Presidential

आजाद बीपीलाई भेट्न चाहनु हुन्थ्यो

हरिहर विरही

आजाद बीपीलाई भेट्न चाहनु हुन्थ्यो

त्यसबेला उहाँ ‘आजाद’ भइसक्नुभएको थिएन ।

एकैछिनको सामान्य कुराकानीपछि उहाँले सोध्नुभयो–‘उच्च कुलको सङ्केत दिने आफ्नो थर (आचार्य) को सट्टा किन ‘विरही’ राख्नुभयो ? कतै लभ टुटेर अथवा कसैबाट धोका पाएर त हैन ?’

‘हैन † मलाई जातिप्रथा मन पर्दैन । परम्परागत थरले जातिप्रथा र सामाजिक असमानता बढाउने जस्तो लागेर यसलाई हटाएको हुँ ।’ मैले उहाँलाई बताएँ ।

कुरा, ०२६ सालको हो । जनकपुरमा अध्ययनरत म विद्यालयमा लामै बिदा परेकोले केही दिनको लागि घर (खुर्काेट, सिन्धुली) गएको थिएँ । ऋषिराज देवकोटासँग यो मेरो दोस्रो पल्टको भेट थियो । त्यहाँ उहाँको अग्रसरतामा खोलिएको पुस्तकालयमा बसेर हामीले धेरैबेर कुरा ग¥याँै । त्यसबेला साथमा अभिन्न सहपाठी ओखलढुङ्गाका केशव कोइराला (हाल सहिद) पनि थिए । देवकोटासँग त्यसअघि, केही महिना पहिले, आउँदा पनि भेट भएको थियो । त्यसबेला सामान्य परिचय जस्तो मात्र भएको थियो । तर, पछिल्लो भेटमा नै उहाँ अरूहरूभन्दा केही भिन्न सोचको तथा विकासप्रेमी र प्रगतिशील रहेको आभास पाएको थिएँ । उहाँ गाउँको कुनै बैठकमा भाग लिएर आफ्नो घर फर्किने क्रममा थकाइ मार्न ठाँटीको चिया पसलमा बेञ्चमा बस्नुभयो । म त्यहीँ थिएँ । उहाँ बैठकका केही सहभागीहरूसँग आक्रोशित मुद्रामा गफ गर्दै दक्षिणतिरबाट आउनुभएको थियो । साथमा तत्कालीन प्रधानपञ्च बैकुण्ठ आचार्यसमेत थिए र उहाँहरू सायद गाउँ पञ्चायतको बैठकमा भाग लिएर फर्किरहनुभएको थियो । देवकोटा पनि गाउँ पञ्चायतको सदस्य हुनुहुन्थ्यो कि ? उनीहरूबीच मतभेद भएका विषय र प्रसङ्गको सम्झना अहिले छैन, तर केही घुमिल याद भने छः देवकोटा चिया पसल र चौतारीमा बसेका स्थानीय व्यक्तिहरूलाई आफूले बैठकमा राखेका प्रस्तावबारे जानकारी दिँदै विद्रोहात्मक शैलीमा भनिरहनुभएको थियो–‘यस्तै हो भने अबदेखि म कुनै पनि बैठकमा जान्न, बरु राजीनामा दिन्छु । मैले राखेको एउटा पनि कुरा पास हुन नदिने ? निर्णय नै नगर्ने ? गम्भीर कुरालाई पनि गफमा उडाई दिने ?’ उहाँको कुरामा न कसैले प्रतिवाद ग¥यो, न कसैले समर्थन । हिँड्ने बेलामा उहाँको आँखा ममाथि प¥यो । गाउँको लागि म ‘नयाँ’ थिएँ । नयाँ मानिस देख्नासाथ उहाँ पनि परिचयको लागि अघि सर्नुभयो । ‘साहिला जिम्बुवालको छोरो– जनकपुरमा पढ्ने’ छेउमै रहेको एकजनाले मेरो परिचय दिए । घर फर्किएपछि बेलुका मैले देवकोटाको बारेमा जिज्ञासा राख्दा परिवारका अग्रज र गाउँका प्रभावशाली ठानिनेहरूले बताए– ‘ऊ मास्टर हो । यहीका हुन् । काठमाडाँैमा पढेर अब यहा“ पढाउन आएको हो । गरिब छ । मिहिनेती छ । खुब काम गर्छ । कुरा राम्रै गर्छ । यहाँ आएको धेरै भएको पनि छैन । भर्खर बिहा गरेको छ, नौलो पाराले । दुलही पनि त्यही स्कुलमा पढ्न भर्ना गरेको छ । कम्निष्ट हो । कांग्रेसको विरोध गर्छ । कांग्रेस जतिलाई मास्नु पर्छ भन्छ । नेपाललाई चीनजस्तो बनाउनु पर्छ भन्छ । खाली माओ र चाओको नाम लिन्छ । चीनका भोटे नेताहरूलाई भगवान्झै“ मान्छ, हाम्रा भगवान् र परम्परालाई चाहिँ मास्न खोज्छ । यसले स्कुलमा विद्याथीहरू भाँड्छ कि भन्ने शङ्का लागिसक्यो । दुःखचाहिँ असाध्य गर्छ । अनौठो छ मान्छे । नौलो–नौलो कुरा गर्छ । तर, हामीलाई मन पर्दैन ।’

अर्काेपल्ट, केशवलाई पनि साथ लिएर खुर्काेट जाँदा मलाई राजनीतिको नशा लागिसकेको थियो । म जनकपुरको विद्यार्थी–राजनीतिमा हाम्फालिसकेको थिएँ, स्वतन्त्रता, समानता र भ्रातृत्वको भावना तथा आन्दोलनको आगो छातीमा बोकेर । खुर्काेट, भिमसेनस्थाननजिकको त्यो पुस्तकालयमा गफको क्रममा राजनीतिक प्रसङ्ग उठ्दा ऋषि देवकोटाले पञ्चायत व्यवस्था जनविरोधी व्यवस्था हो र यसलाई फाल्नुपर्ने विचार व्यक्त गर्दै भन्नुभयो–‘म कुनै पार्टीमा लागेको चाहिँ छैन । कुन सिद्धान्तले जनताको भलो गर्छ, म त्यसको अध्ययन गर्नेछु । बरु तपाईहरू नै भन्नुस्– कुन पार्टी र कुन सिद्धान्त ठिक हो ?’ उहाँले यसो भने पनि भित्ताभरि टाँसिएका ‘चीन सचित्र’ का पोष्टरजस्ता रङ्गिन र आकर्षक पानाहरू, माओका रेडबुड र किम इल सुङका पुस्तिकाहरू, माक्र्स–एंगेल्सका सङ्कलित रचना, चीनको इतिहास, चिनियाँ कथा र नाटकहरूले उहाँका आस्था र आकर्षण छर्लङ्ग पारेको थियो । उहाँ कम्युनिष्ट हो भन्ने कुरामा कसैलाई पनि द्विविधा थिएन । गाउँमा त्यसबेला सबैभन्दा शिक्षित र राजनीतिक सोच भएको व्यक्ति उहाँ नै भएकाले भोलिपल्ट पनि त्यो पुस्तकालयमा गयाँै । भेट्नासाथ खुसी हँुदै देवकोटाले भन्नुभयो–‘तपाईको विषयमा मैले बुझेँ । मानिसहरू तपाईलाई जिम्वुवालका अरू सन्तानभन्दा भिन्नै खाले भन्दा रहेछन् । जिम्मुवालमध्ये पनि तपाईको बुबा र आमा त असल नै मानिनु हुन्छ । तर खैर, मलाई खुसी लाग्यो । आजकाल युवाहरूको सोचाइ पुराना मानिसको भन्दा भिन्न भइहाल्छ नि । पुरानै लिकमा अब को हिँड्छ ?’ चिनियाँ क्रान्तिका महान् नेता चु तेह पनि जमिन्दारकै सन्तान थिए भन्ने तपार्इंले पढ्नुभएकै होला । नया“ जमानाले हामीलाई पनि छोडिहाल्छ नि ।’ कुरा राजनीतिक सिद्धान्ततिर तानियो । साथी केशवले पञ्चायती व्यवस्था राजाको तानाशाही हो, तर चीनको कम्युनिष्ट शासन योभन्दा कठोर, दमनात्मक, दानवीय र स्वेच्छाचारी हुन्छ भन्दै पूर्ण स्वतन्त्रता भएको प्रजातन्त्रको पक्षमा जोडदार वकालत गरे । देवकोटाको तर्क थियो–‘भोको मान्छेलाई फोस्रो स्वतन्त्रता । पहिले धनी र गरिबबीचको भेदभाव हटाउनुपर्छ । शोषण हटाउनुपर्छ । पहिले समानता, अनि स्वतन्त्रता हुनुपर्छ ।’

यस्तो बहस तत्काल कुनै निष्कर्षमा पुग्न सम्भव नै थिएन । अन्तमा हामीले दुई तीन दिनका लागि, पढेर फर्काउने गरी, केही पुस्तक माग्याँ । उहाँले पुस्तकालयमा भएका उत्कृष्ट पुस्तकमध्येको चीनको इतिहास, माओ त्से तुङ्को जीवनी र एउटा साहित्यिक कृति (सायद ‘रातो लालटिन’) नामक चिनियाँ नाटक दिनुभयो । त्यस्ता पुस्तक पढ्ने वा पढिदिने मानिस गाउँमा फेला पार्न गाह्रो थियो । वास्तवमा हामीले ती पुस्तक आफू पढ्नका लागि भन्दा उहाँको आत्मसन्तुष्टि र उहाँसँग निकटता बढाउनको लागि लिएका थियाँै । हामीले त्यस्तो पुस्तकप्रति रुचि लिएकोमा उहाँलाई ठूलो प्रशन्नता भइरहेको र उहाँले महत्वपूर्ण उपलब्धि ठान्नुभएको भाव प्रस्ट देखिन्थ्यो । उहाँले भन्नुभयो–‘मैले पनि ल्याएको मात्र हो । बढो मुस्किलले ल्याएँ, तर पढिदिने मानिस छैनन् । आफूले पनि सबै पढिसकेको छैन । एक पल्ट पढेर मात्र बुझिँदैन पनि । पढ्दै, छलफल गर्दै गर्नुपर्छ । तपाईहरूले पढेपछि मलाई पनि बुझाउनु होला ।’ हिँड्ने बेलामा उहाँले जोड दिएर भन्नुभएको थियो– ‘नच्यातिओस् है, चाँडै फर्काउनु होला ।’

तर, अफसोत, ती पुस्तक न पढियो, न त फर्काउन नै सकियो †††

कुरा के भयो भने, त्यहाँ कुनै नयाँ उत्पात गर्ने रहर वा जोस केही दिन पहिले नै हामीमा जागेको थियो । तर, त्यस्तो परिवेशमा नौलो काम के हुनसक्थ्यो ? अन्ततः हामीले राजा (महेन्द्र) र पञ्चायती शासनविरुद्ध पर्चा नै लेख्ने, रामेछापमा छर्ने र भागेर सिन्धुली, खुर्काेट आउने कार्यक्रम बनायौँ । त्यसबेला म १७ वर्षको थिएँ भने केशव मभन्दा दुईवर्ष जेठा थिए । कानुनको ज्ञान खासै थिएन । कसैसँग सल्लाह पनि गरेका थिएनाँै । कुनै जिल्लामा कुनै काम गरेर भागेकालाई प्रहरीले अर्काे जिल्लामा गएर पक्राउ गर्न सक्तैन भन्ने सोचेर हामीले यस्तो रणनीति बनाएका थियौँ । रामेछाप जाने अघिल्लो दिन हामीले एकपल्ट फेरि हामीले देवकोटालाई भेट्यौँ र त्यहा सम्पर्क गर्ने उपयुक्त मानिस कोही छन् कि भनी सोध्याँै । उहाँले रामप्रसाद गजुरेलको नाम लिनुभयो, उनी खुर्काट निवासी तर रामेछापका शिक्षक थिए । मैले योजना चाहिँ देवकोटालाई भनिनँ । उहाँको जिज्ञासामा यति भनेँ–‘पर्सी त्यहाँ हाट रहेछ, पहाडको हाट हेर्ने विचारले जान लागेको ।’ उहाँले पहिले थाहा भएको भए आफू पनि गइदिने बताउँदै भन्नुभयो–‘तर स्कुलले गर्दा त्यसै हिँड्न मिल्दैन ।’ हामी आफ्नो कार्यक्रम अति गोप्य ढंगले सम्पन्न गर्न चाहन्थ्यौं । उहाँको सद्भाव र आत्मियता देखेर हामी झस्कियाँै । उहाँसँगै गएका हामी सामान्य विद्यार्थी नभएर कांग्रेस समर्थक राजनीतिक कार्यकर्ता भएको, राजनीतिक उद्देश्यले यहाँ आएको तथा राजा विरुद्ध पर्चा छरेको समेत देवकोटाले थाहा पाउने भएकाले मैले भनेँ–‘पर्दैन, तपाईहरूले दुःख गर्नु पर्दैन । कुनै समस्या आइ परेछ भने बरु रामप्रसादजीसँग सम्पर्क गराला ।’ तर, उहाँले हाम्रो आन्तरिक आशय बुझ्नु भएन र अझ थप्नुभयो,–‘ठिक छ, हाट पर्सी बिहिबार हो भने म समय निकाल्न सक्छु ।’ उहाँले ठिकै भन्नुभएको थियो, हाट हेर्ने अघिल्लै दिन जानुपर्ने आवश्यकता थिएन । जम्मा २÷३ घण्टाको त बाटो हो । तर, हामी अघिल्लै दिन यस कारणले जान चाहन्थ्यौं कि त्यहाँका सरकारी कार्यालय, महत्वपूर्ण ठाउँहरू आवश्यक परेमा भाग्न वा लुक्न सजिलो हुने बाटो पहिले नै हेरेर हाटका दिन बिहान झिसमिसेमा नै पर्चा छर्न सकियोस् ता कि कसैले नदेखोस् । यो कुरा उहाँलाई भन्नु त भएन । अन्ततः उहाँलाई रोक्न अरू उपाय नदेखेपछि, उहाँलाई झुक्याउने ध्येयले मैले झुट बोलेँ–‘हामी नजान पनि सक्छौं जाने भए भोलि भनौंला ।’ तर, हामी योजना अनुसार नै बिहानै रामेछापको उकालो लाग्याँ, काम ग¥यौं र दौडादौड गरेर ओराली झरी खुर्काेटमा आयौँ । तर अचम्म, हामी आइपुगेको दुई घण्टापछि नै दुई जना प्रहरी मेरो घरमा आइपुगे । हामीलाई पक्रेर रामेछाप लैजाने योजना रहेछ । तर, हामी बैकुण्ठ आचार्य, जो प्रधानपञ्च भएर पनि कांग्रेस पक्षघर थिए, को सहयोगले प्रहरीको आँखा छलेर भाग्न सफल भयौँ । झमक्क रात नपरेसम्म हामी पहाडको ओढारमा र त्यसपछि नजिकै रहेको तुलसी आचार्यका घरमा लुक्यौँ । चाँडै थप प्रहरी आउन सक्ने आशंकाले स्थानीय शुभेच्छुकहरूको परामर्श र सहयोगमा हामी भोलिपल्ट राति एकजना नातेदार (टीकाप्रसाद अधिकारी) लाई उनको गाईसहित अघि लगाएर गोठालोको रूपमा छाड्ने बाटोबाट विकट डाँडाकाँडा हुँदै मरिन खोला झरेर त्यहाँबाट जनकपुर पुग्यौँ ।

धेरैपछि थाहा भयो, ऋषि देवकोटा खुर्काटबाट भिमान बसाइँ सर्नुभयो । लामो अन्तरालपछि, देवकोटासँग जलेश्वर जेलमा भेट भयो । रामराजाप्रसाद सिंह काण्ड (२०२८ साल) मा जनकपुरमा भएको विरोध प्रदर्शनको क्रममा गिरफ्तार गरी मलाई जलेश्वर जेलमा लग्दा उहाँ त्यहीँ हुनुहुन्थ्यो । उहाँलाई भिमानमा पक्राउ गरी त्यहाँ राखिएको रहेछ । एक अर्कालाई भेटेर हामी अत्यन्त हर्षित भयौँ, कतै बिछोडिएको पुरानो साथीलाई भेटेझँै । हाम्रो भेट र कुराकानी धेरै नभए पनि भावनात्मक रूपमा हामी आपसमा निकै निकट थियाँ । उहाँले पुरानो घटना सम्झिँदै आफूले ती पुस्तक नपाएको गुनासो गर्नुभयो । मैले दुःख प्रकट गर्दै स्पष्टिकरण दिएँ ।

‘तपाई अहिले कुन पार्टीमा हुनुहुन्छ ?’ त्यहा“ मैले उहाँलाई सोधेको थिएँ । उहाँ कम्युनिष्ट हो भन्ने प्रष्टै थियो, तर कुन घटकसित सम्बन्धित हुनुहुन्छ भन्ने थाहा थिएन । त्यसबेला राजनीतिक दलहरू प्रतिबन्धित रहेकोले संगठन भूमिगत र गोप्य रूपमा हुने गरेको तथा कम्युनिष्टहरू धेरै घटकमा विभाजित भएकाले घटक प्रष्ट नभएसम्म वामपन्थीको पहिचानपूर्ण नहुन स्वाभाविक थियो । प्रत्येक घटकसँग केही नीतिगत मतान्तर मात्र हैन, शत्रुवत् सम्बन्ध थियो । एकले अर्कालाई गद्दार, दलाल र सीआइडी भन्ने प्रचलन वामवृत्तमा व्यापक थियो । यसले गर्दा वामपन्थी जनमत ठूलो अन्योलमा थियो भने वाम आन्दोलन गतिहीन र विशृखलित । त्यसैले मैले देवकोटालाई उहाँ पार्टी कुन हो भनी सोधेको थिएँ । तर, उहाँले पार्टीगत आवद्धता खोल्नु भएन । परिस्थिति जटिल भएकाले उहाँ सायद खुल्न चाहनु भएन, मलाई यस्तै लाग्यो । किनभने उहाँले भन्नुभयो– ‘म त कुन पार्टीको लाग्ने भनेर विचार गर्दैछु । कुनै टुङ्गो पुगिसकेको छैन । अध्ययन गर्दैछु । बरु तपाई नै भन्नुस् न कुन पार्टीमा लागु ?’ उहाँले दुई वर्ष पहिले दिएको जवाफ पनि यस्तै थियो । तर, मैले उहाँको कुरा नपत्याएको अनुमान गरेर हो वा साँच्चै कुरा बताउनुभएको हो, यसपल्ट उहाँले केही कुरा थप्नुभयो । भन्नुभयो–‘जेलबाट छुटेपछि पहिले एकपल्ट सबै नेताहरूलाई भेटेर २–४ प्रश्न राख्छु । जसले चित्त बुझाउँछ, त्यही पार्टीमा लाग्छु । अहिले त कसैको कुरा पनि चित्त बुझिरहेको छैन । किताब पढेर मात्र कुरा बुझिएन । भित्री गाँठी कुरा अर्कै छ । यस्तो छ । ठग व्यापारीले सोझा जनतालाई झुक्याएर नक्कली माल बेच्छन् नि, मलाई त नेताहरू त्यस्तै लाग्न थालेका छन् । सिद्धान्त पालना कसैले पनि गरेको जस्तो छैन ।’ त्यसबेला देवकोटाले नेताहरूमध्ये पुष्पलाल र मनमोहन अधिकारीको बढी आलोचना गर्नुभएको थियो । उहाँले ‘सिद्धान्तनिष्ट’ नयाँ कम्युनिष्ट पार्टीको खाँचो महसुस गरिरहनुभएको थियो । त्यहाँ छलफलको क्रममा विभिन्न प्रसङ्गमा उहाँले व्यक्त गर्नुभएको विचार सम्झिँदा यस्तो लाग्छ, देवकोटा आमूल परिवर्तनका पक्षधर हुनुहुन्थ्यो । र, यसका लागि सशस्त्र सङ्घर्ष अपरिहार्य भएको ठान्नुहुन्थ्यो । उहाँ महात्मा गान्धी, सुभासचन्द्र बोस, भगतसिंह र चन्द्रशेखर ‘आजाद’ लाई मन पराउनुहुन्थ्यो । त्यसताका भारतमा चारु मजुमदार र कानु सान्यालहरूले चलाएको नक्सलवादी आन्दोलनले उहाँलाई निकै आकर्षित गरेको थियो ।

उहाँ सिद्धान्त र नीतिगत कुरामा जे भए पनि व्यवहारमा अन्यन्त मिलनसार र साहसी झल्किने शब्द के होला ? त्यस्तै हुनुहुन्थ्यो । म केही दिनमै रिहा भएँ । धेरैपछि मात्र मलाई थाहा भयो, उहाँले ‘आजाद’ उपनाम राख्नुभएछ । सायद, भारतका क्रान्तिकारी र स्वाभिमानी अमर सहिद चन्द्रशेखर ‘आजाद’ को जीवनीबाट प्रेरित भएर हो कि ?

त्यसपछि ऋषि देवकोटालाई मैले अप्रत्यासित रूपमा बनारसमा भेटेँ । जम्काभेट मात्र थियो त्यो । ०३१ सालतिर जस्तो लाग्छ । म बीपीको निर्देशनअनुसार नेपाली कांग्रेसको मुखपत्र ‘तरुण’ को सम्पादक मण्डलमा संलग्न भएर बनारसको ब्रम्हाघाट नजिकको प्रेसमा बस्दथेँ । सबैथरिका राजनीतिकर्मीहरूको अखडा थियो त्यो क्षेत्र । पुष्पलाल र मोहनविक्रम सिंह पनि त्यही सेरोफेरोमा बस्नुहुन्थ्यो । त्यही गल्लीमा एकदिन झ्वास्स् भेट भयो, आजादसँग । मलाई अप्रत्यासित रूपमा भेट्दा उहाँ झस्किनु भयो । उहाँ नेपालको साधारण गाउँले तीर्थयात्रीको भेषमा हुनुहुन्थ्यो । हतारमा पनि हुनुहुन्थ्यो । उभिइ–उभिई ५÷७ मिनेट कुरा भयो । उहाँले आफू नेताहरूसँग भेट्नको लागि आएको र भर्खर पुष्पलाललाई भेटेर निस्केको बताउँदै भन्नुभयो– ‘तर म उहाँको कुरासँग सन्तुष्ट हुन सकिनँ । एकपल्ट फेरि भेट्छु । एकपल्ट बीपीलाई पनि भेट्ने विचार छ । मलाई सन्तुष्ट पार्र्न नसक्नेहरू नेतासँग जनता कसरी सन्तुष्ट हुन्छन †’ उहाँ नेताहरूसँग निरास जस्तो देखिनु हुन्थ्यो । मैले मेरो कुनै सहयोग चाहिए भन्नुहोला भन्दै हातको इसाराले आफ्नो डेरा देखाएँ । उहाँले भन्नुभयो–‘बीपीकहाँ जाँदा तपाईसँगै जानु पर्ला । जे भए पनि नेपाल फर्किनुभन्दा पहिले तपाईलाई अवश्य भेट्ने छु । धेरै कुरा गर्नु छ ।’

तर, दुर्भाग्य, त्यसपछि हाम्रो भेट कहिल्यै हुन सकेन ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार