Presidential

लालध्वजको ह्वाइट क्याप


लालध्वजको ह्वाइट क्याप

काठमाडौं– कम्युनिष्ट र रातो रङ एक अर्काका पर्यायवाची । झन्डा रातो, अभिवादन रातो (लालसलाम) अनि नाम पनि रातो । रातो अर्थात क्रान्तिको प्रतिक । जनयुद्धकालमा बाबुराम भट्टराईको नाम त लालध्वज नै थियो । लालध्वज क्रान्तिकारी पहिचान दिने नाम थियो । यस्तो रातोलाई आत्मसात गर्दै आएका डा.बाबुराम भट्टराई अहिले रातोबाट टाढा–टाढा देखिँदै छन् ।

नयाँ शक्ति निर्माण अभियानका क्रममा उनले रातो रङ खासै प्रयोग गरेका छैनन् । अझ् नयाँ शक्ति निर्माण अभियन्ताका लागि बनाइएको टोपीको रङ त सेतो नै रोजियो । माक्र्सवादी विचारधारा त्याग गरेको तथा कम्युनिष्टपथबाट विलचन भएको आरोप लागेका बेला बाबुरामले किन रोजे त सेतो रङको टोपी ? नयाँ शक्तिका अभियन्ताले लगाउने सेतो रङको टोपी संयोगमा आएको हो कि रणनीतिमा ? यसमा रमाइलो प्रंसग भेट्टिएको छ । यद्यपी आलोचकहरु भट्टराईको टाउकोको सेतो टोपीलाई लिएर अनेकौ टिप्पणी गर्न पछाडि पर्दैनन् । असोज ९ गते एकीकृत माओवादी त्यागपछि भट्टराईले नयाँ शक्ति निर्माणको अभियान थालेका हुन् । यसैक्रममा एकीकृत माओवादीमा रहेका भट्टराई निकट मानिने नेता–कार्यकर्ताको मंसिर ६ र ७ गते काठमाडौंमा राष्ट्रियस्तरको भेलाको आयोजना गरिएको थियो । उक्त भेलाले दुई महिने नयाँ शक्ति निर्माण अभियानको कार्यक्रम बनाउने करिव–करिव पूर्व तयारी थियो । यसैक्रममा अभियन्ताहरुलाई नयाँ शक्तिको लोगो के दिएर पठाउने, जनताले उनीहरुलाई कसरी बाहिरैबाट चिन्ने बनाउने भन्नै विषयमा डा.भट्टराईसहित उनका समूहमा रहेका देवेन्द्र पौडेल, रामचन्द्र झा, गंगा श्रेष्ठ, रामकुमार शर्मा लगायतका नेताहरुबीच छलफल भयो । नयाँ शक्ति निर्माण अभियानका संगठन प्रमुख पौडेलका अनुसार संक्रमणकालका लागि सेतो टोपीमा रातो अक्षर लेखेर अभियन्तालाई दिने सहमति बनेको थियो । त्यसैका आधारमा सेता टोपी चयन भएको हो । भेलापूर्व बनाइएको नयाँ शक्तिको स्टीकरको विषयमा भने केही नेताहरुको आलोचना भएको थियो । गंगा श्रेष्ठ लगायतका केही नेताहरुले सात प्रदेशको नक्सा राखेर नयाँ शक्ति निर्माणको स्टीकर बनाएपछि थारुवान र तराई–मधेशबाट भेलामा सहभागी हुन आएकाहरुले आलोचना गरेका थिए । यस्तो आलोचनापछि सेतो टोपी बनाउने विषय भने छलफलमा आएको हो ।

पौडेलले रातोपाटीसँग कुरा गर्दै भने, ‘यसको केही ठोस सन्देश नभएको र संक्रमणकालका लागि मात्र’ प्रयोगमा ल्याइएको बताए । ‘अभियन्ता जिल्ला–जिल्लामा जानुपर्ने भयो । यसका लागि उनीहरुसँग केही न केही परिचय होस भनेर टोपी बनाउने निर्णय गरेका हौँ । रातो टोपी प्रयोग गर्दा पुरानै हुने भयो । निलो रङ पयोग गरौँ भनेको एनजिओको जस्तो देखिने भयो । यस्तो अबस्थामा विकल्प सेता रङको टोपीमा रातो अक्षर लेख्ने आएको हो ।’ उनले भने, ‘यो नयाँ शक्ति निर्माण अभियानभरका लागि संक्रमणकालीन मात्र हो । नयाँ पार्टी बनेपछि यो कायम नरहन सक्छ । त्यसबेला सवै कुरा नयाँ हुन्छ ।’
नयाँ शक्ति अभियन्ताले टोपीबाहेक कतिपय ठाँउमा टिसर्ट पनि प्रयोग गरेका छन् । नयाँ शक्तिका विषयमा लेखिएका पर्चासमेत बोकेर उनीहरु जिल्ला–जिल्लामा गएका छन् । राष्ट्रिय भेलापछि नयाँ शक्ति निर्माण अभियन्ताहरुले सेतो टोपी प्रयोग गर्न थालेका हुन् ।

मंसिर १७ गते काठमाडौंमा तराई–मधेश, आदिवासी जनजाति, थरुहट÷थारुवान, लिम्बूवान, दलित तथा मुस्लिम राष्ट्रिय आन्दोलनमा नागरिक ऐक्यवद्धता सभा भएको थियो । त्यहाँ डा.भट्टराई प्रमुख अथिति थिए । त्यही कार्यक्रममा पहिलो पटक सेतो टोपी लगाएका नयाँ शक्तिका समर्थकहरु देखिएका थिए । त्यसपछि नयाँ शक्तिका अभियन्ताहरुको टाउकोमा सेतो टोपी देखिन थालेको हो ।

त्यसपछि मंसिर २१ गते हनुमानथानमा भएको नागरिक धर्नामा पनि नयाँ शक्तिका समर्थकहरु सेता टोपीमा देखिएका थिए । तराई–मधेश, आदीवासी–जनजाती, थरुहट, लिम्बुवान, दलित तथा मुस्लिम राष्ट्रिय आन्दोलनको धर्नामा नयाँ शक्ति निर्माण अभियानकी हिसिला यमीसहितका कार्यकर्ता सेतो टोपीमा सहभागी थिए । धर्नामा रामचन्द्र झा, नवराज सुवेदी, रामरिझन यादव, बलावती शर्मा लगायतका नयाँ शक्तिका नेताहरु सहभागी थिए ।
पुस ५ गते काठमाडौंमा पूर्वजनमुक्ति सेना र वाइसीएलको राष्ट्रिय भेलामा सहभागी सेतो टोपीमा देखिए । डा.भट्टराईसहितका अन्य नेता पनि सेतो टोपीमा सहभागी भए । तर, भेलमा सहभागी केहीलाई सेतो टोपीको महत्ववारे जान्न खोज्दा उनीहरुले आफुलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार