Presidential

उर्लाबारीका लक्ष्मीनारायण ३१ वर्षदेखि लगातार जनप्रतिनिधि


उर्लाबारीका लक्ष्मीनारायण ३१ वर्षदेखि लगातार जनप्रतिनिधि

एमालेको नीति मन परेर राजनीतिमा लागेको स्पष्टोक्ति

१९ असार । अरु उम्मेदवारलाई एउटै निर्वाचन जित्न धौधौ पर्छ । तर, मोरङको उत्तरी क्षेत्र उर्लाबारीका लक्ष्मीनारायण धिमालले लगातार ३१ वर्षदेखि चुनाव जित्दै आएका छन् ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा समेत जितेपछि धिमालले आफ्नो वडामा पहिलादेखि राख्दै आएको वर्चश्व कायम नै राखेका छन् । धिमाल २०४३ देखिको स्थानीय निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका हुन् । २०४३ सालमा तत्कालीन गाउँपञ्चायतको जनपक्षीय सदस्यमा निर्वाचित भएका धिमाल बहुदलपश्चात् लगातार वडाध्यक्षमा निर्वाचित हुँदै आएका छन् ।

२०४९ र २०५४ मा तत्कालीन उर्लाबारी गाविस वडा नम्बर १ को वडाध्यक्षमा जितेका उनले दोस्रो चरणको निर्वाचनमा भने उर्लाबारी नगरपालिका वडा नं. ४ (साबिक १ र ५) को अध्यक्षमा एमालेको तर्फबाट निर्वाचित भएका हुन् ।

वडाबासीबीच सरल र स्वच्छ छवि बनाएका धिमाल नगरमा आदिवासी धिमाल समुदायबीच लोकप्रिय रहेका छन् । एमालेको नीतिबाट प्रभावित भएर पञ्चायतकालदेखि नै तत्कालीन मालेमार्फत वामपन्थी राजनीतिमा सामेल भएका धिमाल एमाले गाउँ कमिटी सदस्य, क्षेत्रीय सदस्य र मोरङ जिल्ला सदस्यसमेत भइसकेका छन् ।

निर्वाचित भइसकेपछि धिमालले वडामा बक्राह, नुनसरी र तेली खोलाले दिने दुःख एवम् सुकुम्बासी समस्या, विद्युतिकरण, शिक्षा र स्वास्थ्य, सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने काममा जोड दिँदै नमुना वडा बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले जनाए । विगतमा जस्तो रकम अभावमा नाम मात्रैको प्रतिनिधि नभएर अब करोडौं रकम वडामा आउने भएकोले पनि योजनाबद्ध रूपमा अघि बढ्ने पनि उनले बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार