Presidential

राष्ट्रपतिको चीन भ्रमण : पारवहन प्रोटोकल र निगमको जहाज चीन उडाउने एजेन्डा


राष्ट्रपतिको चीन भ्रमण : पारवहन प्रोटोकल र निगमको जहाज चीन उडाउने एजेन्डा

काठमाडौं,८ बैशाख । ११ वैशाखदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने राजकीय चीन भ्रमणका क्रममा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने भएको छ । त्यस्तै, नेपाल एयरलाइन्सलाई चीनमा उडानको अनुमति दिलाउने विषयलाई पनि एजेन्डामा समेटिने सरकारी स्रोतले जनाएको छ ।

नेपाल–चीनबीचको पारवहन सम्झौताको प्रोटोकल तयार भइसकेको छ । प्रोटोकलमा दुवै मुलुक सहमत भएका छन् । नेपाल सरकारले प्रोटोकल स्वीकृत गरेर हस्ताक्षरका लागि वाणिज्य सचिवलाई अख्तियारी दिइसकेको छ । राष्ट्रपतिको आसन्न चीन भ्रमणमा प्रोटोकलमा हस्ताक्षर हुन सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए ।

‘प्रोटोकलमा हस्ताक्षरका लागि उच्चस्तरीय भ्रमण नै कुरिएको हो,’ उनले भने, ‘राष्ट्रपतिको भ्रमणमा हस्ताक्षर हुन सक्छ, तर यसबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।’ पारवहन सम्झौताको प्रोटोकलमा नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायातको माध्यम प्रयोग गर्न, ६ नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्ने उल्लेख छ । तर, प्रोटोकल सहमतिमा हस्ताक्षर नहुँदा पारवहन सुविधा लिन नेपाल अझै असमर्थ छ ।

बिप्पा सम्झौता के होला ?
राष्ट्रपतिको आसन्न चीन भ्रमणका क्रममा नेपाल र चीनबीच लगानी प्रवर्द्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता (बिप्पा) हुन सक्ने बताइएको छ । नेपाल र चीनबीच बिप्पा सम्झौताको प्रक्रिया सुरु भएको करिब ४ वर्ष पुगिसकेको छ । राष्ट्रपतिको भ्रमणअघि नै एक कार्यक्रममा सहभागी हुन उद्योगमन्त्री मातृका यादव र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह चीन जाँदै छन् । मन्त्री र महानिर्देशकले राष्ट्रपतिको भ्रमणमा चीनबाटै सहभागिता जनाउनेछन् । यस अवसरमा महŒवपूर्ण सम्झौता हुन सक्ने मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले बताए । नेपालमा चीनको लगानी बढ्दै गएको छ र लगानीकर्ताले प्रवद्र्धन र सुरक्षाको प्रत्याभूति खोजिरहेका छन् । बिप्पा सम्झौताको मस्यौदा आदान–प्रदानसमेत भइसकेको छ । ‘एजेन्डाहरू बनेको आधिकारिक जानकारी आएको छैन,’ उनले भने, ‘तर, पारवहन प्रोटोकलमा हस्ताक्षर हुने तथा बिप्पासम्बन्धी कुनै समझदारी हुन सक्ने सम्भावना छ ।’

नेपाल एयरलाइन्सलाई चीन उडाउन पहल
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल एयरलाइन्सलाई बेइजिङ र ग्वान्जाउमा उडानको रुट तथा स्लट दिने विषयमा छलफल हुने भएको छ । नेपाल एयरलाइन्सले लामो समयदेखि चीनका विमानस्थलमा उडानका लागि स्लट र रुटको अनुमति प्राप्त गर्ने प्रयास गरिरहे पनि अहिलेसम्म पाएको छैन । ‘बेइजिङ र ग्वान्जाउ विमानस्थलमा नेपाल एयरलाइन्सलाई स्लट प्रदान गर्ने विषयमा चीनसँग छलफल हुनेछ,’ पर्यटन मन्त्रालय स्रोतले भने, ‘उच्चस्तरीय भ्रमणमै एजेन्डा राख्दा त्यसमा सकारात्मक प्रगति हुने अपेक्षा गरेका छौँ ।’

चीन, जापान, हङकङलगायतका गन्तव्यमा उडान गर्ने लक्ष्यसहित नेपाल एयरलाइन्सले दुईवटा वाइडबडी जहाज किनेको थियो । उसले हालै जापान उडानको अनुमति पाए पनि उडान सुरु भने भइसकेको छैन । चीनबाट नेपालतर्फ चिनियाँ वायुसेवा कम्पनीले मात्रै उडान गरिरहेका छन् । चीनका चाइना साउदर्न, चाइना इस्टर्न, एयर चाइना, क्याथे प्यासिफिक, ड्रागन एयरलगायतले हाल नेपालमा उडान गरिरहेका छन् । तर, नेपाल एयरलाइन्सको उडान नहुँदा चीनबाट नेपालका लागि भाडा महँगो रहेको गुनासो छ । त्यसैले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चीनमा नेपाल एयरलाइन्सको उडान हुनु आवश्यक छ ।

भ्रमण वर्ष २०२० को चीनमा प्रवर्द्धन गर्न तथा चिनियाँ पर्यटक नेपाल पठाउन आवश्यक व्यवस्थापनका विषयमा पनि चीनसँग छलफल हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ । ‘भ्रमण वर्षलाई सफल बनाउन छिमेकी मुलुक चीनबाट नेपाल आउने पर्यटकको महŒवपूर्ण भूमिका हुन्छ, त्यसो हुँदा भ्रमण वर्षलाई सफल बनाउने विषयमा पनि चीनसँग वार्ता हुनेछ,’ पर्यटन मन्त्रालय स्रोतले जानकारी दियो ।

त्यस्तै, चीनले नेपालमा गरिरहेको सम्पदा पुनर्निर्माणको कामलाई तीव्रता दिने तथा नयाँ पुनर्निर्माणमा चीनको सहयोगका विषयमा पनि दुई मुलुकबीच कुराकानी हुनेछ । साथै, दुई मुलुकबीच सांस्कृतिक आदान–प्रदानको विषय पनि राष्ट्रपतिको भ्रमणको एजेन्डामा समेटिने पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

रेल तथा सडकसम्बन्धी एजेन्डा छैनन्
राष्ट्रपतिको भ्रमणका क्रममा रेल तथा सडकसम्बन्धी एजेन्डामा भने छलफल नहुने भएको छ । केरुङ–काठमाडौं रेल चर्चामा रहे पनि भ्रमणका क्रममा त्यो एजेन्डाका रूपमा प्रस्तुत नहुने भौतिक पूर्वाधार तथा आतायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले बताए । ‘छलफलका क्रममा यी विषय पनि उठ्न सक्छ, तर एजेन्डामै भने समेटिएको छैन,’ उनले भने ।

राष्ट्रपतिका भ्रमणका औपचारिक कार्यक्रम
नौदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी चीनको बेइजिङमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट तथा रोड मञ्चमा सहभागी हुनेछिन् । उनी त्यहाँ अन्तर्राष्ट्रिय हर्टिकल्चरल प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी हुनेछिन् भने नेपाली पेभेलियन भ्रमण गर्नेछिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङले नेतृत्व गर्ने डेलिगेसनबीच दुईपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा पारवहन सम्झौताको प्रोटोकललगायतमा हस्तक्षर हुनेछ । साथै, राष्ट्रपतिले दुई देशका व्यावसायिक क्षेत्रका प्रतिनिधिको सम्मेलनलाई पनि सम्बोधन गर्नेछिन् । राष्ट्रपतिले साङ्सी प्रदेशको राजधानी सिआन तथा तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछिन् । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सांसदहरू, उच्च सरकारी अधिकारीहरू, चीनका लागि नेपाली राजदूत तथा निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागी हुनेछन् । उनी १९ वैशाखमा स्वदेश फर्कनेछिन् ।नयाँपत्रिकाबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार