Presidential

असुरक्षित वैदेशिक रोजगार : ११ वर्षमा ७४६९ युवाले गुमाए ज्यान


असुरक्षित वैदेशिक रोजगार : ११ वर्षमा ७४६९ युवाले गुमाए ज्यान

दक्षिण कोरियामा धेरै आत्महत्या

काठमाडौं,४ साउन। वैदेशिक रोजगारीमा गएका युवाहरूकै रेमिट्यान्सले देशको अर्थतन्त्र ‘सुरक्षित’ छ । तर, ती युवा भने असुरक्षित छन् । वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र अंगभंगको ग्राफ डरलाग्दो छ । पछिल्ला ११ वर्षमा सात हजार चार सय ६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । तैपनि सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गरेको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विदेशमा मृत्यु हुने नेपाली कामदारको संख्या हरेक वर्ष वृद्धि भएको छ । आव ०६५/६६ देखि ०७५/७६ को वैशाखसम्म सात हजार चार सय ६९ जनाले ज्यान गुमाएका छन् । १० वर्षमा मृतकको संख्या आठ सय प्रतिशतले बढेको छ । श्रम प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष ०६५/६६ देखि आर्थिक वर्ष ०७५/७६ सम्म सात हजार चार सय ६९ जनाले ज्यान गुमाएका छन् । यो श्रम स्वीकृति लिएर जानेहरूमध्येको तथ्यांक मात्रै हो । अनौपचारिक माध्यमबाट विभिन्न देशमा रोजगारीमा पुगेकाहरूमध्ये मृत्यु हुनेको संख्या पनि ठूलो छ ।

यसरी बढ्यो ग्राफ 
पछिल्ला पाँच वर्षयता हरेक दिनजसो औसत दुईदेखि तीन नेपाली कामदारले विदेशमा ज्यान गुमाउने गरेका छन् । यो संख्या बढ्दो दरमा छ । ०६५/६६ मा ९० जनाको मृत्यु भएकोमा ०७०/७१ मा आठ सय ८८ पुगेको थियो । त्यस्तै, ०७४/७५ मा आठ सय २१ ले ज्यान गुमाएकोमा ०७५/७६ को वैशाखसम्ममा ६ सय २५ को मृत्यु भएको छ । यस अवधिमा सबैभन्दा धेरै ०७१/७२ मा एक हजार ६ जनाले ज्यान गुमाएका थिए । तर, वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सरकारले कुनै पहल नगरेको आयोगले जनाएको छ । अनौपचारिक रूपमा जानेकोसमेत ज्यान जाने भएकाले संख्या अझै बढी छ । यसरी विदेशमा मृत्यु हुनेमध्ये कतिपयको कारण नै थाहा हुने गरेको छैन । आयोगले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन निर्देशन दिएको छ ।

कार्यान्वयन भएन सर्वाेच्चको आदेश 
सर्वाेच्च अदालतले गन्तव्य मुलुकमा मृत्यु हुनेहरूको कारण पत्ता लगाउन अनिवार्य रूपमा पोस्टमार्टम गराउनेलगायत पाँच उपाय अपनाउन ३० कात्तिक ०७४ मा निर्देशनात्मक आदेश दिएको थियो । तर, सरकारले पालना गरेको छैन । सो आदेश कार्यान्वयन गर्न आफूहरूले सरकारलाई निर्देशन दिएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले बताए ।

सरकारी तथ्यांकले वैदेशिक रोजगारका गन्तव्यमध्ये मलेसिया र साउदी अरेबिया सबैभन्दा असुरक्षित देखाएको छ । पछिल्ला ११ वर्षमा मलेसियामा दुई हजार ६ सय ७४ नेपाली कामदारले ज्यान गुमाएका छन्, जसमा ३६ महिला छन् । त्यस्तै, यही अवधिमा साउदी अरेबिया पुगेका दुई हजार ३९ र कतार पुगेका एक हजार चार सय ५९ को मृत्यु भएको छ ।
कतारमा मृत्यु हुनेमध्ये सबैभन्दा धेरैको ‘कार्डिक अरेस्ट’ (अचानक मुटुको ढुकढुकी बन्द) हुने गरेको छ ।

एक हजार चार सय ५९ मध्ये पाँच सय २२ जनाको कार्डिक अरेस्टका कारण मृत्यु भएको छ । त्यस्तै, दुई सय २१ जनाको प्राकृतिक तथा एक सय ६८ जनाको अन्य कारणले मृत्यु भएको छ । सुतेकै अवस्थामा मृत भेटिएपछि उनीहरूलाई प्राकृतिक मृत्यु र अन्य कारणमा राखिएको छ । एक सय ५१ जनाको कार्यस्थलमा दुर्घटना भएर मृत्यु भएको छ । कतिपयले मेसिनमा परेर त कतिपयले अग्लो भवनबाट झरेर ज्यान गुमाएका छन् । एक सय १६ जनाको सडक दुर्घटनामा तथा एक सय १३ जनाको हृदयाघातका कारण मृत्यु भएको छ । २२ जनाको हत्या भएको छ भने २२ जनाले अन्य बिरामी भएर ज्यान गुमाएका छन् ।

कुवेतमा हृदयाघात धेरै 
कुवेतमा नेपाली कामदारको मृत्युको प्रमुख कारण हृदयाघात देखिएको छ । दुई सय ४१ मध्ये ८७ जनाको हृदयाघातबाट ज्यान गएको छ । ३५ जनाको सडक दुर्घटना तथा २२ जनाको ‘प्राकृतिक मृत्यु’ भएको छ । २२ जनाले आत्महत्या गरेका छन् भने १० जनाको कार्यस्थलमा भएको दुर्घटनाका कारण मृत्यु भएको छ ।

दक्षिण कोरियामा धेरै आत्महत्या 
वैदेशिक रोजगारीमध्ये सबैभन्दा राम्रो तलब दक्षिण कोरिया जानेहरूको छ । तर, त्यहाँ जाने नेपालीमा डिप्रेसन एक प्रमुख समस्या देखिने गरेको छ । श्रम प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार दक्षिण कोरियामा नेपालीको मृत्युको प्रमुख कारण आत्महत्या हो । मृत्यु भएका एक सय २१ मध्ये ३६ जनाले आत्महत्या गरेका छन् । ११ जनाको कार्यस्थलमा र १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । २३ जनाको अन्य कारणले मृत्यु भएको जनाइएको छ ।

नयाँपत्रिकाबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार