Presidential

बाबुभन्दा दुई वर्षअघि नागरिकता लिएका राजेन्द्र महतोलाई पालेर भारतीयहरूले….

बाबुभन्दा दुई वर्षअघि नागरिकता लिएका राजेन्द्र महतोलाई पालेर भारतीयहरूले….

० वर्तमान सरकारले अंगीकृत नागरिकले पनि राज्यको प्रमुख पद पाउने गरी संविधान संशोधनको मस्यौदा तयार पारेको छ, यसलाई कसरी लिनुभएको छ ?

–यो आत्मघाती कदम हो । यो माओवादी, कांग्रेस सम्मिलित यो सरकारले मधेसी मोर्चासँग गरेको तीनबुँदे सम्झौता आत्मघाती छ । यदि यो खालको प्रस्ताव उनीहरूले ल्याउँछ भने उनीहरूले नेपाललाई उपनिवेशका रूपमा सहर्ष स्विकारेर भारत सरकारलाई तमसुक गरेको ठहर्छ ।

० अंगीकृतले प्रधानमन्त्री, प्रधानन्यायाधीश बन्न नपाउने भन्ने कुरा त पहिलेको संविधानमा पनि त थिएन नि ?

–पहिले संविधानमा छैन भन्दैमा हुन्छ ? संसारमा कहाँचाहिँ अंगीकृतलाई राज्यको प्रमुख पद दिइएको छ ? अंगीकृतलाई राष्ट्रप्रमुख, सरकारप्रमुख, सेनाप्रमुख, न्यायलयको प्रमुख बनाउन थाल्ने हो भने यो मुलुक रहिरहला ? त्यसैले, यहाँका शासकहरूले सोचून् । यहाँ मधेसका केही सामन्तहरू छन्, जो भारतबाट परिचालित छन् । सिंगो यहाँको पहाडे वर्ग जुन छ, उसले विभिन्न राजनीतिक दलको नाममा शासन चलाउँदै आएका छन् । त्यसैले, मधेसका सामन्तहरूले शासनको हक खोजेका हुन्, अरू केही होइन ।

० मधेसी मोर्चाले त मधेसी जनताको हितका लागि यो माग उठाएको बताइरहेका छन् नि ? के यो माग त्यहाँको जनताको हितमा छैन र ?

– मधेस आन्दोलनका नाममा जे माग उठाइएको छ, त्यसबाट १ प्रतिशत मधेसी जनताको पनि हकहित हुँदैन । यो सम्पूर्ण मधेसका सामन्तहरूको स्वार्थका लागि भइरहेको छ । अर्को मुख्य कुरा, यहाँका खस आर्यहरूले सोच्नुपर्ने हो, तर यिनीहरू किन चमचम गरिरहेका छन् ? पुष्पकमल दाहालले, शेरबहादुर देउवाले किन चमचम गरेको ? लम्पसार हुनकै लागि कहिले प्रचण्ड, कहिले देउवा भारत गइरहेका छन् । कांग्रेसले किन बुझ्दैन ? ००७ सालदेखि ०१५ सालसम्म संक्रमणकाल रह्यो । ०१५ सालको चुनावमा कांग्रेसको दुईतिहाइ बहुमत आयो । बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री हुनुभयो । हामी वामपन्थी भएर पनि बीपीलाई सम्मान गर्छौं, तर त्यही कांग्रेसीहरू बीपीको अपमान गरिरहेका छन् । बीपी र मनमोहन त भारतको स्वतन्त्र सेनानी पनि हुन् ।

तर, नेहरूले कहिले नेपालको लोकतन्त्रलाई साथ दिए ? कहिले बीपीका दाजु मातृकालाई उचाले, कहिले महेन्द्रलाई उचालेर ०१७ सालमा बीपीको सरकार मात्र होइन, लोकतन्त्रको पनि हत्या गरियो । बीपीलाई हतकडी लगाएर आठ वर्ष जेलमा सड्याए । जबसम्म बीपीलाई सड्याएनन्, तबसम्म उनीहरूले चैनको सास लिएनन् । यो कुरा नेपाली कांग्रेसका अहिलेका नेताहरूले किन बुझ्दैनन् ?

० मधेसकै बुद्धिजीवीहरूले पनि यो मधेसको माग हुँदै होइन भन्दै आएका छन्, तर किन पछिल्लो समय बढी जोडदार ढंगले उठिरहेको छ ?

– भोलि भारतको पन्जाब, उडिसा, राजस्थानको मान्छे हाम्रो मधेसमा आएर यहाँको नागरिकता लिएर व्यापार गरेर बस्दैमा ऊ राज्यको प्रमुख हुन योग्य हुन्छ ? भारतले १०–२० करोड रुपैयाँ खर्च गरिदिन्छ, राष्ट्रपति, प्रधानमन्त्री बनाइदिन्छ अनि भोलि उसले प्रधानमन्त्रीकै कुर्सीबाट नेपाल सरकारलाई भारतमा विलय गराएको निर्णय गराइदिन्छ । डिजाइन त त्यो न हो ।

० नागरिकता त नागरिकता नै हो, चाहे त्यो वंशजको होस्, चाहे अंगीकृत । नागरिक भएपछि अधिकार पनि समान हुनुपर्ने तर्क पनि गरिन्छ नि ?

– सांसद, मन्त्री बन्न त अंगीकृतलाई पनि छुट छँदै छ नि । त्यो अधिकार त दिइएकै छ नि । तर, प्रमुख बन्ने, किन बन्ने ? सत्यनारायण मण्डल किन बन्न सक्दैन ? यहाँको एउटा मुसहर किन बन्न सक्दैन ? राजेन्द्र महतोको ०२८ सालको नागरिकता, उसको बाबुको ०३० सालको नागरिकता । त्यस्ता अंगीकृतलाई यहाँ पालेर भारतीयहरूले बखेडा खडा गरेको छ ।

० भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलगत्तै यो संशोधनको मस्यौदा बाहिर आउनु संयोग मात्र हो कि सबै भारतकै डिजाइनमा भएको हो ?

– यो सबै भारतकै डिजाइनमा भइराखेको छ । अंग्रेज शासकहरूको जहाँजहाँ उपनिवेश थियो, त्यहाँ त्यहा मालिकहरू जाँदा कसरी जयजयकार हुन्थ्यो, त्यस्तै हो अहिले पनि । मालिकहरू आए, यहाँका शासकहरूले पनि लम्पसार परेर दण्डवत गरे, कुरा यत्ति हो ।

० मधेसलाई मोहरा बनाएर यो डिजाइनलाई अगाडि बढाइयो भने मधेसलाई प्रतिनिधित्व गर्ने मधेसका तपाईं नेताहरूको भूमिका कस्तो हुन्छ ?

– हामी यो धर्तीका लागि लडेका छौं । यो धर्तीको निर्माता राजाश्री जनक हुन् । ४० पुस्ता राज जन वंशले गरेको छ । भारत त अंग्रेजले बनाइदिए । यहाँको आदिवासी हामी मधेसी हौं । हिजो बन्द–व्यापार रोजगारीका सिलसिलामा आयो, १०–२० वर्ष बस्यो अनि नागरिकता लिँदैमा ऊ यहाँको मालिक हुन्छ ? यदि यो संशोधनलाई अगाडि बढाइयो भने हामी आन्दोलनमा जान्छौं । यहाँ हामी मधेसीको हातमा के नै छ र ? सबै यहाँको डाडुपन्यू पहाडे शासकहरूको हातमा छ । लम्पसार पर्ने त यिनै प्रचण्ड र देउवाजस्ता छन् ।

० उपप्रधानमन्त्री, गृहमन्त्री पनि त मधेसी नै छन् नि, उनीहरूले नै सरकारलाई घुमाएका छन् भन्छन् त ?

– हो गृहमन्त्री, उपप्रधानमन्त्री मधेसी नै छन्, तर उनीहरू पटवारीजस्तै हुन् । मैले त नाम नै राखिदिएको छु, पण्डित, पटवारी र बाबुसाहेब । मधेस आन्दोलनले यी तीनवटा समुदायको मात्र हित गरेको छ । मधेसी जनताको हित गरेकै छैन ।

5 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार