Presidential

हुम्ला विमानस्थलका महिला भरिया


हुम्ला विमानस्थलका महिला भरिया

मौसम खराब भएर विमान नआएको दिन बन्दैन नगद, बल्दैन चुलो

सिमकोट,८ भदौ । सिमकोट गाउँपालिका–६ की ४० वर्षीया हसकला सुनार बिहानै घरबाट निस्किन्छिन् । विमानस्थल नपुगुन्जेल भारी नपाइएला कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ । मौसम खराब भएर विमान नआएको दिन उनी निराश हुन्छिन् र रित्तो हात घर फर्किन्छिन् । ‘भारी बोक्न नपाए बिहान–बेलुका हातमुख जोर्नै मुस्किल हुन्छ,’ उनले भनिन्, ‘यही हवाईजहाजको आस गरेर हाम्रो छाक टर्छ ।’

जहाजले खाद्य संस्थानको चामल, साल्ट ट्रेडिङको नुन र स्थानीय व्यापारीको सामान ल्याउँछ । यही सामान बजार पु¥याएर गुजारा चलाउँछिन् हसकला । उनीजस्तै भारी बोकेर परिवार धान्ने सिमकोटमा धेरै छन् । तीमध्ये सबैजसो महिला छन् । आर्थिक अवस्था कमजोर भएका ३३ महिला र तीनजना पुरुषले यही पेसा गरिरहेका छन् । उनीहरूले बजारसम्म सामान बोकेर पु¥याएको ५० देखि दुई सय रुपैयाँसम्म पाउँछन् ।

हावाहुरी आएको र बादल लागेको दिन भारी नपाएर चुलोमा आगो नबल्ने सिमकोट–४ की काली बोहरा बताउँछिन् । उनी चार वर्षदेखि भारी बोकिरहेकी छिन् । पति बितिसकेकाले चारजनाको परिवार धान्ने जिम्मा उनको थाप्लोमा छ । आफ्नो बारीमा फल्ने अन्नले तीन महिना पनि नपुग्ने उनले बताइन् । ‘सुखदुःखको के कुरा गर्नु !’ काली भन्छिन्, ‘काम नगरी माम नपाइने रहेछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पिठ्युँमा भारी हुन्छ । त्यो नभए चुलामा आगो बल्दैन ।’

हिराकली सुनार ४५ वर्ष पुगिन् । उनी पनि २५ वर्षदेखि भारी नै बोकिरहेकी छिन् । साहुले ज्याला जति दिए पनि लिनैपर्ने अवस्था रहेको उनको भनाइ छ । संविधानको धारा ३४ को उपधारा ९२० मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । तर, यी हुम्ली श्रमिकका लागि यो हकको कार्यान्वयन हुन सकेको छैन ।

भारी बोक्न पनि महिलाबीच प्रतिस्पर्धा
हरेक दिन हवाईजहाज आउँछ कि आउँदैन भनेर कान ठाडो पारेर बस्ने, आवाज सुन्नेबित्तिकै दौडेर तँछाडमछाड गर्दै विमानस्थलको गेटमा पुग्ने, जहाजले ल्याएको सामान बोकेर व्यापारीका पसल–पसलमा पुर्‍याउने अनि दुई–चार पैसा लिएर पेट पाल्ने । उनीहरूको दैनिकी यही नै हो ।

सिमकोट गाउँपालिका–८ डाँडाफयाकी ५१ वर्षीया बाँचु नेपालीको आधा जीवन यसरी नै भारी बोकेर बितिसक्यो । गाउँमा गरी खाने जमिन छैन । अर्थोपार्जनको अरू कुनै उपाय छैन । त्यसैले उनले ११ वर्षदेखि सिमकोट विमानस्थलमा भारी बोकिरहेकी छिन् । ‘छाक टार्ने अरू उपाय छैन,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ विमानस्थलमा भारी बोक्न तँछाडमछाड पर्छ । रिसखिस्सी हुन्छ । कसैले सामान पाउँछन्, कसैले पाउन्नन् । अनि दिदी–बहिनीबीच झगडा पर्छ । त्यस्तो वेला साह्रै नमीठो लाग्छ ।’

नयाँपत्रिकाबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार