Presidential

बुर्जुवा कथाकार


बुर्जुवा कथाकार

पेशल आचार्य

ऊ मेरो अगाडि धित मरुन्जेल रोयो । मलाई उसको रुवाइ देखेर भित्रभित्र हाँसो उठ्यो ।

मैले मेरो हाँसोलाई मरून्जेल दबाएँ । रुँदा मानिस हलुको हुन्छ –सायद् । पन्ध्र मिनेटजति ऊ रोएपछि आफैँ थाकेछ । हिँक्कहिँक्क गर्दै फेरि त्यसरी नै शान्त भयो –जसरी एउटा रेल स्टेसनमा आएपछि क्रमशः रोकिन्छ ।

ऊ भनेको कथाकार हो । म भनेको उसको पाठक हूँ ।

मैले उसले लेखेका सबै ‘फिक्सन’ दोहा¥याइतेहे¥याई पढेको छु । त्यसरी पढेको छु कि जसरी गाउँ घरतिर दसैँका लागि आफ्ना कोठेबारीमा साँचेको घाँस दसैँ नजिकिदैँ जाँदा माटै निक्लिनेगरी काटिन्छ । हँसिया सेपेर ।

लेखक बिकाउ पनि छ । गतिला पुरस्कार सुरस्कारहरू पनि निकै हात पारेको छ । पहिले गाउँमा बस्थ्यो । गाउँमा बस्दा उसको मिसन पनि थियो –आञ्चलिक कथाहरू लेख्ने । तराईमा सदरमुकामभन्दा बाहिरको गाउँलाई गाउँलेहरू देहात भन्छन् । देहातमा उसको त्यस्तै छ सात बिगाहा जमिन थियो । छोराछोरीहरू सहरमा लगेर पढाउन थालेपछि एकएक बिगाहा गर्दै बेच्न थाल्यो । पछि छोराछोरीहरूको पढाइ र उनीहरूकै भटाभटी बिहे गर्दा भएको सबै सकियो ।

जग्गा सकिएपछि ऊ सुकुम्बासी लेखक भयो ।

जग्गा हुँदा उसका भुराहरू हुर्किदैँ थिए बर्खाका खाल्डाखुल्डीका चेपागाँडाहरूजस्ता तर जब ती तोरीको साग जसरी हल्हली बढे उसको सम्पत्ती पनि सकियो । दुई छोरा र एक छोरीकी आमा थिई –उसकी स्वास्नी । ऊ आफ्नी स्वास्नीलाई ‘आफू’ भन्थ्यो । स्वास्नीचाहिँ उसलाई (मेरो लेखकलाई) आदरपूर्वक ‘वहाँ’ भन्थी ।

सजिलोका लागि लेखकलाई जे नाम दिए पनि हुन्छ तर खासमा मेरो लेखकको नाम चेतमान हो । लेखनमा उसले उसको ‘निक नेम’ ‘मनु’ राख्यो । पाठकहरू नाम जस्तोसुकै किन नहून त्यसलाई स्वीर्काछन् तर त्यो नाम चल्तीको हुनुपर्छ । मेरो लेखकले लेख्नकै लागि भनेर लेखेको चाहिँ लगभग उन्नाइस सालदेखि हो । जम्माजम्मी छयालीस वर्ष पुगेछ । अँ ! मेरो उमेर बयालीस भयो होला । मेरो उमेरभन्दा लेखकको लेखन पुरानो छ तर ऊ नयाँ लेख्छ । आजको माग पनि नयाँ लेखनको छ ।

उसकी स्वास्नीको नाम मलाई अहिलेसम्म थाहा छैन । उसले बताएको पनि छैन । मैले पनि सोधेको छैन । मलाई लाग्छ ऊ पो मेरो प्रिय लेखक हो त उसकी स्वास्नीसँग मेरो लिनुदिनु नै पो के छ र ? तैपनि म उसको घरमा खान या भेटघाटका लागि बोलाइँदा उसकी स्वास्नी भनौं लेखक पत्नीलाई ‘भाउजू’ भन्दिन्थेँ ।

लेखक गाउँमा बसेर कथा लेख्थ्यो । हुन त उसले कथामा प्रसिद्धि पाएको हुनाले उसलाई सबै कथाकार भन्थे तर उसको सिद्धहस्तता निबन्ध र कवितामा पनि थियो । कवितामा विशेष ऊ गजलमा आफूलाई सन्तोस भएको बताउँथ्यो ।

बैँसका सुरूसुरूका दिनमा लेखक जाँडरक्सी दुवै खान्थ्यो । कृति प्रकाशन र चर्चित हुँदै गएपछि ऊ अलि सोफोस्टिकेटेड् पनि भयो । अब भने उसले लोकल ब्राण्डलाई चटक्कै छाड्यो । उसले ‘देसी’ देहातको भाषामा विदेशी खान थाल्यो । प्रौढतिरको उमेरमा उकालो लाग्दै जाँदा रक्सीले उसलाई खान थालेछ । उनान्सय सालको मानिस पचास नउक्लिदैँ डाइबिटिज र युरिक एसिडले च्यापेछ । अब उसले राम्ररी नै मुख बार्न थाल्यो । घरमा उसलाई सबैले कर्कर् गर्न थालेछन् ।

छयालिसको क्रान्तिअघि गाउँमै बसेर ऊ राजधानीका पत्रिकामा कथा र साप्ताहिकमा स्तम्भ लेख्थ्यो । कथाहरू उसका उसबेलै ‘गरिमा’ र ‘मधुपर्क’मा भकाभकी छापिन्थे । त्यसबेलामा हामी ‘टिनएजर’ पाठकमा गनिन्थ्यौं । ऊ त्यति घगडान् लेखक भए पनि हामीजस्ता साना र काँचा पाठकसँग असाध्यै घुलमिल हुन रूचाउँथ्यो । ऊ दारू असाध्यै खान्थ्यो । हामीचाहिँ दारूसारू होइन मडुवा खैनीका ‘आसिकी’ थियौं । सायद् लेखकहरूकै सादापन भनेकै त्यही होला । अहिले मलाई त्यस्तो लाग्छ ।
ं ं ं

निकैबेरको रुवाइपछि उसैले मलाई भन्यो –‘भाइ मेरो जवान छोरो गयो ।’ मैले ठाने ऊ वैदेशिक रोजगारीमा इजरायल जान्छु भन्थ्यो रे ! उसको बाउ अर्थात् मेरो लेखकसँग । मैले ठाने –ऊ त्यतै गयो होला । तर कुरो त्यस्तो होइन रहेछ । उसको छोरो त बितेछ पो । एकहप्ता अघिदेखि छोराले सबै प्रक्रिया र कागजात ठिकठाक गरेर भिसाका लागि एम्बेसीमा एप्लाइ गरेको थियो । कुनचाहिँ नर्सिङ् होमले उसको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाण–पत्र पनि दिएको थियो रे ! एकदिन उसकी स्वास्नी अर्थात् छोराकी आमाले छोराका कोठामा चिया लिएर एकाबिहानै पस्दा ऊ त परमधाम् गैसकेको रहेछ ।

केही रोग नभएको उसको छोरो रोगविनै गयो । रोगी बाउ अझै जीवन नामको शरीर घिसार्दै छ । बिडम्बना निरोगीचाहिँ गयो ।

छोराको मृत्युमा दुःखित् उसले समवेदना प्रकट गर्न मेरोअघि रोएको भन्ने मलाई ऊ रोएपछि मात्र थाहा भयो । लेखक भनौ कथाकार एक प्रकारले मितभाषी थियो, कम बोल्ने । भन्नेहरू उसलाई घुस्घुसे भन्थे तर मचाहिँ उसलाई कथाका प्लट खोजिरहेको प्रतिभावान् लेखक सम्झन्थे । प्रसङ्ग सम्झाएपछि म पनि उसको छोराको निधनमा रूनु पर्ने थियो । त्यतिखेर म नरोएको देखेर अहिले मैलाई रुन मन लाग्यो । बेलाको हाँसो र बेलाकै रुवाइको कत्रो महत्व हुन्छ । भारतमा हिजोआज ठूलाबडाका सामयिक÷असामयिक निधनमा भाडाका रुने मानिसहरू झिकाएर भव्य शोक गरिन्छ । मानौ, अहिलेका बजारवादी मानिसहरूको पेसा रुने पनि छ । आहा ! रुने पेसा भन्ने शब्दले मेरो नवोदित लेखकको अन्र्तहृदयमै भए पनि लेखनको प्लट स्वाट्ट ले’रायो । तर त्यतिखेर म मेरो लेखकलाई सहानुभूति दिने पङ्तिमा भएकाले त्यो प्लट असमयै तुह्यो पनि ।

कथाकारले छोरीको बिहे गरेर दियो । सामन्तवादी सोचकै समाज भएकाले सामाजिक व्यवहार सुधार ऐनको उसले पनि खुदै्र सही अलिअलि उलङ्घन ग¥यो । कथामा त उसले समाजवादी सोच नकथेको कहाँ हो र ? गाउँको सात बिगाहा जिमिनमा तीन बिगाहा छोरा पढाउँदा चट् भयो । एक दुई बिगाहा व्यवहारले खायो र बाँकी दुएै बिगाहा छोरीको घर भरिदिँदा स्वाहा ।

यसरी लगभग मेरो त्यो लेखक सर्वहारा भयो । खाँटी सर्वहारा !
यता देशमा पनि बासठ्ठी त्रिसठ्ठीको उन्नाइस दिने क्रान्ति सफल भयो ।

क्रान्तिकाललाई उसले धिमा गतिमै भए पनि कथा र गजलमा लेख्यो, कथ्यो । मैले उसलाई उसका सिर्जनामा पढिरहेँ । मलाई के लाग्यो भने जब उसको छोरो म¥यो तब उसका रचनामा धेरैजसोचाहिँ निराशा छाउन थाल्यो । एकदिन नकाटिएको झुस्स दारी भएको अनुहार लिएर ऊ म कहाँ आयो ।

मैले उसलाई त्यसदिन अलिकति खिलझैँ कोट्याएँ –‘दुःखलाई रचनाका माध्यमबाट सार्वजनिकीकरण गर्न थाल्नुभएछ । खुसी लाग्यो ।’

‘दुनियाँको सुखका लागि आफ्नो दुःखमा दुःखित हुन सक्दिन् ? के गरौ ?’ मलाई प्रश्नको नजरले हे¥यो –उसले ।

‘…..’ अब म मौन रहेँ । के भनौं ? के बुझाऊँ ? समाजलाई बुझाउने त्यत्रो महान् लेखक मसँग सान्त्वनाका लागि आफ्नो मनको आँचल फैलाइरहेको छ ।
मैले उसको विपरीततिर फर्केर मुखभरिको खैनी पिच्च थुकेँ । त्यसैबेला एउटा काग हाम्रो माथिबाट भुर्र उडेर कतै बेगियो । काग् काग् गरेर कराउँदै ।
ं ं ं

सहरको बसाइसँगै उसका अनेक खालका मानिससँग बसउठ भयो । ऊ प्रायः गोष्ठी र विमोचनजस्ता कार्यक्रमहरूमा जादैँनथ्यो । म पनि त्यस्तै सनकी पारकै थिएँ । हामी कि त उसको घरमा भेला हुन्थ्यौं कि त मेरो घरमा । स्थापित भएका नाताले म नै उसको घरमा जान्थे ।

ऊ छोराछोरीतिरबाट हजुरबा भैसकेको थियो । म भनेँ भर्खर छोराछोरीहरूको गुमुत सोहोदैँ थिएँ । मलाई गार्हस्थ जीवनको रन्कोले भर्खरभर्खर छोएको थियो । ऊ एक प्रकारले व्यवहार निवृत्त भैसकेको थियो ।

एकदिन लेखक मेरो घरमा आयो । त्यसदिन ऊ सारै हतास थियो । उसलाई सहरकै कुनै नवोदित लेखकले एकदिन प्रसङ्गमा प्रसङ्ग चल्दा मने कुँडिने गरी ‘बुर्जुवा लेखक’ भनिदिएछ । सातपत्रेसम्म तितो हुने गरी भनेको उसलाई सारै चित्त नबुझेपछि ऊ मेरो घरमा आएको रहेछ ।

उसले भन्यो –‘भाइ मलाई यतिका वर्षपछि मेरै समाजले बुर्जुवा लेखकको पगरी गुताइदियो ।’ उसले त्यो भन्ने चिचिले लेखकलाई पनि मितभाषिताकै वाणबाट प्रहार गरेछ –‘जीवनभरि मैले कि त पुलिस हबल्दारबाट शोषित भएका नारीका आञ्चलिक कथाहरू लेखेँ कि त गाउँका ठिनेमिने नेताबाट ठगिएका अदना गाउँलेका कथाहरू पस्केँ । मलाई समाजले केही नदिँदा पुरस्कारै लागेको बेला त्यसरी भन्दा अघि मैले पाएका सानातिना पुरस्कारहरू पनि खोसिएको माने ।’ यसपटक पनि मेरो लेखकको आँखामा आँसुका बुँदहरू टप्किएका थिए ।

उसले भन्यो –‘तौलीतौली शब्द बोल्ने मैले साफसँग उसलाई भनिदिँए ।’

‘के भन्नुभयो ?’ मैले सोधेँ । अब मैले उसकैतिरबाट साक्षी बक्नुपर्नेजस्तो लागेकाले म अलि दरोखरो भएको थिएँ ।

‘मैले भनेँ ।’ भन्दै उसले फेरि भन्यो –‘जीवन भर लेख्दा मलाई कसैले यस्तो लेख । त्यस्तो नलेख भनेन । अहिले आएर तिमीहरूजस्ताले त्यस्तो भन्ने हो । मैले मेरो इमेजलाई बिगारेर पार्टी साहित्य लेख्न सुहाउँछ ?’

अब यतिखेरचाहिँ मैले भनेँ –‘सुहाउँदैन ।’

‘अँ मलाई त झोँक पनि चल्यो । पार्टी साहित्य त कामरेड लेखकहरूले लेखे राम्रो हुन्छ ।’ यति भनेर मेरो लेखकले अब लेखनबाटै सन्न्यास लिने कुरा मलाई राख्यो । मैले उसको कुरालाई जोरजुलुमसँग प्रतिवाद गरेर भनेँ –‘लेखकले लेख्ने हो । देखेको कुुरा लेख्ने हो । समाजसत्य भन्दा यहाँ व्यक्तिसत्यका कुराहरू अनगिन्ती छन् । छरिएका छन् । छरपष्ट छन् । दाइ तपाईँले लेख्नुपर्छ । त्यस्ताका लागि लेख्नुपर्छ । त्यस्ताका लागि कथ्नुपर्छ जसलाई तन्त्रको घामले तातो दिन सकेको हुँदैन । शासनको संरक्षणले सुरक्षा दिन सकेको हुँदैन । वाद, विवाद र प्रतिवादभन्दा माथि उठिसक्नुभयो । अब तपाईँमा आग्रह, पूर्वाग्रह र विग्रहको भाव छैन । त्यसैले लेख्नुस् । ब्रह्मले देखेको कुरा लेख्नुस् । शासितको भावमा नझुक्नूस् । शासकको भावमा नभुक्नूस् । केवल लेख्नुस् । एकदिन तपाईँहरूको अवस्य सम्मान हुन्छ । तपाईंहरूको स्वस्थ समालोचना हुन्छ, हुन्छ ।’

आज मैले उसलाई दिएको ढाडसबाट उसलाई बल पुगेछ कि क्याहो । ऊ एकपटक आफ्ना लगभग पानले खिइसकेका र कालिइसकेका बत्तिसै दाँत देखाएर हाँस्यो । त्यतिखेर मैले उसको गालाको मुजामा उसको जीवनका अनेक पीडा र साथमा उसको पुत्रशोकले पारेका विषाद्का लामा धर्सालाई जति कोशिस गरे पनि गन्न सकिनँ ।
ं ं ं

मेरो प्रिय लेखक आफूमाथि लागेको बुर्जुवा लेखकको धब्बालाई मेटाउँन लगातार जेनुइन्जेनुइन् कथा रचिरहेछ । प्रकाशन पूर्व उसका सबै कथाहरू मलाई पढ्न दिन्छ । यतिखेर म उसको कथाका अप्रकाशित अवस्थाको पहिलो पाठक भएको छु ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार