Presidential

कुटनीतिक फेहरिस्त


कुटनीतिक फेहरिस्त

कुटनीतिक सेवामा रहेर लामो समय व्यतीत गरेकाहरुले आफ्ना अनुभवहरु बाँड्ने चलन सबैतिर छ । तर, नेपालमा चाहिँ किन हो, अवकाश पाइसकेपछि पनि मुलुकका लागि उपयोगी हुने र आम मानिसलाई पनि रुचिकर हुने ती विषयमा कमै पुस्तक लेखिन्छन् । मोहनकृष्ण श्रेष्ठले त्यसमा थोरै भए पनि आफ्नो तर्फबाट योगदान गरेका छन्, कुटनीतिमा तीन दशक पुस्तकबाट ।

आत्मकथा भन्नासाथ स्वाभाविक रुपमा आफ्नो बाल्यकाल, घरपरिवारदेखि हरेक विषयलाई आफ्नो आँखाबाट हेरेका कुराहरु समावेश हुन्छन् । तर, कुटनीतिक सेवामा रहँदा आफूले जानेबुझेका कुरालाई श्रेष्ठले चाहिँ वस्तुनिष्ट कोणबाट पर्गेल्ने कोसिस गरेका छन् । शाखा अधिकृतबाट तीन दशकअघि परराष्ट सेवामा प्रवेश गरेका उनले सहसचिव हुँदै फ्रान्सको राजदूत भएर विदा लिने बेलासम्मका घटनाक्रमहरुलाई पुस्तकमा समावेश गरेका छन् । साथमा कुटनीतिप्रति चासो राख्ने मानिसहरुका लागि उपयोगी हुने सल्लाह, सुझाव र जानकारीहरु राखेर उनले पुस्तकलाई थप आकर्षक बनाएका छन् ।
पुस्तक लेख्नु, त्यसमा पनि संस्मरण तयार गर्नु आफैँमा जोखिम मानिन्छ । किनभने, समूहमा गरेका कामहरु पनि व्यक्तिगत आँखाबाट हेर्दा त्यसमा आफ्नो स्वामित्व बढी देखिने खतरा हुन्छ । कुटनीतिज्ञ श्रेष्ठ त्यसबाट बँचेका छन् र आफ्नो भूमिका कम भएका घटनाक्रमहरुलाई उनले त्यही कोणबाट लेखेका छन् ।

०३८ सालको कुनै दिन गीतकार रत्नशम्शेर थापासँग भेट नभएको सम्भवतः उनी परराष्ट सेवामा आउने थिएनन् र यो पुस्तक तयार पनि हुने थिएन । सरकारी जागिर (घरेलु विभाग) मा उत्तीर्ण भएको शाखा अधिकृतको नियुक्ति नलिएर जोखिम उठाउँदै परारष्टमा जाँच दिएका श्रेष्ठले आफ्ना जीवन भोगाइहरुलाई कुटनीतिक क्षेत्रमा संलग्नका साथै बाहिरबाट चासो राख्नेहरुलाई पनि उपयोगी हुने गरी समेटेका छन् ।
परराष्ट सेवामा लागेकै कारण ७१ देश घुमेर अनुभव बटुलेका श्रेष्ठले ती देशका विशेषतालाई संक्षिप्त रुपमा उल्लेख गरेर आफ्नो ज्ञानको फराकिलोपन देखाएका छन् ।

साथै, उच्चपदस्थहरुसँग विदेश भ्रमण गर्दा के कस्ता समस्या आइपर्छन् भन्ने कुरा उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विदेश भ्रमणका क्रममा जोहानेसवर्ग विमानस्थलबाट २६ जनै नेपालीका कुटनीतिक राहदानी चोरी भएको घटनालाई उदाहरण दिएर प्रस्ट्याउन खोजेका छन् । शिष्टाचार महापालका रुपमा राष्टपतिदेखि प्रधानमन्त्रीको यात्रा सफल बनाउन के कसरी भूमिका निर्वाह गर्नुपर्यो भन्ने विषयमा पनि उनले रोचक तरिकाले वर्णन गरेका छन् ।
पछिल्ला दिनमा राजदूत पदको गरिमा खस्किँदै गएको अनुभव स्वयम् कुटनीतिज्ञहरुले पनि गरिरहेका छन् । राजदूत पदलाई मुलुकका लागि काम गर्ने अवसरका रुपमा भन्दा ऐयासी जीवन बिताउने मौकाका रुपमा प्र्रयोग गर्ने र त्यही अनुसार नियुक्ति हुने प्रचलनले यस पदका मर्यादा घटाउँदै लगेको छ । अरु देशले सम्बन्धित देशमा जानुपूर्व त्यहाँका बारेमा विस्तृत जानकारी गराउने, सकभर त्यहाँको भाषा सिकाउने र पोख्त बनाएपछि मात्रै पठाउने गर्छन् ।

तर, यहाँ त को मानिस कुन देशमा राजदूत भएर जाँदैछ भन्ने कुरा मन्त्रिपरिषद्को बैठक नसकिएसम्म सम्बन्धितलाई पनि थाहा नहुने विडम्बनापूर्ण अवस्था छ । जापानी भाषाका जानकार श्रेष्ठले त्यहाँका भाषा जानेका कारण जापानमा बस्दा आफूलाई कसरी काम गर्न सहज भयो भन्नेबारेमा पनि पुस्तकमा विवरण दिएका छन् । उमेरले नछेक्ने पद भन्दै उनले राजदूत पदको गरिमा र मर्यादा कायम गर्न सरकार चनाखो हुनुपर्ने अनुभव लिपिबद्ध गरेका छन् ।
कुटनीतिको जननी मानिने फ्रान्समा राजदूत भएर मुलुकका लागि के के गर्न सकियो भन्ने विवरण लेखक श्रेष्ठले आफ्नो पुस्तकमा खुलाएका छन् । सीमित स्रोत साधन र त्यही खर्च गर्नमा पनि झन्झटिलो सरकारी प्रक्रियाका कारण विदेशमा काम गर्न कठिन छ । यस्तो कठिनताका बीचमा स्रोत जुटाएर भए पनि फ्रान्समा नेपालको पर्यटन प्रबद्र्धन गर्न विभिन्न ठाउँमा कार्यक्रम गर्ने, दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन भ्रमण गर्ने, दुई पक्षीय कुराकानी गर्ने जस्ता थुप्रै काम उनले आफ्नो पहलबाट गरेका छन् ।

युनेस्कोका समेत प्रतिनिधि रहेका कारण नेपाललाई धेरै सयमपछि त्यसको कार्यकारी सदस्यमा निर्वाचित गराउनमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए, जुन कुरा पुस्तकमा उल्लेख छ । कुटनीति धेरैका लागि के कस्तो विषय हो भन्ने लाग्छ । हाम्रा राजदूतहरु के गर्दा रहेछन् र कसरी काम गर्दा रहेछन् भन्ने जानकारी यस पुस्तकले आम पाठकलाई दिन्छ ।
कुटनीतिक अभ्यासका क्रममा आइपर्ने समस्यादेखि देखि यस्तो अभ्यासमा रहेका व्यक्तिहरुका लागि आवश्यक पर्ने सावधानी र जानकारी समेत रहेका कारण श्रेष्ठको यो पुस्तक केबल उनको अनुभवमा सीमित छैन । जस्तो, पुस्तकको अन्तिमतिर कुटनीतिमा प्रयोग हुने शब्दावली समेत राखेर उनले पुस्तकलाई थप वजनदार बनाएका छन् ।
पुस्तकमा सम्पादनको प्रशस्त गुञ्जाायस छ, जुन दोस्रो संस्करण निकाले भने लेखकले पूरा गर्लान् नै । यसबाहेक कुटनीतिप्रति सामान्य चासो राख्ने व्यक्तिदेखि कुटनीति अभ्यासमा लागेका र देशको कुटनीतिक नीति निर्माण गर्नेहरुसम्मका लागि पुस्तक उपयोगी छ । मोहनकृष्ण श्रेष्ठको यस पुस्तकले अरु कुटनीतिज्ञहरुलाई पनि गर्ने ताकेता हो, तिमी पनि आफ्ना अनुभवहरु पाठकहरुसँग बाँड ।
पुस्तकः कुटनीतिमा तीन दशक
लेखकः मोहनकृष्ण श्रेष्
प्रकाशकः उल्लेख नभएको
मूूल्यः रु. ४९९
पृष्ठः ३८४

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार