Presidential

फेस एप्स प्रयोग नगर्न विज्ञको सुझाव


फेस एप्स प्रयोग नगर्न विज्ञको सुझाव

काठमाडौंँ, ६ साउन । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ ।
फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेका छन् । यसको प्रभाव नेपालमा पनि परेको छ । कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, मनोज गजुरेललगायत थुप्रैले यो एप्समार्फत आफ्ना बुढ्यौली देखिने तस्बिर फेसबुकमा अपलोड गरेका छन् । भारतीय क्रिकेटर विराट कोहली, कलाकार अर्जुन कपुरलगायतले सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गरेका छन् ।
यो एप्सले केही समयका लागि रमाइलो दिए पनि दीर्घकालमा असर गर्ने दाबी आईटी विशेषज्ञ सुरेन्द्रमान जोशीले गरे । उनले यो एप्स प्रयोगकर्ताको डाटा असुरक्षित हुने बताए । जोशीले भने, “सुरक्षा निकायमा बसेकाहरूले यो एप्स प्रयोग गर्दै नगर्नू भनेर कतिपय मुलुकका सरकारले नागरिकलाई सचेत गराइसकेका छन् । ”
यो एप्समार्फत प्रयोगकर्ताको मोबाइलमा भएको फोटोदेखि सबै डाटा लिन सकिने जानकारी उनले दिए । चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले फेस एप्स मात्र नभएर जुनसुकै सामाजिक सञ्जालले हाम्रो डाटा लिने जानकारी दिए ।
कुनै पनि सामाजिक सञ्जालमा भविष्यमा के हुने, भाग्यमानी कति प्रतिशतजस्ता एप्सले हाम्रो डाटा लिएकै हुन्छन् । त्यसैले त्यस्ता एप्स नचलाउन उनको सुझाव छ ।
रघुवंशी भन्छन्, “फेस एप्सले प्रयोगकर्ताका सबै जानकारी आफ्नो डिभाइसमा राख्छ । यसमा फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थानलगायतका महत्वपूर्ण डाटा हुन्छन् । यसबाट तपाईंको चासोका विषय, दैनिक व्यवहार, इमेल ठेगाना क्रेडिट कार्ड र पासवर्ड चोरी पनि हुन सक्छन् । ” “फेस एप्समा सङ्कलन गरिएको डाटा कम्पनीबाट हटाउन सकिँदैन”, उनले थपे, “वायरलेस ल्याबलाई तपाईंको नयाँ डाटा सङ्कलनबाट रोक्न एप्स प्रयोग गर्न छोड्नुपर्छ । ” विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१७ मा पहिलोपटक रुसीहरूले ‘फेस एप्स’ सार्वजनिक गरेका थिए । ‘फेस एप्स’मा सुरक्षा चुनौती धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि जनाएका छन् ।
यो एप्स सुचारु भएपछि प्रयोगकर्ताका सङ्गृहीत सामग्री र तस्बिरहरू बिनाअनुमति नै स्टोर गर्न सक्ने क्षमता पनि यसमा रहेको र प्रयोगकर्ताको स्वीकृतिबिनै डाटाहरू अरूलाई बेच्न सक्ने खतरा रहेको बताइएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) प्रविधिको माध्यमबाट युवा वा किशोर भएको तस्बिरलाई तत्काल बुढ्यौलीमा परिवर्तन गराइदिन सक्ने एप्स वायरलेस ल्याब नामक रसियन कम्पनीले ल्याएको हो । फेस एप्स सन् २०१७ फेब्रुअरी १४ भ्यालेन्टाइन डेको दिन गुगल स्टोरमा राखिएको थियो । त्यति बेला ‘सेलिब्रेटी’हरूले प्रयोग नगरेका कारण चर्चा कमै थियो तर अहिले सेलिब्रेटीहरूले प्रयोग गरेपछि गुगलको प्ले स्टोर र आइफोनको एप्स स्टोरबाट डाउनलोड ह्वात्तै बढेको हो ।

गोरखापत्र दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार