Presidential

आगामी दसैंसम्म काठमाडौंबासीले मेलम्चीको पानी खान पाउँछन्ः सचिव उपाध्याय

आगामी दसैंसम्म काठमाडौंबासीले मेलम्चीको पानी खान पाउँछन्ः सचिव उपाध्याय

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम धमाधम भइरहेको छ भने काठमाडौंमा पाइप लाइन बिछ्याउने कार्यले पनि तीव्रता लिएको छ । र, आगामी २०७४ सालको दसैंसम्म आयोजनाको काम सम्पन्न भएर काठमाडौंबासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने सम्भावना बढेर गएको छ । पछिल्लो चरणमा सो आयोजनाको काम जुन गतिका साथ भइरहेको छ, त्यसले त्यस्तो अपेक्षा बढाएको हो ।

पचासको दशकदेखि नै चर्चामा रहेको मेलम्चीको पानी काठमाडौं आउने कुरा केही वर्षअघिसम्म ‘आकाशको फल’ जस्तै मानिन्थ्यो । किनकि, आयोजनाको काम कछुवाको गतिमा भइरहेको हुँदा काठमाडौंबासीका लागि मेलम्चीको पानी ‘सपना’ जस्तै थियो । तर, अब भने सपना होइन, विपनामा नै परिणत हुने भएको छ ।

मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखी खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले अहिले दिनहुँ आयोजनाको काम र प्रगतिबारे हेरिरहेका छन् । सुरुङ निर्माण, पानी प्रशोधन केन्द्र, पाइप लाइन विस्तारको काम कुन गतिमा भइरहेको छ ? दैनिकजसो नै सचिव उपाध्यायले निगरानी गरिरहेका छन् । बहुचर्चित र त्यत्तिकै प्रतिक्षित पनि मेलम्ची खानेपानी आयोजनाको काम अहिले कसरी अगाडि बढिरहेको छ ? यही विषयमा सचिव उपाध्यायसँग गरिएको संक्षिप्त संवाद प्रस्तुत गरिएको छ ।

–मेलम्ची खानेपानी आयोजनाको काम कतिसम्म सम्पन्न भयो ?

मेलम्ची खानेपानी आयोजनाका दुई पाटा छन्, त्यसका काम अहिले धमाधम भइरहेको छ । एउटा, सुरुङ निर्माण र पानी प्रशोधन केन्द्र हो भने अर्को ढल व्यवस्थापन र खानेपानीको पाइप बिछ्याउने काम हो ।

मेलम्चीदेखि काठमाडौंसम्म २७ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिले २० किलोमिटरभन्दा बढी नै कार्य सम्पन्न भइसकेको छ । काठमाडौंमा पाइप लाइन बिछ्याउने कार्य चाहिँ ७५ प्रतिशत सकिइसक्यो । पहिलो चरणमा जति काम गर्ने भन्ने लक्ष्य थियो, त्यो पूरा भएको छ ।

–सुरुङ निर्माणको कार्य कहिलेसम्म टुंगिएला ?

हामीले आगामी २०७४ को दसैंअगाडि नै काठमाडौंमा पानी ल्याउने योजनाअनुरुप काम गरिरहेका छौं । हामीले उपत्यकाभित्र पानीको पाइप बिछ्याउने काम अहिले धमाधम जारी राखेका छौं र आगामी भदौसम्म खानेपानीको पाइप बिछ्याइसक्छौं ।

–त्यसो भए आगामी दसैंसम्म काठमाडौंबासीले मेलम्चीको पानी खान पाउँछन््, हैन त ?

हो । हामी आगामी दसैंसम्म काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउन आतुर छौं ।

–मेलम्चीको पानी आउँदा काठमाडौंका कति जनता लाभान्वित हुने आँकलन गर्नुभएको छ ?

हामीले पहिलो चरणमा चक्रपथभित्र र केही ठाउँमा चाहिँ चक्रपथ बाहिर खानेपानी वितरण गर्छौं । हामीले ती ठाउँहरुमा केही नयाँ पाइपबाट र केही चाहिँ पुराना पाइपबाट पानी वितरण गर्नेछौं । खासगरी, कतै पुराना पाइप बिग्रिएका छन् वा फुटेका छन् भने त्यहाँ नयाँ पाइप बिछ्याउँछौं । पुरानै पाइप काम लाग्ने छ भने त्यहाँ नयाँ पाइप बिछ्याउँदैनौं, पुरानै पाइपबाट पानी वितरण हुन्छ ।

–पहिलो चरणमा चक्रपथभित्र र केही मात्रै चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने कुरा गर्नुभयो । पहिलो चरणमा कति जनताले पानी पिउन पाउँछन् त ?

अहिले यति नै भनेर अनुमान गर्न त सकिएको छैन । यद्यपि, काठमाडौंभित्र करिब ४० लाखभन्दा बढी नै जनसंख्या छन् । तर, अहिले काठमाडौंमा जति घरहरुमा धारा जडान गरिएका छन्, ती सबै धाराहरुमा दैनिक रुपमा पानी आउँछ । हरेक घरको धारामा दैनिक ४÷५ घन्टा पानी आउने हामीले अनुमान गरेका छौं ।

–मेलम्चीको पानी आएपछि काठमाडौं उपत्यकामा दैनिक कति लिटर पानी वितरण हुनेछ ?

मेलम्ची आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड आउँछ र अहिले काठमाडौंमा १० करोड पानी वितरण भइरहेको छ । यसरी, सुख्खा मौसममा दैनिक २७ करोड लिटर पानी वितरण गर्नेछौं । तर, वर्षाद्का बेलामा भने त त्यसको दोब्बर नै पानी आउँछ ।

–चक्रपथ बाहिर पनि धेरै नै बस्ती विस्तार भइसकेको छ । चक्रपथ बाहिर चाहिँ कहिलेसम्म मेलम्चीको पानी पु¥याउनु हुन्छ ?

मेलम्ची आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा खानेपानी विस्तार र वितरण तेस्रो चरणसम्म जानेछ । अहिले त पहिलो चरणको काम मात्र भइरहेको छ । त्यसपछि हामी दोस्रो चरणमा चक्रपथ बाहिरका बस्तीहरुमा खानेपानी विस्तार र वितरण गर्नेछौं । तेस्रो चरणमा भने चक्रपथभन्दा धेरै परसम्म पनि पानी वितरण हुनेछ । तर, दोस्रो चरणको काम भने सन् २०१८ बाट मात्र सुरु हुनेछ ।

16 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार