Presidential

‘डडेल्धुरामा विकल्प छ भन्ने मनोविज्ञान बनाएका छौँ’


‘डडेल्धुरामा विकल्प छ भन्ने मनोविज्ञान बनाएका छौँ’

२३ असार । ०४६ सालमा बहुदल आएपछि चुनाव लड्न जिल्ला फर्किएका शेरबहादुर देउवाले त्यसयता भएका पाँचवटा चुनावमा पराजय बेहोर्नुपरेको छैन । तर, यसपटकको स्थानीय तहको निर्वाचन उनका लागि ती सबै विजयलाई बिर्साउने गरी नमिठो बनेको छ । त्यसका मुख्य दुई कारण छन्ः पहिलो, उनको मुख्य आधारका रुपमा रहेको सदरमुकामस्थित अमरगढी नगरपालिकामा एमालेको विजय र दोस्रो जिल्लाभरमा एमालेले बढाएको मत । र, उनलाई त्यसरी चुनौती खडा गर्ने एमालेको नेतृत्व गरिहेका छन् डा. तारा जोशीले ।

सात तह रहेको डडेल्धुरामा कांग्रेसले चार, एमालेले दुई र माओवादीले एक तह जितेका छन् । तर, कूल जनप्रतिनिधिमा चाहिँ एमाले पहिलो बनेको छ । बडाध्यक्षमा एमालेले १९, कांग्रेसले १७ र माओवादीले १६ स्थान जितेका छन् । आखिर एमालेले डडेल्धुरामा कांग्रेसलाई कसरी पछाडि पा¥यो त ? एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशी भन्छन्, ‘हामीले डडेल्धुरामा विकल्प छ भन्ने मनोविज्ञान तयार गरेका छौँ । विगतमा शेरबहादुरजीको विकल्प नै छैन भन्ने गरी जुन छाप निर्माण गरिएको थियो, त्यो क्रमशः भत्किँदैछ ।’

२०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरामा एमालेभन्दा कांग्रेस १६ हजार मतले अगाडि थियो । त्यतिबेला कांग्रेसका तर्फबाट देउवाले २३ हजार मत प्राप्त गरेका थिए भने एमालेका जोशीले ७ हजारमा चित्त बुझाउनुपरेको थियो । तर, अहिले त्यो मतान्तर निकै घटेको छ । सात तहमा तीन पार्टीले प्रमुख पदमा पाएको मतलाई आधार बनाउँदा कांग्रेसले १९ हजार ७ सय ५२ मत ल्याएको छ भने एमालेले १५ हजार ६ सय ६८ मत ल्याएको छ । अर्थात् यी दुई पार्टीबीच जम्मा ४ हजार ८४ मत फरक छ । ०७० मा १३ हजार मत ल्याएर दोस्रो भएको माओवादीले यसपटक ११ हजार ९५ मत ल्याएको छ ।

डडेल्धुरामा कांग्रेसको जति पुरानो इतिहास एमालेको छैन । पञ्चायतकालमै ३० को दशकमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका शेरबहादुर देउवाको नाम डडेल्धुरामा त्यतिबेलादेखि नै नफैलिने कुरा भएन । तर, एमालेले भने बहुदल आउने आसपास मात्रै त्यहाँ संगठन बनाउन सुरु गरेको हो । अहिले एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य रहेका डडेल्धुराको आलिताल निवासी गोविन्दप्रसाद कलौनीको नेतृत्वमा एमालेले ०४६ सालतिर त्यहाँ औपचारिक संगठन सुरु गरेको हो । त्यसयता कलौनीका साथै पठानसिंह बोहरा, विक्रमबहादुर शाही हुँदै तारा जोशीको नेतृत्वमा अहिले एमाले छ ।

०४८ सालमा तिनै गोविन्द कलौनी देउवासँग लडेका थिए भने ०५१ मा आफू लड्नुको साटो एमालेले रामराजाप्रसाद सिंहको जनवादी मोर्चाका खेमराज भट्ट ‘मायालु’ लाई समर्थन गरेको थियो । मायालु पछि कांग्रेसमा प्रवेश गरे र ०५६ मा बर्दिया–३ बाट चुनाव जितेर मन्त्रीसमेत बने । ०५६ सालको निर्वाचनमा एमालेले सेवानिवृत्त प्रशासक बागेश्वरीदत्त (बीडी) चटौतलाई उम्मेदवार बनाए पनि देउवाका सामु केही लागेन । ०६४ सालमा तत्कालीन जिल्ला अध्यक्ष विक्रमबहादुर शाही देउवासँग भिडे तर स्थितिमा पहिलेभन्दा परिवर्तन आएन ।

अब के होला त ? अध्यक्ष डा. जोशी भन्छन्, ‘डडेल्धुरा धेरै कुरामा पछि परेको छ । हामीले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि भिजन डडेल्धुरा बनाएका छौँ । स्वास्थ्य, शिक्षा र सरसफाइमा समेत ध्यान दिएका छौँ । राजनीतिक चेतना बदलिएको छ र जनताहरु विकल्पका लागि तयार देखिएका छन् ।’

७२ वर्षीय शेरबहादुर देउवाले पहाडको डडेल्धुराका साथै विगतका दुई चुनावमा क्रमशः कञ्चनपुर र कैलालीका सहज क्षेत्र पनि रोजेका थिए । यसपटक एक ठाउँबाट मात्र चुनाव लड्न पाइने संवैधानिक प्रावधान भएका कारण उनले त्यो सुविधा पाउने छैनन् । यसको मतलब उनी पहाडको साटो तराईमै चुनाव लड्न सक्ने आँकलन गरिँदैछ ।

डडेल्धुराको आफ्नै पार्टी राजनीतिप्रति देउवाको मन भाँचिएको छ । विगतदेखि नै उनी पक्षधरहरुको मात्रै बोलबाला हुँदा पनि कांग्रेसमा मेलमिलाप छैन । पूर्वसभापति रघुवर भट्ट र वर्तमान सभापति कर्णबहादुर मल्ल समूहबीचको लडाइँले डडेल्धुरामा कांग्रेसलाई धराशायी बनाइरहेको टिप्पणी पार्टीभित्रैबाट भइरहेको छ । यस्तो अवस्थामा देउवा डडेल्धुरा फर्किने सम्भावना कम देखा परेको छ ।

एमालेमा युवा नेताहरुको बाहुल्य छ । विगतमा पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या विधानसम्मत रुपमा समाधान गरेर एकताबद्ध रुपमा चुनावमा लागेका कारण एमालेले अपेक्षित सफलता हासिल गरेको बुझाइ कार्यकर्तामा छ । बैकल्पिक केन्द्रीय सदस्य विक्रमबहादुर शाहीले अहिले कञ्चनपुर जिल्ला हेरिरहेका छन् भने अर्की बैकल्पिक केन्द्रीय सदस्य निरा जैरु अमरगढीको चुनावमा सक्रिय थिइन् । गजेन्द्रबहादुर शाही, तुलाराम बोहरा जस्ता नेताहरु आ–आफ्नो ठाउँमा सक्रियतापूर्वक लागेका छन् ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेर राजनीति गर्न सीधै डडेल्धुरा फर्किएका तारा जोशी भन्छन्, ‘हामीले मसिनो गरी जनताका बीचमा काम गरिरहेका छौँ । जनताले हामीलाई रेस्पोन्स गरिरहेका छन् । आशावादी छौँ, हामी पक्कै उनीहरुको मन जित्न सफल हुनेछौँ ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार