Presidential

वरिष्ठ पत्रकार भैरव रिसालको अनुभव: पहिलो संसदमा रिपोर्टिङ गर्दा…

भैरव रिसाल

वरिष्ठ पत्रकार भैरव रिसालको अनुभव: पहिलो संसदमा रिपोर्टिङ गर्दा…

नेपालको पहिलो निर्वाचित संसद् (२०१६ असार १६–२०१७ पुस १)मा पनि दुईवटा सदन थिए । त्यतिबेला तल्लो सदनलाई प्रतिनिधिसभा र माथिल्लो सदनलाई महासभा भनिन्थ्यो । हामीले रिपोर्टिङ थाल्दा अहिले जस्तो पत्रकारिताको पद्धति विकास भएको थिएन । संसद्को रिपोर्टिङमा तीन जना पत्रकार हुँदा पनि धेरै भएको जस्तो हुन्थ्यो । पत्रकारिता वाल्यावस्थामा थियो । पाठक पनि अहिले जस्ता थिएनन् । श्रोता पनि सीमित थिए । त्यस समयलाई मोबाइल फोनमै श्रव्य–दृश्य रेकर्ड गर्न सकिने अहिलेको युगसँग तुलना गर्न सकिने कुरै भएन ।
पहिलो निर्वाचित संसद्अघि विधायनी निकायका रुपमा सल्लाहकार सभा थियो । सल्लाहकार सभामा राजाले केही मान्छे मनोनयन गर्थे । कहिले राजाले जिल्लाबाट यति जना मानिस छानेर पठाइदिनु भन्थे अनि जिल्लाले छानेर पठाउँथ्यो । जिल्ला भनेको माल अड्डा, बडाहाकिमको अड्डा हुन्थ्यो । त्यतिबेला अहिले जस्तो जिल्ला प्रशासन कार्यालय भन्ने थिएन । राज्यले त्यतिबेला माल अड्डालाई बढी पत्याउँथ्यो । पैसाको कारोबार माल अड्डाले गथ्र्यो ।

हामीले रिपोर्टिङ अभ्यास त्यहाँबाट सुरु गरेका थियौँ । म २०१३ साल माघदेखि ‘हालखबर’ साप्ताहिकमा आबद्ध थिएँ ।

तत्कालीन राजाले सल्लाहकार सभा आफैँ बनाउँथे र विघटन गर्थे । सायद त्यो सभा जनमत अनुसार राज्य सञ्चालन गरेको भन्ने पार्न बनाइन्थ्यो । २००७ को जनक्रान्तिपछि राजाले जनताबाट चुनिएका प्रतिनिधिले बनाएको गणतन्त्रात्मक संविधान अनुसार शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । संविधानसभाको चुनाव नहुँदासम्मका लागि बनाइएको अन्तरिम संविधान, २००७ मा विधायनी कार्यका लागि परामर्श दातृ निकायका रुपमा सल्लाहकार सभाको परिकल्पना गरिएको थियो । राजाले सल्लाहकार सभा प्रधानमन्त्रीलाई अप्ठ्यारो हुने खालको बनाउँथे । त्यसैले सल्लाहकार सभाले प्रधानमन्त्रीलाई भन्दा दरबारलाई सहयोग गथ्र्यो । त्यसबीचमा राजाले सरकार बनाउने र फाल्ने गरिरहन्थे । सिपालु प्रधानमन्त्रीले मात्रै राजा र सल्लाहकार सभा दुवैको सामना गर्न सक्थे ।

हामीले सल्लाहकार सभाको रिपोर्टिङ गरेको हुँदा संसद्को रिपोर्टिङ गर्न केही सजिलो भयो । एकैपटक संसद्मा रिपोर्टिङ गर्न गाह्रो थियो । के समाचार दिने, के नदिने भन्ने छुट्याउन सम्पादकलाई पनि अप्ठ्यारो पथ्र्यो । पत्रकारिता र संसदीय व्यवस्था दुवैमा हाम्रो अभ्यास थिएन । व्यक्तिगत रुपमा पनि हामी केटाकेटी खालका थियौँ । पत्रकारिता पनि वाल्यावस्थाको थियो । हाम्रो त्यसबेलाको पत्रकारिता केटाकेटीको खेलजस्तो थियो । कहिले मिल्थ्यो, कहिले मिल्दैनथ्यो ।

एक जना सांसद थिए, निस्तार राय यादव । उनी सर्लाहीबाट आएका थिए । उनी भाषण गर्न थालेपछि मुन्टो बटारेर प्रेस ग्यालरीतर्फ हेर्थे । त्यसबेलाका सभामुख कृष्णप्रसाद भट्टराई (पछि नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री)ले ‘ए माननीयज्यू यता हेर्नूस् यता’ भन्नुहुन्थ्यो । अरु केही सांसद पनि सभामुख र सांसदभन्दा पत्रकारको मुख हेर्थे । उनीहरुको चाहना आफ्नो भनाइले प्रेसमा धेरै स्थान पाओस् भन्ने हुन्थ्यो । त्यो चाहना हामी कति पूरा गर्न सक्थ्यौा, कति सक्दैनथ्यौ ? हामीले वक्ताको चाहना अनुसार वा मुख हेरेर होइन, विषय हेरेर समाचार दिने गर्थौं । हामीले यो दिने यो नदिने भन्ने नियन्त्रण थिएन । राज्यलाई पनि थाहा थिएन, हामीलाई पनि थाहा थिएन । आफौ नियन्त्रित हुन्थ्यौा । यतिविघ्न खुला पनि थिएन । त्यसबेला हामी केही केही व्यङ्ग्य छाप्थ्यौा । कति जनाले व्यङ्ग्यात्मक भाषण गर्थे । त्यो व्यङ्ग्य समात्न सक्यो भने पत्रिकाहरुले बक्स न्युज छाप्थे । त्यसलाई छुट्टै समाचार बनाएर दिन्थ्यौा । हामीकहाा राजनीतिमा व्यङ्ग्य अत्यन्त कम चल्छ । त्यसबेलाको संसद्मा व्यङ्ग्य चल्थ्यो । प्रस्ट भाषामा, हाकाहाकी भन्न नहुने जुन शब्दहरु हुन्थे, त्यसलाई व्यङ्ग्यात्मक, कवितात्मक, भावनात्मक शैलीमा व्यक्त गरिन्थ्यो । तीमध्ये हामी कति टिप्न सक्थ्यौ, कति सक्दैनथ्यौ । व्यङ्ग्य स्वादिलो हुन्थ्यो र पत्रिका पनि बिक्थ्यो ।

अहिले त पत्रकारिता विषय नै पढेर पत्रकारहरु अभ्यासमा आउँछन् । हाम्रो पालामा त पत्रकारिता सिक्न पढ्ने भन्ने नै थिएन । ‘गोरखापत्र’ मूल पत्रिका थियो । त्यसपछि ’हालखबर‘ हो । काङ्ग्रेस निकट रहेर कहिले ‘कल्पना‘, कहिले ‘दियालो‘, ‘उज्यालो‘ पत्रिका प्रकाशित हुन्थे भने कहिले बन्द हुन्थे । एउटा बन्द गरेपछि अर्को खुल्थ्यो । ‘रेडियो नेपाल‘का प्रतिनिधि प्राय: रिपोर्टिङमा आउँथे । त्यसमध्ये एक जना भोग्यप्रसाद साह हुनुहुन्थ्यो । पछि उहाँ डाइरेक्टर पनि हुनुभयो । संसद्को रिपोर्टिङमा बढीमा तीन जना हुन्थ्यौँ । अहिले तीस जना घटी कहिल्यै हुँदैनन् होला ।

त्यतिबेला प्रधानमन्त्रीले संसद्मा प्राय: लिखित भाषण गर्थे । हामी त्यो माग्थ्यौँ । कम्प्युटर त हुने कुरै भएन, फोटोकपि पनि थिएन । टाइपराइटरबाट पाँच/छ कपिसम्म टाइप गरिएको हुन्थ्यो । पत्रकारले माग्छन् भनेर पहिला नै तयार पारिन्थ्यो । धेरै गाह्रो हुँदैनथ्यो । अलिखित (एक्सटेम्पो) बोल्यो भने हामीलाई धौधौ हुन्थ्यो । त्यसबेला ‘सर्ट ह्यान्ड’ जान्नुपर्छ भन्ने हुन्थ्यो । सर्ट ह्यान्ड भनेको साङ्केतिकमा टिप्ने हो । मैले त्यो सिकिनँ । पढ्नलाई पद्धति पनि थिएन । मैले म पत्रकार हुँ भन्दा खेरी ‘सर्ट ह्यान्ड’ जान्नुभएको छ भनेर जान्ने मान्छेले सोध्थे । छैन भन्ने उत्तर दिएपछि भन्थे, ‘के रिपोर्टिङ गर्नुहुन्छ त ?’

अहिले र त्यसबेलाको साधन र स्रोतको हिसाबले आकाश र जमिन होइन कि आकाश र पातालको फरक छ । दिमाग नै कम्प्युटर, दिमाग नै मोबाइल, जे भए पनि दिमागकै भर थियो । अनि, अक्षरले टिप्नु पथ्र्यो । संसद्मा मन्त्री पनि प्रेसतिर हेर्थे, खास गरी बजेट भाषण गर्दा यस्तो गरेको सम्झना छ । त्यतिबेलाको संसद्मा जङ्गबहादुर चन्द सचिव बनेर आउनुभयो । त्यसपछि अलिक सहज भयो । सायद जनताका प्रतिनिधिसँग सोझो सम्पर्कका कारण पनि होला, सरकारी सचिवभन्दा उहाँ अलिक उदार हुने गरेको अनुभव भयो ।

संसद्मा कहिले नीतिगत कुरा आउँथे, कहिले विदेशका कुरा आउँथे । प्रस्ट भएन भने मन्त्रीलाई सोध्ने हैसियत राख्थ्यौँ । मन्त्री अहिले जस्तो झर्कंदैनथे । शालिन तरिकाले यसो भनेको हो भनेर स्पष्ट पार्थे । कुनै वक्ताले संसद्मा बोल्दा ‘पत्रकारहरुले के बुझ्नुभयो ? मैले यसो भनेको है’ भनेर सारांश दोहोर्‍याएर भन्थे । तर, प्रतिनिधिसभाका १ सय ९ सदस्यमा त्यस्तो सारांश मिलाएर भन्ने निकै कम थिए । यसरी सांसदहरुले पत्रकारितालाई मद्दत नै गर्थे ।

हामीलाई चिया खुवाउने विषयमा सांसदहरुबीच प्रतिस्पर्धा चल्थ्यो । कोही कोही त हामीलाई चिया खुवाउन पालो कुरेर बस्थे । सायद आफूले चिया खुवाउन पायो भने समाचार राम्रो दिन्छन् भन्ने लागेर त्यसो गरिन्थ्यो होला । कहिले कसले खुवाउँथ्यो, कहिले कसले । मन्त्रीले पनि पत्रकार मेरो नजिक आएर बसे हुन्थ्यो जस्तो गर्थे । JSPA Book Cover Design

भारतमा त्यतिबेला संसद् रिपोर्टिङ हुन्थ्यो । त्यसबेला १२ देखि १५ वर्ष रिपोर्टिङ गरेकाले मात्र सेन्ट्रल हल (भारतीय संसद् भवन)भित्र जान पाउँथे । तर, हामीकहाँ सेन्ट्रल हल भन्ने थिएन । त्यहाँ सेन्ट्रल हलमा सुत्नका लागि पलङ पनि हुन्थ्यो । संसद्मा मानिस थाके त्यहाँ सुत्न पाइने रहेछ । मैले हिन्दुस्तानको संसद् पनि हेरेको छु । संसद्मा सुतेको त पत्रकारले पनि देख्ने भयो । त्यसैले त्यहाँ परिपक्व पत्रकारलाई मात्र प्रवेश दिइने रहेछ । म राष्ट्रिय समाचार समिति (रासस)मा थिएँ । हिन्दुस्तान गएका बेला सेन्ट्रल हल हेर्छु भनेँ । त्यहाँका साथीहरुले देखाइदिए । औपचारिक रुपमा हेर्न नपाइने रहेछ तर अनौपचारिक रुपमा हेर्ने हो भने मिलाउँला भने । मैले अनौपचारिक रुपमा हेरेँ । पलङहरु थिए तर म गएका बेला सुत्ने सज्जनचाहिँ कोही थिएनन् ।

भारतमा शून्य समय भन्दा प्रश्नोत्तरको धेरै महफ्व हुँदो रहेछ । एक जनाले बोर्डिङ पासबिना नै जहाज चढेर झगडा गरेछ । कसरी छिर्‍यो भनेर मुद्दाका रुपमा उठाएका थिए । त्यतिबेला नेपालको संसद्मा पनि प्रश्नोत्तर हुन्थ्यो । शून्य समयचाहिँ मलाई याद भएन । तर, विशेष समय थियो । त्यतिबेला पढेलेखेका मानिसले बेलायती तरिका अनुकरण गर्न खोजेका थिए । हाम्रो वातावरणमा त्यो कति उपयुक्त भयो, भएन अलग्गै कुरा हो ।

पहिलो संसद्मा कोरम नपुग्ने भन्ने भएन । अहिले त संविधानमै कोरम पुग्नुपर्ने व्यवस्था छ । त्यस समयको जनसङ्ख्याको अनुपातमा १ सय ९ जनाको संसद् सानो थिएन । शम्भुराम श्रेष्ठ र तुलसीलाल अमात्यले बोल्ने भनेपछि सबै जना सजग भएर सुन्थे । केही खँदिलो बोल्छन् भन्ने हुन्थ्यो । प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टीका जम्मा ४ सदस्य थिए । प्रमुख प्रतिपक्ष गोर्खा परिषद्का भरतशमशेर र मृगेन्द्रशमशेरले चाहिने कुरा मात्र बोल्थे । तल्लो सदनमा सत्तारुढ नेपाली काङ्ग्रेसको ७४ र विपक्षी गोर्खा परिषद्को २० सिट थियो । बाँकी सदस्य प्रजापरिषद्सहितका साना दलका र स्वतन्त्र थिए । माथिल्लो सदनमा निर्वाचित १८ र राजाबाट मानोनीत १८ गरी ३६ सदस्य थिए ।

त्यतिबेला हामी दरबारमा हुने शपथग्रहणमा जान्थ्यौँ । लैजाने– ल्याउने बन्दोबस्त हुन्थ्यो । पहिलो संसद्को पहिलो बैठक रातीको ठीक १२ बजे सुरु गरिएको थियो । राजाले सदनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पढ्थे । राजाले मेरो सरकार भन्थे । मेरो सरकारले यसो गर्ने भन्थे, म भन्दैनथे ।

त्यसबेला पत्रकारहरुको खुब इज्जत हुन्थ्यो । अहिले इज्जत गरे पनि देखावटी गर्छन् । अहिले सबैको गुह्य सबैलाई थाहा भयो । त्यतिबेला अखबारमा निस्क्यो भने त्यसको माने हुन्थ्यो । तर, अहिले छैन । त्यतिबेला साप्ताहिक रुपमा पत्रिका छापिन्थे । ठाउँ साह्रै थोरै हुन्थ्यो । सिसाको अक्षर कम्पोज र डिकम्पोज हुन्थ्यो । अक्षर सानो बनाउन पनि व्यावहारिक थिएन । त्यसैले हामीले अत्यन्त सङ्क्षिप्त रिपोर्टिङ गथ्र्यौं । ‘गोरखापत्र’ दैनिक भएको थिएन । ‘रेडियो नेपाल’ पनि निश्चित समय मात्रै प्रसारण हुन्थ्यो । समाचारका लागि ठाउँ नै हुँदैनथ्यो । जति टिपोट गरे पनि समाचार सङ्क्षिप्त हुन्थ्यो ।

निकै पछि मात्र ‘रेकर्ड सिस्टम’ आयो । हामी मन्त्रीसँग कुराकानी गर्दा टेप राख्थ्यौँ । मन्त्री कुक्ककुक्क गरेर बोल्नै सक्दैनथे । केही बोल्यो भने दरबारमा रिपोर्ट पुग्छ र गाल पर्छ भनेर बोल्न डराउँथे । कुनै मन्त्रीको त टेप राखेपछि बोली नै फुट्दैनथ्यो, त्यसै आत्तिन्थे । टेप निकालेपछि बल्ल बोल्थे ।

पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख हुनुहुन्थ्यो । उहाँ पहिला पत्रकार हुनुहुन्थ्यो । त्यसैले पनि उहाँसँग राम्रो सम्बन्ध रह्यो । भेटघाट सजिलो हुन्थ्यो । सभामुखले अरुलाई पनि पत्रकारसँग राम्रोसँग व्यवहार गर्नूस् भन्नुहुन्थ्यो । त्यति भन्नासाथ प्रशासनले उच्च व्यवहार गथ्र्यो । हामी पनि अनुशासनमा बस्ने कोसिस गथ्र्यौं ।

हामीलाई संसद् जान त्यतिबेला पास दिइन्थ्यो । पास वितरणको केही पद्धति थियो होला तर मलाई याद छैन । ग्यालरी बैठक कक्षमा प्रेस ग्यालरी थियो, जहाँ पाँच जना बस्ने ठाउँ थियो । रिपोर्टिङका लागि ‘गोरखापत्र’बाट पनि नियमित आउँदैनथे ।

राष्ट्रिय पञ्चायतको समयमा चाहिँ राससले कार्यालय नै राखेको थियो । सुरुको राष्ट्रिय पञ्चायत प्रेसका लागि खुला थिएन । सचिवालयले निकालेको विवरणका आधारमा रिपोर्टिङ गर्नुपथ्र्यो । पछि पञ्चायतमा पनि रिपोर्टिङ गर्न पाइने भयो । उनीहरुले खबरदार भन्थे, हामी खबरदार मेन्टेन गथ्र्यौं ।

पञ्चायतमा रिपोर्टिङ गर्दा मैले एकपटक फलानो दिन बजेट आउने भनेर समाचार लेखेँ । कति आउने, कस्तो आउने भन्ने प्रश्नै थिएन । तर पनि उनीहरुले सहेनन् । रासस र मलाई कारबाही गर्ने भने । अनि, मैले भनेँ, यो रिपोर्टिङ मैले गरेको हुँ । कारबाही म भोग्छु, थुनिन्छु । त्यसपछि मिल्यो । कारबाही गर्छु भन्ने राष्ट्रिय पञ्चायत सचिवालय थियो । पञ्चायत कालमा बजेट आउँछ भन्ने पनि गोप्य र दिन नमिल्ने सूचना थियो ।

राष्ट्रिय पञ्चायतका सदस्यहरु पत्रकारसँग निकै होस गर्थे । अहिले समाचार पढ्न हतार गरेजस्तो लाग्छ । कहिले केटाकेटी खेलेजस्तो लाग्छ, कहिले कहिले राम्रो पनि हुन्छ । अचेल पत्रकारितामा धैर्य कम, हडबड र अशुद्ध धेरै हुन्छ ।

(वरिष्ठ पत्रकार रिसालसँग मनोज सत्यालले गरेको कुराकानीमा आधारित ।)

संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित तथा राजेन्द्र फुयालद्वारा सम्पादित पुस्तक ‘संसदीय मामिला’ बाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार