Presidential

‘सयथरि बाजा…’ का सफल वादक

विवश वस्ती

‘सयथरि बाजा…’ का सफल वादक

विवश वस्ती

मधेसको देहात । खेतैभरि तोरी फुलिरहेको छ, पहेंलपुर । टाउकामा माटाको गाग्री लिएर एउटी थारु युवती पोखरीको डिलैडिलै नाँच्दै हिँड्छे । ती युवतीसँगै नाच्दै हिँड्छन्, टाउकोमा माटाकै गाग्री बोकेकी अरु युवतीहरु पनि । उनीहरु नाच्दै गाउँछन्, ‘चोट मलाई पर्दामा दुख्छ भने यदि तिम्रो ज्यान, त्यही हो, त्यही हो नेपालीको राष्ट्रियताको मुल निशान, सयथरि गोडा एउटै चाल, सयथरि बाजा एउटै ताल, यही अभिमानी शिर उचाली हाँसिरहोस् यो उच्च हिमाल…।’

‘सयथरि बाजा एउटै ताल…’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बहुचर्चित हास्य चलचित्र ‘१५ गते’ मा उहिल्यै अटाइसकेको गीत हो । पचासकै दशकमा निर्माण भएको ‘१५ गते’ मा काठमाडौंको ब्राम्हण परिवारका केटा र पूर्वी मधेसको थारु समुदायकी युवतीबीचको बिहेको बेला यो गीत बजाइन्छ । तर, बेहुलीलाई अन्माउने बेला लमी (राजाराम पौडेल) चाहिँ केटीको दाजुसँग असाध्यै रिसाउँछन् । किनकि, लमीलाई सोझा थारु (किरण केसी) ले करिब–करिब खाल्डामै पुरेका थिए ।

जातीय विभेद मेट्ने मनसायले निकै माथि उठेर लेखिएको यो गीत आज पनि सदाबहार गीतहरुको लहरमा आबद्ध छ । नेपाली फिल्मवृत्तका अधिकांश गीतहरुको अहिले कुनै उच्चारण हुँदैन, तर ‘सयथरि बाजा एउटै ताल…’ भने अहिले पनि सर्वत्र गुन्जिने गीतमा दरिएको छ । किनकि, यो गीतले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ, नेपाली समाज, संस्कृति र पहिचानलाई अँगालोमै हालेर बोकेको छ ।

यही गीतका सर्जक श्रेष्ठ भन्छन्, ‘नेपाल क्षेत्रफलको हिसाबले छिटो नाप्न सकिने मुलुक हो । तर यसको साँस्कृतिक घनत्व भने अथाह नै छ । सम्बद्र्धन होइन, यसको संरक्षण मात्र गर्न सकेको खण्डमा पनि संसारमाझ नेपालीत्व सगरमाथा झै उच्च हुन्छ । यो कुरा त्यतिबेला मात्र सम्भव हुन्छ, जतिबेला हामीबीच एकले अर्कालाई आफ्नै सम्झेर प्रेमले अँगाल्ने बानीको विकास हुन्छ । यही सद्भावले प्रेरित भएर मैले यो गीत रचना गरेको हुँ ।’

हुन पनि युगौंदेखि हिमाली भेगको चिसो खेप्दै बाँचिरहेका छन्, शेर्पा समुदाय । युगौंदेखि नै तराई, मधेस र भित्री मधेसका भूभागहरुका नदी र खोलाहरुमा माछा मार्दै, घुँगी टिप्दै र जाल बुन्दै बसिरहेका छन्, थारुहरु । नेपालका हरेक गाउँ, बस्ती, पाखाभित्ताहरु चहार्ने हो भने अल्पसंख्यक होस् वा बहुसंख्यक, हरेक जाति, जनजाति आ–आफ्नै संस्कृति, संस्कार र चालचलन थामेर बाँचिरहेका छन्, बसिरहेका छन् । त्यही भएर त दुर्गालालले नेपालीहरुको यो भावनालाई टिपे टपक्कै र लेखे, ‘मेची काली सिंगो ढिक्को, साझा हाम्रो ज्यान नेपाल…।’

काठमाडौंको मुटुमै जन्मिए पनि कवि दुर्गालाल श्रेष्ठलाई नेपालको जातीय, साँस्कृतिक, धार्मिक विविधताले पहिलेदेखि नै छुँदै आयो । त्यही भएर उनले चालीसको दशकमै एउटा गीत कोरेका थिए, ‘सयथरि बाजा एउटै चाल, सयथरि गोडा एउटै चाल…।’ २०६२÷०६३ को जनआन्दोलनपछि राष्ट्रिय गान खोज्ने क्रममा श्रेष्ठको यो गीतलाई राष्ट्रिय गान बनाइनुपर्ने आवाज नउठेको होइन, गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र–सूर्य जंगी निशान हाम्रो…’ को पनि कुरा नउठेको होइन । तर, ताजा राष्ट्रिय गान खोज्ने क्रममा यी दुवै गीत प्राथमिकतामा परेन । नपरेर के भो ? अहिले पनि राष्ट्रिय भावना, एकता र बहुजातीय पहिचान झल्काउने ‘सयथरि बाजा एउटै चाल…’ उत्तिकै तिख्खर लयमा गुन्जिरहेका छन् ।

इखले नाटकतिर

अहिले दुर्गालाल ८१ वर्षमा हिँड्दैछन् । काठमाडौंको मुटु असनको न्हैकन्टोलमा जन्मिएका उनले १२ वर्षकै उमेरदेखि लेखन क्षेत्र अँगालेका हुन् । यतिबेला उनलाई चिन्नेहरुले राष्ट्रिय भावनाले भरिएका गीत लेख्ने सर्जकका रुपमा चिने पनि लेखन–प्रारम्भ भने गीतबाट गरेका थिएनन् उनले । भन्छन्, ‘मैले लेखनको थालनी नाटकबाट गरेँ । तर नाटकमा गीतको पनि आवश्यकता पर्ने भएको हुँदा त्यसकै परिपूर्तिका निम्ति गीतहरु पनि लेख्न थालेँ ।’

त्यसो त, काठमाडौंका हरेक टोलमा डबली हुन्थ्यो र ती डबलीहरुमा चाडपर्वका अवसर पारेर नाटक मञ्चन गरिन्थे । भन्छन्, ‘त्यस्ता डबलीहरुमा गाईजात्राका बेला नाटक देखाइन्थ्यो । त्यसमा हामीले पनि भाग लिन्थ्यौं । अझ, गाईजात्रा र इन्द्रजात्राका बेला त रातभरि नै नाटक हेरेर बिताउँथ्यौं ।’

तर, उनलाई नाटक लेख्ने सुर भने त्यतिबेला चल्यो, जतिबेला उनी आफ्ना साथीभाइसँग एउटा नाटक हेर्न गएका थिए । उत्साह बोकेर नाटक हेर्न गए पनि उनीहरुले नाटक हेर्न पाएनन् । त्यही ईखले डो¥याउँदै उनलाई नाटक लेख्न उत्प्रेरित ग¥यो र नाटक लेखेर स्थानीय डबलीहरुमा मञ्चन गर्न थाले ।

छैन सबै नाटक पुस्तकाकारमा

उनले पूर्णांकी र एकांकी दुवै नाटक लेखे । टोल–छिमेकमा उनको परिचय नै एक सफल नाटक लेखक र प्रदर्शकको रुपमा भइसकेको थियो । तर, अफसोस, उनले धेरै नाटक लेखेर मञ्चन गराए पनि सबै नाटक पुस्तकका रुपमा भने बाहिर आउन सकेन ।

किन त ? उनी भन्छन्, ‘मैले लेखेका नाटकहरु मञ्चनयोग्य मात्र सावित भए तर सबै नाटक पुस्तकका रुपमा आउन सकेन । लेखनको प्रारम्भतिर लेखेका नाटकहरु अहिले मसँग छँदा पनि छैन । त्यतिखेर मैले दुई दर्जनजति नाटक लेखेको थिएँ ।’

सबै नाटकले पुस्तकाकार लिन नसके पनि १० वटा नाटकको सँगालो ‘प्याखं पिचा’ भने सार्वजनिक भएको छ । नाटक लेखनमा समर्पित रहेकै बेला नेपाल प्रज्ञा–प्रतिष्ठानले उनलाई उत्कृष्ट नाटककारको रुपमा समेत सम्मान गरेको थियो ।

त्यसो त उनले सामाजिक विषयवस्तुलाई नै नाटकमा उतारे । भन्छन्, ‘मेरो नाटकका अधिकांश पात्रहरु विपन्न वर्गका नै हुन्थे । शोषणदेखि मलाई सानैदेखि घृणा थियो । त्यही घृणालाई म नाटकमा उतार्थेँ ।’ २०१५ सालको आमनिर्वाचनमा कम्युनिष्ट पार्टीको प्रचारक बनेका श्रेष्ठले नाटकमा शोषणको विरोध गर्नु सामान्य नै मानिन्थ्यो ।

नाटक प्रदर्शनमा प्रतिबन्ध

नेपालका प्रख्यात नाटक निर्देशकहरु प्रचण्ड मल्ल र हरिहर शर्माले उनका नाटक निर्देशन गरेका छन् । तर, एक पटक भने उनको नाटकलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा मञ्चन हुनबाट वन्चित तुल्याइयो । भन्छन्, ‘मञ्चन गर्न नदिइएको सो नाटकमा मैले नेपाली समाजभित्र व्याप्त शोषणको चित्रण गरेको थिएँ ।’

यो पञ्चायतकालको कुरा थियो । दरबार र राजारानीको ऐतिहासिक योगदानको गुनगान गाउने ‘मालती मंगले’ जस्ता नाटकमात्रै प्रदर्शन गर्न दिने तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले कसरी दुर्गालालको सामन्ती शोषणको धज्जी उडाएको नाटक मञ्चन गर्न दिन्थे ? पञ्चायतकालीन प्राज्ञहरु कहाँ त्यति उदार थिए र ? भन्छन्, ‘मैले त्यतिबेला लेखेका नाटकहरु कलात्मक रुपमा कति उत्कृष्ट थिए, थाहा भएन । तर म विद्यमान शोषणको विरोध गर्न भने हतारिई हाल्थेँ ।’

किसानका साथी

काठमाडौंको नेवार समुदायभित्र एक सफल र शोषण प्रथाको विरोधमा नाटक लेख्ने सर्जकका रुपमा उनको चिनारी बनिसकेको थियो । सोही क्रममा उनी कम्युनिष्ट राजनीतिसँग पनि जोडिए । पद्मरत्न तुलाधर उनका साथी थिए ।

तत्कालीन समयमा कम्युनिष्टहरुले आफ्नो संगठन किसानहरुबीच फैलाएका थिए । दुर्गालाल पनि शोषित परिवारमा जन्मिएका हुँदा उनका मित्रहरु पनि शोषित वर्गका मानिसहरु नै थिए । त्यही क्रममा उनले किसानहरुलाई साथी बनाए । भन्छन्, ‘त्यतिबेलाका किसानहरु अहिलेका जस्ता थिएनन् । उनीहरु तल्सिङका मोही थिए । वर्गीय हिसाबले उनीहरु शोषित थिए । ’

उनका प्रायजसो साथीहरु किसानहरु नै भएका हुँदा उनी खेतहरुमा पुगिरहन्थे । कहिले रोपाईका बेला, कहिले तरकारी खेती गर्ने बेला उनी किसानहरुसँगै खेतबारीमा नै रमाउँथे । र, किसानहरुसँग घुलमिल बढ्दै गएपछि उनले त्यसलाई गीतहरुमा उतार्न थाले ।

दुर्गालाल भन्छन्, ‘किसानहरुसँग सँगत बढ्दै गएपछि संगीत सिक्न भारत नपुग्नुपर्दो रहेछ भन्ने थाहा पाएँ । किनकि, हाम्रा किसानहरुले पहिलेदेखि नै श्रमसँग जोडिएका गीतहरु गाउँदै आएका थिए । ऋतुगीत त हाम्रो आफ्नै गीत रहेछ । त्यस्ता गीतहरु हाम्रो आफ्नै माटोमा फलेको धन हो भन्ने मलाई लाग्यो र मैले तिनै विषयलाई विम्ब बनाएर गीत लेख्न थालेँ ।’

म गीतकार हुँ

दुर्गालाल खुलेरै भन्छन्, ‘म केही हुँ त थोरै मात्रामा गीतकार मात्र हुँ ।’ तर, गीतबाहेक कविता र नाटक लेखनमा पनि उनको दम छ । भन्छन्, ‘म छन्दमा पनि कविता लेख्छु । मात्रा, वाणिक र लयात्मक छन्दमा म लेख्छु । लेख्ने क्रममा मेरो आफ्नै बानी छ । म लय गुन्गुनाउँछु र त्यही गुनगुनमा म शब्दहरु भर्छु ।’

मूलतः गीत, कविता र नाटक लेखनबाट आफ्नो परिचय बनाए पनि श्रेष्ठलाई साहित्यको समग्र विधा नै हृदयसँग सम्बन्धित लाग्छ । भन्छन्, ‘जबसम्म इमानदारितापूर्वक हृदय पोख्न सकिँदैन, तबसम्म अरुको हृदय छुन सकिँदैन । यो कुरा कविता र गीतमा लागू हुन्छ ।’

बच्चाहरुका पनि साथी

दुर्गालालले थुप्रै बालसाहित्य पनि लेखेका छन् । त्यही भएर उनी आफूलाई ‘बच्चाहरुका साथी’ भन्न रुचाउँछन् । भन्छन्, ‘बच्चाहरुसँगका सँगतले मैले थुप्रै बालसाहित्य सिर्जना गरेको छु ।’

उनका अहिलेसम्म कागजको डुंगा, सन्तको छाता, चिनियाँ चम्पालगायत थुप्रै बालसाहित्यका पुस्तकहरु प्रकाशित भएका छन् । नेपाली बालसाहित्यको स्थिति कस्तो छ त ? उनी भन्छन्, ‘हामीकहाँ भाषिक दमन छ । कतिपय विद्यालयहरुमा मातृभाषालाई मान्यता दिइरहेको छैन भने बालसाहित्यको स्थिति कस्तो होला ?’ हुन पनि उनी २०२२ सालमा भाषिक आन्दोलनमा सरिक भएपछि नै प्रगतिशील साहित्य क्षेत्रमा आएका हुन् । त्यतिबेला रेडियो नेपालले नेपाल भाषामा प्रशारण गर्दै आएको समाचार हटाएपछि त्यसकै विरोधमा भाषा आन्दोलन उठेको थियो । भन्छन्, ‘नेपाल भाषाले सही मार्गदर्शन पाएको त्यही बेलाको भाषा आन्दोलनपछि नै हो ।’

यसरी जन्मियो फूलको आँखामा…

जनपंक्तिमा भिजेका शब्द टिप्न माहिर दुर्गालालले लेखेका अर्को चर्चित गीत हो, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार…।’ सयथरि बाजापछि यो गीतले निकै नै पिट्यो । र, दुर्गालालको गीति–शक्तिलाई पर्गेल्न यो गीत काफी रह्यो ।

हुन पनि एउटा रमाइलो संयोगबाट जन्मिएको थियो यो गीत । भन्छन्, ‘म शब्द भन्थेँ, न्हु बज्राचार्यले गितार रेटेर ती शब्दलाई संगीतमा ढाल्थे र आनी छोइङ डोल्माले त्यसमै सुन्दर स्वर भर्थिन् । यसरी हामी तीनै जनाको सुन्दर संयोजनबाट यो सुन्दर गीत जन्मिन पुग्यो ।’

हुन पनि यो गीतमा उत्कृष्ट शब्द त छ नै, संगीत र गायनको पनि उत्कृष्ट तालमेल मिल्न पुगेका छन् । शब्दको अतल गहिराइले नै भन्छ, यो नेपाली संगीत क्षेत्रले पाएको एक उत्कृष्ट सिर्जना हो–

‘चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्
मेरो पैतालाले किरै नमरोस्
टहटह जून देखुँ कालो रातैमा
जीवन संगीत सुनुँ म सुख्खा पातैमा…।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार