Presidential

कांग्रेसको दोस्रो चरणको जागरण अभियान सामाजिक संवादमा केन्द्रित


कांग्रेसको दोस्रो चरणको जागरण अभियान सामाजिक संवादमा केन्द्रित

नेताहरू बोल्न होइन, सुन्न गाउँगाउँमा

काठमाडौँ, २४ भदौ । कांग्रेसले आजबाट तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दै छ । खासगरी, सामाजिक संवाद गर्ने गरी अभियान चलाइने कांग्रेसले जनाएको छ । अभियानमा नेताहरूलाई ‘बोल्ने कम सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको छ ।

अभियानको अन्तिम दिन ७ असोजमा केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ । त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

स्थानीय आवश्यकतानुरूप सम्बन्धित तहले नै यस्तो कार्यक्रम गर्न सक्ने उनले जानकारी दिए । बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर अभियान सुरु हुँदै छ । प्रदेश सभा क्षेत्र संख्या तीन सय ३० लाई १०६ ले गुणा गर्दा हुन आउने संख्या अर्थात्, ३४ हजार नौ सय ८० वटा बिरुवा रोपेर अभियान उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि पार्टीले सबै प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाएको छ ।

किन आवश्यक प¥यो सामाजिक संवाद ?
दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले शासन सम्हालेको दुई वर्ष नपुग्दै नागरिकमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएकाले सामाजिक संवाद गर्नु परेको प्रवक्ता शर्माले बताए । ‘समाजमा सरकारको कामले एकदमै वितृष्णा छ । रवि लामिछानेको पछाडि देखिएको जुलुसको सन्देश नै यही हो,’ शर्माले भने, ‘सरकारमाथि वितृष्णा हुँदा–हुँदै कांग्रेसमाथि पनि जनताले भरोसा देखाएका छैनन् । यसकारण समाजमा संवाद गर्ने, जनतासँग जोडिने गरी हामीले युवाकेन्द्रित विशेष कार्यक्रम गर्न लागेका हौँ ।’

‘हिमाल–पहाड तराई–मधेस’ अभियानको दोस्रो चरणमा पार्टीका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र कुनै पनि ढंगका सामाजिक विसंगतिका परम्परा, अन्धविश्वास र अप्रिय घटना् भएका छन्, छैनन् त्यसबारे आवश्यक छलफल र अध्ययनसमेत गर्न कांग्रेसले निर्देशन दिएको छ । १५ दिनको अवधिमा तीन सय ३० प्रदेश सभा क्षेत्रमा औसत तीन सय युवाका बीचमा बिपीको विचार र संस्कारलाई सम्प्रेषण गर्दा समग्रमा एक लाख युवासँग संवाद हुने कांग्रेसको दाबी छ ।

कार्यक्रमअन्तर्गत वडास्तरीय अन्तक्र्रिया, अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमै पुगेर स्थिति बुझ्ने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुईवर्षे समीक्षासहितका विषयमा अभियानकेन्द्रित गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ । (नयाँ पत्रिका दैनिकबाट)

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार