Presidential

भारतलाई चीनविरुद्ध प्रयोग गर्ने चलाखी नोक्सानदायी हुनेछ


भारतलाई चीनविरुद्ध प्रयोग गर्ने चलाखी नोक्सानदायी हुनेछ

–आलोक मेहता

अमेरिका र भारतमा ‘ट्रम्प टावर’ जस्ता बहुतले भवनको निर्माण गर्नेवाला डोनाल्ड ट्रम्प सपनाका व्यापारी पनि हुन् । अमेरिकाको ४५औं राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेको तुरुन्तै अमेरिकालाई ‘ग्रेट’ र ‘फस्ट’ बनाउने संकल्प व्यक्त गरे । ७० वर्षिय ट्रम्प अर्बपति व्यापारी पक्कै हुन्, तर यो लामो यात्रामा उनले जनतासँग गाँसिएका कुनै राजनीतिक शिक्षा–दीक्षा, स्थानीय चुनावसम्ममा सहभागिता देखाएका छैनन् ।

हो, कम्पनी साम्राज्यमार्फत् राष्ट्रपति बन्ने इच्छा दुई दशक पहिले नै बनाएका थिए । वर्तमानको राष्ट्रपति निर्वाचनको प्रक्रियाको दौरान प्रतिपक्षी डेमोक्रेटिक पार्टीले मात्र होइन, उनकै रिपब्लिकन पार्टीको एउटा राजनीतिक वर्गले पनि ट्रम्पको उम्मेद्वारी रोक्ने हरसम्भव प्रयास गरेका थिए । तर, यो कुरा मान्नुपर्दछ कि, आर्थिक समस्याले त्रस्त एवं ठूला परिवर्तनका लागि इच्छुक जनताका प्रतिनिधिले ट्रम्पलाई राष्ट्रपति बनाए । यस कारण ट्रम्प साहेबको ह्वाइट हाउस र क्यापिटल हिल्समा उठ्बस गर्ने विस्तारै–विस्तारै नयाँ चुनौतीको महसुस होला ।

तर, ट्रम्पलाई उनका कुनै सल्लाहकारले किन बताएनन्, ‘अब्राहम लिंकनदेखि बाराक ओवामासम्मका हरेक राष्ट्रपतिले अमेरिकालाई महान र फस्ट बनाउने इच्छासँगै हरेक सम्भव र राम्रा–नराम्रा कोसिस गरेका थिए ।’ ट्रम्पले आफ्नो शपथपछिको पहिलो भाषणमा अमेरिकाको खराब आर्थिक स्थिति, बेरोजगारी, लागू औषधबाट पीडित समाज र अन्तर्राष्ट्रिय कमजोरीजस्ता मुद्दालाई यति व्यापक रुपमा उठाए कि, जति सायदै अमेरिकालाई ‘पुँजीवादी साम्राज्यवादी’ नीति अपनाएको आरोप लगाउँदै आएका अरु देशका आलोचकले पनि लगाउँछन् ।

चीन त १९९० को दशकपछि पछिल्ला २५ वर्षमा आर्थिक महाशक्तिको रुपमा उदाएको हो । त्यसभन्दा अघि र पछि पनि अमेरिकाको गिन्ती ‘कमजोर’ राज्यको रुपमा रहेको होइन । ट्रम्पले विस्तारै यो कुरा बुझ्लान्, ‘ग्रेट’ र ‘फस्ट’ हुनका लागि प्रतियोगी नै सही, तर त्यसका निम्ति एकदेखि दस–बीसजनालाई साथमै राखेर दौड्नु पर्छ ।

रोजगारी दिनु, गरिबीलाई भगाउनु, आतंकवादसँग लड्नु हरेक देशका राजनेताको संकल्प हुनुपर्छ । चीन, रुस, जापान, जर्मनी, फ्रान्स, बेलायत मात्र होइन, भारत, दक्षिण अफ्रिका, मिश्र, युनान, ब्राजिल, अर्जेन्टिना, नेपाल, पाकिस्तान, श्रीलंकाजस्ता देशका राष्ट्राध्यक्षले पनि यस्तो संकल्प आफ्ना देशका जनतासामु राख्दै आएका छन् । तसर्थ, ट्रम्पको संकल्पलाई उचित ठह¥याउँदै उनको क्रान्तिकारी आर्थिक कदमको प्रतिक्षा गर्नु पर्दछ ।

alok

ट्रम्पलाई मन पराउने अमेरिकाबासीहरुले यो कुरा अवश्य नै थाहा पाएको हुनुपर्छ, ट्रम्पको महिलासम्बन्धी अथवा परमाणु बमको प्रयोगसम्बन्धी आपत्तिजनक वक्तव्यले अमेरिकाको प्रतिष्ठा गिर्न पुग्छ । अब राष्ट्रपति बनिसकेपछि उनले आफ्नो अभिव्यक्तिमाथि नियन्त्रण गर्नुका साथै अनुमानका भरमा आदेश जारी गर्नु उचित देखिँदैन ।

डोनाल्ड ट्रम्प ‘मेक इन अमेरिका’, ‘वर्क फर अमेरिकी फस्ट’, ‘कट टू हेल्प अदर्स’ जस्ता नीतिहरुलाई अपनाउन चाहन्छन् । त्यही पूर्व राष्ट्रपति बाराक ओवामाको जनहितकारी ‘स्वास्थ्य योजना’ सहित केही राष्ट्रिय–अन्तर्राष्ट्रिय नीतिहरु पनि बदल्न चाहन्छन् । तथापि, सर्वशक्तिमान बताउने हरेक अमेरिकी राष्ट्रपतिको संसद्, सर्वोच्च अदालत र अभिव्यक्ति–असहमतिका लागि स्वतन्त्र जनताको ‘ब्रेक’ को सामना पनि गर्नु पर्दछ । ट्रम्पको शपथ ग्रहण समारोहका समय केही डेमोक्रेट सांसदहरुको अनुपस्थितिको प्रतीकात्मक विरोधभन्दा धेरै महत्व अढाई लाख व्यक्तिहरुका शान्तिपूर्ण विरोध प्रदर्शन थियो । समारोहमा करिब दस लाख व्यक्ति उपस्थित थिए तर पूर्व राष्ट्रपतिको शपथ ग्रहणहरुजस्तै हर्ष, उल्लास र तालीको गड्गडाहट थिएन ।

निश्चय नै, जनता उनीप्रति बढी नै आशावादी छन् । धेरैभन्दा धेरै आशा जगाउनु र अति आत्मविश्वास–अहंकार दुवैतिर धार भएको तलवारजस्तै हो । यसबाट पर्याप्त सफलता नमिल्ने बित्तिकै कडा विरोध–विद्रोह उत्पन्न हुन्छ । यस कारण आर्थिक उत्थानका लागि ट्रम्पका छिमेकी ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसियासँग राम्रो आर्थिक व्यापारिक–कुटनीतिक सम्बन्ध राख्नु उचित देखिन्छ । लिकबाट हटेर रुससँगको सम्बन्धलाई धेरै राम्रो बनाउने प्रयत्न ठीक हो । अमेरिका–रुसबीचको शीतयुद्धकालमा संसारलाई धेरै बेफाइदा पनि भएको थियो । तर, रुससँग मित्रताको नकारात्मक लाभ चीन वा अरु देशसँग कटुता र शत्रुताका निम्ति गर्नु भने धेरै नै खतरनाक हुनेछ ।

अन्तराष्ट्रिय आतंकवादसँग लड्नका लागि अग्रणी भूमिका खेल्ने इच्छालाई पनि उचित मान्न सकिन्छ । तर, भारतको यो परिभाषालाई सम्झिनु उचित देखिन्छ, ‘आतंकको कुनै धर्म हुँदैन ।’ ट्रम्पले आफ्नो भाषणमा स्पष्ट शब्दमा ‘इस्लामिक आतंकवाद’ लाई अन्त्य गर्ने दाबी गरे । तर, अफगानिस्तान, पाकिस्तान, ईरान–इराक, सिरिया त इस्लामिक देश त हो नै, तर ती देशहरु पनि आतंकवादबाट नराम्ररी प्रभावित छन् । तसर्थ, आतंकवादलाई सिंगो विश्वबाट समाप्त पार्नका लागि अन्तराष्ट्रिय कुटनीतिक–सामरिक कदमको आवश्यकता पर्दछ । सिरियाको संघर्ष र युद्धको परिस्थिति बदल्नका लागि रुसको सहयोग लिनु उचित देखिन्छ । यसरी नै अफगानिस्तानजस्ता क्षेत्रबाट अमेरिकी सेनालाई हटाएर खर्च बचाउनु ठीक देखिन्छ । यो कुरामा पनि ध्यान पुर्याउनुपर्छ, पाकिस्तानलाई कठपुतली बनाएर चीनको अजिंगररुपी पञ्जा त्यहाँ नजमोस् । आवश्यक देखिन्छ कि, भारतसहित केही देशको सहयोग लिएर दक्षिण एसियामा आतंकवादको समाप्ति र आर्थिक विकासका लागि प्रयास होस् ।

भारतलाई चीन विरुद्ध प्रयोग गर्ने चलाखी पनि ढिलो–चाँडो नोक्सानदायी सावित हुनेछ । भारतले आफ्नो सामरिक हितको रक्षा अवश्य नै गर्नुपर्दछ । तर आर्थिक विकासका लागि चीनसहित छिमेकी देशहरुसँग सम्बन्ध राम्रो रहनु पर्दछ । अमेरिकासँगको वर्तमानको एक सय अर्ब डलरको आर्थिक–व्यापारिक सम्बन्धलाई पाँच सय अर्ब डलरसम्म बढाउने लक्ष्य छ । त्यस्तै, मेक इन इन्डियालाई सफल बनाउनका लागि अमेरिका, चीन, युरोप मात्र होइन, खाडीका इस्लामिक देशहरुबाट पुँजी निवेश र निर्यात सम्बन्धको पनि उत्तिकै आवश्यकता छ ।
ट्रम्पले परमाणु हतियारको धम्की पद सम्हाल्नुभन्दा पहिले दिएका थिए । तर, अमेरिका त्यस अन्तर्राष्ट्रिय सम्झौता र संकल्पको हिस्सेदार हो, जसमार्फत परिमाणु हतियारमा निरन्तर कटौती एवं अन्ततोगत्वा परमाणु बमबाट विश्वलाई मुक्त बनाउने कुरालाई बिर्सनु हुँदैन ।

(हिन्दी पत्रिका ‘आउटलुक’ प्रधानसम्पादक मेहताको यो लेख १३ फेब्रअरीको अंकबाट लिइएको हो । शीर्षक हाम्रो हो ।)

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार