Presidential

सात मिनेटमै माधवले नारायणकाजीलाई किन भने ‘आप जा सकते है’ ?


सात मिनेटमै माधवले नारायणकाजीलाई किन भने ‘आप जा सकते है’ ?

११ फागुन । साताव्यापी भारत भ्रमणका क्रममा विभिन्न नेताहरुसँग भेटघाट गरेर फर्किएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले कटु अनुभव सुनाए, ‘भारतीय सत्ताधारी वर्गको मानसिकता बदलिएको छैन ।’

आखिर नारायणकाजी श्रेष्ठलाई के घटनाले यस्तो बनायो त ? यसपटक उनी पार्टीको जनसंगठनको कार्यक्रममा भाग लिनका लागि दिल्ली पुगेका थिए । र, त्यही क्रममा उनले भारतीय नेताहरुसँग भेटघाट पनि मिलाएका थिए ।

भ्रमणका क्रममा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले दुईवटा काम गरेः एक, हरेक भेटका क्रममा नेपाली दूताबासका उपप्रमुख कृष्ण ढकाललाई साथमा राखे । दोस्रो, सबै नेताहरुसँग एउटै खालको कुरा राखे ।

यसपटक श्रेष्ठले नेपालमा भन्दै आए जस्तै कुरा दिल्लीमा पनि राखेका थिए । उनले भारतले नेपालको आन्तरिक मामिलामा चासो राख्न छाड्नुपर्ने भन्दै त्यही आधारमा मात्रै सम्बन्ध सुमधुर बन्ने तर्क गरेका थिए ।

भारतीय जनता पार्टीका बरिष्ठ नेता यशवन्त सिन्हा, कांग्रेस आईका बरिष्ठ नेता करण सिंहसम्म त उनको ठीकै कुराकानी भयो । तर, भाजपाका प्रभावशाली नेता राम माधवसँग भने सोचे जस्तो कुराकानी हुन सकेन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेका र अमित साहपछि भाजपा अध्यक्ष बनाउने गरी ग्रुम गरिएका राम माधव भाजपाभित्र नेपाल नीतिका प्रमुख मानिन्छन् । राष्ट्रिय स्वयम्सेवक संघबाट भाजपा ल्याएर महासचिव बनाइएका तीनै माधवसँग चाहिँ नारायणकाजी श्रेष्ठको साह्रै खस्रो सम्वाद भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार, कुराकानीको सुरुआत गर्दै नेता श्रेष्ठले नेपालमा भारतीय हस्तक्षेप हुन नहुने कुरा खरो शब्दमा राखेका थिए । त्यसको प्रतिक्रियामा माधवले ‘पहिला आफ्नो आन्तरिक मामिला मिलाउनू्स्, हामीलाई किन दोष दिनुहुन्छ ?’ भन्दै पन्छाउन खोजेका थिए ।

त्यसपछि श्रेष्ठले नेपालको संविधानले मधेसी नागरिकलाई कुनै भेदभाव नगरेको दृष्टान्त दिँदै दुई देशमा नागरिकता प्राप्तिसम्बन्धी प्रावधान पढेर सुनाएका थिए । नेपाली महिलाले भारतमा विहा गरेमा नागरिकताका लागि सात वर्ष कुर्नुपर्ने तर भारतीय महिलाले नेपालमा विहा गरेमा आजको आजै नागरिकता पाउने प्रावधान सुनाएपछि माधव क्रुद्ध भएका थिए । त्यसपछि एकैपटक उनले भने, ‘आप जा सकते है ।’

त्यसो भनिसकेपछि नारायणकाजी त्यहाँ बसिरहने कुरा भएन र माधवको निवासबाट बाहिरिए ।

सायद, त्यही घटनाका आधारमा पनि श्रेष्ठले भनेका हुन सक्छन्, ‘भारतीय नेताहरुको नेपालप्रतिको दृष्टिकोण बदलिएको छैन ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार