Presidential

बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरी


झापा, ३१ जेठ । झापाको मेचीनगर–९ की ८१ वर्षीया गङ्गामाया बस्नेतलाई बोक्सीको आरोप लगाउने दुई महिलाविरुद्ध प्रहरीमा उजुरी परेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक टीका कार्कीले वृद्धा बस्नेतलाई बोक्सीको आरोप लगाउने मेचीनगर–९ की कुमारी चम्लागार्इं र आफूलाई बूढीबजै भनेर चिनाउँदै फारफुक गर्ने माता सावित्री शिवाकोटीविरुद्ध उजुरी परेको बताए ।

बिरामी भएर झारफुकका लागि गत जेठ ७ गते माताको मन्दिरमा पुगेकी चम्लागाईंले बक्ने क्रममा साँध जोडिएको छिमेकी वृद्धा बस्नेतलाई बोक्सीको आरोप लगाएकी थिइन् । झारफुकको क्रममा चम्लागार्इंलाई गालामा चड्कन लगाउँदै र कपाल भुत्ल्याउँदै माता शिवाकोटीले बोक्सी बक्न लगाएको भिडियो सार्वजनिक भएको थियो । भिडियो रेकर्डमा माताले पिटेपछि वृद्धा बस्नेतलाई चम्लागार्इंले बोक्सीको आरोप लगाएको प्रष्ट देख्न र सुन्न सकिन्छ ।

जनप्रतिनिधि र केही गाउँले माता र बोक्सी आरोप लगाउनेहरुकै पक्षमा लागेपछि असह्य अनुभूति गरेकी पीडित वृद्धा बस्नेतले जेठ १८ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा आरोप लगाउने चम्लागाईंविरुद्ध कानूनी कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन् । माता शिवाकोटीविरुद्ध बिहीबार उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक कार्कीले पीडितको उजुरीबमोजिम आरोपीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताउनुभएको छ । आरोपी चम्लागाईं घरमा नभेटिएको हुँदा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार