Presidential

शशांकको अभिव्यक्तिले कांग्रेसमा विवाद, शशांकबारे यसो भन्छन मीन विश्वकर्मा

शशांकको अभिव्यक्तिले कांग्रेसमा विवाद, शशांकबारे यसो भन्छन मीन विश्वकर्मा

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दू राज्य कायम गर्न जनमत संग्रहमा जानु पर्ने अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भयो । नेपाली कांग्रेसकै नेताहरुले पनि उनको त्यो अभिव्यक्ति व्यक्तिगत भएको भनी आलोचना गरे । पार्टीको जिम्मेवार नेताले दिएको त्यसखाले अभिव्यक्तिबारे पार्टीभित्र गम्भीर छलफल गर्ने कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । कोइरालाको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा कुनै असर नगर्ने विश्वकर्माको भनाइ छ । विश्वकर्मासँग पहिलो न्युज डटकमले गरेको कुराकानीः

कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दू राज्य कायम गर्न जनमत संग्रहमा जानु पर्ने अभिव्यक्ति दिएपछि आलोचना भएको छ । उहाँको अभिव्यक्तिलाई कसरी लिनुभएको छ ?
नेपाल हिन्दू राज्य नभए पनि नेपालका अधिकांश जनता हिन्दू धर्मप्रति आस्था राख्दै आएका छन् । त्यसैले बहुसंख्यक नेपालीले आफूले मानेको धर्मका आधारमा राज्य होस भनेर कामना गर्नु अनौठो होइन । तर, ‘नेपालको संविधान २०७२’ धर्मनिरपेक्षतालाई आत्मसाथ गरेको छ ।  नेपाली कांग्रेसकै नतृत्वमा जारी भएको संविधानले व्यक्त गरेका प्रतिवद्धतामा आँच आउने गरी नेपाली कांग्रेसका कुनै पनि नेताले अभिव्यक्ति दिनु हुँदैन । यो सबै कांग्रेसीको साझा धारणा हो ।

हाम्रा महामन्त्रीले कुन पृष्ठभूमि र सन्दर्भमा त्यस्तो अभिव्यक्ति दिनुभयो । त्यो जानकारी मलाई भएन । तर, अहिलेको अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार दलका जिम्मेवार नेताले त्यस्ता खाले विवादित अभिव्यक्ति दिनुहुँदृैन भन्ने मेरो भनाइ छ ।  उहाँले मात्र होइन अन्य नेताहरुले पनि यस्तो अभिव्यक्ति नदिँदा राम्रो हुन्छ ।

महामन्त्री कोइरालाको अभिव्यक्तिका बारेमा पार्टी भित्र छलफल हुन्छ ?

निश्चित रुपमा उहाँ जस्तो जिम्मेवार नेताले यसरी विवादास्पद अभिव्यक्ति दिनुहुने थिएन । उहाँ जस्तो जिम्मेवार व्यक्तिले यस्ता अभिव्यक्ति दिएपछि पार्टीभित्र र संगठनमा पनि गम्भीर ढंगले छलफल हुन्छ ।

महामन्त्री शशांकले मात्र होइन अन्य नेताहरु खुमबहादुर खड्का, शेखर कोइराला जस्ता नेताले पनि यस्ता अभिव्यत्ति दिदैँ आएका छन् । कांग्रेसका आधिकारिक धारणामै यस्तो अभिव्यक्तिले त असर गर्ला नि ?
गर्दैन, बहुदलीय संसदीय प्रजातन्त्रमा कुनै पनि कुरा स्थायी हुँदैन । परिवर्तन हुन्छ ।  हामीले हिजोसम्म चन्द्र र सुर्य रहुन्जेल राजा रहन्छन् भनेका थियौँ । अहिले चन्द्र र सुर्य रहिरहेका छन् । राजा र राजतन्त्र छैन । हामीले हिजो पञ्चाय अटुट रहन्छ भनेका थियौँ । अहिले पञ्चायत छैन । त्यसैले कुनै पनि कुरा परिवर्तन नै हुँदैन भन्ने होइन । तर, अहिले भर्खर मात्र जनताको चाहना अनुरुप भएको व्यवस्था तत्काल परिवर्तन हुने संभावना हुँदैन ।

यस्ता खाले अभिव्यक्तिले राजनीतिक र साँस्कृतिक रुपमा पनि समस्या आउने खतरा हुन्छ । त्यस्ता अभिव्यक्ति दिनु हँदैन । त्यसो गरेको अवस्थामा संविधान कार्यान्वयनका आगामी पाटामा अवरोध हुनेछ । सबैलाई धर्म आआफ्नो धर्म मान्ने छुट छ ।  तर,संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता परिवर्तन हुँदैन । उहाँले बोलेको व्यक्तिगत विचार होला, पार्टीको आधिकारिक विचार होइन ।

राष्ट्रिय विराट हिन्दू महासम्मेलनको पूर्वसन्ध्यामा जिम्मेवार नेताकै मुखबाट आएको यस्तो अभिव्यक्तिलाई कस्तो संकेत मान्ने ?

भारतमा समग्र भारतललाई नै हिन्दूस्थान भनिएको छ । तर, भारत हिन्दू राज्य होइन । धर्मकर्म गर्ने मठाधीशहरु नै अहिले राज्यको माथिल्लो निकायमा छन् । तर, उनीहरुले पनि भारतलाई हिन्दू राज्य बनाउनुपर्छ भनेका छैनन् ।

जहाँसम्म हाम्रो पार्टीका महामन्त्रीले नै कुनै धार्मिक कार्यक्रममा नभई पार्टीको कुनै फोरममा गएर दिएको त्यस्तो अभिव्यक्ति उचित होइन । त्यो मैले अघि पनि भने ।  व्यक्तिगत रुपमा म पनि हिन्दू हो । म पनि पूजाआजामा विश्वास राख्छु । तर, मैले अभिव्यक्त गर्ने विचारले मुलुकको राजनीतिमा कुनै परिवर्तन हुँदैन । महामन्त्रीको पनि त्यही हो । उहाँको निजी विचारले राष्ट्रिय राजनीतिमा कुनै प्रभाव पार्दैन ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार