Presidential

हालै दिवंगत भएका बरिष्ठ पत्रकार मणिराज शर्माको अन्तिम अन्तर्वार्ता: पुष्पलाल र मैले ‘मीत’ लगाएका थियौं

हालै दिवंगत भएका बरिष्ठ पत्रकार मणिराज शर्माको अन्तिम अन्तर्वार्ता: पुष्पलाल र मैले ‘मीत’ लगाएका थियौं

बरिष्ठ पत्रकार मणिराज उपाध्यायको अन्तिम अन्तर्वार्ता

(बरिष्ठ पत्रकार मणिराज उपाध्यायले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसाग मीत लगाउनुभएको थियो भन्ने धेरैलाई थाहा थिएन । नेकपा (एमाले) को मुखपत्र ‘नवयुग’ ले पुष्पलाल स्मृति अंकका लागि गत असारको अन्तिम साता बरिष्ठ पत्रकार उपाध्यायसँग त्यही विषयमा रहेर कुराकानी गरेको थियो । साउन अंकमा प्रकाशित त्यही नै सम्भवत: उहाँको अन्तिम अन्तर्वार्ता हो । २०७३ पुस २७ गते दिवंगत हुुनुभएका उपाध्यायको उक्त अन्तर्वार्तालाई साभार गरेर यहाँ राखिएको छ ।) 

० तपाईंले पुष्पलालसँग मीत लगाउनुभएको थियो रे, हो ?

हो, हामीले मीत लगाएका हौं । हामीबीच नयाँसडक पिपलबोटनिर दिनहुँ भेट हुने गथ्र्यो । हामी दुईबीच नजिकको सम्बन्ध थियो, पारिवारिक खालकै । एक दिन पुष्पलालले ‘मीत लगाऔं’ भन्नुभयो । अनि, मैले भनें– ‘तपाईं र मेरो बीचमा यति राम्रो सम्बन्ध छ कि मीत लगाउन कुनै कार्यक्रमको आवश्यक नै पर्दैन, ल आजैदेखि हामीले मीत लगायौं ।’ उहाँले पनि बढो उत्साहका साथ ‘वास्तवमा हो, हामीलाई कुनै छुट्टै कार्यक्रमको आवश्यकता नै पदैन’ भन्नुभयो । र, त्यसदिन हामी मीत भयौं ।

० तपाईंहरूले किन मीत लगाउनुभएको थियो ?

पुष्पलालसँग मेरो भावना नै जोडिएको थियो । उहाँप्रति म र मप्रति उहाँ भावनात्मक रूपमै गाँसिएका र अति राम्रो सम्बन्ध भएका कारण मीत लगाउने काम भयो । किनकि, त्यतिखेर मीत लगाउने कुरालाई अलिक गाढा सम्बन्धका रूपमा लिने गरिन्थ्यो । उहाँलाई म अति शिष्ट, सभ्य र बौद्धिक व्यक्तित्वका रूपमा लिन्थें भने मलाई पनि उहाँले अति श्रद्धाका रूपमा हेर्नु्हुन्थ्यो । र, मैले प्रकाशन गर्ने गरेको ‘दैनिक समाज’को उहाँ फ्यान नै हुनुहुन्थ्यो । यस्तै अनेक कारणले हामी नजिक थियौं ।

० कुन सन्दर्भले मीत लगाउन प्रेरित गरेको थियो ?

– मित्रताको भावनाले नै प्रेरित गरेको थियो ।

० पुष्पलालले ‘दैनिक समाज’मा पनि लेख्नुहुन्थ्यो ?

त्यतिखेर लेख्ने स्थिति नै थिएन ।

० उहाँसँग पहिलो भेट कहाँ भएको थियो ?

– पुष्पलालको घर नयाँसडकनजिक प्याफलमा थियो । मेरो नयाँसडकमै थियो । र, नयाँसडकमा निरन्तर भेट हुन्थ्यो ।

० पुष्पलालसँग भेट हुँदाका केही सम्झना भन्न सक्नुहुन्छ ?

उहाँको राजनीति र आइडिया फलो गर्ने ठाउँ नभएपछि बाहिर जानुभयो । पत्रपत्रिकाले उहाँका विचार लेख्न सक्दैनथे । जब उहाँ प्रवासतिर लाग्नुभयो, त्यसपछि धेरै भेट हुन छाड्यो । वर्षमा एकपटक म बनारस जाने गर्थें, त्यतिखेर एक महिना बस्दा प्रत्येक आइतबार भेट हुने गथ्र्यो । पहिले उहाँको ध्यान कसरी राणाशासन अन्त्य गर्न सकिन्छ भन्ने कुरामा नै केन्द्रित हुने गथ्र्यो । निरङ्कुशताविरुद्ध उहाँ सधैं आन्दोलित हुने र आन्दोलनको शक्ति विकास गर्ने कुरामा नै जहिले पनि केन्द्रित हुनुभएको म पाउँथें ।

० बनारसमा कसरी भेट हुन्थ्यो ?

– प्रत्येक वर्ष हामी परिवार नै बनारस जाने गथ्र्यौं । त्यतिखेर प्रत्येक आइतबार जगदम्बा धर्मशालामा कार्यक्रम हुन्थ्यो, त्यही भेट हुन्थ्यो । पुष्पलालसँग मेरो सबै परिवारको त्यही परिचय भएको थियो । हाम्रो एक खालको घरायसी खालकै सम्बन्ध थियो ।

० पुष्पलालको राजनीतिक विचारलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– उहाँको जुन राजनीतिक विचार थियो, त्यो स्पष्ट थियो । तर,  उहाँले आफूले जे गर्न खोज्नुभएको थियो, त्यो गर्नै पाउनुभएन । तर, उहाँका बारेमा खोजी गर्न अझै धेरै बाँकी नै छ । जति खोजे गरे पनि पुग्दैन ।

० घरायसीजस्तो सबन्ध भएका तपाईंहरू दुईबीच बनारसमा भेट हुँदा के कुरा हुन्थ्यो ?

– राणासाशनविरुद्ध कसरी जाने ? नेपाली जनतालाई कसरी सगठित गर्ने ? प्रवासबाट कसरी निरङ्कुशताविरुद्ध अन्तर्राष्ट्रिय समुदायलाई एकजुट बनाउने ? यस्तै विषयमा कुराकानी हुन्थ्यो ।

० पुष्पलालले राजनीतिज्ञका रूपमा तपाईं पत्रकारसँग कुरा गर्दा पत्रकारितालाई कसरी लिनुहुन्थ्यो ?

– पुष्पलाल र मेरो असाध्यै राम्रो सम्बन्ध थियो । उहाँले पत्रिकालाई कहिल्यै पनि हतियार बनाउन चाहनुभएन । सबैभन्दा महानता उहाँको त्यहीँ थियो ।

mani-2० सम्बन्ध आफ्नो ठाउँमा रह्यो, तर प्रयोग गर्न चाहनुभएन ?

– चाहनुभएन । यदि यसो गरौं भनेको भए गरिन्थ्यो पनि होला, तर त्यतिखेरको अप्ठ्यारो स्थितिलाई ध्यानमा राखेर पनि पुष्पलालले त्यस्तो आकाङ्क्षाको सङ्केत पनि गर्नुभएन ।

० तपाईंले बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी, टङ्कप्रसाद आचार्यजस्ता नेताहरूसँग सङ्गत गर्नुभयो, उहाँहरूका बीचमा पुष्पलाल कस्तो हुनुहन्थ्यो ?

– उहाँहरूका बीचमा पुष्पलाल धेरै खुल्न चाहनुभएको थिएन । जब उहाँ पछिल्लोपटक फर्कन नमिल्ने किसिमले प्रवासतिर जानुभयो, त्यसपछि खुल्नुभयो ।

० पुष्पलाल नफर्किने गरी प्रवासतिर लाग्नुभएको भन्नुको अर्थ ‘राणाशासन नफाली फर्किन्नँ’ भनेर हो ?

– कुरा त्यही नै थियो । जबसम्म निरङ्कुशताको अन्त्य हँुदैन, तबसम्म प्रवासबाटै निरङ्कुशताविरुद्ध भूमिका खेल्ने भनेरै पुष्पलाल बाहिरिनुभएको थियो । अन्तत: ००७ सालमा राणाशासन पनि अन्त्य भयो ।

० कलकत्तामा पुष्पलालले पार्टी खोल्नुभयो । नेपालमा राणा शासनको पनि अन्त्य भएपछि उहाँ ००८ सालमा नेपाल फर्किनुभयो । त्यतिखेर यहाँसँग भेट भयो होला नि  !

– कैयौंपटक भेट भयो, तर उहाँको र मेरो बीचमा राजनीतिकभन्दा बढी पारिवारिक रूपमा मात्रै कुरा हुन्थ्यो ।

० पुष्पलालले केही सल्लाह–सुझाव लिनुहुन्थ्यो होला नि !

– पारिवारिक रूपमा मात्र कुरा भएपछि राजनीतिक विषयले प्रवेश नै पाउने गरेन ।

० अहिले आफ्नो मीतलाई कसरी सम्झिनुहुन्छ त ?

– उहाँलाई श्रद्धा र इज्जतले हेर्छु ।

० उहाँले देशका लागि के गर्न खोज्नुभएको थियो भन्ने यहाँलाई लाग्छ ?

– देशका लागि उहाँले धेरै गर्न खोज्नुभएको थियो । तर, गर्न खोजेको उहाँले पूरा गर्न पाउनुभएन । उहाँले जे गर्न खोज्नुभएको, त्यो बाहिरै आउँदैनथ्यो । किनकि, उहाँहरू बस्ने ठाउँ बनारसका प्रत्येक आश्रयस्थल सीआईडीले भरिएका हुन्थे । कहीँ केही कुरा बाहिर ल्याउने स्थिति नै थिएन ।

० बनारसमा पुष्पलालसँग कति वर्षसम्म भेट भयो ?

– धेरै कुरा बिर्सें, निकै अगाडिको कुरा पर्‍यो ।

० काठमाडौंमा बसाइ हुँदा उहाँसँग कति–कति समयमा भेट हुने गथ्र्यो नि ?

– काठमाडांमा त निकै नै भयो । प्राय: दिनहुँजसो नयाँ सडकको पिपलबोट नजिक भेट हुन्थ्यो । त्यहीनजिक प्याफलमा उहाँको बसाइ थियो ।

० पुष्पलालले बनाउनुभएएको कम्युनिस्ट पार्टी निकै फैलियो । निर्वाचनबाटै ठूलो शक्तिका रूपमा स्थापित भएको छ । धेरै परिवर्तन पनि भएका छन् । आज फर्केर हेर्दा यहाँले सम्झिँदा पुष्पलालको परिवर्तन गर्न खोज्ने विचारले काम गरेको भन्ने लाग्छ ?

– अहिलेको परिस्थिति हेर्ने हो भने राजनीतिक स्थिति नै राम्रो बन्न सकेन । पुष्पलालजस्ता नेताहरूले सोचेजस्तो भइदिएको भए देशमा यस्तो अन्योलको स्थिति बन्ने थिएन ।

० २००७ सालपछि नेपाली काङ्ग्रेसको वर्चस्व समाजमा स्थापित गर्न खोज्दा पुष्पलालले टक्कर दिन खोज्नुभएको हो नि ?

– टक्कर दिने पोलिटिक्स उहाँले नै गर्नुभयो । र, देश हल्लाएकै हो नि !

० चीनमा जस्तै क्रान्ति गर्न खोजेका नेता, हल्लाए मात्रै ?

– नेपालीको स्वभाव नै यस्तै छ भनौं भने आफू पनि त्यसैमा परिन्छ । तर, वास्तवमा जे हुनुपर्ने थियो, त्यो भएकै छैन । त्यसैले, देश सधैं पछाडि परेको छ र अन्योल नै अन्योलमा देश रुमलिएको छ ।

० पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर जुन विचार सिद्धान्त दिनुभयो, आज त्यो विचार र सिद्धान्त बोकेका कम्युनिस्ट पार्टीहरू यहाँसम्म आएका छन् नि, होइन ?

– पुष्पलाल जुन विचार/सिद्धान्त छोडेर चाँडै नै जानुभयो, आज त्यो विचार बोकेका खास कम्युनिस्ट पार्टीहरू कहाँ छन् र ? तपाईंहरूले देख्दादेख्दै पनि नदेखेजस्तो त गर्नु भएन नि !

० नेकपा (एमाले)ले मुखपत्रका रूपमा ‘नवयुग’ मासिक निकाल्ने गरेको छ । यसपटक पुष्पलाल विशेषाङ्कका लागि उहाँको अन्तरंग मित्र भएकाले कुरा गरेका हौं । अस्वस्थताका बीच पनि समय दिएर सम्झेसम्मका कुरा बताइदिनुभएकोमा आभारी छौं ।

– पुष्पलालबारे जति खोजी गरे पनि कमै हुन्छ ।

– सूर्य थापा, विष्णु रिजाल, टङ्क पन्त
नवयुग, साउन २०७३

11 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार