Presidential

अनिल श्रेष्ठका दुई कविता


अनिल श्रेष्ठका दुई कविता

 

साइँली कमिनीको देश

‘ज्यू गरेँ हजुर’

म आबुँल्नी
आँबु गाउँकी साइँली कमिनी
सकिबक्सन्छ भने
यो निर्धोलाई
अलिकति दया गरिबक्सियोस्

हजुर
तपाईको ऊ त्यो तखताबाट
जीउ तंग्राउने
मलाई अलिकति ओखतीको झोल पाए
म यो बूढी आइमाई
हजुरको गुन कहिल्यै बिर्सने थिइन्

ओखतीले बाँच्न पाए
अरु बाँच्ने थिएँ कि जीवन
अरु देख्न सक्थेँ कि दुनियाँ
कस्तो हुन्छ लोकतन्त्र ?
कस्तो हुन्छ गणतन्त्र ?
देख्न सक्ने थिएँ हुँला

जीवनको रङ त उस्तै हो, के फर्कला र
यी नातिनातिनाको आँखामा खेलेको
खुसीहरु त देख्न सक्नेथिएँ
मलाई यिनीहरुको ओठले हाँसेको हेर्न
अचम्म रहर छ

धेरै भयो, खोकी चलेको छ
छाती असाध्यै दुख्छ
सास एकोहोरो फुल्छ
मुटु फुट्लाझैं जोडजोडले हल्लन्छ जीउ

बूढो भएपछि
उमेरजस्तो यो जीउ कहाँ हुँदो रै’छ र ?
खोक्दाखोक्दै घुप्लुक्क लडेपछि
खै, यो जीवन यत्तिकै रै’छ झैं लाग्छ

जाँचेको कुन्नी कति पैसा लाग्छ ?
डाक्टर नानी, मसँग हजुरलाई दिने पैसा छैन
मैले इमान ढाँटेर
तपाईलाई झुटो बोलेकी हैन
पत्याउनु हुन्न भने मेरो यो रित्तो पटुकी छ

यो जाडोमा यी नातिनातिनालाई
एक कप तातो चिया खुवाउनु पाए पनि
कति जाति हुन्थ्यो
यी केटाकेटीको ओठहरुबाट
थर्थराएको जाडोले
म बूढीको मन दुख्छ

यस्तै जाडोको एकदिन
जुलुसमा हिँड्दाहिँड्दै
यिनीहरुका बाउआमाको ज्यान गयो
ऊ त्यो भित्तामा टाँगेका फोटाहरुमध्ये
दुई जना यिनीहरुकै बाउआमा हुन्
सहिद भए भन्छन्
दुवै जना गिट्टी कुट्ने काम गर्थे हजुर
कहिले बालुवा चाल्थे
कहिले इँटा भर्थे
मेरो निधारको थाप्लोमा
यी नानीहरुको नाम्लो छाडेर
यिनेरुका बाउआमा मभन्दा अघि भए
म बूढी लाचार भएर यी टुहुराहरु
डो¥याउँदै छु

हजुर कस्तो हुन्छ लोकतन्त्र ?
म बूढीलाई यी टुहुराहरु
हाँसेको हेर्न असाध्यै रहर छ

 

अँगेना छेउको घाम

अँगेना जोडेर
घाम छोडाउन बसेको छु

जति छोडाउँछु घाम
खोस्टाहरुभित्र
घाम उत्तिकै पस्दै जान्छ

अलिकति छोडाएको
घाम पनि टिपेर
भँगेराहरु
छानामाथि भुर्रभुर्र
खोस्दै खेल्छन्

घामका खोसेल्टाहरु
च्यात्दाच्यात्दै
निभ्छ एउटा मध्यान्ह
बेलुकीको चिसो सियाँठहरुले
पछाडिबाट
आङ हिर्काएर जान्छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार