्यसमा चुक्छ भने हाम्रो के लाग्छ र ? अहिले नेपालमा जुन परिवर्तन भयो, त्यसमा यस ढङ्गले आउनु हुँदैनथ्यो । जो आए, जसरी आए, ती त भारतकै नाममा आएका छन् । त्यो हुनु राम्रो थिएन ।
० तपाईंको कार्यकालमा चीनसँग केही ऐतिहासिक महत्वका सम्झौताहरू भएका छन् । त्यही कारणले त्यही बिन्दुबाट नेपालमा सरकार परिवर्तनको खेल सुरु भएको तपार्इंंले माथि नै उल्लेख गर्नुभयो । यहीबेला नेपालमा नया“ सरकार बन्दा देशभित्र भन्दा छिमेकतिर बढी खुसियाली छायो । तपाईंले हेर्दा यी कुराहरूको बीचमा केही सम्बन्ध छ कि छैन ?DSC03929

बेसरी छ । जसले ग¥यो र जो सफल भयो, उसले ‘हामी सफल भयौं, हाम्रो पुनरोदय भयो (वी केम ब्याक)’ भन्यो । मैले त्यही भनेको हँु, यस्तो नहुनुपथ्र्यो । हाम्रा आन्तरिक कुराहरूमा रुचि नराख्नुस्, यसबाट केही मान्छेहरूले आफ्नो स्वार्थ त पूरा गर्लान्, तर नेपाली जनतामा भारतसँग असहमत हुने मात्रा र भारतले ठीक गरेन भन्ने आलोचनात्मक दृष्टिकोण त बढ्दो छ । त्यो हामी कसैले त गरेको होइन । हामी त मित्र हौं, मित्रवत् व्यवहार गर्नुपर्छ भन्छौं । भारतले मित्रवत् व्यवहार गरोस्, हामी चाहन्छौं । हामी भारतको अहित चिताउँदैनौं, भारतले हाम्रो पनि अहित नचिताओस् । बस् ।
० भारतले नेपालमा जे गरिरहेको थियो, त्यही कुरा तपाईंको नेतृत्वको सरकार हुँदा  चीनले ग¥यो भनेर भारत अलिक डराएको हो भनिन्छ नि ?

चीनले यहाँ न कुनै सरकार परिवर्तन गर्ने न त कुनै प्रधानमन्त्री परिवर्तन गर्ने काम गरेको छ । उसले यहाँ हस्तक्षेप गर्ने कुनै काम गरेको छैन ।

० पहिला राष्ट्रवादका चर्का कुरा गर्ने माओवादी अध्यक्षले संसद्मा अविश्वासको प्रस्ताव पेस गर्दा तपाईंको सरकारले ‘कूटनीतिक सन्तुलन कायम गर्न नसकेको’ आरोप लगाउनुभयो । गठबन्धनमा यस विषयमा कहिल्यै केही छलफल भएको थियो ?

 कहिल्यै पनि भएन । यो कुरा उहाँहरूले उठाउने पनि होइन । उहाँसँग कुनै विचार नै छैन, आदर्श छैन । आदर्शहीन मान्छेले लाभका निम्ति काम गर्छ, छलफल गर्दैन । उहाँहरूले यस्तो गर्नुपर्छ, कहिल्यै भन्नुभएन । सबै कुरामा जस लिन खोज्ने, तर प्रकट ढङ्गले भन्न पनि नसक्ने । आँ–ऊँ, आँ–ऊँ गरेर छटपटाएर त भएन नि । खुलस्त भन्नुप¥यो । मभन्दा अगाडिको सरकार, जोजसलाई भारतले बहुत विश्वास गरेको भनिएको छ, त्यसले सम्बन्ध बिगारेर नाकाबन्दीमा पु¥याएको थियो । प्रयासहरूबाट ठीक ठाउँमा ल्याइयो । त्यसलाई बिगार्न केही मानिस क्रियाशील थिए । त्यो क्रियाशीलतामा नेपालका लोभी, पापी, स्वार्थी, आदर्शहीन र पाखण्डीहरू, जो प्रयोग गर्न सजिला थिए, प्रयोग भए ।

० तपाईंको नेतृत्वको सरकार विस्थापन गर्न त त्यही मधेस कार्ड नै प्रयोग भयो । त्यही देखियो होइन, अन्तिममा ?

 होइन । मधेस कार्ड त असफल भइसकेको थियो । बरु, अब बौराउने कोसिस हुँदै छ । प्रयोग त माओवादी भयो, जो सरकारमै थियो । अहिले त ठीक छ, लौ प्रधानमन्त्री लियो, भविष्यमा के–के लिन्छ त ? एकपल्ट वा दुईपल्ट वा तीनपल्ट वा चारपल्ट प्रधानमन्त्री हुनुमा के फरक छ ?
० तपाईंको कार्यकालमा रक्सौलमा, सीमाक्षेत्रमा नाकाबन्दी भयो । त्यसअघिदेखि नै जारी मधेस आन्दोलनका नाममा ४४/४५ जनाको ज्यान गयो । पछि रत्नपार्कमा धर्ना भयो । त्यो सबै गर्दा संविधान पुनर्लेखन गर्न भनिएको थियो । तपाईं हट्नासाथ त यी सबै माग सकिए । यसको मतलब मधेस समस्या पनि त रहेनछ ?

 समस्या त छँदै थिएन नि । हामीले सधैंभरि भन्दै आएका थियौं, दबाबका निम्ति ती सबै काम भएका हुन् । त्यो दबाब काङ्गे्रससमेतलाई थियो । विधान बनाइसकेपछि, घोषणा रोक्न नसकेपछि र घोषणा भइसकेपछि नाकाबन्दीजस्तो कुरामा जानु हुँदैनथ्यो । किनभने, संविधान त बनिसक्यो नि । असोज ३ गते संविधान जारी भएपछि ५ गतेबाट नाकाबन्दी गर्नु अनुचित थियो, अनुपयुक्त थियो । हालै संसद्मा बोल्दा मधेसी प्रतिनिधिहरूले भने– ‘अघिल्लो सरकारका पालामा केही पनि भएको थिएन, गरिएको थिएन । यो सरकार आएपछि समस्या समाधानको बाटो गतिसाथ समात्यो ।’ आन्दोलनमा मारिएका परिवारलाई १० लाख दिने कुरा अघिल्लै सरकारले गरेको हो र दिई पनि सकिएको हो । नकच्चरो ताल भन्छन् नि ।

अघिल्लो सरकारले कामै गरिसकेको छ, अहिले निर्णय गरिँदै छ । घाइतेको उपचार गर्ने भन्छ, उपचार त यहाँ मात्रै होइन, विदेशमा समेत लगेर गराइएको छ, पैसा दिइएको छ । जहाँसम्म छानबिन गर्ने माग छ, हामीले गरौं, समिति बनाऔं भनेकै हौं । तर, उहाँहरूले मान्नुहुन्न । अनि अहिले वास्ता गरिएन भन्ने ? ‘३६ पटक वार्ता भयो’ त उहाँहरू नै भन्नुहुन्छ ।  निहुँ  खोजेर जाने, सहमतिमा नआउने, बोलाउँदा वार्तामा नआउने र सरकार परिवर्तन गर्ने खेलमा लाग्ने अनि सरकार परिवर्तन भएपछि सबै सिद्धियो ?
० संविधान पुनर्लेखनको माग छाडेर तीन बुँदेमार्फत सहमतिमा आउनु त सकारात्मक नै भयो नि । समस्या त समाधान भयो नि ?

समस्या नै थिएन । समाधान पहिल्यै भइसकेको थियो । रत्नपार्कको अनशन पनि उठिसकेको थियो । के थियो र बाँकी ?oli9

० तपाईंले पनि भन्नुभयो– वार्ताका लागि यति धेरै प्रयत्न भए, संविधान संशोधनको कुरा अहिले पनि चर्चामै छ । यसमा पार्टीको भूमिका के रहन्छ ?

 गर्नुपर्ने संशोधन हामीले गरिसकेका छौं । उहिल्यै दुईबुँदेमा सबै समेटिएको छ ।

० त्यसो भए अब संविधान संशोधन आवश्यक छैन ?

संविधानका अरू विभिन्न ठाउँमा आवश्यक छ । तर, उहाँहरूले भनेका ठाउँमा आवश्यक छैन ।

० त्यसका लागि आफूसँग एक तिहाइ बरकरार राखेरै भूमिका खेल्छ पार्टीले ?

 पर्दै–पर्दैन । जतिजना भए पनि, जे भए पनि हामी देशको दूरगामी अहित हुने खालका कुरा हुन दिँदैनौँ । यो सङ्ख्याको मात्रै हिसाब होइन, राजनीतिको हिसाब हो । यसका निम्ति हामी जुनसुकै छोरमा पुग्न तयार छौं, त्यो बुझे हुन्छ । यत्रा बेइमानी गरेर त्यसपछि देशलाई नोक्सान पार्ने संविधान संशोधन ? अझ हामीसँग अपेक्षा गर्ने ? कति सतही सोच हो ?

० विगतमा तपाईंले माओवादीको आलोचनामा राष्ट्रव्यापी रूपमै पीडितहरूको आवाज मुखरित गर्नुभयो । बीचमा संविधान निर्माण र यो १० महिनाको शासनले माओवादीसँग तपाईं पनि सकारात्मक हुनुभयो, मिल्नुभयो, । यो बुझेर भएको थियो कि नबुझेरै ?

 म नबुझीकन किन काम गर्छु ? बुझेरै भएको छ । मैले माओवादीलाई सिध्याउन खोजेको होइन, सच्याउन खोजेको हुँ । त्यसकारण मैले आलोचना वा सहकार्य गरिरहँदा दुवै अवस्थामा सच्याउने हिसाबले र त्यही उद्देश्यअन्तर्गत नै गरेको हुँ। अब माओवादीका सम्बन्धमा धेरै टाउको दुखाइरहनु परेन । किनभने, अलिक समय प्रतीक्षा मात्रै गर्नुपर्छ, अब माओवादी कुनै शक्तिका रूपमा बाँकी रहेन । माओवादीको छिन्नभिन्न अवस्था र अवसानको स्थिति भइसक्यो भने हुन्छ । त्यसैले, अब अहिलेको संसद् रहेसम्म केही समय माओवादी समस्या रहन्छ, त्यसपछि रहँदैन ।

० त्यसो भए माओवादीसँग सहकार्यको गुन्जायस छैन ?

उसले गल्ती महसुस ग¥यो र आत्मालोचना ग¥यो भने सहकार्यका सम्बन्धमा विचार गर्न पनि सकिन्छ । नत्र, जे ग¥यो, जसका लागि ग¥यो र जसका लागि गर्दै छ, त्योसँग केको सहकार्य ?

० पार्टी लामो समयपछि प्रतिपक्षमा पुगेको छ । अब पार्टी कार्यकर्ता र जनतामा जान पार्टीले तत्काल के कार्यक्रम ल्याउँछ  ?

मैले भन्ने गरेको छु– नेकपा (एमाले) ले जनतालाई सचेत गर्नुपर्छ र सङ्गठित गर्नुपर्छ, गर्दै आएको छ । अब झन् योजनाबद्ध ढङ्गले यो काम गर्नुपर्छ । अब हामी केही दिनभित्र स्थायी कमिटीको बैठक बस्छौं । त्यसपछि एक महिनाभित्रै पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बस्छौं । त्यहाँबाट नीति तय गर्छौं, कार्यक्रमहरू बनाउँछौं र तीव्रताका साथ आगाडि बढ्छौं । एउटा कुरा सबैले थाहा पाइराखे हुन्छ– नेकपा (एमाले)को विकास र सफलताको बेगलाई कसैले रोक्न सक्दैन ।
० तपाईं आफैं नेतृत्व गरेर कम्तीमा प्रदेश तहसम्म जनता र कार्यकर्ताको बीचमा जाने सोचाइमा हुनुहुन्छ ?

अवश्य जान्छु ।

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार