Presidential

पूर्वमन्त्री पोखरेललाई ३ नम्बर प्रदेशमा संस्थापक सचिवको जिम्मेवारी


पूर्वमन्त्री पोखरेललाई ३ नम्बर प्रदेशमा संस्थापक सचिवको जिम्मेवारी

काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नेता आनन्दप्रसाद पोखरेललाई ३ नम्बर प्रदेश संगठन कमिटीमा सचिवको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय सचिवालय(हाईकमाण्ड)को बैठकले पूर्व पयर्टन मन्त्रीसमेत रहेका पोखरेललाई सचिवको जिम्मेवारी दिएको हो । यससँगै पोखरेलले पार्टी एकीकरणपछि ३ नम्बर प्रदेश संगठन कमिटीको संस्थापक सचिवको जिम्मेवारी सम्हाल्ने महत्वपूर्ण अवसर पाएका छन् ।

प्रदेश ईन्चार्जमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सहईन्चार्जमा हितबहादुर तामाङ र अध्यक्षमा  नारायण दाहाल चयन भएका छन् । शाक्य तत्कालीन एमालेकी उपाध्यक्ष तथा ३ प्रदेशकी संयोजक  थिए । तामाङ तत्कालीन माओवादीका स्थायी समिति सदस्य हुन् ।

प्रखर वैचारिक नेता र कुशल संगठकको परिचय बनाएका पोखरेल अध्ययनशील र चतुर नेताका रुपमा परिचित छन् । तत्कालीन एमालेको केन्द्रीय कमिटीमा नरहे पनि निरन्तर क्रियाशील पोखरेलले पार्टी एकीकरणपछि केन्द्रीय सदस्यको जिम्मेवारी पाएका थिए । कृषि, जलस्रोत र वाताबरणका विज्ञका रुपमासमेत परिचित पोखरेल नेपाल–चाईन हिमालय फ्रेण्डशिप समाजका अध्यक्ष पनि छन् । श्रीलंकामा हालै सम्पन्न ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित इभल कोलोम्बो २०१८ मा विश्वका ७० देशका २ सय २५ सांसदलाई पछि पार्दै उनले इभ्यालुयसन अवार्ड २०१८ समेत हात पार्न सफल भएका थिए । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमा सिंह्ेले पोखरेललाई उक्त अवार्ड प्रदान गरेका थिए ।

यस्तो छ पोखरेलको राजनीतिक यात्रा

२९ फागुन, २०१६ मा दोलखाको जफेमा जन्मिएका पोखरेलले २०३४ सालमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्रबाट राजनीतिक यात्रा शुरु गरेका थिए । २०४० सालमा नेकपा मालेको सदस्यता प्राप्त गरेका उनी चितवनको रामपुर कृषि क्याम्पसमा अध्यनको सिलसिलामा अनेरास्ववियु पाँचौको चितवन जिल्ला अध्यक्ष भएर विधार्थी आन्दोलनमा लामो समय सक्रिय भएका थिए ।

२०४७ सालपछि केपी ओलीको नेतृत्वमा बनेको प्ररायुसंघ नेपालको संस्थापक केन्द्रिय प्रचार विभाग सचिव बनेका उनी २०५४ सालपछि नेकपा एमाले दोलखाको दुई कार्यकाल सचिव भए । यसअघि उनले तत्कालीन एमालेको केन्द्रिय प्राकृतिक स्रोत व्यवस्थापन विभाग, केन्द्रिय जल तथा उर्जा विभाग र पार्टीको सामुदायीक वन उपभोक्ता समूह फ्याक्सनमा सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । बिभिन्न पत्रपत्रिकाका स्तम्भ लेखक, बुद्ध दर्शनका जानकार पोखरेल २०४३ सालमा दोलखाको साविक जफे गाविसमा जनपक्षिय उम्मेदवारको रुपमा गाविस अध्यक्षसमेत बनेका थिए ।

उनी २०५४ र २०७० सालको संसदीय÷संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएका थिए । संविधानसभाको पछिल्लो निर्वाचनपछि केपी ओली नेतृत्वमा बनेको सरकारमा पोखरेल पहिलो पटक पर्यटन मन्त्री बनेर कुशलतापूर्वक जिम्मेवारी सम्हाले । मन्त्रीको जिम्मेवारीमा रहँदा नेपालको अन्तराष्ट्रिय विमान स्थलको व्यवस्थापन, नेपालको पर्यटकीय केन्द्रको विकास र बुद्ध जन्मथलोको विकास र प्रवद्र्धनमा उनले खेलेको भूमिकाको निरन्तर चर्चा हुँदै आएको छ ।

पार्टीभित्र दुई दशकदेखि उनी अध्यक्ष केपी ओली निकट नेताका रुपमा परिचित छन् । ग्रामीण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कानुन र कृषि विषयमा स्नातक गरेका छन् । उनी अहिले बुद्ध दर्शको विषयमा पिएचडि गर्ने तयारीमा रहेका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार