Presidential

माधव नेपाल मनाउदै ओली

–पहिलो न्यूज

माधव नेपाल मनाउदै ओली

काठमाडौं । चैत २८ गते नेकपाका महासचिव विष्णप्रसाद पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल लिएर अध्यक्षद्वय आवासीय बैठकका लागि चन्द्रागिरी पुगे ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले त्यो आवासीय बैठकमा पौडेल र थापाले तयार पारेको प्रतिवेदन सुनेर फर्किएको स्रोतको भनाइ छ ।

चन्द्रागिरीबाट फर्किएलगत्तै सोमबार अध्यक्षद्वयले नेता माधवकुमार नेपाललाई बालुवाटार छलफलका लागि बोलाए । छलफलमा के भयो भन्नेबारे केही पनि सार्वजनिक भएको छैन । तर, नेता नेपाल निकट नेताका अनुसार छलफलमा माधव नेपाललाई भागबन्डा दिन ओली र दाहाल सहमत भएका छन् ।

यसअघि प्रदेश पदाधिकारी र सदस्यहरूमा एक्लौटी गरिएको भन्दै नेता नेपालले सार्वजनिक असन्तुष्टि सार्वजनिक जनाएपछि अध्यक्षद्वय झस्किएका थिए । तर, सहकार्यका लागि सम्वाद भने गरेका थिएनन् । सम्वाद नभएकैले नेकपाको एकता प्रक्रिया एघार महिनादेखि टुंगिन सकेको छैन ।

तर, सोमबारको छलफलले भने नेता नेपालले पनि तत्कालीन एमालेभित्र भाग पाउने सुनिश्चितजस्तै देखिएको छ । ९ वैशाखमै एकता टुंगिन सहमति पनि नेता नेपालकै सहमति भएको छ । यसअघि नेता नेपाल बाहेक अन्य सचिवालय सदस्यहरुसँग अध्यक्षद्वयले वालुवाटारमा एक्लाएक्लै वार्ता गरिसकेका छन् ।

वामदेव गौतमले माधव नेपाललाई मिलाउनुहोस् भनेपछि भने अध्यक्षद्वय चन्द्रागिरी आवासीय बैठकदेखि नेता नेपालसँग छलफलमै बसेका छन् ।

४५ जिल्ला तत्कालीन एमाले र ३२ जिल्ला तत्कालीन माओवादी केन्द्रले लिने सहमति भने भइसकेको छ । माओवादी केन्द्रतर्फ खासै असन्तुष्टि सुनिएको छैन । तर, एमालेतर्फ भने ओली र नेपालबीच सहमति जुट्न नसक्दा जिल्ला तहको एकता प्रक्रिया टुंगिन बाँकी छ ।

जनवर्गीय संगठनबारे भने अहिलेसम्म छलफल नभएको नेताहरुले बताएका छन् । गत वर्ष ३ जेठमा पार्टी एकताको घोषणापछि प्रदेश तहको एकता टुंगिएको छ । तर, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिट्ब्यूरो गठनजस्ता काम भने हुन सकेको छैन ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार