Presidential

अमर शाहका दुई कविता


अमर शाहका दुई कविता

जन्मेको गाउँमा

जसले देखेकी थिइन् रातमा पनि इन्द्रेणी
र, उमारेकी थिइन् बगर–मनमा फूलबारी म जन्मिँदा
आफू मर्दा पनि जिउँदै रहेका
आमाका अधूरा सपना यतै होलान्

जीवन बाँच्नुको नाममा
वर्षौंसम्म काँधमा परिवार लादेर हिँडे जो
बाबाका नसुकेका पसिना अझै होलान् माटोमा
आनन्दका सुसेली हैन
पीडाका सुस्केरा छाड्थे ती
हावामा रुमल्लिई रहेका
उनका सुस्केरा पनि होलान् यतै कतै

यतै बुन्न थालेथेँ मैले रंगीन कल्पना
र, ती कल्पनाका अवशेष यतै होलान्
यतै कोर्न थालेको थिएँ मैले सपनाका जग
र, ती सपनाका भग्नावशेषहरु पनि यतै होलान्
उन्मुक्त हाँसेको थिएँ म पहिलो हाँसो यतै
हावामा गुञ्जिरहेका ती खित्का यतै होलान्

यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि
खाटा बस्दै गरेको घाउ कन्याएझैं
गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको
र, सोच्दै छु—
के म साँच्चै अपराधी हु ?

 

काम गर्ने कान्छी

पठाएपछि बाबु र मैयाँहरुलाई स्कूल
सक्छे भान्साको काम र
हतार–हतार तयार हुन्छे कान्छी

तानतुन पार्दै मिलाउँछे
जडौरीमा प्राप्त
छोटो शर्ट र लामो स्कर्ट
बोक्छे—
हिजो स्कूलबाट फर्केपछि
एक पटक पनि नखोलेको झोला
सम्झन्छे, गर्न ब̐ाकी
गृहकार्यको चाङ र
डराउँदै–डराउँदै लाग्छे
स्कूलको बाटो

“केही गर्ने छ जीवनमा”
विश्वस्त छन् उसको भविष्यप्रति
कतै सुदूर गाउँमा
उसका आमाबाबु
तर, कुनै भ्रममा छैन
समय अगाडि नै पाकी भएकी ऊ

बढ्दो उमेर र शरीरसँगै
तिखो बन्दै आएका छन्
उसले झेल्ने हेराइहरु
र, पु¥याइरहेछन् मालिकहरु
दृष्टि तथा आँखा ठाउँ–कुठाउँ

उसलाई थाहा छ
दोहोरिने छ नियति र
पिसिने छन् कुनै दिन
उसका सपना र जोवन दुवै ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार