Presidential

‘नेपालमा रेल ल्याई छाड्छौँ’


‘नेपालमा रेल ल्याई छाड्छौँ’

काठमाडौं, २४ भदौ। चीनले काठमाडौंसम्म रेल ल्याउन ल्याईछाड्ने प्रतिबद्धता व्यक्त गरेको छ । केरुङ–काठमाडौं रेलमार्गका विषयमा चर्चा चुलिएको वेला चीनले सो रेल काठमाडौंसम्म ल्याउन आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेको हो ।

प्राविधिक र आर्थिक रूपले निकै महँगो पर्ने सो रेल ल्याउने विषयमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग नेपाली अधिकारीले चासो व्यक्त गरेका हुन् । विशेषगरी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको द्विपक्षीय भेटवार्तामा यस विषयमा कुराकानी भएको थियो । नेपालले चीनबाट रेल आउने कुरामा आफूहरू विश्वस्त भए पनि प्राविधिक र आर्थिक पक्ष के हुने भन्ने बारेमा जिज्ञासा राखेको स्रोतले जानकारी दिएको छ ।

भेटवार्तामा विदेशमन्त्री वाङले यो विषय नेपालको उच्च प्राथमिकतामा रहेको आफूहरू जानकार रहेको बताएका थिए । ‘त्यसबारे हामी प्रतिबद्ध छौँ’, वाङले वार्तामा भनेको कुरालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘खासमा यो प्राविधिक हिसाबले निकै कठिन पूर्वाधार परियोजना हो । तर पनि यसलाई हामी जसरी पनि पूरा गरेरै छाड्छौँ ।’ भेटपछि मन्त्री ज्ञवालीले पनि सम्भाव्यता अध्ययन र अन्य प्रक्रिया अघि बढाउन चीन प्रतिबद्ध रहेको बताए ।

द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्च स्तरीय भ्रमण चाँडो होस् भन्ने चाहेको बताएका थिए ।

विदेशमन्त्री वाङले त्यसतर्फ तयारी भइरहेकोले यो अपेक्षा चाँडै पूरा हुने बताएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिए । विदेशमन्त्री वाङले चाँडै राष्ट्रपतिको भ्रमण हुन सक्ने संकेत गरेका छन् । ‘चीनबाट उच्च स्तरीय भ्रमणको तयारी हँुदैछ । त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ’, विदेशमन्त्री वाङको भनाइ उद्धृत गर्दै डा.भट्टराईले भने ।

यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले पनि चीनको उच्च नेतृत्वलाई नेपालमा स्वागत गर्न प्रतीक्षारत रहेका बताएका थिए । नेपालले अहिलेको समय चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि उपयुक्त समय भएको जानकारी पनि गराएको छ । नेपालले राजनीतिक संक्रमण अन्त्य गरेर स्थिरतातर्फ उन्मुख भएकाले यो उपयुक्त समय भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । उनले छिमेकी मुलुकहरूबाट हुने उच्तस्तरीय भ्रमणहरूले हामीलाई भरोसा पनि मिल्ने बताएको जानकारी दिए ।

जवाफमा चिनियाँ विदेशमन्त्री वाङले नेपालको चाहनालाई गम्भीरतापूर्वक लिएको र दुवै देशका कूटनीतिक निकायहरू सम्पर्कमा रहेकाले उपयुक्त समयमा भ्रमण हुनेमा विश्वस्त दिलाएका छन् । स्रोतका अनुसार असोज अन्तिम साता चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने निश्चित जस्तै भएको बताइएको छ । भारतबाट फर्किएर आउँदा नेपाल भ्रमण गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

कूटनीतिक भेटमा चीनले दुईवटा विषयलाई बढी प्राथमिकता दिएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) र यातायात तथा जलविद्युत् पूर्वाधारमा जोड दिएको छ । स्रोतका अनुसार चीनले विशेषगरी, बुढीगण्डकी जलविद्युत् आयोजनाका बारेमा चासो राखेको बताइएको छ । यसैगरी, उत्तरी सिमानामा दुई देशलाई जोड्ने यातायात पूर्वाधारमा पनि विशेष जोड दिएको छ । नेपालको व्यापार घाटा कम गर्न कसरी नेपाली उत्पादनलाई सहज रूपमा चीनमा प्रवेश गराउन सकिन्छ भन्नेबारे पनि छलफल भएको छ ।

१६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । शितल निवासमा भएको भेटमा आपसी हित र द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले सोमबार बिहानै चन्द्रागिरिमा एक घण्टा हाइकिङसमेत गरेका थिए । उनी तीनदिने भ्रमण पूरा गरी आजै मध्याह्न स्वदेश फर्किंदै छन् ।

तीन सम्झौतामा हस्ताक्षर
पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुईवटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

चीनका विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआइसिडिए) का उपाध्यक्ष डेङ बोकिङले आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनःनिर्माण परियोजनासम्बन्धी ‘लेटर अफ् एक्सचेञ्ज’मा हस्ताक्षर गरे । आपत्कालीन आवास सहायताअन्तर्गत ९५ लाख चिनियाँ युआन बराबरका पाँच हजार त्रिपाल चीन सरकारले उपलब्ध गराउनेछ भने मनाङ अस्पताल पुनःनिर्माणका निम्ति दुई करोड २० लाख युआन प्रदान गर्नेछ ।

त्यसैगरी स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरे । वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श भएको थियो । परराष्ट्रमन्त्रीद्वय ज्ञवाली र वाङले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

त्यसैगरी वार्तामा दुई देशबीच विगतमा भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइएको थियो । चिनियाँ पक्षले त्यसलाई सकारात्मक रूपमा लिएको वार्तामा सहभागी एक अधिकारीले बताए । नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका मामिलामा पनि द्विपक्षीय वार्तामा गहन छलफल भएको थियो ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा दुवै देशका मन्त्रीले विचार आदानप्रदान गरेका थिए ।

वार्तामा अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव शंकरदास वैरागी, अर्थ सचिव खनाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दाहाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए । विदेशमन्त्री वाङ नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआइसिडिए) का उपाध्यक्ष डेङ बोकिङ, विदेश मन्त्रालयको एसिया विभागका प्रमुख तथा अन्य अधिकारीसहित काठमाडौंस्थित चिनियाँ दुतावासका उच्च अधिकृत वार्तामा सहभागी थिए ।(सौर्य दैनिकबाट)

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार