Presidential

पुत्रवियोगमा रहेकी शान्तालाई मोहनविक्रमले पठाएको सम्बन्धविच्छेदको त्यो पत्र


पुत्रवियोगमा रहेकी शान्तालाई मोहनविक्रमले पठाएको सम्बन्धविच्छेदको त्यो पत्र

शान्ता सिंह पुत्रवियोगमा थिइन् । कान्छो छोरा बितेको पाँच महिना मात्र भएको थियो । ०३७ साल माघको मुटु कमाउने जाडो । घरायसी धन्दा गर्दै थिइन् । तत्कालीन नेकपा चौमका कार्यकर्ता मेघराज आचार्य पत्र बोकेर आइपुगे । पत्र शान्ताका श्रीमान् मोहनविक्रम सिंहले पठाएका थिए ।

उनले खाम खोलेर पत्र पढ्न थालिन् । पढिनसक्दै नौनारी गले । चिटचिट पसिना आयो । भनन रिंगटा लाग्यो । उनी भुइँमा ढलिन् । त्यो मोहनविक्रम सिंहले पठाएको सम्बन्धविच्छेद गर्ने जानकारीपत्र थियो ।
मोहनविक्रमले आफू अब बाँकी जीवन पार्टी र कम्युनिस्ट आन्दोलनमा खर्चिने उल्लेख गर्दै शान्तासँग सँगै नबस्ने उल्लेख गरेका थिए । छोरा गुमाएको वर्षदिन पनि नपुग्दै श्रीमान्ले यति ठूलो निर्णय गर्लान् भन्ने शान्ताले सोचेकै थिइनन् । उनलाई आलो घाउमा नुन–खुर्सानी हालेजस्तै भयो । ‘यो पृथ्वी भासिएला, जमिन धाँजाधाँजा भई फाट्ला, तर मलाई उहाँले छोड्नुहुन्छ भन्ने सोचेकै थिइनँ,’ शान्ता भन्छिन्, ‘तर, नसोचेको भयो, उनी एउटा पत्र पठाएर आफ्नो बाटो लागे ।’

शान्ता शिक्षक थिइन् । चोट यति थियो कि पढाउँदापढाउँदै बेहोस हुन्थिन् । उनलाई सहकर्मी शिक्षक र छिमेकीले धेरै सम्झाए । मन बुझेन । पत्रको मात्र भर नपर्ने निर्णय गरिन् । त्यतिवेला मोहनविक्रम भूमिगत थिए । भारतको गोरखपुर बस्थे । शान्ता बालबालिका लिएर गोरखपुर नै पुगिन् ।
गोरखपुरको एउटा सानो कोठामा भेटिए, मोहनविक्रम । अनि अन्तिम निर्णय सुनाए, ‘अब तिमीसँग बस्न सक्दिनँ ।’ शान्तालाई असह्य भयो । बालबच्चा मोहनविक्रमलाई नै छाडेर बाहिर निस्किइन् । तर, मोहनविक्रमले छाडेनन् । उनलाई सम्झाइबुझाई हात समाएर कोठामा लगे । राजनीतिक जिम्मेवारीका कुरा गरे । उनी छोराछोरी लिएरै नेपाल फर्किन् ।

त्यसपछि सुरु भयो, उनका दुःखका दिन । धेरै कहर काटेर छोराछोरी हुर्काइन् । तर, मोहनविक्रमलाई भुल्न सकेकी छैनन् । भन्छिन्, ‘उहाँ देशको इमानदार नेता हो, देश र जनताको सेवाका लागि सकेजति गर्नुहोला, अब त अर्को बिहे गरिसक्नुभएको छ, दाम्पत्य जीवनको सफलताको शुभकामना छ ।’
०००
मोहनविक्रम प्युठानको मच्छीस्थित ओखरकोटका हुन् । उनको परिवार गाउँको सामन्त थियो । बाबु काठमाडौं आउने–जाने गरिरहन्थे । चार श्रीमती थिए । मोहनविक्रमको जन्म माइली श्रीमतीबाट काठमाडौंको मरुटोलमा भएको थियो ।

शान्ताको परिवार पनि सामन्त नै थियो । उनी प्युठान लुमको जिम्वाल परिवारकी छोरी थिइन् । उनका बाबुले तीन श्रीमती बिहे गरेका थिए । शान्ता माइली आमातिरकी एक मात्र छोरी हुन् । बाबुले आमालाई हेला गर्ने हुँदा जिम्वाल परिवार भए पनि शान्ता दुःखमै हुर्किइन् ।

छोरी जन्माएको भन्दै बाबुले आमालाई हेला गरेका थिए । घरमा बस्नैनसक्ने अवस्था भएपछि आमा छोरी च्यापेर निस्किइन् । उनी भारतको महाराष्ट्रस्थित नागपुर पुगिन् । उनी त्यहाँ ज्याला मजदुरी गर्थिन् । उनको सपना छोरीलाई ‘ठूलो मान्छे’ बनाउने थियो । त्यसैले विद्यालय भर्ना गरेर पढाउन थालिन् । शान्ताले ०२२ सालमा नागपुरबाटै एसएलसी पास गरिन् ।

उतिवेला कामका लागि जानेले भारतलाई कालापहाड भन्थे । कामका लागि कालापहाड आउने–जानेले श्रीमान्लाई आमा–छोरी त्यहाँ रहेको सुनाए । उनले तिनै मान्छेलाई पत्र पठाई श्रीमतीलाई छोरी लिएर घर फर्किन भने । घर फर्किएलगत्तै शान्ता लुमस्थित प्राथमिक विद्यालयमा पढाउन थालिन् । गाउँमा पढेलेखेका मान्छे पाउनै मुस्किल थियो । एकाध पुरुष थिए । महिला त हुँदैहुँदैनथे । तिनै एकाध पुरुषबीच शान्ता पनि शिक्षक भइन् । शान्ता २४ वर्षकी भइसकेकी थिइन् । बिहे भएको थिएन । उनीहरूको घरनजिक मोहनविक्रमकी बहिनीको विवाह भएको थियो । दाजुबारे उनले शान्तालाई सुनाइरहन्थिन् । धेरै पढेको र इमानदार नेता भएको बताउँथिन् ।

तर, मोहनविक्रम भने राजद्रोह मुद्दामा जेलमा थिए । उनी ०१८ सालदेखि जेल परेका थिए । नौ वर्षपछि ०२७ सालमा मात्र छुटे । छुटेपछि घर आए । अनि मोहनविक्रमकी बहिनी र मामा वीरबहादुरले शान्ताको बिहेका लागि प्रस्ताव ल्याए । शान्ताको जिम्मेवारीमा आमा पनि थिइन् । त्यसैले बिहे गर्न अस्वीकार गरिन् । तर, मामा वीरबहादुरले भने, ‘आमाको हल भयो भने के गर्छौ रु’ अनि बिहे गर्न तयार भइन् । अनि शान्ता र उनीभन्दा १३ वर्ष जेठा मोहनविक्रमको ३ भदौ २०२९ मा विवाह भयो ।

बिहेपछि शान्ताको दैनिकी फेरियो । उनको दिनचर्या घरधन्दामा नै बित्न थाल्यो । विद्यालय जान पाइनन् । उता, मोहनविक्रम पार्टी गतिविधिमा सक्रिय थिए । घर चलाउन मुस्किल हुन थाल्यो ।

उनीहरू घरसल्लाहमै ०३२ सालमा कैलालीको टीकापुर झरे । पञ्चायती व्यवस्थामा सबै पार्टी प्रतिबन्धित थिए । कम्युनिस्ट पार्टीलाई थप कडाइ थियो । नेकपा चौम भूमिगत भएकाले मोहनविक्रम भारतका विभिन्न ठाउँ सरेर बस्न थाले । यता, मधेस झरेपछि शान्ता झनै मुस्किलमा फसिन् । ‘खै किन हो, उवेला हुरीबतास नै धेरै चलेजस्तो लाग्छ, अहिले उति सारो हुरी चलेजस्तो लाग्दैन, वर्षामा पनि केटाकेटी जोगाउनै मुस्किल,’ शान्ता ती दिन सम्झन्छिन्, ‘उतै प्युठानबाट आएका छिमेकीको फुसको घरमा केही समय बस्यौँ, अनि आफ्नै घर बनाएँ ।’

उनी टीकापुरस्थित हिमालयन माविमा पढाउन थालिन् । ०३७ सालमा निमाविमा स्थायी भइन् । ‘उहाँ भूमिगत हुनुहुन्थ्यो, उहाँले कहाँबाट मलाई पैसा पठाउनु रु मैले नै घरबाट समय–समयमा पठाइदिन्थेँ,’ उनी भन्छिन्, ‘तर, कहिल्यै गुनासो गरेकी थिइनँ, उहाँप्रति विश्वास पनि थियो र माया पनि, सधैँ उहाँलाई पर्खिबस्थेँ ।’ श्रीमान्लाई भेट्न कहिले सीमानजिक रुपैडिया त कहिले गोरखपुर, दरभंगा र कानपुर पुग्थिन् ।

उनले खाम खोलेर पत्र पढ्न थालिन् । पढिनसक्दै नौनारी गले । चिटचिट पसिना आयो । भनन रिंगटा लाग्यो । उनी भुइँमा ढलिन् । त्यो मोहनविक्रम सिंहले पठाएको सम्बन्धविच्छेद गर्ने जानकारीपत्र थियो ।

कहिलेकाहीँ मोहनविक्रम घर आउँथे । केटी साथीहरू पनि हुन्थे । कार्यकर्ता भन्थे । शान्ताले शंका गर्नुपर्ने कुरै थिएन । ‘एकपटक जलजला भन्ने साथी पनि आएकी थिइन्,’ शान्ता भन्छिन्, ‘तर, मैले धेरै पछि उनीबारे मिडियामा खबर आउन थालेपछि मात्र खास कुरा थाहा पाएँ ।’

यस्तैमा अचानक सम्बन्धविच्छेद गर्ने पत्र आयो । उनी गोखरपुर पुगेपछि सम्बन्धविच्छेद थाती रह्यो । तर, मोहनविक्रमको घर आउने क्रम भने कम भयो । सम्बन्ध पनि पहिलाजस्तो सुमधुर रहेन ।

शान्ताले भने मोहनविक्रमलाई भुल्न सकिनन्, न त अहिले नै भुलेकी छिन् । ‘त्यो पत्र पछिसम्म साँचिराखेकी थिएँ, रामराजाप्रसाद सिंहको ०४२ सालको बमकाण्ड भएपछि घरमा प्रहरी नियमित आउन थाले, खानतलास गर्थे, सुरक्षाकै कारण सबै पत्र च्यातेर फालेँ,’ शान्ता भन्छिन् । प्रहरीले छोराछोरीलाई मिठाई दिएर ‘बाबु कहाँ छन्’ भनेर सोध्थे । ०४६ सालको जनआन्दोलनपछि मोहनविक्रम नेपाल फर्किए । तर, उनी टीकापुर नगई सीधै काठमाडौं आए । काठमाडौं नै बस्न थाले । शान्तासँग भेट्नै छाडिदिए ।
०००
शान्तासँग भेट नभएको लामो समय भएको थियो । मोहनविक्रमको प्रेमबारे पार्टीमा चर्चा चल्न थाल्यो । उनी आफूभन्दा ३६ वर्ष कान्छी दुर्गा पौडेलसँग प्रेममा थिए । पार्टी कार्यकर्ताको दबाबमा मोहनविक्रम र दुर्गाले ०५७ सालमा बिहे गरे । त्यतिवेला मोहनविक्रम ६५ वर्षका थिए ।

जेठा छोरा समीर सिंह पनि पार्टीमा सक्रिय थिए । बिहेलगत्तै समीरले पार्टीमा उजुरी दिए । मोहनविक्रम कारबाहीमा परे । उनी पार्टी नेतृत्वबाट दुई वर्षसम्म हटाइए । बाबुको विवाह भएको एक वर्षपछि समीरले पनि दाङको लमहीबाट विवाह गरे । त्यतिवेला बाबु–छोराको बोलचाल बन्द थियो । उनले बाबुलाई निम्ता नै गरेनन् ।

अहिले पनि मोहनविक्रम र शान्ताको पार्टी कार्यालय र बाटोबाहेक अन्यत्र भेटै हुँदैन । उनी भन्छिन्, ‘म उहाँलाई भेट्न जान्नँ, उहाँ मकहाँ आउनुहुन्न, बिरामी हुँदा समीरले भने कहिलेकाहीँ मोटरसाइकलबाट ल्याउने–लाने गर्छ ।’

शान्ता शिक्षकबाट निवृत्त भइसकेकी छिन् । उनी कहिले टीकापुर त कहिले काठमाडौं ओहोरदोहोर गरिरहन्छिन् । काठमाडौं आउँदा छोरा समीरकै डेरामा बस्छिन् । शान्ताले कुराकानीको बिट मार्दै भनिन्, ‘उहाँले आफ्नो पार्टीको काम गर्नुहोला, इमानदारीपूर्वक देश र जनताका लागि सेवा गर्नुहोला, यसैले मैले सबै मेरा दुःख बिर्सेकी थिएँ, अहिले पनि उहाँ इमानदार नेता हुनुहुन्छ, देशका लागि राम्रो काम गर्नुहोला, अरू भन्नु केही छैन ।’नयाँपत्रिका दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार