Presidential

टेलिकमको नाफा आधा नै घट्यो


टेलिकमको नाफा आधा नै घट्यो

काठमाडौं, ३१ साउन । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नाफा अस्वाभाविक रूपमा घटेको छ । नेपाल टेलिकमले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । २०७५–७६ को वित्तीय विवरणअनुसार टेलिकमको नाफा २०७४–७५ को तुलनामा सात अर्ब २७ करोड २७ लाख रुपैयाँले घटेको छ ।

सर्वाधिक बजार पुँजीकरण भएको र सरकारी स्वामित्वको ९२ प्रतिशत सेयर रहेको यो कम्पनीको नाफा केही वर्षदेखि निरन्तर घटिरहेको छ । टेलिकमले वार्षिक रूपमा कमाएको नाफा १० अर्ब देखिए पनि अघिल्लो वर्षको तुलनामा यसको नाफा ४१ दशमलव ६१ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ ।

टेलिकमले २०७५–७६ को एक वर्षमा १० अर्ब २० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यस्तो नाफा २०७४–७५ मा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ रहेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ भने सञ्चित कोषमा ८६ अर्ब ७३ करोड १७ लाख रुपैयाँ राखिएको छ । टेलिकमले एक वर्षमा सेवा बिक्रीबाट ३६ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ कमाएको छ । यस्तो कमाई टेलिकमको अघिल्लो वर्षको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले घटेको छ । अघिल्लो वर्ष टेलिकमको यस्तो आम्दानी ३९ अर्ब दुई करोड ३२ लाख थियो ।

टेलिकमले उपभोक्ताबाट सेवा प्रयोग गरेबापत लिएको शुल्कबाट मात्रै पछिल्लो तीन महिनामा नौ अर्ब २७ करोड ८७ लाख रुपैयाँ र अन्य स्रोतबाट भएको एक अर्ब ७२ करोड ७४ लाख गरी कुल आम्दानी ११ अर्ब ६२ लाख रुपैयाँ छ ।

यो आम्दानीमा टेलिकमले कर्मचारी, सञ्चालन तथा मर्मत, बिक्री प्रवद्र्धन बजारीकरण, नियामक निकायको शुल्क, वार्षिक नवीकरण शुल्क, विदेशी विनिमयमा खर्चिएको शुल्कसहित खर्च गरेपछि ब्याज, कर, गतिह्रास अगाडिको नाफा ६ अर्ब १७ करोड रहेको उल्लेख छ । यसमा आयकरअघिको नाफा तीन अर्ब ७६ करोड रुपैयाँ देखिएको छ । यसपछिको कुल मुनाफा दुई अर्ब ३७ करोड मात्रै रहेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

टेलिकमको आम्दानी घट्नुमा फिक्स लाइन टेलिफोन पीएसटीएन र एडीएसएलको प्रयोग कम हुँदै जानु पनि एउटा कारण हो । अन्तर्राष्ट्रियस्तरमै टेलिकम क्षेत्रमा भ्वाइस र एडीएसएलतर्फको आम्दानी घटेकाले त्यसको प्रभाव नेपालमा पनि परेको छ । भ्वाइस र एडीएसएलका प्रयोगकर्ताबाट हुने आम्दानी घटेकाले आम्दानीमा कमी आएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

उनका अनुसार टेलिकमको आम्दानी घट्नुमा फिक्स लाइन टेलिफोन पीएसटीएन र एडीएसएलको प्रयोग कम हुँदै जानु पनि एउटा कारण हो । यस क्षेत्रको योगदान कम हुने क्रम जारी रहेको उनको भनाइ छ । गत वर्ष टेलिकमले इजाजतपत्र नविकरण गर्दा ४ अर्ब रुपैयाँ बुझाएको छ । यसको प्रभाव नाफामा परेको हो ।

टेलिकमको गत वर्षदेखि कर्पोरेट ट्याक्स ५ प्रतिशत बढेको छ । यस्तो कर २५ प्रतिशतबाट ३० प्रतिशत पुगेकाले यसबाट टेलिकमलाई करिब एक अर्ब रुपैयाँको भार बढेको छ । यो रकमले नाफालाई प्रभावित पारेको टेलिकमको भनाइ छ ।

टेलिकमका अनुसार एडीएसएलबाट ४८ करोड र पीएसटीएनबाट मात्रै ३५ करोड रुपैयाँले नाफा घटेको छ । यसका साथै टेलिकमले रिचार्ड कार्डमा कमिसन दिने गरेकोमा पछिल्लो समय डिस्काउन्ट दिएरै कार्ड बिक्री गरेको छ । जसको प्रभाव नाफासँग जोडिन पुगेको उल्लेख छ ।

टेलिकमको नेपाल स्टक एक्सचेन्जमा १५ करोड कित्ता सेयर सूचीकृत छ । यसको सेयरलाई जम्मा एक सय रुपैयाँका दरले मूल्यांकन गर्दा १५ अर्ब रुपैयाँ छ। बुधबार भएको कारोबारअनुसार प्रतिसेयर मूल्य ६ सय ८६ रुपैयाँका दरले टेलिकमको बजार मूल्य एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ छ । टेलिकमको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ९४ पैसा छ । यसको गत वर्षको औसत सेयर मूल्य ६९३ रुपैयाँ थियो। यसको प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले साउनमा सार्वजनिक गरेको गत जेठसम्मको तथ्यांकअनुसार टेलिकम प्रयोगकर्ता दुई करोड २४ लाख ६४ हजार ४६५ छन् । यसमा सबैभन्दा बढी हिस्सा मोबाइल प्रयोगकर्ताको छ । टेलिकमका मोबाइल प्रयोगकर्ता जीएसमएम (पोस्टपेडरप्रिपेड) र सीडीएमए मात्रै दुई करोड १६ लाख छन् । यसमा दुई करोड १० हजार पोस्टपेड तथा प्रिपेड र १६ लाख ५५ हजार सीडीएमएका प्रयोगकर्ता छन् ।

टेलिकमको इन्टरनेट तथा मोबाइल डाटासहितको ब्रोडब्यान्ड सुविधा लिनेको संख्या ९१ लाख ५६ हजार छ । यसमा सबैभन्दा बढी इन्टरनेटको प्रयोग मोबाइल डाटाबाटै हुन्छ। प्रयोगकर्ता र मोबाइल इन्टरनेटको प्रविधि पनि बढेकाले मोबाइल इन्टरनेटको प्रयोग बढेको देखिन्छ ।

टेलिकमको मोबाइलबाट डाटा प्रयोग गर्नेमा थ्रीजीका ग्राहक ७० लाख ९२ हजार, फोरजीको सात लाख ८१ हजार र ईभिडिओका एक लाख ३६ हजार प्रयोगकर्ता छन् । टेलिकमको सेवा प्रयोग गरेर तारसहितको इन्टरनेटको एडीएसएल प्रयोगकर्ता १० लाख ३७ हजार, केबल तथा एफटीटीएच १८ हजार र ताररहित सेवाअन्तर्गत वाइम्याक्सको प्रयोगकर्ता ८८ हजार रहेको प्राधिकरणको तथ्यांंक छ । अन्नपूर्ण पोष्टबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार