Presidential

शिक्षकको कुटाइबाट मृत्यु भएका विद्यार्थीको परिवारले शव बुझ्न मानेन


शिक्षकको कुटाइबाट मृत्यु भएका विद्यार्थीको परिवारले शव बुझ्न मानेन

विद्यालयका अध्यक्ष, प्रिन्सिपलसहित पाँचजनाका नाममा जाहेरी

कञ्चनपुर, २७ असार । भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँचजनाका नाममा किटानी जाहेरी परेको छ । माधवका मामा पुष्पमणि जोशीले बिहीबार विद्यालयका अध्यक्ष निरञ्जनप्रसाद बोहरा, प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ज्यानसम्बन्धी कसुर मुद्दा दायर गरेका हुन् ।

भान्जालाई प्रिन्सिपलको कार्यकक्षमा अध्यक्ष बोहराकै सामु प्रिन्सिपलसहित शिक्षकले कुटपिट गरेको भन्दै ज्यान मुद्दा दर्ता गरेको जोशीले जानकारी दिए । ‘मेरो भान्जालाई शिक्षकले सामूहिक कुटपिट गरेका हुन्,’ उनले भने, ‘त्यसैले हेर्ने, आदेश दिने र कुट्नेविरुद्ध किटानी जाहेरी गरेको हुँ ।’

छानबिन सुरु
जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका पाँचैजनामाथि छानबिन सुरु गरेको छ । कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले किटानी जाहेरीका आधारमा पक्राउ परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी, शिक्षकत्रय भट्ट, पाठक र जाग्रीको म्याद थप गरिएको बताए । ‘आदालतबाट सातदिने म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी प्रमुख पाण्डेयले भने, ‘घटनाको छानबिन भइरहेको छ ।’ विद्यालयबाहिर साथीभाइसँग झैँझगडाको विषयलाई लिएर माधवलाई प्रिन्सिपलकै कार्यकक्षमा कुटपिट गरिएको थियो ।

परिवारले शव बुझ्न मानेन

कुटपिट भएको १२औँ दिनमा १४ वर्षीय बालक माधवको उपचारका क्रममा भारतको राममूर्ति अस्पतालमा मृत्यु भएको थियो । उनी कक्षा ९ मा अध्ययनरत थिए । कलौनीको मृत्यु भएको तीन दिनसम्म पनि परिवारले शव बुझ्न मानेका छैनन् । न्याय नपाएको भन्दै पीडित परिवारले शव बुझ्न नमानेका हुन् ।

भारतीय सरकारी अस्पतालमा पोस्टमार्टम गरेर बुधबार महाकाली अञ्चल अस्पतालमा कलौनीको शव राखिएको छ । भारतमा गरिएको पोस्टमार्टमको रिपोर्ट भने आएको छैन । माधवका बाबु वृहस्पति कलौनीले न्याय नपाइन्जेलसम्म शव नबुझ्ने बताए । ‘जबसम्म न्याय पाइँदैन, तबसम्म शव बुझ्दैनौँ,’ उनले भने, ‘मैले मेरो छोरोलाई ठूलो बनाउने सपना बोकेको थिए, तर शिक्षकले चकनाचुर बनाइदिए ।’

Naya Patrika

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार