Presidential

‘संविधान संशोधनमा मधेसका दलहरूबीचमै सहमति छैन’

‘संविधान संशोधनमा मधेसका दलहरूबीचमै सहमति छैन’

० वर्तमान सरकारको सय दिनको समीक्षा कसरी गर्नुभएको छ ?

– जुन काम गर्छु भनेर जनताका बीचमा आफ्नो प्रतिबद्धता जाहेर गरेर आएका थिए त्यसमा कुनै काम काम गर्न नसकेको हुनाले जनता निराश छन् । हुन त जनताले यो सरकारबाट धेरै आशा गरेको स्थिति पनि छैन । जनताका साथसाथै आफू पनि जुन मात्रामा काम गर्छु भनेर प्रधानमन्त्री प्रचण्डले भनेका थिए, त्यो गर्न नसकेकोमा उनी पनि कन्भिन्स छन् । आफूले भनेको काम त्यो काम गर्न नसकेको र गर्न नसकिने स्थिति देखेरै होला प्रधानमन्त्री प्रचण्डजी पनि आफू निराश भएर कुन दिन राजीनामाको तहमा पुग्ने हो, त्योचाहिँ भन्न सकिन्न । राजीनामा दिन सक्ने नै ठाउँमा पुग्छन् भन्ने लाग्छ ।

० यो सरकारले गर्छु भनेका के काम थिए, जो गर्न सकेन ?

– भूकम्पपछिको पुर्ननिर्माणका लागि जे–जे कुरा बोलेका थिए, ती कुराहरू पुरा भएनन् । जे–जति भएका छन्, ती केपी ओली प्रधानमन्त्री भएकै बेला गरिएका निर्णयहरू हुन् । संविधान संशोधनमा सहमति गरेर अगाडि बढ्छु, म यसलाई निष्कर्षमा पु¥याउँछु भनेका थिए प्रचण्डले तर मैले त्यो सम्भावना पनि देखिरहेको छैन । त्यस्तै, सुशासन दिने सन्दर्भमा जनताको विश्वास जित्नुपर्नेमा त्यो पनि हुन सकेको छैन । सुशासनको कस्तो रूप रहेछ भन्ने कुरा त सुजाता कोइरालालाई ५० लाख दिने निर्णयले पनि देखाइहाल्यो । स्वास्थ्यमन्त्रीले राख्नुपर्ने प्रस्ताव गृहमन्त्रीले राखेर पास गर्ने र देशमा लुटतन्त्रको अभ्यास कायम राख्ने काम गरेका छन् ।

० उपचारका नाममा नेतालाई पैसा बाँड्ने काम त योभन्दा अघिका सरकारले पनि त गरेकै थिए नि ? यसमा मात्र किन यत्रो विरोध ?

– बाँड्छन्, नबाँड्ने होइनन् । तर, प्रक्रियामा पनि जान्छन् । भर्खरै १५ लाखभन्दा बढी नदिने गरी सम्बन्धित स्वास्थ्यमन्त्रीले अगाडि नै मन्त्रिपरिषद्मा प्रस्ताव लगिसकेको एउटा स्थिति छ भने अर्कातिर स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिलबाट सिफारिस नभईकन देशका अर्बपतिलाई दिने कुराको किन विरोध हुँदैन त ? कंगाललाई दिएको त होइन नि ! पूर्वपदाधिकारीको हिसाबले पाउने हैसियत पनि उहाँको छैन । साधारण जनता र पूर्वपदाधिकारीले पाउने कुरा फरक हो । कसैले पैसा अभावकै कारण स्वास्थ्य उपचार नपाएर अस्पतालबाटै हाम फाल्नु परेको समाचार आइरहेका बेला त्यसलाई कुल्चेर अर्बपतिलाइ खुसी बनाउने काम सरासर बेठीक हो ।

० संविधान संशोधनमा पनि यो सरकारले केही गर्न सकेन भन्नुभयो, सरकारले गर्न नसकेको हो कि प्रतिपक्षले गर्न नदिएको हो ?

– के विषयमा संविधान संशोधन गर्ने भन्नेमा खासगरी आफूलाई मधेसवादी भन्ने दलहरूका बीचमा नै सहमति छैन । एउटाले यो हाम्रो एजेन्डा हो भन्छ, अर्कोले हाम्रो एजेन्डा होइन भन्छ । अनि दुवै पक्षले भारतलाई अगाडि सारेर, भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलाई अगाडि सारेर, भारतीय तागत देखाएर नेपालमा परिवर्तन गर्न खोजेको हुनाले राजनीतिक जटिलता उत्पन्न भएको हो । परिवर्तन गर्र्ने तागत छ भने अहिलेकै सरकारले गरिहाले भइहाल्यो नि, किन अरूलाई दोष लगाउनु ? एजेन्डामा एकरूपता पनि छैन, सहमति पनि छैन । विधि र प्रक्रियाबाट जाने हो भने विधि र प्रक्रियाबाट आएका पनि छैनन् । त्यसैले गर्दा संविधान संशोधन विवादमै छ ।

० अंगीकृत नागरिकलाई उच्च पद दिनेगरी संविधान संशोधनको एजेन्डामा मधेसवादी दलहरू आफू–आफूमा सहमति गरेरै आएका होइनन् र ?

– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको भिडियो आफूलाई नेपालका मधेसवादी ठान्नेहरूले हेरिदिए हुन्थ्यो । सोनिया गान्धीलाई किन प्रधानमन्त्री बनाइएन ? उनले किन मुख्य पद दिन मानिनन् ? भन्ने कुरा त्यो भिडियोबाट पनि छर्लङ्ग हुन्छ । नेपाललाई भारतको प्रान्त मानेर त्यहीअनुसार व्यवहार हुनुपर्छ भन्ने हो भने यो कुनै पनि नेपालीको भावना हुन सक्दैन । कागजमा मात्र नेपालको नागरिकता लिएर बसेकाहरूको मात्र भावनामा बहकिनुहँुदैन ।

० यो सरकारले कुनै राम्रो काम गर्न सकेन भन्नुभयो, तर प्रधानमन्त्रीले त ६ महिनामा गर्ने काम तीन महिनामै गरे भनेर दाबी गरेका छन् नि ?

– उहाँले त्यो दाबी गरिएको कागज पढ्दा पनि उहाँको हात कापिरहेको थियो । दिमाग पनि दिग्भ्रमित भएको अवस्थामा बोलेको कारण त्यसलाई कसरी पत्याउने ? १२ बजे राति पनि राजीनामा दिने कुरा आउँछ भनेर जे भन्नुभयो, त्यो उहाँकै दिमागको उपज हो । पहिला पनि जनताले नचाहेकै स्थितिमा राजीनामा दिएर भाग्नुभयो । यसपटक पनि कुन दिन १२ बजे राति राजीनामा दिएर भाग्नुहुन्न भनेर कसरी भन्ने ? जनताको विश्वास र चाहनाअनुसार काम गरेको भए त आफू पनि सन्तुष्ट होइन्थ्यो, जनता पनि सन्तुष्ट हुन्थे र देश अगाडि बढ्थ्यो ।

० यो सरकारलाई पास अंक दिन सकिने अवस्था छ कि छैन ?

– के दिनु नि ? पास मार्क पाउने स्थिति नै छैन ।

० तपाईंको पार्टी एमाले अहिले मधेस अभियानमा छ, अभियान कस्तो चलिरहेको छ ?

– हाम्रो पार्टी अहिले मुख्य त देश निर्माण र संविधान कार्यान्वयनको अभियानमा छ । संविधान संशोधनका सन्दर्भमा पनि पहिलो प्राथमिकता स्थानीय निर्वाचनदेखि नै अगाडि बढ्ने भएका कारण पार्टी हिमाल, पहाड, तराई, मधेस सबै ठाउँमा छ । तर, अलिक बढी तराई–मधेस केन्द्रित भएका छौं । देश र जनताको सबैतिरको भावना बुझ्ने र एमालेमय बनाउने अभियानमा लागिरहेका छौं ।

० विशेषत मधेसवादी दलले एमालेलाई मधेसविरोधी पार्टी भन्छन्, यो अभियानका क्रममा एमालेप्रतिको त्यहाँको जनताको भावना कस्तो पाउनुभयो ?

– कहिल्यै पनि नेकपा एमालेभन्दा मधेसमा आफूलाई मात्र मधेसकेन्द्रित ठान्ने पार्टीले कुनै पनि दिन एमालेभन्दा बढी मत ल्याएका छैनन् । त्यसकारण, एमाले तराई–मधेस, पहाड, हिमाल सबै ठाउँमा छ । यो देशको मूल राजनीतिक पार्टी एमाले हो र मूल पार्टीका रूपमा देशलाइ नेतृत्व गर्छ । त्यसकारण, कोहीले कसैलाई केही आरोप लगाउँदैमा हुँदैन । हामी मधेसविरोधी होइनौं, बरु नेपालका कतिपय राजनीतिक पार्टी देशविरोधी पार्टी हुन् भन्दा केही फरक पर्दैन ।

० एमालेप्रति तराई–मधेसका जनताको भावना कस्तो पाउनुभएको छ ?

– म लगातार १७ दिनसम्म तराई–मधेसमै केन्द्रित भएर फर्केको छु । देशको हरेक ठाउँमा जनताबाट आस्था, निष्ठा, भरोसा र विश्वास पाएको छु । एउटा देशभक्त, प्रजातान्त्रिक र विकासप्रेमी र मधेसलाई कुनै विभेद नगरी अगाडि बढ्ने पार्टीका रूपमा एमालेलाई बुझेका छन् ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार