Presidential

प्रचण्डलाई नजिकबाट बुझेका कांग्रेस नेता सिटौला भन्छन्, ‘थाहा छैन, उहाँलाई के तत्वले प्रेरित गरिरहेको छ !’

प्रचण्डलाई नजिकबाट बुझेका कांग्रेस नेता सिटौला भन्छन्, ‘थाहा छैन, उहाँलाई के तत्वले प्रेरित गरिरहेको छ !’

२८ मंसीर । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र पहिलो संविधानसभाका निर्वाचन गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला त्यही कारण कांग्रेसभित्र आलोचित पनि भए । कहिले प्रचण्डको सवारीमन्त्री तथा कहिले कांग्रेसभित्र पसेको माओवादी जस्ता आरोप सहन बाध्य सिटौला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नजिकबाट चिन्ने थोरै नेतामध्ये पर्दछन् । यसपटक संविधान संशोधनको प्रस्ताव ल्याउँदा चाहिँ उनले किन हतार गरेको हो, आफूले बुझ्न नसकेको उनको भनाइ छ ।

0 संविधान संशोधन प्रस्ताव ल्याउँदा तपाईंहरुबीच छलफल भएन ?

व्यक्तिगत रुपमा मैले प्रचण्डजीलाई भेटेर सल्लाह दिएको हुँ । हाम्रो सभापतिजी त छलफलमा त्यति रुचि राख्नुहुन्न तर प्रचण्डजीले छलफल गर्नुहोला भन्ने लागेको थियो । उहाँले पनि गर्नुभएन ।

0 तपाईंको सल्लाह के थियो ?

छलफल नगरी हतारमा दर्ता नगर्नूस् भनेको थिएँ । बरु, दुई–चार दिन समय लिऔँ, अलग्गै बसौँ, छलफल गरौं, रातभरि बसेर छलफल गर्ने गरी व्यवस्था मिलाऔँ भनेको थिएँ ।

0 तपाईंको सुझाव त मान्नुहुन्थ्यो, यसपटक चाहिँ किन मान्नुभएन होला त ?

खोई, प्रचण्डजीलाई कुन तत्वले प्रेरित गरिहेको छ ? म भन्न सक्दिँन । प्रमुख प्रतिपक्षलाई विश्वासमा लिएर, सत्तापक्षबीच राम्रो समझदारी बनाएर मात्रै प्रस्ताव आउनुपथ्र्यो । तर, त्यो भएन । त्यही कारणले अहिले समस्या परेको छ ।

0 कांग्रेसमा चाहिँ छलफल भयो कि भएन ?

हाम्रो सभापतिजीले निर्णय लिनुभएको छ । संस्थागत रुपमा पार्टीमा छलफल भएको मेरो जानकारीमा छैन । सायद समय नमिलेर होला, सभापतिजीले छलफल गराउनुभएको छैन ।

0 प्रस्ताव पारित होला जस्तो लाग्छ ?

त्यो त ल्याउने साथीहरुलाई थाहा होला । उहाँहरुले के हिसाव गरेर ल्याउनुभएको छ, त्यस आधारमा भन्न सक्नुहोला ।

0 निकासका लागि के गर्नुपर्छ त ?

मुलुक अहिले ब्वायलिङ अवस्थामा छ । यस्तो जटिल परिस्थितमा प्रमुख दलहरुबीच छलफल गरेर मात्रै समस्या समाधान गर्न सकिन्छ । त्यसबाहेक अरु कुनै उपाय छैन ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार