Presidential

विद्यार्थीसँग लिएको बढी शुल्क ३० दिनभित्र फिर्ता गर्न चितवन मेडिकल कलेज तयार


विद्यार्थीसँग लिएको बढी शुल्क ३० दिनभित्र फिर्ता गर्न चितवन मेडिकल कलेज तयार

चितवन, ५ असोज । चितवन मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी शुुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता जनाएको छ ।

जिल्ला प्रशासनको रोहबरमा शनिबार विद्यार्थी र अभिभावकसँग भएको छलफलमा कलेजले बढी लिएको शुल्क फिर्ता वा विद्यार्थीका आगामी खर्चमा समायोजन गर्ने सहमति जनाएको हो ।

बढी शुल्क फिर्ता वा समायोजन गर्ने सहमतिलगायत ५ निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । उनका अनुसार अब कार्यालय खुल्ने दिनको ३० दिन अर्थात् १८ कात्तिकभित्र शुल्कको समस्या कलेज व्यवस्थापनले सल्टाउने निर्णय भएको छ ।

कुन विद्यार्थीसँग कति शुल्क बढी लिएको भन्ने अध्ययन गर्न अभिभावक टेकप्रसाद चापागाईंको संयोजकत्वमा ७ सदस्यीय समितिसमेत गठन गरेको छ । समितिमा विद्यार्थी सुकरात पौडेल, कला अधिकारी, कलेज व्यवस्थापक अरुण कोइराला तथा जिल्ला प्रशासन र जिल्ला विकास तथा समन्वय इकाइका एक–एक अधिकृत छन् ।

त्यस्तै कलेजको लेखा शाखाका राम शाशिष ठाकुर सदस्य सचिव छन् । कलेजले ६ लाख अतिरिक्त शुल्क लिएको स्वीकार गरिसकेको छ । विद्यार्थीले भने १२ लाखसम्म बढी असुलेको आरोप लगाउँदै आएका छन् ।

निर्णय चितवन मेडिकल कलेजको हकमा मात्रै भएको प्रजिअ बस्नेतले बताए । बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म लगातार ८ घन्टा छलफल भएको थियो । पाँच बुँदे सहमतिसँगै विद्यार्थीले पढाइ नै ठप्प हुने गरी २० दिनदेखि गर्दै आएको विरोधका सबै कार्यक्रम स्थगितसमेत भएको छ ।

‘धम्कीले पछि हट्यौं’ चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिश्चन्द्र न्यौपानेले विभिन्न राजनीतिक दलको नाममा आफूहरूलाई आएको धम्कीले गर्दा सहमति गर्न बाध्य हुनुपरेको बताएका छन् । ज्यानै जोखिममा राखेर काम गर्न नसकिने भन्दै उनले धम्कीपूर्ण भाषामा निकालिएका विज्ञप्तिले आफूहरूलाई पलायन बनाउने बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार