Presidential

छापामार शैलीमा महाभियोग प्रस्ताव आए पनि कांग्रेसले सकारात्मक निर्णय गर्छ

छापामार शैलीमा महाभियोग प्रस्ताव आए पनि कांग्रेसले सकारात्मक निर्णय गर्छ

विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका युवा नेता हुन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शर्माले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा कांग्रेसले सकारात्मक निर्णय लिने दाबी गरे । कार्कीविरुद्ध माओवादी र एमालेले प्रस्ताव दर्ता गरे पनि कांग्रेसले भने छलफलबाट निर्णय गरेर नै अघि बढ्ने बताएको छ । नेता शर्मासँग पहिलो न्युज डटकमले गरेको कुराकानीः

–अख्तियार प्रमुख लोकमानसिंह कार्कीका विरुद्धमा दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नै निर्णय लिन सकेन भन्ने आरोप छ नि ?

छापामार शैलीमा नेपाली कांग्रेसले निर्णय गर्दैन । केन्द्रीय कमिटी बैठक बसिरहेको छ । लोकमानसिंह कार्कीका विरुद्धमा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा केन्द्रीय सदस्यहरुले गम्भीर ढंगले कुराकानी राख्दै आउनुभएको छ । बैठकमा त्यो विषयले प्रवेश पाएको छ । त्यसैले यो सन्दर्भमा हतार गर्नुपर्छ जस्तो मलाई लाग्दैन । छापामार शैलीमा गर्ने निर्णयलाई लोकतान्त्रिक भन्ने हो भने बेग्लै कुरा भयो । तर, कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले छलफल गरेर मात्र निर्णयमा पुग्छ । माओवादी र कांग्रेसले ल्याएको प्रस्तावप्रति भने कांग्रेसले वास्ता नगर्ने हुँदैन ।

–लोकमानका विषयमा केन्द्रीय कमिटीको बैठकमा फरक–फरक खालका धारणा आएका छन् । एकथरीले लोकमानलाई बचाउनुपर्ने र अर्को थरीले महाअभियोगको प्रस्तावका पक्षमा जानुपर्ने धारणा राख्दै आएका छन् । खास कुरा के हो ?

नेपाली कांग्रेसमा लोकमानसिंहविरुद्ध महाअभियोग लगाउने विषयमा गम्भीर छलफल भएको थिएन । एक्कासी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारको नेतत्व गरेको दल नेकपा माओवादी केन्द्रले महाअभियोगको प्रस्ताव कांग्रेसको केन्द्रीय कमिटी बैठकअघि नै दर्ता गरेपछि बैठकमा फरक–फरक खालका धारणा आउनु स्वाभाविकै हो । अघि पनि भने विषयले प्रवेश पाएको छ । हामी सोच–विचार गरेर निर्णय गर्छौ ।

–कार्कीविरुद्ध महाअभियोग प्रस्ताव माओवादी र एमालेले गरेका हो भनेर कांग्रेसले त्यति वास्ता नगरेको भन्ने पनि आरोप छ नि ?

बिल्कुलै होइन । कार्कीविरुद्ध संसदमा एमाले र माओवादीले भन्दा पहिला नै कांग्रेसले कुरा उठाएको हो । गत साउन ६ गते संसदमा  कांग्रेसका सांसदद्वय गगन थापा र धनराज गुरुङ तथा माओवादी सांसद श्याम श्रेष्ठले लोकमान विरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा केही महिनाअघि नै दर्ता गराउनुभएको थियो । त्यस कारण पनि कांग्रेस लोकमानको विरोधमा यस अघि नै थियो भन्ने प्रमाण हुन्छ ।

–अहिले लोकमान जनजनको नजरबाट गिरेका छन् । कांग्रेसले जनजनलाई चित्त बुझ्दो निर्णय गर्छ भनेर आशावादी हुने ठाउँ छ ?

बिल्कुल । कांग्रेसले जनजनले जुन चिन्ता र चासो व्यक्त गरेका छन्, उनीहरुको  चिन्ता र चासोलाई मुखरित गर्ने गरी निर्णय गर्ने छ ।  कांग्रेस केन्द्रीय समितिले महाभियोगको पक्षमा उभिने निर्णय लिनेछ ।

–अहिले लोकमानको विषयलाई लिएर भारतले बढी नै चलखेल सुरु गरेको छ भन्ने आरोप छ नि ?

त्यो विषयमा मलाई धेरै जानकारी भएन । मलाई नेपालका नेताहरु आफ्नो निर्णय आफै गर्न सक्षम हुनुहुन्छ भन्ने मलाई थाहा छ । उहाँहरुले गर्ने निर्णयमा अरुको चलखेलले त्यति प्रभाव पार्ला भन्ने मलाई लाग्दैन ।

–०७४ माघसम्ममा तीनै तहका निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने गहन जिम्मेवारी दलहरुका काँधमा छ । यो सम्भव होला ?

सम्भव छ । सरकार गठनका बेला दलहरुबीच बढेको दूरी लोकमानका सन्दर्भमा गर्ने निर्णयले एक ठाउँमा ल्याउने छ र दलहरु एक ढिक्का भएर संविधान कार्यान्वयको चरणमा अघि बढ्ने छन् । म यसमा आशावादी छु । लोकमान प्रकरणले दलहरुलाई एक ठाउँमा ल्याउने छ, ल्याउनुपर्छ । अब दलहरु एक ठाउँमा आएर संविधान संशोधन लगायतका कुरालाई पनि अघि बढाउँदै संविधान कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्छ ।

लोकमानको विपक्षमा अहिले आमरुपमा जुन किसिमको जनमत देखापरेको छ, मुलुकको पहिलो पार्टी भएका नाताले कांग्रेस जनमतविरूद्ध उभिन मिल्दैन र हुँदैन पनि । महाअभियोग प्रस्ताव अगाडि बढाउन माओवादी र एमालेले अग्रसरता लियो भनेर चिन्ता मान्नु पर्ने कुनै कारण छैन । अहिले दलहरुबीच बढेको अविश्वासको दूरी कम गर्न र समझदारी खोज्न पनि प्रस्तावको विपक्षमा कांग्रेस जान मिल्दैन ।

अहिले एमालेसँग मिलेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाई संविधानमा देखिएको असन्तुष्टि समाधान गर्नेतिर सबै दल लाग्नुपर्छ । एमालेसँग दूरी बढाए गयो भने संविधान  संशोधन प्रक्रिया अवरुद्ध हुन्छ, त्यसले सीमाङ्कनलगायत विषय जटिल भएर जान्छन् ।

8 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार